एकताबद्ध भ्रातृत्व डग्मगाएन
एकताबद्ध भ्रातृत्व डग्मगाएन
एल साल्भाडोरका ब्यूँझनुहोस्! लेखकद्वारा
सन् २००१ जनवरी १३ का दिन, बिहान ठीक ११ बजेर ३४ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्पले पूरा एल साल्भाडोरलाई हल्लाउनुसम्मै हल्लायो। यस भूकम्पको धक्का पानामादेखि मेक्सिकोसम्मै महसुस गरियो। त्यो क्षण कमैले मात्र बिर्सनसक्ला।
“भूकम्पको सबैभन्दा ठूलो झट्का थामिएपछि हामीले माथि हेऱ्यौं र पहाडको टुप्पो चिरा परेर एकछिन थामिएझैं देख्यौं” भन्दै मिरियम काजाडा सम्झन्छिन्। “ ‘आमा! भाग्नुस्! भाग्नुस्!’ भन्दै मेरी छोरी चिच्च्याउन थालिन्।” त्यसपछि हेर्दाहेर्दै पहाडबाट उनीहरू भएतिरै पहिरो गयो। न्युभा सान साल्भाडोर अर्थात् सान्ता टेक्लाको लास कोलिनास समुदायका लगभग ५०० जना मानिस त्यस पहिरोमा पुरिए भने झन्डै ३०० वटा जति घर भताभुंग भए।
“म भर्खरै घरबाट निस्केर बस स्टपमा बस पर्खिरहेको बेला भूकम्प गयो” भनेर रोक्साना साञ्चेज बताउँछिन्। “हल्लिन छोडेपछि मैले एक जना आइमाईलाई तिनको ब्याग टिप्न मदत गरें र सोचें, ‘घरमा सबै जना मेरो चिन्ता गरिरहेका
होलान् त्यसैले, अहिले घर फर्कनु नै बेस होला।’ ” रोक्साना एउटा मोडमा पुगेर जसै अघि बढ्न लागेकी थिइन् पहिरोले बाटो बन्द भएको तिनले देखिन्। तिनको घर पनि पहिरोले पुरेछ!आकस्मिक सहयोग उपलब्ध गराउँदै
एल साल्भाडोरमा २८,००० भन्दा धेरै यहोवाका साक्षीहरू छन् भने भूकम्पले क्षतिग्रस्त पारेको साल्भाडोरको तटवर्ती इलाकामा हजारौं साक्षीहरू बसोबास गर्छन्। तिनीहरू आफूलाई परेको चोटको कारण पिरोलिएका भए तापनि धेरैजसोले तुरुन्तै अरूको आवश्यकतामाथि ध्यान दिन थाले। सान्ता टेक्लामा सेवा गरिरहेका यहोवाका साक्षीहरूको परिभ्रमण निरीक्षक मारियो स्वारास यसो भन्छन्: “भूकम्प गएको लगभग एक घण्टा बितेपछि फोन गरेर भाइहरूले मसित गुहार मागे। कसै-कसैले भनेअनुसार केही मसीही भाइबहिनीहरू आफ्नै घरमा फसेका थिए। स्वयम्सेवकहरूको एउटा समूह तुरुन्तै परिचालन गरियो।”
“सायद घरका केही भित्ताहरू भत्केका होलान् अनि भित्र फसेकाहरूलाई निकाल्न केही ढुंगाहरू पन्छाएर बाटो बनाए पुगिहाल्ला भनेर हामीले सोचेका थियौं। तर भूकम्पले त्यत्तिबिघ्न क्षति पुऱ्याएको होला भनेर हामीमध्ये कसैले पनि कल्पनासमेत गरेका थिएनौं। वास्तवमा, त्यस इलाकामा पुगेपछि हामीले घरहरू कहाँ छन् भनेर पो सोध्नुपऱ्यो। जवाफमा हामी आफै ती घरहरूमाथि उभिरहेका छौं भनेर थाह पाउँदा हामी त झसंग भयौं! ती घरहरू नौ फिटमुनि दुई-दुई तलासम्म पुरिएका रहेछन्। यो साह्रै विनाशकारी भूकम्प थियो!”
मध्य दिन बितेपछि नजिकैका मण्डलीहरूबाट झन्डै २५० जना साक्षीहरू त्यस क्षेत्रमा मदतका लागि आइपुगे। पिक, सावेल, धूलो उठाउने भाँडो र खाली हातले ती स्वयम्सेवकहरूले छिट-छिटो जीवित मानिसहरूलाई निकाल्ने प्रयास गरे। तथापि, सान्ता टेक्लामा भने केही व्यक्तिहरूलाई मात्र जीवितै उद्धार गर्न सकियो। त्यहाँ निसासिएर वा थुप्रै टन माटोमुनि थिचिएर मर्ने सयौं मानिसहरूमध्ये पाँच जना यहोवाका साक्षीहरू पनि थिए।
व्यवस्थित उद्धार कार्य
पूरै देशभरि मण्डलीहरू उद्धार कार्यमा जुटे। कोमासाग्वा, ओजाट्लान, सान्ता एलेना, सान्टियागो डे मारीया र उसुलुतानमा थुप्रै साक्षीले आफ्नो घर गुमाए। राज्यभवनहरू अनि केही निजी घरहरूलाई संकलन केन्द्रहरू बनाइयो। परिभ्रमण निरीक्षक एड्वेन अर्नान्डेस यसो भन्छन्, “असीमित सहयोग प्राप्त भयो। यहाँ आएर भाइहरूले खाना, लत्ता कपडा, डसना, औषधी साथै अन्त्येष्टिका लागि पैसासमेत दिए।”
यहोवाका साक्षीहरूको स्थानीय शाखा कार्यालयले नियुक्त गरेको उद्धार समितिले भूकम्पद्वारा कम प्रभावित मण्डलीका समूहहरूमा धेरै क्षति बेहोर्नु परेकाहरूको आकस्मिक आवश्यकता पूरा गर्ने प्रबन्ध मिलायो। त्यहाँ १० देखि २० जनाका समूहहरू बनाइयो र तिनीहरूले आवश्यक मर्मत कार्यहरू गरे।
त्यसबाहेक, प्रायजसो राज्यभवनहरू निर्माण
गर्न बन्दोबस्त मिलाउने यहोवाका साक्षीहरूका रिजनल बिल्डिङ कमिटीहरूले घर पूर्णतया क्षतिग्रस्त भएकाहरूका लागि अस्थायी घरहरू निर्माण गर्ने समूहहरू छुट्याए। एल साल्भाडोरमा जस्ताको भाउ अचाक्ली महँगो भएको कारण यहोवाका साक्षीहरूको ग्वाटेमाला शाखाले पर्याप्त मात्रामा जस्ता उपलब्ध गरायो। आवास गृहका चौकोसहरू बनाउन आवश्यक काठहरू संयुक्त राज्य तथा होन्डुरसका शाखाहरूले पठाइ दिए।यसरी दौडधूप गर्दै काम गरिरहेको बेला पनि धेरैपल्ट सानातिना धक्काहरू महसुस गरियो। सम्पूर्ण समुदाय बाटोमै प्लास्टिकका पाल तथा पुराना तन्नाहरू ओढेर सडकमै सुते। तिनीहरू साह्रै त्रसित थिए। फेब्रुअरी १२ सम्ममा ३,४८६ चोटि सानातिना धक्काहरू गएको अभिलेख गरियो।
दोस्रो ठूलो कम्प
पहिलो ठूलो भूकम्प गएको एक महिनापछि २००१ फेब्रुअरी १३ का दिन बिहान ८:२२ बजे एल साल्भाडोरको मुटुमै ६.६ रेक्टर स्केलको दोस्रो ठूलो भूकम्प गयो। फेरि एक चोटि यहोवाका साक्षीहरूको उद्धार कार्यले तीव्र गति लियो। नो ईरेटा नाउँको एक जना प्राचीनले यसो भने: “प्रत्येक मण्डली पुस्तक अध्ययन समूहका सञ्चालकहरूलाई आ-आफ्नो समूहका साक्षीहरू सबै सुरक्षित छन् कि छैनन् भनेर पक्का गर्न तिनीहरूलाई भेट्ने कार्यभार सुम्पियो।”
भूकम्पले सान भिसेन्टा र कोजुटेपेके शहरलगायत वरपरका इलाकामा धेरै क्षति पुऱ्यायो। सान पेड्रो नानुआल्को, सान मीगेल टापाजोन्टेस र सान ह्वान टापाजोन्टेस नगरहरू ध्वस्त भए। लगभग पूरै ध्वस्त भएको ठाउँ क्यान्डेलेरिया कसक्याटलान चर्चको एउटा स्कूल भत्कँदा २० जना केटाकेटी मारिए। साल्भाडोर ट्रेयो नामको एक जना स्थानीय साक्षी यस्तो वर्णन गर्छन्: “करिब एक घण्टापछि सडकमा ‘भाइ ट्रेयो!’ भनेर बोलाउँदै गरेको आवाज सुनें। सुरुमा त धूलो उडिरहेको कारण मैले केही पनि देखिनँ। त्यसपछि तुरुन्तै कोजुटेपेकेबाट आउनुभएका साक्षीहरूलाई देखें। उहाँहरू हाम्रो हालखबर बुझ्न आउनुभएको रहेछ!”
यो दोस्रो प्रकोपको मारमा परेकाहरूका लागि पनि आवश्यक चीजबीजको प्रबन्ध गर्न वरपरका मण्डलीहरू फेरि एकजुट भए। तिनीहरूले प्रथम शताब्दीका मेसिडोनियाका मसीहीहरूको अनुकरण गरे, जसले आफै खाँचोमा परेका भए तापनि अरूलाई दिने मौका दिनुहोस् भनी आग्रह गरे। उदाहरणका लागि, पहिलो भूकम्पका कारण क्षति भोग्नुपरेका सान्ट्यागो टेक्साकुआन्गोस शहरका मण्डलीहरूले नजिकैका सान मिगेल टेपेजोन्टेसका भाइहरूलाई तात्तातो भोजनको प्रबन्ध मिलाए।
त्यस भूकम्पले गर्दा एल साल्भाडोरमा जम्माजम्मी १,२०० जना मानिस मारिएको अनुमान गरिएको छ भने सँगैको ग्वाटेमालामा ८ जना मारिएको रिपोर्ट गरियो।
हाम्रा प्रयासहरूप्रति कृतज्ञता व्यक्त गरियो
पीडितहरूलाई सहयोग गर्न साक्षीहरूले गरेको व्यवस्थित कार्यको अरू उद्धार समूहहरूले पनि सराहना गरे।
शिविरको रूपमा प्रयोग गरिएको राज्यभवनमा आकस्मिक साधनहरू पुऱ्याउन राष्ट्रिय आकस्मिक समितिको सवारी साधन आइपुग्यो। उक्त समितिको प्रतिनिधिले यस्तो आश्चर्य व्यक्त गरिन्: “हामी गएका सम्पूर्ण शिविरहरूमध्ये यो सबैभन्दा व्यवस्थित छ। तपाईंहरूलाई मेरो धेरै धेरै बधाई छ!” अरू केन्द्रहरूमा जस्तो त्यहाँ ट्रकअघि भीडभाड गर्ने, घचेटाघचेट अर्थात् ठेलमठेल गर्ने जस्ता कार्यहरू केही पनि भएनन्। अझ भनौं भने, त्यहाँ त यी अनुदानहरू सबैभन्दा पहिला वृद्धहरूले पाओस् भनेर तिनीहरूलाई प्राथमिकता दिइन्थ्यो।साक्षीहरूले आफ्नो उद्धार कार्य सँगी विश्वासीहरूमाझ मात्र सीमित राखेनन्। उदाहरणका लागि, सान भिसेन्टेमा दर्जनौं गैर-साक्षी छिमेकीहरू राज्यभवनको चौरमा शरण लिन आए। रेजिना दुराँ दे क्यानयास यसो भन्छिन्, “यहोवाका साक्षीहरूको राज्यभवनका मानिसहरूको हृदय एकदमै कोमल छ। तिनीहरूले ढोका खोलेर हाम्रो स्वागत गरे र यसो भने ‘भित्र आउनुहोस्!’ त्यसैले, हामी यहाँ बस्न पायौं। अनि राती हामी सुतेको बेलासमेत तिनीहरू हाम्रो रेखदेख गर्दै पालै पालो पहरा दिन्छन्।”
आवासको व्यवस्था मिलाउँदै
क्षतिको लेखाजोखा गरिसकेपछि आवास उपलब्ध गराउन आवश्यक सुझाउहरू शाखा कार्यालयमा पठाइयो। आफ्नो घर गुमाउनेहरूको लागि अस्थायी घर
निर्माण गर्न थालियो। साथै, आंशिक रूपमा क्षति पुगेका घरहरू पनि मर्मत गरियो। परिश्रमी अनि दक्ष निर्माण दलहरूको कामले मानिसहरूको ध्यान खिच्यो र छिमेकीहरू तिनीहरूले काम गरिरहेको हेर्न आए।यी कामदारहरू धेरै अघिदेखि सहायताको लागि प्रतिज्ञा गरिएको नगर प्रशासनबाट आएका होलान् भन्ठानेर एक जना आइमाई आफूकहाँ भएको फोहोर हटाउनचाहिं कसैले पनि चासो देखाएनन् भनेर तिनीहरूसित गुनासो गर्न आइन्। छिमेकका केटाकेटीहरूले तिनलाई यसो भने: “होइन, होइन, तिनीहरू नगर प्रशासनबाट आएका होइनन्। तिनीहरू त राज्यबाट आएका हुन्!” अर्का गैर-साक्षी मोइसेस आन्टोनियो डीयाजले यसप्रकार प्रशंसा गरे: “यहोवाका साक्षीहरूले खाँचोमा परेकाहरूलाई मदत गरेको हेर्न पाउनु साँच्चै राम्रो अनुभव हो। यो एकदमै संगठित संस्था रहेछ र परमेश्वरको कृपाले गर्दा तिनीहरूसित गरिबहरूलाई सहयोग गर्ने असल मनसाय पनि रहेछ। मैले तिनीहरूसित काम गर्न पाएँ र फेरि पनि गर्न चाहन्छु।”
आफ्नो लागि अस्थायी आवास भवनको निर्माण गरिदिएपछि एक जना मसीही बहिनीले रुँदै यसो भनिन्: “म र मेरो श्रीमान् सर्वप्रथम यहोवा अनि त्यसपछि हामीलाई चिन्दै नचिने पनि आएर सहायता गर्नुहुने यी भाइहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छौं तर हामीसित हाम्रो कृतज्ञता व्यक्त गर्ने शब्दहरू नै छैनन्।”
अप्रिलको मध्यतिर भूकम्प पीडितहरूका लागि साक्षीहरूले ५६७ वटा अस्थायी घरहरू निर्माण गरे र झन्डै १०० वटा थप परिवारले आफ्नो क्षतिग्रस्त घरको मर्मतसम्भार गर्न आवश्यक सामग्री हासिल गरे। सुरक्षाको लागि बलियो ढोका अनि छानाको व्यवस्था मिलाइसकेपछि साक्षीहरूले मर्मतसम्भार वा पुनर्निर्माण गर्नुपर्ने ९२ वटा राज्यभवनहरूमा आफ्नो ध्यान केन्द्रित गरे।
जीवनको पुनर्निर्माण गर्दै
भवन तथा घरहरूको पुनर्निर्माणबाहेक धेरैजसो विशेष गरी आफ्नो आध्यात्मिकता बलियो पार्न तथा भावनात्मक तवरमा लाभ पुऱ्याउन गरिएका कार्यहरूप्रति पनि कृतज्ञ छन्।
“त्यस्तो संकष्ट अनि भूकम्पका सानातिना धक्काहरू महसुस गरिरहनुपर्दा कहिलेकाहीं म साह्रै व्याकुल हुन्थें तर भाइहरूले निरन्तर माया अनि प्रोत्साहन दिइरहनुभयो” भनेर माथि उल्लिखित मिरियमले बताइन्। “ती भाइहरू नभएका भए हाम्रो हालत कस्तो हुन्थ्यो होला?”
मण्डलीहरूमार्फत यहोवाले भूकम्प पीडितहरूलाई देखाउनुभएको मायालु रेखदेखले तिनीहरूलाई आश्चर्यजनक ढंगमा प्रेरणा दियो। कोमासागुआमा पहिलो भूकम्पको झट्काले प्राय सबै साक्षीको घरलाई क्षति पुऱ्यायो वा ध्वस्तै पाऱ्यो। तैपनि, अप्रिल र मे महिनाको दौडान पूर्ण-समय सेवकाईमा भाग लिनको लागि १२ देखि १७ जना साक्षीले आफ्नो नाउँ दिए र तिनीहरूमध्ये दुई जना त्यसबेलादेखि नियमित पूर्ण-समय सेवकहरू भएका छन्।
दोस्रो ठूलो भूकम्पले असर पुऱ्याएको ठाउँ कसक्याटलानका प्रान्तअन्तर्गत पर्ने मण्डलीहरूले आफ्नो विशेष सम्मेलन मार्चमै आयोजना गरे। त्यहाँ जम्मा १,५३५ जनाको उल्लेखनीय उपस्थिति थियो भने २२ जनाले बप्तिस्मा लिए। त्यहाँ उपस्थित धेरै मानिसहरूले आफ्नो घर गुमाएका भए तापनि सम्मेलन भवनको लागि भने धेरै रकम अनुदान दिएको देखेर सम्मेलनका आयोजकहरू छक्क परे।
थुप्रै मानिसको कृतज्ञ मनोभाव झल्काउँदै सान भिसेन्टेको एक जना साक्षीले यस्तो प्रशंसा गरे: “प्रकोप परेको बेला हाम्रो संगठनले कसरी मदत गर्छ भन्ने कुरा मैले पत्रिकाहरूमा मात्र पढेको थिएँ। तर अहिले भने मैले यो व्यक्तिगत तवरमा अनुभव गर्न पाएको छु र यस भ्रातृत्वको सहायता महसुस गरेको छु। मसीही प्रेमबाट उत्प्रेरित भएर गरिएका कार्यहरू हामीले देखेका छौं। यस संगठित जनहरूको भाग हुनपाउनु एकदमै ठूलो सुअवसरको कुरा हो!” (g01 10/22)
[पृष्ठ २३-मा भएको चित्र]
लास कोलिनासमा भूकम्पका कारण गएको पहिरोले ३०० भन्दा धेरै घरलाई पुऱ्यो
[स्रोत]
Bottom of pages 23-5: Courtesy El Diario de Hoy
[पृष्ठ २४-मा भएको चित्र]
गाउँलेहरूले उद्धार कार्यमा पिक, सावेल र बाल्टिनहरूको प्रयोग गरे
[स्रोत]
Courtesy of La Prensa Gráfica (photograph by Milton Flores/Alberto Morales/Félix Amaya)
[पृष्ठ २५-मा भएको चित्र]
टेपेकोयोको राज्यभवनको भग्नावशेष
[पृष्ठ २६-मा भएको चित्र]
टेपेकोयोमा सभाहरूको आयोजना गर्न भाइहरूले तुरुन्तै शिविर स्थापना गरे
[पृष्ठ २६-मा भएको चित्र]
साक्षीहरूले तुरुन्तै राज्यभवनहरू पुनर्निर्माण गर्नुका साथै ५०० वटा अस्थायी भवनहरू निर्माण गरे
[पृष्ठ २६-मा भएको चित्र]
कृतज्ञ एक्ली आमा तथा तिनकी छोरी आफ्नो क्षतिग्रस्त घरको जीर्णोद्धार कार्यलाई उत्सुकतासाथ हेर्दै