सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं मदत पाउन सक्नुहुन्छ

तपाईं मदत पाउन सक्नुहुन्छ

तपाईं मदत पाउन सक्नुहुन्छ

‘एउटा कपमा उनान्चासवटा निद्रा लाग्ने चक्की छन्‌। निलूँ कि ननिलूँ?’ भनेर स्वीट्‌जरल्याण्डका एक २८ वर्षीय युवकले आफैलाई सोधे। तिनकी पत्नी र छोराले तिनलाई छाडेर गएकाले तिनी असाध्यै निराश थिए। एक घुट्‌को निलिसकेपछि तिनले आफैलाई भने: ‘नाइँ। म मर्न चाहन्‍नँ!’ खुसीको कुरा, तिनी यो घटना बताउन बाँचे। आत्महत्या गर्ने इच्छाले सधैं मृत्युको मुखमा धकेल्दैन।

किशोर किशोरीहरूले गर्ने आत्महत्याबारे अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा कार्यरत अलेक्स क्रोजवीले यसो भने: “आत्महत्या गर्न प्रयास गरिरहेकाहरूलाई केही घण्टा मात्र रोक्न सक्नुभयो भने पनि तपाईं त्यस व्यक्‍तिलाई आत्महत्या गर्नबाट बचाउन सक्नुहुन्छ। आत्महत्या गर्न चाहने व्यक्‍तिलाई रोकेर तपाईं आत्महत्या गर्नदेखि धेरैलाई बचाउन सक्नुहन्छ। तपाईं तिनीहरूको जीवन बचाउन सक्नुहन्छ।”

प्राध्यापक हिसाशी कुरोसावाले जापान मेडिकल कलेजको जीवन रक्षा तथा आकस्मिक केन्द्रमा काम गर्दा आत्महत्या गर्न चाहने सयौं मानिसहरूमा पुनः बाँच्ने चाहना विकास गर्न मदत गरे। हो, आत्महत्या गर्ने प्रयासमा कुनै रोकावट ल्याएर कसैको जीवन बचाउन सकिन्छ। यसको लागि कस्तो मदतको आवश्‍यकता छ?

आधारभूत समस्याहरूसित डट्‌नु आवश्‍यक छ

अघिल्लो लेखमा बताइएझैं अनुसन्धानकर्ताहरूले भनेअनुसार आत्महत्या गर्ने ९० प्रतिशत व्यक्‍तिहरूमा मानसिक असन्तुलन वा दुर्व्यसनको समस्या पाइएको थियो। त्यसैकारण, अमेरिकी राष्ट्रिय मानसिक स्वास्थ्य प्रतिष्ठानमा कार्यरत इभ के. मोसचिकी यसो भन्छिन्‌: “सबै उमेरका मानिसहरूको मानसिक असन्तुलन अनि कुलत रोक्न सकेको खण्डमा उनीहरूलाई आत्महत्या गर्नदेखि रोक्न सक्ने ठूलो सम्भावना हुन्छ।”

दुःखको कुरा, यस्ता असन्तुलनहरूबाट पीडित अधिकांश व्यक्‍तिहरू मदत खोज्नेतर्फ लाग्दैनन्‌। किन? “किनकि समाजमा ठूलो पूर्वाग्रह छ” भनी टोकियो महानगरपालिका मानसिक स्वास्थ्य प्रतिष्ठानमा कार्यरत योसिटोमो ताकाहासी टिप्पणी गर्छन्‌। उनी अझ थप्छन्‌, यसले गर्दा आफू अस्वस्थ छु भनेर अलिकता सचेत हुने मानिसहरूसमेत तुरुन्तै उपचार गर्न हिचकिचाउँछन्‌।

यद्यपि, केही व्यक्‍तिहरू भने लाज मानेर बसिरहँदैनन्‌। जापानमा १७ वर्षसम्म टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने प्रसिद्ध टेलिभिजन प्रस्तोता हिरोशी ओगावाले सार्वजनिक रूपमा आफू निराश भएर आत्महत्या गर्ने अवस्थामा पुगिसकेको कुरा स्वीकारे। ओगावाले यसो भने, “नैराश्‍य मनमा लाग्ने एकप्रकारको रुघा हो।” उनी भन्छन्‌, जो कोहीलाई पनि यो लाग्नसक्छ तर यसलाई निको पार्न भने सकिन्छ।

कसैसित कुरा गर्नुहोस्‌

सुरुमा उल्लेखित हंगेरियन स्वास्थ्य अधिकृत बेला बुडा यसो भन्छन्‌, “कुनै व्यक्‍तिलाई समस्या परेको बेला जब ऊ एक्लो हुन्छ, त्यतिबेला अक्सर उसलाई आफ्नो समस्या निकै ठूलो र समाधान गर्नै नसकिने जस्तो लाग्छ।” यस भनाइले बाइबलमा लिपिबद्ध प्राचीन हितोपदेशको बुद्धिको महत्त्वलाई जोड दिन्छ: “अमिल्दो मानिस स्वार्थको पछि लाग्छ, त्यसले सबै उचित ठहरको खुला विरोध गर्छ।”—हितोपदेश १८:१. नयाँ संशोधित संस्करण।

ती बुद्धिका शब्दहरू सुन्‍नुहोस्‌। व्यक्‍तिगत समस्याहरूको महासागरमा एक्लै पौडिने कोसिस नगर्नुहोस्‌। आफूले विश्‍वास अनि भरोसा गर्न सक्ने कुनै व्यक्‍ति खोज्नुहोस्‌। ‘तर,’ तपाईं भन्‍नुहोला: ‘मैले भरोसा गर्न सक्ने कोही व्यक्‍ति नै छैन।’ पेसेवर मानसिक रोग चिकित्सक डा. नाओकी साटोका अनुसार धेरैको सोचाइ यस्तै हुन्छ। साटोले बताएअनुसार बिरामीले अरूलाई आफ्नो मनका कुराहरू नबताउनसक्छ, किनकि तिनीहरू आफ्नो कमजोरी अरूसमक्ष प्रकट गर्न चाहँदैनन्‌।

आफ्नो कुरा सुनिदिने मानिस कहाँ पाउन सकिन्छ? धेरै ठाउँमा कुनै पनि व्यक्‍तिले आत्महत्या रोकथाम केन्द्र वा भावनात्मक समस्याहरूको समाधानका लागि सञ्चालन गरिरहेका हटलाइनहरूमा टेलिफोन गरेर वा भावनात्मक समस्याहरूको उपचार गर्ने कुनै पनि नाम चलेका चिकित्सकको मदत लिन सक्छन्‌। तर केही विशेषज्ञहरू मदतको अर्को एउटा स्रोतलाई पनि स्वीकार्छन्‌, त्यो हो धर्म। त्यसले कसरी मदत गर्नसक्छ?

तिनीहरूले खोजेकै मदत पाए

मारिन नाउँ गरेका बुल्गेरियाका एक जना अशक्‍त व्यक्‍तिले आत्महत्या गर्ने दृढ निश्‍चय गरिसकेका थिए। संयोगवश, एक दिन तिनले यहोवाका साक्षीहरूको प्रकाशन धार्मिक पत्रिका प्रहरीधरहरा पाए। तिनले यहोवाका साक्षीहरूद्वारा व्यक्‍तिगत तवरमा भेट्‌ने निमन्त्रणालाई स्वीकार्दै जवाफ लेखे। नतिजा कस्तो भयो, मारिन बताउँछन्‌: “मैले तिनीहरूबाट जीवन हाम्रो स्वर्गमा बस्नुहुने पिताले दिनुभएको उपहार हो र यसको हानि गर्ने वा आफ्नो इच्छाअनुसार अन्त गर्ने अधिकार हामीसित छैन भन्‍ने कुरा बुझें। यसरी, मैले आत्महत्या गर्ने मेरो पूर्व विचारलाई परिवर्तन गरें र फेरि जीवनलाई प्रेम गर्न थालें!” मारिनले मसीही मण्डलीबाट पनि मायालु सहयोग पाए। आफू अझै अशक्‍त भए तापनि तिनी यसो भन्छन्‌, “अहिले मेरा दिनहरू रमाइला र शान्तिपूर्ण छन्‌। आनन्ददायी कामकुरामा मेरा दिनहरू बित्छन्‌। मलाई समय नै पुग्दैन! यी सबै कुराहरूका लागि म यहोवा अनि उहाँका साक्षीहरूप्रति ऋणी छु।”

माथि उल्लेखित स्वीट्‌जरल्याण्डवासी एक युवकले पनि यहोवाका साक्षीहरूबाट मदत पाए। आज तिनी, आफूलाई उनीहरूको घर लैजाने “मसीही परिवारको दया”-बारे चर्चा गर्छन्‌। तिनी थप्छन्‌: “पछि, [यहोवाका साक्षीहरूको] मण्डलीका सदस्यहरूले मलाई पालैपालो दिनहुँजसो खानको लागि निम्त्याए। मैले उनीहरूले मप्रति देखाएको आतिथ्यको आनन्द उठाउनुका साथै उनीहरूमध्ये कसैलाई आफ्नो मनको कुरा पोखाउन पाएको कारण ठूलो मदत पाएँ।”

बाइबल अध्ययन गरेर र अझ विशेष गरी साँचो परमेश्‍वर यहोवाले मानिसजातिलाई गर्नुहुने प्रेमबारे सिकेर यो युवक निकै प्रोत्साहित भए। (यूहन्‍ना ३:१६) वास्तवमा, तपाईंले ‘उहाँको सामने आफ्नो हृदयको दुःख पोखाउनुहुँदा’ यहोवा परमेश्‍वरले ध्यान दिएर सुन्‍नुहुन्छ। (भजन ६२:८) “सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।” मानिसहरूको गल्ती कोट्याउन होइन तर “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन।” (२ इतिहास १६:९) यहोवा हामीलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सह्‍माल्नेछु।”—यशैया ४१:१०.

परमेश्‍वरले गर्नुभएको नयाँ संसारको प्रतिज्ञाबारे त्यस स्वीट्‌जरल्याण्डवासी युवकले यसो भने: “यस प्रतिज्ञाले मेरो निराशाको बोझलाई निकै हल्का गर्न मदत गरेको छ।” “प्राणको लङ्‌गर” भनी व्याख्या गरिएको यस आशामा पार्थिव प्रमोदवनमा अनन्त जीवनको प्रतिज्ञा विथोलित छ।—हिब्रू ६:१९; भजन ३७:१०, ११, २९.

तपाईंको जीवन अरूको लागि महत्त्वपूर्ण छ

हो, तपाईंले यस्ता परिस्थितिहरूको सामना गर्नुपर्ला जसले तपाईंको मनमा आफू पूर्णतया एक्लो हुनुहुन्छ र आफ्नो मृत्युले कसैलाई केही फरक पार्ने छैन भन्‍ने भावनाहरू पैदा गर्नसक्छ। यद्यपि, एक्लो महसुस गर्नु र एक्लो हुनु-बीच ठूलो भिन्‍नता छ भन्‍ने कुरालाई नबिर्सनुहोस्‌। बाइबलकालीन समयमा अगमवक्‍ता एलिया आफ्नो जीवनदेखि धेरै विरक्‍त भएका थिए। तिनले यहोवालाई यसो भने: तिनीहरूले “तपाईंका अगमवक्‍तहरूलाई तरवारले मारे। केवल म मात्रै बाँकी रहेको छु।” हो, एलियाले बिलकुलै एक्लो महसुस गरे। यसरी एक्लो महसुस गर्नुमा तिनीसित जायज कारण थियो। तिनका धेरै समकालीन अगमवक्‍ताहरू मारिएका थिए। तिनलाई पनि मृत्युका धम्कीहरू आइरहेको थियो अनि तिनी आफ्नो ज्यान जोगाउन भाग्दै थिए। तर के तिनी साँच्चै एक्लो थिए? कदापि थिएन। तिनीजस्तै करिब ७,००० वफादार मानिसहरू त्यस अन्धकारमय समयमा साँचो परमेश्‍वर यहोवाको सेवा गर्न विश्‍वासीपूर्वक प्रयास गरिरहेका छन्‌ भनेर यहोवाले तिनलाई बताउनुभयो। (१ राजा १९:१-१८) तथापि, तपाईं नि? सायद तपाईं आफूले सोचेजति एक्लो हुनुहुन्‍न कि?

तपाईंको चासो लिने व्यक्‍तिहरू छन्‌। तपाईं आफ्ना आमाबाबु, आफ्नो जीवनसाथी, आफ्ना छोराछोरी अनि मित्रहरूबारे सोच्न सक्नुहुन्छ। यति मात्र होइन अरू पनि छन्‌। तपाईं यहोवाका साक्षीहरूको मण्डलीमा आफ्नो चासो राख्ने, आफ्नो कुरा धैर्यतासाथ सुनिदिने, आफूसित बसेर र आफ्नो निम्ति प्रार्थना गरिदिने परिपक्व मसीहीहरू भेट्टाउन सक्नुहुन्छ। (याकूब ५:१४, १५) अनि सबै असिद्ध मानिसहरू यसो गर्न चुके तापनि तपाईंलाई कहिल्यै नत्याग्नुहुने एक जना व्यक्‍ति हुनुहुन्छ। पुरातन समयका राजा दाऊदले यसो भने: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्‌, तर परमप्रभुले मलाई सह्‍माल्नुहुनेछ।” हो, यहोवाले तपाईंको “फिक्री गर्नुहुन्छ।” (१ पत्रुस ५:७) तपाईं यहोवाको दृष्टिमा मूल्यवान्‌ हुनुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌।

जीवन यहोवाले दिनुभएको उपहार हो। हो, कहिलेकाहीं जीवन उपहार होइन तर बोझजस्तो लाग्नसक्छ। यद्यपि, तपाईंले कसैलाई मूल्यवान्‌ उपहार दिनुभयो तर उपहार प्रयोग गर्नुभन्दा अगाडि नै त्यस व्यक्‍तिले त्यो फ्याँकिदिएमा तपाईंलाई कस्तो लाग्नेछ, के तपाईं कल्पना गर्नसक्नुहुन्छ? हामी असिद्ध मानिसहरूले बल्लतल्ल जीवनको उपहारलाई सदुपयोग गर्न थालेका छौं। वास्तवमा, बाइबलले संकेत गरेअनुसार हाल हामी बाँचिरहेको जीवन परमेश्‍वरको दृष्टिमा “साँच्चै[को] जीवन” होइन। (१ तिमोथी ६:१९) हो, निकट भविष्यमा हाम्रो जीवन अझै अर्थपूर्ण र खुसशीयालीले भरिपूर्ण हुनेछ। तर कसरी?

बाइबल यसो भन्छ: “[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:३, ४) यी शब्दहरू पूरा हुँदा तपाईंको जीवन कस्तो होला, कल्पना गर्ने कोसिस गर्नुहोस्‌। हतार नगर्नुहोस्‌। आफ्नो मनमा त्यस पृथ्वीको पूरा अनि रंगीन चित्र ल्याउने प्रयास गर्नुहोस्‌। त्यो चित्र कुनै फोस्रो कल्पना होइन। विगतमा यहोवाले आफ्ना जनहरूसित कसरी व्यवहार गर्नुभयो भन्‍ने कुरा मनन गर्नुभयो भने यहोवाप्रतिको तपाईंको भरोसा बढ्‌नेछ र त्यो चित्र तपाईंको लागि अझ वास्तविक बन्‍नसक्छ।—भजन १३६:१-२६.

तपाईंको बाँच्ने चाहनालाई पूर्णतया पुनर्जीवित पार्न केही समय लाग्नसक्छ। ‘हर सङ्‌कष्टमा हामीलाई सान्त्वना दिनुहुने सान्त्वनाका परमेश्‍वरलाई’ प्रार्थना गरिरहनुहोस्‌। (२ कोरिन्थी १:३, ४; रोमी १२:१२; १ थिस्सलोनिकी ५:१७) यहोवाले तपाईंलाई आवश्‍यक बल दिनुहुनेछ। जीवन बाँच्न लायकको छ भनी उहाँले तपाईंलाई सिकाउनुहुनेछ।—यशैया ४०:२९. (g01 10/22)

[पृष्ठ ९-मा भएको पेटी/चित्र]

कसैले आत्महत्या गर्लाजस्तो देखिएमा तपाईं कसरी उसलाई मदत गर्न सक्नुहुन्छ ?

यदि कसैले तपाईंलाई विश्‍वास गरेर आफू आत्महत्या गर्न चाहेको कुरा बताएमा तपाईंले के गर्नुपर्छ? सं.रा. रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सि डि सी) यस्तो सल्लाह दिन्छन्‌, “त्यस व्यक्‍तिको कुरा राम्ररी सुन्‍नुहोस्‌।” उसलाई आफ्नो मनका कुराहरू पोखाउन दिनुहोस्‌। यद्यपि, धेरैजसो परिस्थितिहरूमा आत्महत्या गर्न चाहने व्यक्‍तिहरू एक्लै र कोहीसित पनि कुराकानी गर्न नचाहने स्वभावका हुन्छन्‌। उसले भोगिरहेको पीडा अनि निराशा वास्तविक हुन्‌ भनी स्वीकार्नुहोस्‌। यदि तपाईंले त्यस व्यक्‍तिको आनीबानीमा देख्नुभएका केही परिवर्तनहरू मायालु ढंगमा बताउनुभयो भने, उसलाई खुलेर कुरा गर्न र आफूलाई विश्‍वास गर्न उत्प्रेरित गर्न सक्नुहुन्छ।

उसको कुरा सुन्दा, सहानुभूति देखाउनुहोस्‌। सि डि सी यसो भन्छन्‌, “त्यस व्यक्‍तिको जीवन स्वयम्‌ तपाईं र अरूको लागि पनि महत्त्वपूर्ण छ भनी जोड दिनु अत्यावश्‍यक छ।” उसको मृत्युले तपाईंलगायत अरूलाई कत्तिको बरबाद पार्नसक्छ, उसलाई बुझाउनुहोस्‌। त्यस व्यक्‍तिलाई सृष्टिकर्ताले उसको कत्तिको ख्याल गर्नहुन्छ भनी बुझ्न मदत दिनुहोस्‌।—१ पत्रुस ५:७.

आत्महत्या गर्न प्रयोग गर्नसक्ने कुराहरू विशेष गरी हातहतियारहरू हटाउन पनि विशेषज्ञहरू सल्लाह दिन्छन्‌। परिस्थिति निकै गम्भीर देखिएमा तपाईं उक्‍त व्यक्‍तिलाई चिकित्सकको मदत लिन प्रोत्साहित गर्न सक्नुहुन्छ। गम्भीर परिस्थितिहरूमा तपाईं आफैले कुनै विशेष प्रकारको आकस्मिक उपचार सेवालाई बोलाउनुबाहेक अन्य कुनै विकल्पै नहुनसक्छ।

[पृष्ठ ११-मा भएको पेटी]

‘मेरो यस्तो भावनालाई के परमेश्‍वरले क्षमा गर्नुहुनेछ ?’

यहोवाका साक्षीहरूसितको संगतिले धेरैलाई आत्महत्या गर्ने विचार त्याग्न मदत गरेको छ। यद्यपि, जीवनको तनाउग्रस्त परिस्थिति वा नैराश्‍यबाट आज कोही पनि मुक्‍त छैनन्‌। आफ्नो ज्यान लिने विचार गरेका मसीहीहरू यस्ता विचारहरूले गर्दा अक्सर दोषी भावनाले पीडित हुन्छन्‌। दोषी भावनाले केवल बोझ अझ थपिनसक्छ। त्यसैकारण यस्ता भावनाहरूलाई कसरी सम्हाल्न सकिन्छ?

बाइबलकालीन समयमा केही विश्‍वासी पुरुष तथा स्त्रीहरूले जीवनप्रति गहिरो नकारात्मक भावना व्यक्‍त गरेका थिए भन्‍ने कुरालाई ध्यान दिनु बेस हुन्छ। कुलपिता इसहाककी पत्नी रिबेका एक चोटि पारिवारिक समस्याहरूले गर्दा यति साह्रो निराश भइन्‌ कि तिनले यसो भनिन्‌: “मैले बाँचेर के फायदा हुन्छ?” (उत्पत्ति २७:४६) आफ्नो छोराछोरी, स्वास्थ्य, सरसम्पत्ति तथा सामाजिक प्रतिष्ठा गुमाउने अय्यूबले यसो भने: “मेरो जीवनदेखि म विरक्‍त भएँ।” (अय्यूब १०:१) एक पटक मोशाले परमेश्‍वरसित चिच्च्याएर यसो भने: “बरू मलाई मारिदिनुहोस्‌।” (गन्ती ११:१५) परमेश्‍वरका अगमवक्‍ता एलिशाले एक पटक यसो भने: “बस भयो! हे परमप्रभु, अब मेरो प्राण लिनुहोस्‌।” (१ राजा १९:४) अनि अगमवक्‍ता योनाले धेरै पटक यसो भने: “मेरो निम्ति बाँच्नुभन्दा ता मर्नुनै निको छ।”—योना ४:८.

यस्तो विचारधारा राखेकोमा के यहोवाले तिनीहरूको भर्त्सना गर्नुभयो? कदापि गर्नुभएन। उहाँले तिनीहरूका ती अभिव्यक्‍तिहरूलाई समेत बाइबलमा सुरक्षित राख्नुभयो। यद्यपि, यस्तो भावनाले तीमध्ये कुनै पनि विश्‍वासी व्यक्‍तिहरूलाई आत्महत्या गर्न बाध्य तुल्याएनन्‌ भन्‍ने कुरालाई ध्यान दिनु निकै महत्त्वपूर्ण छ। यहोवाले उनीहरूलाई मूल्यवान्‌ ठान्‍नुभयो; उहाँ उनीहरू बाँचेको चाहनुहुन्थ्यो। साँच्चै भन्‍ने हो भने, परमेश्‍वर दुष्टहरूको जीवनको पनि ख्याल राख्नुहुन्छ। उहाँ तिनीहरूलाई आफ्नो चाल त्यागेर “जिओस्‌ भन्‍ने” आग्रह गर्नुहुन्छ। (इजकिएल ३३:११) अतः उहाँको निगाह प्राप्त गर्न इच्छुक व्यक्‍तिहरू बाँचेको उहाँ कत्ति इच्छा गर्नुहुन्छ होला!

परमेश्‍वरले आफ्नो पुत्रको छुडौतिको बलिदान, मसीही मण्डली, बाइबल र प्रार्थना गर्ने सुअवसर उपलब्ध गराउनुभएको छ। परमेश्‍वरसित सम्पर्क राख्ने टेलिफोन अर्थात्‌ प्रार्थनामा कहिल्यै पनि व्यस्त संकेत आउँदैन। उहाँलाई नम्र अनि निष्कपट हृदयले पुर्कानेहरूको पुकारा उहाँले सुन्‍नुहुनेछ र सुन्‍न सक्नुहुनेछ। “यसकारण अनुग्रहको सिंहासनको नजीक हामी निर्भयसँग आऔं, र कृपा पाऔं, औ दरकारको समयमा हाम्रो उपकारको निम्ति उहाँद्वारा अनुग्रह पाउनसक्छौं।”—हिब्रू ४:१६.

[पृष्ठ १२-मा भएको पेटी]

के तपाईंले आत्महत्याको कारण आफ्नो प्रियजन गुमाउनुभएको छ ?

जब कसैले आत्महत्या गर्छ, त्यतिबेला परिवारका सदस्यलगायत घनिष्ठ मित्रहरूले निकै मानसिक पीडा खप्छन्‌। धेरैले यस दुःखद घटनाको जिम्मेवार आफूलाई ठान्छन्‌। तिनहरू प्रायः यसो भन्‍ने गर्छन्‌: ‘यदि मैले त्यो दिन उसित अलि बढी समय बिताएको भए,’ ‘मैले त्यो समय आफ्नो जिब्रोमा लगाम कसेको भए,’ ‘मैले उसलाई मदत गर्न अलि बढी प्रयास गरेको भए।’ भनाइको अर्थ, ‘यदि मैले यसो गरेको भए, त्यसो गरेको भए, मेरो प्रियजन अहिले बाँचिरहेको हुन्थ्यो होला’ भनेर संकेत गर्नु हो। तथापि, आफूलाई कसैको आत्महत्याको दोषी ठान्‍नु के व्यावहारिक छ?

घटना घटिसकेपछि मात्र आत्महत्याका लक्षणहरू चिन्‍न निकै सजिलो हुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। घटना घट्‌नुअघि यस्ता लक्षणहरू चिन्‍न सजिलो हुँदैन। बाइबल यसो भन्छ, “मनको दुःख मनलेनै जान्दछ, औ त्यसको आनन्दमा अरूको भाग हुँदैन।” (हितोपदेश १४:१०) कहिलेकाहीं अर्को व्यक्‍तिको सोचाइ वा भावना बुझ्नु मात्र पनि असम्भव हुन्छ। साधारणतया, आत्महत्या गर्ने अधिकांश व्यक्‍तिहरूले आफ्ना भित्री भावनाहरू अरूलाई, परिवारका घनिष्ठ सदस्यहरूलाई समेत राम्ररी बताउन सक्दैनन्‌।

गिभिङ सरो वर्डस्‌ नामक पुस्तकले आत्महत्या गर्नसक्ने मानिसहरूले देखाउने लक्षणबारे यसो भन्छ: “वास्तविकता के हो भने, यस्ता लक्षणहरू बुझ्न प्रायः सजिलो हुँदैन।” सोही पुस्तकअनुसार यदि तपाईंले सानोतिनो लक्षण थाह पाइहाल्नु भए तापनि तपाईंले आत्महत्या गर्नबाट बचाउन सक्नुहुन्छ भन्‍ने कुनै ग्यारेन्टी हुँदैन। आफैलाई मानसिक पीडा दिनुको सट्टा तपाईं राजा सुलेमानका यी शब्दहरूबाट ढाडस पाउन सक्नुहुन्छ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌।” (उपदेशक ९:५) तपाईंको प्रियजनले नरकको आगोमा सास्ती भोगिरहेको छैन। अनि उसलाई आत्महत्या गर्न उत्प्रेरित गर्ने मानसिक अनि भावनात्मक पीडाको पनि अन्त भइसकेको छ। उसले कुनै पीडा भोगिरहेको छैन; उसले त केवल आराम गरिरहेको छ।

अब तपाईंले आफूलगायत बाँचेकाहरूको हितमा ध्यान दिनु नै बेस हुन्छ। सुलेमानले फेरि यसो भने: बाँचुन्जेल “तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्‍तिले गर्‌।” (उपदेशक ९:१०) अनि आत्महत्या गर्ने व्यक्‍तिको भविष्य “कृपाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर” यहोवाको हातमा छ भनी तपाईं ढुक्क हुनसक्नुहुन्छ।—२ कोरिन्थी १:३. a

[फुटनोट]

a सेप्टेम्बर ८, १९९० को अवेक! अंकको “बाइबलको दृष्टिकोण: आत्महत्या—पुनरुत्थान?” शीर्षक लेखमा आत्महत्या गर्ने व्यक्‍तिहरूको भावी आशाबारे सुन्तुलित दृष्टिकोण पाउनु हुनेछ।

[पृष्ठ ८-मा भएको चित्र]

कसैसित कुरा गर्नुहोस्‌

[पृष्ठ १०-मा भएको चित्र]

तपाईंको जीवन अरूको लागि महत्त्पूर्ण छ