सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुखुरा—लोकप्रिय र प्रशस्त

कुखुरा—लोकप्रिय र प्रशस्त

कुखुरा—लोकप्रिय र प्रशस्त

केन्याका ब्यूँझनुहोस्‌! लेखकद्वारा

कुखुरा एउटा यस्तो चरा हो, जुन संसारको प्रायजसो सबै भागमा पाइन्छ। सायद, संसारमा सबैभन्दा धेरै पाइने चरा नै यही होला र यो चराको संख्या १३ अरबभन्दा बढी भएको अनुमान लगाएका छन्‌! अनि यसको मासुको माग यति बढी छ कि वर्षेनी ३३ अरब किलोग्राम खपत गरिन्छ। यसबाहेक, कुखुरीहरूले वर्षेनी संसारभरि झन्डै छ खरब अण्डा पार्छन्‌।

पश्‍चिमी मुलुकहरूमा कुखुरा प्रशस्त पाइनुका साथै सस्तो पनि छ। दशकौंअघि सं.रा.-को चुनाउमा एक जना उम्मेदवारले आफूले चुनाउ जितेमा हरेक घरमा कुखुराको मासुको परिकार पाक्ने प्रतिज्ञा गरे। तथापि, आज कुखुरा पहिलाजस्तो धनीहरूले मात्र खाने कुरा होइन वा यो कुनै वर्गमा मात्र सीमित छैन। यो अचम्मको चरा कसरी यत्तिबिघ्न उपलब्ध हुनुका साथै लोकप्रिय भयो? अनि के यो गरिब राष्ट्रहरूमा पनि पाइन्छ? के त्यहाँ पनि यो प्रशस्त हुने केही सम्भावना छ?

कुखुराको रेकर्ड

कुखुरा एसियामा पाइने लुइँचे परिवारको सदस्य हो। कुखुरा घरमा पनि पाल्न सकिंदो रहेछ भनेर मानिसहरूले चाँडै थाह पाए। अझ भनौं भने, येशू ख्रीष्टले झन्डै दुई हजार वर्षअघि कुखुरीले कसरी आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छे, त्यसबारे बताउनुभएको थियो। (मत्ती २३:३७; २६:३४) उहाँले चलाउनुभएको यस्तो दृष्टान्तबाट मानिसहरूलाई कुखुराबारे थाह थियो भन्‍ने कुराको प्रमाण दिन्छ। तर व्यापारिक रूपमा कुखुरा तथा अण्डाहरू ठूलो संख्यामा उत्पादन गरिन थालिएको चाहिं १९ औं शताब्दीदेखि मात्र हो।

निश्‍चय आज मासु र अण्डाको निम्ति कुखुरा नै धेरै पालिने गरिन्छ। शहरी क्षेत्रका परिवारहरूलगायत अन्य करोडौं मानिसहरूले घरको लागि र व्यापारिक उद्देश्‍यले कुखुरा पालन गर्छन्‌। वास्तवमा, कुखुराजस्तो विभिन्‍न भौगोलिक स्थानहरूमा पनि सजिलै पाल्न सकिने पशुहरू कमै होलान्‌। थुप्रै देशले आफ्नो ठाउँको हावापानी र आवश्‍यकताअनुसार कुखुराहरू विकास गरेका छन्‌। यिनीहरूमध्ये केही हुन्‌: अस्ट्रेलियाको अस्ट्रालोर्प, खास भूमध्यसागरमा पाइने तर अहिले संयुक्‍त राज्यमा धेरै खपत हुने प्रख्यात लेगहर्न; यसबाहेक संयुक्‍त राज्यमा न्यु ह्‍याम्पशायर, प्लाइमाउथ रक, रोड आइल्याण्ड रेड र वेनडोट्ट पनि पाइन्छ; अनि बेलाइतमा चाहिं कोर्निश, ओर्पिङटन र ससेक्स पाइन्छ।

कुखुरा उत्पादन गर्ने उन्‍नत वैज्ञानिक प्रविधिहरूले गर्दा पनि यो सबैभन्दा सफल कृषि उद्योगहरूमध्ये एउटा भएको छ। संयुक्‍त राज्यमा किसानहरूले कुखुरालाई तौली-तौली दाना दिनुका साथै व्यवस्थित खोरमा राख्छन्‌ र वैज्ञानिक तरिकामा रोग नियन्त्रण पनि गर्छन्‌। धेरै मानिसले यसरी धेरै संख्यामा कुखुरा उत्पादन गर्ने प्रविधि ठीक छैन भनी विरोध गरे तापनि यसले किसानहरूलाई कुखुरा उत्पादन गर्ने झनै राम्रा तरिकाहरू विकास गर्न निरुत्साहित गरेको छैन। आधुनिक प्रविधिहरूको कारण आज एकै जना मान्छेले २५,००० देखि ५०,००० कुखुराको हेरचाह गर्नसक्छ। तीन महिनामै कुखुरा बजारमा बेच्न तयार हुन्छ। a

मासुको स्रोत

तपाईं जुनसुकै होटल, रेस्टुराँ वा खानेकुरा बेच्ने ठाउँमा जानुहोस्‌, तपाईंले प्रायः सबै ठाउँ कुखुराको मासुको परिकार पाउनुहुनेछ। साँच्चै भन्‍ने हो भने, संसारभरि एउटै नाउँमा खोलिने कतिपय रेस्टुराँहरूको विशेषता नै कुखुराको मासुको परिकार हुन्छ। अनि संसारमा अझै पनि यस्ता समुदायहरू छन्‌, जहाँ कुखुराको मासु विशेष अवसरहरूमा मात्र टक्राइन्छ। अनि कुनै-कुनै देश जस्तै, भारतमा कुखुरा बनाउने विभिन्‍न मनमोहक तरिकाहरू विकास गरिएका छन्‌। जस्तै, रातो खुर्सानी हालेर बनाइएको लाल मुर्गी; कुखुराको मासुलाई सा-सानो टुक्रा पारेर बनाइएको कुर्गी मुर्गी र कुखुरामा अदुवा हालेर बनाइएको अद्रक मुर्गी असाध्यै स्वादिष्ट हुन्छ!

किन कुखुरा यतिबिघ्न लोकप्रिय? कुखुराजस्तो विभिन्‍न मसलाहरू हालेर किसिम-किसिमको परिकार बनाउन मिल्ने मासु अरू कमैको हुन्छ। तपाईं कसरी खान चाहनुहुन्छ? भुटेर, पोलेर, सेकेर वा बफाएर? कुनै पनि पाक पुस्तक हेर्नुहोस्‌, त्यहाँ तपाईंले कुखुराको विभिन्‍न भाग तयार गर्ने दर्जनौं तरिकाहरू देख्नुहुनेछ।

कुखुरा थुप्रै देशमा पाइने भएकोले तुलनात्मक हिसाबमा यो सस्तो पनि छ। यो पोषण विशेषज्ञहरूको साथी पनि हो, किनभने यसमा शरीरलाई आवश्‍यक प्रोटिन, भिटामिन र खनिज पदार्थ सबै पाइन्छ। तथापि, कुखुरामा क्यालोरी र बोसो कम हुन्छ।

विकासोन्मुख राष्ट्रहरूलाई खुवाउने

तर सबै देशमा कुखुरा प्रशस्त मात्रामा पाइँदैन। कृषि विज्ञान र प्रविधि परिषद्‌को एउटा टोलीको यो रिपोर्टअनुसार उक्‍त कुरा उल्लेखनीय देखिन्छ: “विश्‍व जनसंख्या २०२० सम्ममा ७.७ अरब पुग्ने अनुमान गरिएको छ। . . . तथापि, प्रायजसो (९५%) जनसंख्या वृद्धि विकासोन्मुख राष्ट्रहरूमा हुने पूर्वानुमान गरिएको छ।” संसारका ८० करोड मानिसहरू अहिले नै कुपोषणको सिकार भएको कुरालाई सम्झँदा माथि उल्लिखित कुरा अझ विचारणीय हुन्छ!

यद्यपि, भोको जनसंख्यालाई खुवाउन र किसानहरूलाई अत्यन्तै आवश्‍यक आयस्रोतको प्रबन्ध मिलाउन कुखुराले ठूलो भूमिका निर्वाह गर्नसक्छ भन्‍ने थुप्रै विशेषज्ञको विचार छ। तर एउटा समस्या के छ भने, गरिब किसानहरूको निम्ति ठूलो संख्यामा कुखुरा पालन गर्नु साँच्चै चुनौतीपूर्ण हुनसक्छ। किनभने एउटा कारण त, गरिब राष्ट्रहरूमा कुखुरा पालन मुख्यतया ग्रामीण इलाकाको सानो खेतमा वा घर आँगनमा गरिन्छ। अनि त्यस्ता राष्ट्रहरूमा कुखुरालाई विरलै सुरक्षित वातावरणमा राखिन्छ। दिउँसो कुखुराहरू त्यतिकै खुला छोडिन्छ र तिनीहरूले आफै आहार खोज्दै खानुपर्छ अनि रात परेपछि आफ्नो घर अथवा खोरमा फर्कन्छन्‌ वा कहिलेकाहीं तिनीहरूले रूखमै रात काट्‌नुपर्छ।

त्यसैकारण, त्यसरी पालिएका कुखुराहरू विभिन्‍न कारणले जस्तै, घातक न्युक्यासेल रोग लागेर मर्नु वा अरू कतिचाहिं जनावर तथा मानिसहरूको सिकार हुनु कुनै छक्कलाग्दो कुरा होइन। अधिकांश किसानहरूसित कुखुरा कसरी पाल्नुपर्छ भनेर न त ज्ञान छ न कुखुरालाई पर्याप्त मात्रामा खुवाउन, उपयुक्‍त खोर बनाउन वा रोगबाट बचाउन पैसा नै छ। यही कारणले गर्दा विकासोन्मुख राष्ट्रहरूमा किसानहरूलाई कुखुरा पालनसम्बन्धी शिक्षा दिन कार्यक्रमहरू सुरु गरिएका छन्‌। उदाहरणका लागि, संयुक्‍त राष्ट्रको खाद्य तथा कृषि संगठनले “अझ धेरै कुखुरा पालन गरेर अफ्रिकाका दुर्गम इलाकाहरूमा मदत गर्न” पाँच वर्षे योजना सुरु गरेको छ।

त्यस्तो असल मनसायले चालेका कदमहरूको नतिजा कस्तो हुन्छ त्यो हेर्न बाँकी नै छ। अतः धनी राष्ट्रका मानिसहरूले कुखुराको मासुजस्तो सामान्य कुरा संसारको अधिकांश बासिन्दाहरूको निम्ति एकदमै चीजको कुरा हो भनेर गौर गर्नसक्छन्‌। त्यस्ता व्यक्‍तिहरूको निम्ति ‘हरेक घरमा कुखुराको परिकार’ सपनाको कुरा हुनसक्छ। (g01 10/8)

[फुटनोट]

a कुखुरा, अण्डाको लागि पनि पालिने गरिए तापनि संयुक्‍त राज्यमा भने ९० प्रतिशत मासुको लागि पालिने गरिन्छ।

[पृष्ठ २२-मा भएको पेटी/चित्र]

कुखुराको काँचो मासु चलाउँदा होस गर्नुपर्ने कुराहरू

“कुखुराको काँचो मासुमा हानिकारक जीवाणुहरू जस्तै, सालमोनेला ब्याक्टेरियाहरू हुनसक्ने भएकोले यसलाई चलाउँदा होस गर्नु महत्त्वपूर्ण छ। सधैं तपाईंको हात, अचानो, चक्कु र ठूलो खालको कैंची चलाउनुअघि र चलाइसकेपछि तातो साबुन पानीमा धुनुहोस्‌। भतभती पोल्ने तातो पानीमा सफा गर्न सकिने अचानो चलाउनु बेस हुनेछ . . . र सम्भव भए, यसलाई मासु काट्‌नको निम्ति मात्र छुट्टै प्रयोग गर्नुहोस्‌। बरफमा राखिएको कुखुरा पकाउनुअघि बरफ पूरा पगाल्नुहोस्‌।”— द कुक्स किचेन बाइबल।

[पृष्ठ २०-मा भएको चित्र]

ह्वाइट लेगहर्न, ग्रे जंगल फाउल, ओर्पिङटन, कोर्निश, पोलिश र स्पेकल्ड ससेक्स कुखुराका केही प्रकारहरू हुन्‌

[स्रोत]

All except White Leghorn: © Barry Koffler/www.feathersite.com

[पृष्ठ २१-मा भएको चित्र]

विकासोन्मुख राष्ट्रहरूमा किसानहरूलाई कुखुरा पालनमा मदत गर्न प्रयासहरू गरिंदैछन्‌

[पृष्ठ २१-मा भएको चित्र]

संयुक्‍त राज्यमा कुखुरा ९० प्रतिशत मासुको लागि पालिने गरिन्छ