संसारको लागि कसले आहारा जुटाउने छ?
संसारको लागि कसले आहारा जुटाउने छ ?
के मानिसजातिले जैविक विविधतालाई नष्ट गर्नुको सट्टा त्यसको सुरक्षा गर्ने काम कहिल्यै थाल्ला? जीव विज्ञानविद् जोन टक्सीलको भनाइअनुसार यसको लागि “ठूलो नीतिगत परिवर्तन” ल्याउनु पर्नेछ। उनी थप्छन्, यद्यपि “वनस्पतिको जैविक विविधताले पुऱ्याउने लाभबारे मानिसहरू सजग नभएसम्म र विद्यमान पद्धतिमा परिवर्तन ल्याएर नयाँ पद्धतिलाई अपनाएर हेर्ने इच्छुकता मानिसहरूमा नभएसम्म यो परिवर्तन आउने सम्भावना देखिंदैन।”
अधिकांश मानिसहरूलाई यस्ता गम्भीर परिवर्तनहरू आउला भनेर विश्वास गर्न गाह्रो छ। अनि धेरै जना टक्सीलको निष्कर्षसित सहमत छैनन्। केही पर्यावरणीय वैज्ञानिकहरूका अनुसार जैविक विविधताको महत्त्व नबुझ्नेहरू धेरै छन् र सम्भवतः तिनीहरूकै सहकर्मीहरूले यसलाई बढाइचढाइ गरी प्रस्तुत गरेका हुनसक्छन्। यद्यपि, यस विषयमा वैज्ञानिकहरूको विवाद चर्किरहेकै बेला, यस क्षेत्रका केही विज्ञहरूका आवाज अनि चेताउनीहरूलाई ध्यान दिनु पनि उपयुक्त हुनसक्छ। जैविक विविधताको नाशले गर्दा मात्र होइन तर यस्ता नाशहरूको पछाडि तिनीहरूले देखेको लोभ अनि अदूरदर्शीताले गर्दा पनि तिनीहरू चिन्तित देखिन्छन्। विभिन्न लेखहरूका निम्न टिप्पणीहरूलाई ध्यान दिनुहोस्।
“एक शताब्दीअघि मात्र पृथ्वीभरिका करोडौं कृषकहरूले आफ्नो बीउको नियन्त्रण आफै गर्थे। . . . तर आज विश्वव्यापी कम्पनीहरूले धेरैजसो नयाँ-नयाँ बीउहरू निकाल्छन्, आनुवंशिक पद्धतिद्वारा विकास गर्छन् र आफ्नै बौद्धिक सम्पत्तिको रूपमा यस्ता बीउहरूमाथि आफ्नो एकाधिकार स्वामित्व कायम राख्छन्। . . . अल्पकालीन लाभलाई ध्यान दिएर जैविक-प्रविधि उद्योगले कुनै दिन नयाँ वा महा-शक्तिशाली कीटाणुहरू विरुद्ध सुरक्षा प्रदान गर्न सक्ने सुन जत्तिकै बहमूल्य आनुवंशिक सम्पदालाई खतरामा पारिरहेका छन्।”—विज्ञान लेखक जेरामी रिफकिन।
“बजार अर्थ-व्यवस्था, स्वतन्त्र व्यापार अनि विश्वव्यापी अर्थतन्त्र प्रमुख चासोको विषय हुनैपर्छ भनेर सञ्चार
माध्यमहरूले बारम्बार जोड दिइरहेका छन्। जब सञ्चार माध्यमहरू नै धन र ठूल-ठूला व्यापारिक संस्थानहरूको अधीनमा हुन्छन्, त्यतिखेर अर्थतन्त्रसम्बन्धी सञ्चार माध्यमहरूको यो धारणा धार्मिक सिद्धान्त सरह हुन्छ र यसलाई विरलै चुनौती दिइन्छ।”—आनुवंशिकविद् डेभिड सुजुकी।जब विकसित देशका “मानव जीनका अत्यावश्यक ‘सामान्य सम्पदा’ नाश हुनै लागेको विश्वव्यापी खतराप्रति सरकार तथा संघ संस्थाहरूले दुखेसो पोख्छन्” त्यतिबेला तिनीहरूको खोक्रो आडम्बर देखिन्छ भनेर सीड अफ चेन्ज—द लिभिङ ट्रेजर पुस्तकका लेखक केनी असिबलले आफ्नो पुस्तकमा औंल्याएका छन्। किनकि तिनीहरूले नै आधुनिक खेती अनि एकबाली प्रणालीलाई प्रोत्साहन दिएर जैविक विविधतालाई खतरामा पारिरहेका छन् भनी उनी टिप्पणी गर्छन्।
पर्यावरणविद्हरूको डर जायज होस् वा नहोस्, यस पृथ्वीको भविष्यबारे ढुक्क हुन तपाईंलाई पनि गाह्रै पर्नसक्छ।
मानिसहरू लोभको पछि दौडिरहेको बेला कतिञ्जेल यस पृथ्वी अस्तित्वमा रहन सक्ला? जवाफको खोजी गर्ने क्रममा अधिकांश मानिसहरू विज्ञानले नै समस्याको समाधान गर्नेछ भन्ने आशा राख्छन्।के विज्ञान र प्रविधिले हाम्रो रक्षा गर्न सक्ला?
जटिल वैज्ञानिक उपलब्धिहरू एकदमै छिट-छिटो भइरहेका कारण वैज्ञानिकहरूले ती उपलब्धिहरूको तात्पर्य पूर्णतया बुझ्न नसक्नुको जोखिम बेहोर्नु परिरहेको छ भनेर द रोयल सोसाइटी अफ इडनवर्गले हालै मात्र चिन्ता व्यक्त गरे। डेभिड सुजुकीले यस्तो लेखे, “विज्ञानले प्राकृतिक विश्वको एकदमै कम मानौं यसको सानो अंशबारे मात्र बताउँछ। पृथ्वीका जीवहरू कसरी एकअर्कासित सम्बन्धित र निर्भर छन् भनेर जान्नु त परै जाओस् जैविक बनोटबारे समेत हामीलाई रत्तीभर थाह छैन।”
विज्ञान पत्रिकाले व्याख्या गरेझैं “जि इ ओ [जेनेटिकली इन्जिनियर्ड अर्गानिजम्स्] अर्थात् आनुवंशिक इन्जिनियरिङ पद्धतिद्वारा तयार पारिएका जीवहरूको न खतरा न त फाइदा नै निश्चित छ। . . . नयाँ प्रजातिहरू र जि इ ओ-ले पार्ने पर्यावरणीय असरबारे भविष्यवाणी गर्ने हामीसँग क्षमता नै छैन।
अधिकांश “उपलब्धिहरू” सिक्काका दुई पाटा जस्तै छन्। यी उपलब्धिहरूले केही फाइदा त दिन्छन् तर त्यसले मानिसहरूको बुद्धिको कमी र प्रायः मानिसहरूको लोभलाई प्रकट गर्छ। (यर्मिया १०:२३) उदाहरणका लागि, हरित क्रान्तिले धेरै खाद्यन्न उत्पादन गऱ्यो र त्यसले गर्दा थुप्रै मानिसहरूको पेट त भऱ्यो तर यसले जैविक विविधताको नाश गर्न पनि ठूलो योगदान पुऱ्यायो। कीटनाशक औषधीहरू र अन्य महँगा कृषि प्रविधिहरूको प्रयोग गर्न लगाएर हरित क्रान्तिले वास्तवमा “एकातिर व्यापारिक संस्थाहरू र तेस्रो मुलुकका उच्च वर्गहरू रातारात धनी भए भने निम्न वर्गीय मानिसहरूलाई यसले हानि पुऱ्यायो” भनी डा. मे-वान होले लेखे। जसै जैविक प्रविधिमा आधारित कृषि अझ विस्तृत र शक्तिशाली उद्योगमा परिणत हुन्छ, यो चलन पनि निरन्तर चलिरहन्छ अनि यसले गर्दा भविष्यमा खाद्य सुरक्षा पूर्णतया विज्ञानमा निर्भर हुने अवस्था पनि आउनेछ।
यद्यपि, यस्ता समस्याहरूले गर्दा हामी खिन्न हुनु आवश्यक छैन। वास्तवमा, यी कुराहरूले एउटा ठूलो तथ्यमाथि हाम्रो ध्यान केन्द्रित गर्छ। हाल यस पृथ्वी र यसका स्रोतहरूलाई सम्हालिरहेका असिद्ध मानवहरूबाट हामीले धेरै आशा गर्नु हुँदैन भन्ने कुरा बुझ्न बाइबलले हामीलाई मदत दिन्छ। अहिले, असफलता र लापरवाही मानव परिस्थितिको एक हिस्सा नै बनिसकेको छ। त्यसैले, भजन १४६:३ ले यस्तो सल्लाह दिन्छ, “राजाहरूमाथि तँ भरोसा नगर्, मानिसहरूमाथि पनि नगर्, तिनीहरूबाट केही सहायता हुँदैन।” तर हामी परमेश्वरमाथि भने पूर्ण भरोसा राख्न सक्छौं। (हितोपदेश ३:५, ६) हामीलाई मदत गर्ने इच्छा र शक्ति दुवै उहाँसित छ।—यशैया ४०:२५, २६.
सजीव अनि सम्पन्न पृथ्वी—नजिकै
जीर्ण घरको जीर्णोद्धार गर्नुअघि तपाईं पहिले त्यहाँ भएको फोहोर हटाउनुहुन्छ होला। त्यसै गरी आफ्नो व्यक्तिगत र व्यापारिक स्वार्थको लागि हाम्रो पृथ्वी, यसका प्राकृतिक सम्पदा र सह-मानवहरूको शोषण गर्न पछि नपर्नेहरूलगायत सबै दुष्ट मानिसहरूलाई यहोवा परमेश्वरले हटाउनुहुनेछ। (भजन ३७:१०, ११; प्रकाश ११:१८) तर उहाँलाई प्रेम गर्ने अनि उहाँको इच्छाअनुरूप गर्न कोसिस गर्ने सबैलाई यहोवाले जीवितै उद्धार गर्नुहुनेछ।—१ यूहन्ना २:१५-१७.
त्यसपछि पृथ्वी अनि यसमा भएका असंख्य जीवित प्राणीहरू, जसमा आज्ञाकारी मानवजातिहरू पर्छन्, तिनीहरूको रेखदेख परमेश्वरको सरकार अर्थात् मसीही राज्यले गर्नेछ। (दानियल ७:१३, १४; मत्ती ६:१०) त्यस बुद्धिमान् शासनअन्तर्गत पृथ्वीले कत्ति धेरै उब्जनी गर्नेछ! भजन ७२:१६ यसो भन्छ, “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्न हुनेछ। त्यसको फल लबानोनको देवदारूझैं हल्लिनेछन्।” हो, त्यतिबेला भोजन विवाद र चिन्ताको विषय हुनेछैन। बरु, यो सुरक्षित अनि प्रचुर मात्रामा हुनेछ।
अतः वर्तमान रीतिरिवाज सदाको लागि निराशा अनि अन्योलको खाडलमा परे तापनि यहोवामा भरोसा राख्ने व्यक्तिहरूले यसै पृथ्वीमा एउटा गौरवमय भविष्यको आशा राख्न सक्छन्। यो आशा ‘राज्यको सुसमाचारको’ भाग हो। यहोवाका साक्षीहरूले यो सुसमाचार राम्रो अनि न्यायसंगत पृथ्वी चाहने व्यक्तिहरूलाई बाँड्छन्। (मत्ती २४:१४) यो पक्का आशा र बाबुले झैं आफ्ना जनहरूको रेखदेख गर्नुहुने परमेश्वरले गर्दा हामी अहिले पनि ‘सुरक्षामा जिउनेछौं र हानि-नोक्सानीको डरैविना ढुक्क रहनेछौं।”—हितोपदेश १:३३. (g01 9/22)
[पृष्ठ १०-मा भएको चित्र]
परमेश्वरको राज्यमा सुरक्षित अनि प्रशस्त भोजन हुनेछ
[पृष्ठ ८-मा भएको चित्रको स्रोत]
FAO Photo/K. Dunn
[पृष्ठ ९-मा भएको चित्रको स्रोत]
Tourism Authority of Thailand