सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एउटा विश्‍वव्यापी समस्या

एउटा विश्‍वव्यापी समस्या

एउटा विश्‍वव्यापी समस्या

“आत्महत्या एउटा गम्भीर जनस्वास्थ्य समस्या हो।”—डेविड साचर, सं.रा-का वरिष्ठ शल्यचिकित्सक, सन्‌ १९९९.

उक्‍त अभिव्यक्‍तिद्वारा इतिहासमै पहिलो पटक संयुक्‍त राज्यका वरिष्ठ शल्यचिकित्सकले आत्म-हत्यालाई जनचासोको विषयको रूपमा औंल्याए। अहिले त्यस देशमा अरूको हातबाट हत्या हुनेहरूको संख्याभन्दा आत्महत्या गर्नेहरूको संख्या बढी छ। सं.रा.-को सिनेटले आत्महत्या उन्मूलनलाई राष्ट्रिय प्राथमिकताको प्रमुख विषय भनी घोषणा गर्नु कुनै अचम्मलाग्दो कुरा होइन।

तथापि, १९९७ मा प्रकाशित संयुक्‍त राज्यको आत्महत्या दर, प्रत्येक १,००,००० मा ११.४ थियो। यो सन्‌ २००० मा विश्‍व स्वास्थ्य संगठनले प्रकाशित गरेको विश्‍वव्यापी आत्महत्या दर अर्थात्‌ १,००,००० मा १६ भन्दा कम छ। गत ४५ वर्षभित्रमा विश्‍वव्यापी रूपमा ६० प्रतिशतले आत्महत्या दर बढेको छ। अहिले वर्षेनी झन्डै दश लाख मानिसहरूले आफ्नो ज्यान आफै लिन्छन्‌। त्यसको मतलब, प्रत्येक ४० सेकेन्डमा झन्डै एक जना व्यक्‍तिले आत्महत्या गर्छ।

यद्यपि, तथ्यांकहरूले सबै तथ्य विवरण बताउन सक्दैनन्‌। धेरैजसो घटनामा मृतकका परिवारका सदस्यहरूले नै आत्महत्या भएको हो भनी मानिलिंदैनन्‌। यसबाहेक, १० देखि २५ वटा आत्महत्या गर्ने प्रयासमा एउटा मात्र सफल हुन्छ भन्‍ने अनुमान लगाइएको छ। एक सर्वेक्षणअनुसार संयुक्‍त राज्यमा उच्च माध्यामिक विद्यालयमा पढ्‌ने २७ प्रतिशत विद्यार्थीहरूले गत वर्षको दौडान आत्महत्या गर्ने विषयमा गम्भीरतासाथ सोचेको कुरा स्वीकारे; ८ प्रतिशतले आत्महत्या गर्ने असफल प्रयास गरेका थिए। अन्य अध्ययन अनुसन्धानहरूद्वारा ५ देखि १५ प्रतिशत वयस्कहरूको मनमा कुनै न कुनै समय आत्महत्या गर्ने विचार आएको तथ्य पत्ता लागेको छ।

सांस्कृतिक भिन्‍नता

आत्महत्यासम्बन्धी मानिसहरूको धारणा निकै फरक-फरक छन्‌। कसै-कसैले यसलाई अपराध ठान्छन्‌ भने अरू कतिपयले चाहिं यसलाई कातरपन ठान्छन्‌। अरू कतिले चाहिं यो आफ्नो भूल स्वीकार्ने सम्मानित तरिका हो भन्छन्‌। अरू कतिले त यो आफ्नो सिद्धान्त वा आन्दोलनलाई समर्थन गर्ने मर्यादित तरिका हो भनेर पनि मानिलिन्छन्‌। किन यस्तो फरक-फरक दृष्टिकोण? यसमा संस्कृतिले ठूलो भूमिका खेल्छ। वास्तवमा, द हार्वड मेन्टल हेल्थ लेटर-ले दिएको सुझाउअनुसार संस्कृतिले पनि “आत्महत्या गर्न सुऱ्‍याउनसक्छ।”

मध्य युरोपेली देश, हंगेरीलाई विचार गर्नुहोस्‌। डा. जल्टन रिमर, हंगेरीमा वृद्धि भइरहेको आत्महत्या दरको मूल कारण नै हंगेरीको “दुःखलाग्दो ‘संस्कार’ ” हो भनी औंल्याउँछन्‌। हंगेरीको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका निर्देशक, बेला बुडाको भनाइअनुसार हंगेरीवासीहरू सजिलैसित आत्महत्या गर्न तयार हुन्छन्‌। उनीहरूलाई आत्महत्या गर्न कुनै जायज कारणै चाहिंदैन। “उसलाई क्यान्सर रोग लागेको छ। आफ्नो त्यो अवस्थाको अन्त कसरी गर्ने भनेर उसलाई थाह छ।” बुडाका अनुसार अक्सर मानिसहरूका यस्तै प्रतिक्रिया हुन्छन्‌।

एकताक भारतमा पनि सती नामक एउटा धार्मिक प्रथा थियो। आफ्नो पतिको चितामा विधवा आफै होमिने यस्तो प्रचलन निषेध गरिएको धेरै भइसके तापनि यो प्रथा पूर्णतया हटेको छैन। जब एउटी स्त्रीले साँच्चै यसरी आत्महत्या गरे, त्यतिबेला अधिकांश स्थानीय जनताहरूले त्यस दुःखद घटनाको जोडदार तारिफ गरे। इन्डिया टुडे-अनुसार आत्महत्या गर्ने उक्‍त स्त्रीको क्षेत्रमा २५ वर्षभित्रमा २५ जना स्त्रीहरू आफ्नो पतिको चितामा जलेको पाइयो।

उल्लेखनीय कुरा त के छ भने, जापानमा सवारी दुर्घटनाबाट भन्दा तीन गुणा बढी मानिसहरू आत्महत्याद्वारा मर्ने गर्छन्‌। जापान—एन इलुस्ट्रेटेड इन्साइक्लोपीडिया यसो भन्छ, “आत्महत्याको कहिल्यै भर्त्सना नगर्ने जापानको परम्परागत संस्कार, तरवारले आफ्नो भुँडी रोपेर आफ्नो आन्द्राभुँडी आफै निकाल्ने (सेपुकु वा हारा-किरी) संस्कार एउटा उच्च धार्मिक एवम्‌ संस्थागत संस्कारको रूपमा चिरपरिचित छ।”

इनजो निटोबे जो पछि गएर राष्ट्र संघका उप-सचिव भए, उनले आफ्नो पुस्तक बुसिडो—द सोल अफ जापान-मा यस संस्कारले मृत्युप्रति मानिसहरूको मोहलाई झल्काउँछ भनी व्याख्या गरे। उनले यस्तो लेखे, “मध्य युगको आविष्कार, [सेपुकु]-द्वारा योद्धाहरूले आफ्नो अपराधको प्रायश्‍चित गर्न, गल्तीको क्षमा याचना गर्न, बेइज्जतीबाट बच्न, आफ्नो मित्रलाई कुनै समस्याबाट मुक्‍त गर्न वा आफ्नो निष्कपटता प्रमाणित गर्न सक्थे।” यो धार्मिक आत्महत्या विगतको कुरा भइसकेको भए तापनि सामाजिक दबाउले गर्दा अहिले पनि कसै-कसैले यसको साहारा लिने गर्छन्‌।

अर्कोतिर, मसीहीजगत्‌मा आत्महत्यालाई धेरै समयसम्म पनि एउटा अपराधको रूपमा हेरिन्थ्यो। छैटौं र सातौं शताब्दीमा आत्महत्या गर्नेहरूलाई चर्चबाट बहिष्कार गरिनुका साथै धार्मिक विधिअनुसार तिनीहरूको अन्त्येष्टि गर्नसमेत अस्वीकार गरिन्थ्यो। कुनै-कुनै ठाउँमा, धर्मप्रतिको संवेदनशीलताले आत्महत्यासम्बन्धी अनौठा प्रचलनहरूलाई जन्म दियो। जस्तै, आत्महत्या गर्ने व्यक्‍तिहरूको लासलाई काठमा झुन्ड्याउने र लासको मुटुबाट काठलाई वारपार छेड्‌ने आदि।

विरोधाभासपूर्ण कुरा त के छ भने, आत्महत्या गर्न प्रयास गर्ने व्यक्‍तिहरूलाई प्राणदण्ड दिन सकिन्थ्यो। आफ्नो घाँटी रेटेर मर्न खोज्ने १९ औं शताब्दीका एक जना बेलाइतीलाई फाँसीको सजय दिइएको थियो। यसरी मानिस आफैले गर्न नसकेको काम सरकारी अधिकारीहरूले पूरा गरिदिन्थे। वर्षौंको दौडान आत्महत्या गर्न प्रयास गर्ने व्यक्‍तिहरूलाई दिने दण्डमा परिवर्तन आए तापनि बेलाइतको संसद्‌ले १९६१ मा आत्महत्या अनि आत्महत्याको प्रयास गर्नु अपरोध होइन भनी घोषणा गरिसकेपछि मात्र यसमा परिवर्तन आयो। आयरल्याण्डमा १९९३ सम्म पनि यसलाई अपराधै मानिन्थ्यो।

आज, केही साहित्यकारहरू आत्महत्यालाई एउटा विकल्पको रूपमा मानिलिन्छन्‌। सन्‌ १९९१ मा प्रकाशित एउटा पुस्तकले प्राणघातक रोग लागेकाहरूलाई आत्महत्या गर्न मदत गर्ने विभिन्‍न उपायहरूबारे बताउँछ। पछि, प्राणघातक रोग नलागेका अधिकांश व्यक्‍तिहरूले पनि सुझावित उपायहरूमध्ये एउटा उपाय भने अपनाए।

के आत्महत्या नै कुनै पनि व्यक्‍तिको समस्याको समाधान हो त? वा बाँच्ने कुनै उपयुक्‍त कारणहरू छन्‌? यस प्रश्‍नमाथि विचार गर्नुअघि आउनुहोस्‌, हामी सबैभन्दा पहिला मानिसहरूलाई आत्महत्या गर्न प्रेरित गर्ने तत्त्वहरू के-के हुन्‌, जाँचौं। (g01 10/22)

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

विश्‍वभर एक वर्षमा दस लाख मानिसहरूले आत्महत्या गर्छन्‌। त्यसको अर्थ, प्रत्येक ४० सेकेन्डमा एक व्यक्‍तिको मृत्यु हुन्छ!