के बदला लिनुमा कुनै खराबी छ र?
युवा जनहरू सोध्छन् . . .
के बदला लिनुमा कुनै खराबी छ र?
“उसले मेरो बेइज्जती गऱ्यो।”—पन्ध्र वर्षीय कनिल, हत्याको आरोपमा थुनिएका।
चौध वर्षीय एन्ड्रुले स्कूलमा नाँचगान भइरहेको बेला आफ्नै शिक्षिकाको हत्या गरे। तिनले आफ्ना शिक्षक शिक्षिका तथा आमाबाबुलाई घृणा गर्नुका साथै आफूलाई इन्कार गर्ने केटीसित निकै रिस उठेको दाबी गरे।
टाइम पत्रिकाले यसलाई “घातक प्रवृत्ति” भन्ने संज्ञा दिएको छ। एक जना रिसाहा ठिटोले स्कूलमा लुकाएर खतरनाक हतियार ल्याउँछन् र आफ्ना सहपाठी र शिक्षकहरूलाई गोली हान्न सुरु गर्छन्। यस्ता दुखलाग्दा घटनाहरू संयुक्त राज्यमा सामान्य हुन थालिसकेको छ, त्यसैले एक टिभी समाचार सेवाले यस्तो किसिमको प्रवृत्तिलाई “हिंसाको आकस्मिक विस्फोट” भनी वर्णन गरे।
हुन त, अहिलेसम्म स्कूलमा गोली हानेका घटनाहरू कमै छन्। तरैपनि, हालसालै रिसको झोंकमा गरिएका अपराधहरूले केही युवाहरू कतिसम्म रिसाउँदा रहेछन् भनी देखाउँछ। केले यस्ता आक्रोशलाई चर्काउँछ जस्तो देखिन्छ? यीमध्ये केही युवाहरू कुनै अन्याय वा अख्तियारवालाले आफ्नो अख्तियारको दुरुपयोग गरेको देख्दा निकै आक्रोशित हुन्छन्। अरूचाहिं साथीहरूले घरिघरि जिस्क्याइरहँदा पनि साह्रै रिसाउँछन्। एक जना १२ वर्षिय केटाले आफ्नो एक जना सहपाठीलाई गोली हानी हत्या गरेपछि आफैलाई पनि गोली हाने, किनभने त्यो साथीले उसलाई मोटे भनेर जिस्काइरहन्थ्यो।
हो, सम्भवतः अधिकांश युवाहरूले आफू यस्तो जघन्य हिंसामा संलग्न हुन्छु भनेर कहिल्यै पनि गम्भीरतासाथ सोचेका हुँदैनन्। यद्यपि, जातीयता, थिचोमिचो वा खिल्लीको सिकार हुँदा विरोध, मानसिक एवम् तीव्र भावनात्मक पीडाको सामना गर्न सजिलो भने कदापि हुँदैन। आफ्ना स्कूलका दिनहरू सम्झिंदै बेन यसो भन्छन्, “मेरो उमेरका अरू किशोरहरूभन्दा मेरो उचाइ सधैं होचोको होचै रह्यो। म सधैं सफासित कपाल खौरने गर्थें, त्यसैले केटाहरूले मलाई सधैं जिस्क्याइरहन्थे र मेरो टाउकोमा प्याट् प्याट् पिटिरहन्थे। तिनीहरूले यसो गर्दा मलाई साह्रै रिस उठ्थ्यो। जब म यी समस्याहरू लिएर अख्तियार भएका व्यक्तिहरूकहाँ जान्थें, तिनीहरूले पनि वास्तै नगरिदिंदा परिस्थिति झनै नाजुक बन्थ्यो भने तिनीहरूको त्यस्तो व्यवहारले मलाई अति रिस उठ्थ्यो!” बेन थप्छन्, “मसँग बन्दुक भएको भए म यी मानिसहरूलाई उडाइ दिन्थें।”
आफूलाई चोट पुऱ्याउने व्यक्तिहरूलाई चोट पुऱ्याउन खोजी हिंड्ने युवाहरूलाई हामीले कुन दृष्टिकोणले हेर्नुपर्छ? स्वयम् तपाईं दुर्व्यवहारको सिकार हुनुभएमा तपाईंले के गर्नुपर्छ? परमेश्वरको वचनले यसको जवाफ कसरी दिन्छ, विचार गर्नुहोस्।
आत्म-संयम—पुरुषार्थको चिन्ह हो!
दुर्व्यवहार अनि अन्याय कुनै नौलो कुरा होइन। एक जना बाइबल लेखकले यस्तो सल्लाह दिए: “रिसाउन छोड़ र क्रोधलाई त्याग्। व्याकुल नहो, यसले खराबी गर्नतिर भजन ३७:८) अक्सर आवेगमा आउँदा आत्म-संयम हराउँछ र नतिजाको कुनै वास्तै हुँदैन। कुनै पनि व्यक्ति “रिसले आगो हुँदा” त्यसको परिणाम भयावह हुनसक्छ! परिणाम कस्तो हुनसक्छ?
ढल्काउँछ।” (बाइबलमा कयिन र हाबिलको उदाहरणलाई नै विचार गर्नुहोस्। कयिन आफ्ना भाइ हाबिलसित “ज्यादै रिसाए।” फलस्वरूप, “जब तिनीहरू खेतमा थिए तब आफ्नो भाइ हाबिलको विरुद्धमा उठेर कयिनले तिनलाई मारे।” (उत्पत्ति ४:५, ८) अनियन्त्रित रिसको अर्को उदाहरण राजा शाऊल हुन्। जवान दाऊदले युद्धमा हासिल गरेको सफलता देखेर तिनले दाऊदलाई मात्र होइन आफ्नै छोरा जोनाथनलाई समेत भालाले प्रहार गरे।—१ शमूएल १८:११; १९:१०; २०:३०-३४.
हो, कहिलेकाहीं रिस उठ्नु स्वाभाविकै हो। तर स्वाभाविक रिसलाई पनि वशमा राखेनौं भने, त्यसको परिणाम नराम्रो हुनसक्छ। उदाहरणका लागि, आफ्नो बहिनी दिनालाई शेकेमले बलात्कार गरेको थाह पाउँदा शिमोन र लेवीलाई शेकेमसित रिस उठ्नु स्वाभाविकै थियो। तर शान्त रहनुको सट्टा तिनीहरूले यी शब्दहरूद्वारा आफ्नो हिंसात्मक क्रोधलाई जगाए: “के त्यसले हाम्री बहिनीलाई वेश्याजस्तै तुल्याउनु हुन्छ त?” (उत्पत्ति ३४:३१) जब तिनीहरूको रिसले उग्र रूप लियो, “तिनीहरूले आफ्नो आफ्नो तरवार लिएर गुप्त रूपले शहरमा पसे, र” शेकेमका गाउँमा बस्ने “सबै पुरुषहरूलाई मारे।” तिनीहरूको रिसले अरूलाई पनि क्रोधित तुल्यायो, किनकि ‘याकूबका अन्य छोराहरू’ पनि त्यस घातक आक्रमणमा भाग लिए। (उत्पत्ति ३४:२५-२७) वर्षौं पछिसम्म पनि शिमोन र लेवीका पिता याकूबले तिनीहरूको त्यो अनियन्त्रित रिसको भर्त्सना गरिरहे।—उत्पत्ति ४९:५-७.
यसबाट हामी एउटा महत्त्वपूर्ण पाठ सिक्छौं: अनियन्त्रित रिस पुरुषार्थको होइन तर लाचारीको चिन्ह हो। हितोपदेश १६:३२ यसो भन्छ, “झगड़ालु हुनुभन्दा रीसमा धीमा हुनु असल हो, शहरलाई कब्जा गर्नुभन्दा आफ्नो क्रोधलाई दमन गर्नु असल हो।”
बदला लिनु मूर्खता हो
अतः धर्मशास्त्रले यस्तो सल्लाह दिन्छ: “कसैलाई खराबको बदला खराब नगर। . . . बदला नलेओ।” (रोमी १२:१७, १९) चाहे कसैको घात गरेर होस् वा घोच्ने शब्दहरू बोलेर, बदला लिनु ईश्वरनिन्दित कार्य हो। अर्कोतिर, यस्तो बदलाको भाव राख्नु अव्यावहारिक र मूर्खतापूर्ण कार्यबाहेक अरू केही हुनसक्दैन। एउटा कुरा, अक्सर हिंसाको परिणाम झनै डरलाग्दो हिंसा हुन्छ। (मत्ती २६:५२) अनि कटु वचनले अक्सर झनै कटु वचनहरूलाई निम्त्याउँछ। रिसाउनुको पछाडि अक्सर खासै मनासिब कारण हुँदैन भन्ने कुरालाई पनि नबिर्सनुहोस्। उदाहरणका लागि, तपाईंको चित्त दुखाउने व्यक्तिको मनमा तपाईंप्रति पक्कै शत्रुभाव छ भन्ने कुरा के तपाईं साँच्चै थाह पाउन सक्नुहुन्छ? त्यस व्यक्तिले तपाईंको भावना अलि नबुझेकोले वा ऊ अलि अपरिपक्व भएकोले पनि त त्यसो गरेको हुनसक्छ, सक्दैन र? त्यस व्यक्तिको मनमा तपाईंप्रति शत्रुभावै भए तापनि उसले जे गरेको थियो, त्यसरी नै बदला लिंदा के परिस्थिति सुध्रिएला?
उपदेशक ७:२१, २२ मा भनिएका बाइबलका शब्दहरू विचार गर्नुहोस्: “मानिसहरूले भनेका सबै कुरामा ध्यान नदेऊ, नत्रता तिम्रै नोकरले तिम्रो निन्दा गरेको तिमीले सुन्नेछौ। किनभने तिमीले पनि कति चोटि अरूहरूको निन्दा गरेका छौ भनी तिमीलाई राम्रै थाह होला।” हो, आफ्नो विषयमा कसैले नराम्रो कुरा गर्दा पक्कै पनि दुःख लाग्छ। तर बाइबलले यसलाई जीवनको वास्तविकता हो भनी मानिलिन्छ। अरूबारे भन्न नहुने कुरा भनेर के तपाईं पछुताउनुभएको छैन र? त्यसैकारण, कसैले तपाईंबारे नराम्रो कुरा गऱ्यो भन्दैमा झट्टै रिसाइहाल्नु ठीक होला र? अरूले जिस्क्याउँदा प्रायः त्यसको वास्ता नगर्नु नै बेस हुन्छ।
त्यसै गरी, कसैले आफूलाई दुर्व्यवहार गरेजस्तो लाग्दैमा झट्ट रिसाइहाल्नु बुद्धिमानी होइन। किशोर डेभिड आफ्ना मसीही दौंतरीहरूसित बास्केटबल खेल्दा घटेको एउटा घटना सम्झन्छन्। डेभिड यसो भन्छन्, “अर्को टोलीको कुनै खेलाडीले मलाई बलले हिर्कायो।” डेभिड तुरुन्तै यसले पक्कै जानाजानी मलाई हिर्काउन खोजेको हो भन्ने निष्कर्षमा पुगे र आफूलाई जसो गरेको हो त्यसरी नै बदला लिन उसले अर्को टोलीको त्यो खेलाडीलाई बलले हिर्काइदिए। डेभिड यसरी स्वीकार्छन्, “मैले त रिसले आँखै देखिनँ।” तर परिस्थिति अझ बिग्रनुअघि नै डेभिडले यहोवालाई प्रार्थना गरे। तिनले आफैलाई सोधे, ‘म यो के गर्दैछु, के म एक जना मसीही भाइसित झगडा गर्न खोजिरहेको छु?’ पछि दुवैले एक अर्कासित माफी मागे।
यस्तो परिस्थितिमा येशू ख्रीष्टको उदाहरणलाई सम्झनु बुद्धिमानी हुनेछ। “जसले गाली खाएर आफूले फेरि गाली गर्नुभएन। दुःख भोगेर धम्काउनुभएन।” (१ पत्रुस २:२३) हो, तनाउग्रस्त हुँदा झट्टै तातिएर रिसाउनुको सट्टा परमेश्वरलाई प्रार्थना गर्नुहोस् र आत्म-संयम कायम राख्न मदत माग्नुहोस्। उहाँले “माग्नेहरूलाई कति बढ़ता गरेर पवित्र आत्मा दिनुहुनेछ।” (लूका ११:१३) कसैले तपाईंको चित्त दुखाउँदा त्यसको बदला लिनुको सट्टा सम्भव भए तपाईंले उक्त व्यक्तिसित भेटेर त्यसबारे कुरा गर्नुपर्छ। (मत्ती ५:२३, २४) यदि तपाईं लगातार कुनै गम्भीर दुर्व्यवहारको सिकार हुनुभएको छ भने, हुनसक्छ स्कूलका हुल्याहाहरूले तपाईंलाई सताइरहेका होलान्, त्यतिबेला कुनै हिंसात्मक मुठभेटको मार्ग नअपनाउनुहोस्। बरु, आफैलाई जोगाउन तपाईंले केही व्यावहारिक कदमहरू चाल्नु आवश्यक छ। a
रिस वशमा राख्ने एक युवा
धेरै युवाहरूले बाइबलका यी सिद्धान्तहरू व्यवहारमा उतारेका छन् र राम्रा नतिजाहरू पनि प्राप्त गरेका छन्। उदाहरणका लागि, काट्रिनालाई सानै उमेरमा अरूको जिम्मा लगाइएको थियो। उनी यसो भन्छिन्, “मलाई जन्म दिने आमाले मलाई किन त्यागिन् भन्ने कुरा मैले नबुझेको कारण मलाई निकै झोंक चल्थ्यो। त्यसैले, म आफ्ना सबै रिस मेरी धर्ममातालाई पोखाउँथें। केही मूर्खतापूर्ण तर्कहरूले गर्दा म सोच्ने गर्थें, यदि मैले मेरी धर्ममातालाई चोट पुऱ्याएँ भने, मैले आफूलाई जन्म दिने आमासित कुनै न कुनै तरिकामा बदला लिइरहेकी हुनेछु। त्यसैकारण, मैले केही बाँकी राखिनँ, मैले मौखिक दुर्व्यवहार, खुट्टा बजार्ने, रिस देखाउने जस्ता सबै थोक गरें। रिस पोखाउन मलाई मनपर्ने तरिका नै बेस्सरी ढोका लगाउनु थियो। रिसले आँखै नदेखेको कारण म प्रायः यसो भन्ने गर्थें, ‘म तपाईंलाई घृणा गर्छु!’ आफूले गरेका सबै काम फर्केर हेर्दा, मैले यी सबै कार्यहरू गरें भनेर मलाई विश्वासै लाग्दैन।”
काट्रिनालाई आफ्नो रिस वशमा राख्न केले मदत गऱ्यो? उनी जवाफ दिन्छिन्: “बाइबल पढेर! यसो गर्नु निकै महत्त्वपूर्ण छ, किनकि यहोवाले हाम्रो भावना बुझ्नुहुन्छ।” उनीलगायत उनको परिवारले आफ्नो परिवारको अवस्थाबारे बताउने अवेक!-को लेख पढ्दा काट्रिनाले झनै सन्चो महसुस गरे। b उनी सम्झिन्छिन्, “हामी सबै सँगै मिलेर बस्न अनि एक अर्काको भावना बुझ्न सक्ने भयौं।”
तपाईं पनि रिसलाई वशमा राख्न सिक्न सक्नुहुन्छ। कसैले जिस्क्याउँदा, थिचोमिचो वा दुर्व्यवहार गर्दा बाइबलको भजन ४:४ मा लिखित शब्दहरूलाई सम्झनुहोस्, जहाँ यसो भनिएको छ: “रीस ता गर, तर पापचाहिं नगर।” यी शब्दहरूले तपाईंलाई विनाशकारी रिस त्याग्न मदत गर्नसक्छन्। (g01 10/22)
[फुटनोटहरू]
a पक्षपाती शिक्षकहरू, स्कूलका हुल्याहाहरू र दुर्व्यवहार गर्नेहरूसित व्यवहार गर्ने सन्दर्भमा व्यावहारिक सुझाउको लागि फेब्रुअरी ८ १९८४; अगस्त २२, १९८५; र अगस्त ८, १९८९ अवेक!-का अंकहरूमा प्रकाशित “युवा जनहरू सोध्छन् . . .” शीर्षकअन्तर्गतका लेखहरू पढ्नुहोस्।
b मे ८, १९९६ अवेक! अंकमा प्रकाशित “धर्मपुत्र अनि धर्मपुत्री ग्रहण गर्नु—आनन्द, चुनौती” नामक श्रृंखलाबद्ध लेख पढ्नुहोस्।
[पृष्ठ १५-मा भएको चित्र]
कहिलेकाहीं अरूले जिस्क्याउँदा त्यसलाई वास्ता नगर्नु नै बेस हुन्छ