सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वर कत्तिको सहनशील हुनुहुन्छ?

परमेश्‍वर कत्तिको सहनशील हुनुहुन्छ?

बाइबलको दृष्टिकोण

परमेश्‍वर कत्तिको सहनशील हुनुहुन्छ?

“परमेश्‍वरले आफ्नो क्रोध देखाउन र आफ्नो शक्‍ति जनाउन इच्छा गरेर विनाशको निम्ति बनाउनुभएको क्रोधका भाँडाहरूलाई साह्रै धीरजसँग सहनुभयो।”—रोमी ९:२२.

परमेश्‍वरले अहिलेसम्म धेरै खराबी र घोर दुष्टतालाई सहँदै आइरहनुभएको छ। अय्यूबले ३,००० वर्षअघि यस्तो विलाप गरे: “दुष्टहरू किन चिरञ्जीवि हुन्छन्‌? वृद्धावस्थामा पनि तिनीहरू हृष्ट–पुष्ट, महान्‌ र शक्‍तिशाली किन हुन्छन्‌? आफ्ना छोरा–छोरीहरूलाई राम्ररी बसोबासो गरेका र आफ्ना कुटुम्बहरू र सन्तानलाई फलिफाप भएका तिनीहरू देख्न पाउँछन्‌। तिनीहरूका परिवारहरू सुरक्षित र कुशल हुन्छन्‌। परमेश्‍वरको न्यायको दण्ड तिनीहरूमाथि पर्दैन।” (अय्यूब २१:७-९) न्याय मन पराउने यर्मियाजस्ता अन्य व्यक्‍तिहरूले समेत परमेश्‍वरले खराब मानिसहरूलाई सहिरहनुभएको देखेर चिन्ता प्रकट गरे।—यर्मिया १२:१, २.

तपाईंलाई कस्तो लाग्छ? के तपाईं परमेश्‍वरले दुष्टता रहिरहने अनुमति दिनुभएको कारण छक्क पर्नुभएको छ? परमेश्‍वरले तुरुन्तै अघि सरेर दुष्ट मानिसहरूलाई तत्काल नष्ट गरिहाल्नुपर्छ भनी के तपाईं कहिलेकाहीं सोच्ने गर्नुहुन्छ? परमेश्‍वरको सहनशीलताको दायरा तथा उहाँले सहनुका कारणहरूबारे बाइबलले के भन्छ, विचार गर्नुहोस्‌।

परमेश्‍वर किन सहनशील हुनुहुन्छ?

सर्वप्रथम, हामीले यस्तो प्रश्‍न सोध्नैपर्छ: धार्मिकताका उच्च स्तरहरू रुचाउनुहुने परमेश्‍वरले आखिर खराबीलाई किन सहनुहुन्छ? (व्यवस्था ३२:४; हबकूक १:१३) के यसको अर्थ उहाँले दुष्टतालाई समर्थन गर्नुहुन्छ भन्‍न खोजेको हो? पटक्कै होइन! यस उदाहरणलाई विचार गर्नुहोस्‌: एक जना शल्यचिकित्सकले सरसफाइसम्बन्धी आधारभूत सिद्धान्तहरूको उल्लंघन गर्छ र आफ्ना बिरामीहरूलाई दुःख पनि दिन्छ। यदि ऊ अस्पतालमा काम गर्छ भने, के त्यस्तो शल्यचिकित्सकलाई त्यहाँबाट तुरुन्तै हटाइँदैन र? तर एउटा यस्तो किसिमको परिस्थिति पनि छ, जहाँ असाधारण सहनशीलता आवश्‍यक पर्नसक्छ। उदाहरणका लागि, एकदमै आकस्मिक अवस्था जस्तै, रणभूमिमा साधारणतया कमसल ठानिने उपकरण तथा सामग्रीहरूको प्रयोग गर्दै खतरनाक परिस्थितिमा काम गरिरहेका शल्यचिकित्सकहरूलाई सहनु पर्दैन र?

त्यसै गरी, आज परमेश्‍वरले पनि आफूलाई एकदमै मन नपर्ने कार्यहरूलाई सहिरहनुभएको छ। उहाँले दुष्टतालाई घृणा गर्नुहुने भए तापनि अस्थायी रूपमा यसलाई यथावत्‌ रहन दिनुभएको छ। यसो गर्नुमा उहाँसित जायज कारण छ। ती कारणहरूमध्ये एउटा हो, त्यसो गर्दा शैतानले अदनको बगैंचामा उठाएका गम्भीर विवादहरूलाई एकै चोटि स्थायी रूपमा सुल्झाउन समय मिल्नेछ। परमेश्‍वरको शासन गर्ने तरिका उचित र वैधानिक छ वा छैन भन्‍ने कुरा ती विवादहरूमा केन्द्रित छ। साथै, परमेश्‍वरले दुष्टतालाई धीरजी भई सहनुहुँदा खराब काम गर्नेहरूले पनि आफ्नो चालचलन सुधार्न समय र मौका पाउँछन्‌।

कृपालु तथा सहनशील परमेश्‍वर

हाम्रा प्रथम मातापिता आदम र हव्वाले परमेश्‍वरको विद्रोह गरेर शैतानलाई साथ दिए। परमेश्‍वरले उत्तिनैखेर त्यहीं तिनीहरूलाई नाश गर्न सक्नुहुन्थ्यो। त्यसको सट्टा, उहाँले कृपा अनि सहनशीलता प्रकट गर्नुभएर मायालु ढंगमा तिनीहरूलाई सन्तान जन्माउने अनुमति दिनुभयो। तर ती सन्तानहरू र तिनीहरूबाट जन्मेका सम्पूर्ण मानव परिवार पापपूर्ण अवस्थामा जन्मे।—रोमी ५:१२; ८:२०-२२.

परमेश्‍वरले मानिसलाई तिनको दयनीय अवस्थाबाट उद्धार गर्ने उद्देश्‍य राख्नुभयो। (उत्पत्ति ३:१५) तथापि, त्यसको साथसाथै आदमबाट आएको वंशानुगत असिद्धताले हामीलाई कुन हदसम्म असर गर्नेछ भन्‍ने कुरा बुझ्नुभएको कारण उहाँले असीम दया अनि कृपा देखाउनुभयो। (भजन ५१:५; १०३:१३) उहाँ ‘कृपामा भरिपूर्ण’ अनि “प्रशस्त गरी क्षमा” गर्न इच्छुक हुनुहुन्छ।—भजन ८६:५, १५; यशैया ५५:६, ७.

परमेश्‍वरको सहनशीलताको दायरा

तथापि, दुष्टतालाई सधैंभरि रहनदिनु परमेश्‍वरको लागि अप्रिय अनि अव्यावहारिक कुरा हुने थियो। आफ्ना छोराहरूमध्ये कोही खराब छ र उसले परिवारका अन्य सदस्यहरूलाई जानाजानी अत्यन्तै पीडा दिइरहन्छ भने, कुनै पनि मायालु बुबाले उसको खराबीलाई सधैंभरि सहँदैन। तसर्थ, पापलाई सहेर परमेश्‍वरले देखाउनुभएको सहनशीलतालाई प्रेम, बुद्धि तथा न्यायजस्ता अन्य गुणहरूले सधैंभरि सन्तुलनमा राख्नेछन्‌। (प्रस्थान ३४:६, ७) उहाँले धैर्य धारण गर्नुको उद्देश्‍य पूरा भएपछि दुष्टतालाई सहिरहनुहुने छैन।—रोमी ९:२२.

यस कुरालाई प्रेरित पावलले स्पष्टसित औंल्याए। एउटा अवसरमा तिनले यसो भने, “अघि बितिसकेका पुस्तामा सब जातिहरूलाई [परमेश्‍वरले] आफ्ना आफ्ना मार्गमा चल्न दिनुभयो।” (प्रेरित १४:१६) अर्को एक अवसरमा पावलले उहाँका नियम तथा सिद्धान्तहरू नमान्‍ने मानिसहरूको सन्दर्भमा “अज्ञानका समयलाई परमेश्‍वरले वास्ता गर्नुभएन” भनेर बताए। पावलले भने, “अब [परमेश्‍वर] सबै ठाउँमा सब मानिसहरूलाई पश्‍चाताप गर्ने आज्ञा दिनुहुन्छ।” किन? किनभने “उहाँले एक दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँ आफूले नियुक्‍त गर्नुभएको मानिसद्वारा धर्मपूर्वक संसारको इन्साफ गर्नुहुनेछ।”—प्रेरित १७:३०, ३१.

परमेश्‍वरको सहनशीलताबाट अहिले नै लाभ उठाउनुहोस्‌

हो, कसैले पनि परमेश्‍वरको नियमलाई बेवास्ता गरेर पछि परमेश्‍वरसित माफी माग्दा आफ्नो कार्यको परिणाम भोग्नुपर्दैन भन्‍ने सोचाइ राख्नु अब गलत हुनेछ। (यहोशू २४:१९) पुरातन इस्राएलका थुप्रै मानिसहरूले त्यस्तै सोचाइ राखे। तिनीहरू बदलिएनन्‌। तिनीहरूले परमेश्‍वर सहनशील अनि धीरजी हुनुको उद्देश्‍यलाई बिर्से। परमेश्‍वरले तिनीहरूको खराबीलाई सधैंभरि सहनुभएन।—यशैया १:१६-२०.

परमेश्‍वरको अन्तिम न्यायबाट बच्ने हो भने “पश्‍चात्ताप” गर्नुपर्छ भनेर बाइबलले देखाउँछ। त्यसको मतलब परमेश्‍वरसामु आफू असिद्ध अनि पापी छु भन्‍ने कुरा स्वीकारेर इमानदार भई पाप गर्न छोड्‌नु हो। (प्रेरित ३:१९-२१) त्यसपछि, ख्रीष्टको छुडौतीको बलिदानको आधारमा यहोवाले हामीलाई क्षमा दिनुहुनेछ। (प्रेरित २:३८; एफिसी १:६, ७) आफ्नो समयमा परमेश्‍वरले आदमको पापले गर्दा आएका दुःखदायी असरहरूलाई हटाउनुहुनेछ। त्यहाँ “नयाँ आकाश र नयाँ पृथ्वी” हुनेछ, जहाँ “विनाशको निम्ति बनाउनुभएको क्रोधका भाँडाहरूलाई” उहाँले फेरि सहनु हुनेछैन। (प्रकाश २१:१-५; रोमी ९:२२) परमेश्‍वरको असाधारण तर एउटा दायराभित्र रहने सहनशीलताले ल्याउने कस्तो राम्रो परिणाम! (g01 10/8)

[पृष्ठ १७-मा भएको चित्र]

परमेश्‍वरले आदम र हव्वालाई सन्तान जन्माउने अनुमति दिनुभयो