मानिसहरू जीवनदेखि किन हरेस खान्छन्
मानिसहरू जीवनदेखि किन हरेस खान्छन्
“मानिसहरूले आत्महत्या गर्नुको पछाडि आ-आफ्नै कारण हुन्छन्: नितान्त निजी, अज्ञात अनि डरलाग्दो।”—के रेडफिल्ड जेमिसन, मनोचिकित्सक।
“बाँच्नु साह्रै पीडादायी छ।” २० औं शताब्दीका जापानका लोकप्रिय लेखक रिउनोस्के अकुतागावाले आत्महत्या गर्न केही छिनअघि उक्त शब्दहरू लेखे। यद्यपि, उनले उक्त शब्दहरू लेख्नुअघि यस्तो लेखे: “हो, म मर्न चाहन्नँ, तर . . . ”
मनोविज्ञानका एक जना प्राध्यापकको भनाइअनुसार अकुतागावाजस्तै आफ्नो ज्यान आफै लिने अधिकांश मानिसहरू वास्तवमा मर्न चाहँदैनन् तर तिनीहरू “विद्यमान परिस्थितिको अन्त गर्न” चाहन्छन्। आत्महत्या गर्नुअघि छोडिने चिठीमा प्रायः पाइने शब्दहरूले यी कुराहरूलाई संकेत गर्छ। ‘अहँ! मैले यो सहनै सकिनँ’ वा ‘अब पनि किन बाँचिरहने?’ जस्ता वाक्यहरूले जीवनका तीता वास्तविकताहरू देखि भाग्ने तीव्र इच्छालाई प्रकट गर्छ। तर एक जना मनोवैज्ञानिकविद्ले बताएझैं आत्महत्या गर्नु भनेको “रुघा निको पार्न आणविक बम प्रयोग गर्नु बराबर हो।”
मानिसहरूले आत्महत्या गर्नुको कारण फरक-फरक भए तापनि जीवनका केही टार्न नसकिने परिस्थितिहरूले मानिसलाई आत्महत्या गर्न उत्साहित गर्छन्।
उत्साहित गर्ने परिस्थितिहरू
अरूको दृष्टिमा सानो देखिने कुराहरूले गर्दासमेत हरेस खानु अनि आत्महत्या गर्नु किशोर किशोरीहरूको लागि सामान्य कुरा हो। जब तिनीहरूले मानसिक पीडा महसुस गर्छन् र केही गर्न सक्दैनन्, त्यतिखेर युवाहरूलाई, आफूलाई चोट पुऱ्याउने व्यक्तिसित बदला लिने तरिका नै आफ्नो मृत्यु हो जस्तो लाग्नसक्छ। जापानमा आत्महत्या गर्न चाहने
व्यक्तिहरूलाई सम्हाल्ने विशेषज्ञ, हिरोसी इनामुराले यस्तो लेखे: “केटाकेटीहरूले आफ्नो मृत्युद्वारा आफूलाई चोट पुऱ्याउने व्यक्तिलाई सजाय दिने आफ्नो भित्री चाहना पूरा गरिरहेका हुन्छन्।”बेलाइतमा हालै लिइएको सर्वेक्षणअनुसार जब केटाकेटीहरू निकै नराम्रो दुर्व्यवहारको सिकार हुन्छन्, त्यतिबेला तिनीहरूले आत्महत्या गर्नसक्ने सम्भावना झन्डै सात गुणा बढी हुन्छ। यस्ता केटाकेटीहरूले भोग्ने भावनात्मक चोट वास्तविक हुन्छन्। झुन्डिएर मर्ने १३ वर्षीय केटाले आफूलाई सताउने अनि पैसा लुट्ने पाँच जना व्यक्तिहरूको नाउँ लेखेर एउटा चिठी छोडिराखे। चिठीमा उनले यस्तो लेखे, “बिन्ती छ, अरू केटाकेटीहरूलाई बचाउनुहोस्।”
अरू कतिपयले चाहिं कानुन भंग गर्दा वा स्कूलमा कुनै समस्या पर्दा, आफ्नो रोमान्सको अन्त हुँदा, परीक्षामा आशा गरेजस्तो परिणाम हासिल नगर्दा, परीक्षाको बेला तनाउ महसुस गर्दा, भविष्यको अचाक्ली चिन्ताले ग्रस्त हुँदा आफ्नो ज्यान आफै लिने कोसिस गर्नसक्छन्। ठूल-ठूला उपलब्धिहरू हासिल गर्ने किशोर किशोरीमा निकै प्रतिस्पर्धात्मक भावना आउनसक्छन्। पछाडि परिएला वा असफल होला जस्तो देखिएमा वा साँच्चै त्यस्तै हुँदा आत्महत्या गर्ने सम्भावना हुन्छ।
वयस्कहरूलाई अक्सर आत्महत्या गर्न उत्साहित गर्ने परिस्थितिहरूमध्ये आर्थिक वा कामसित सम्बन्धित समस्याहरू हुन्। जापानमा धेरै वर्षसम्मको न्यून आर्थिक अवस्थापछि आत्महत्या गर्नेहरूको संख्या वर्षमा ३०,००० भन्दा बढी पुग्यो। मेनीचि डेली न्यूज-का अनुसार आत्महत्या गर्नेहरूमध्ये झन्डै एक तिहाइ अधबैंसे पुरुषहरूले “ऋण तिर्न नसक्दा, व्यापार असफल हुँदा, गरिबी अनि बेरोजगारले गर्दा” आफ्नो ज्यान आफै लिए। पारिवारिक समस्याहरूले पनि आत्महत्या गर्न उत्साहित गर्छ। फिनल्याण्डको एक खबरपत्रिकाले यस्तो रिपोर्ट दियो: “हालसालै छुटानाम गरिसकेका अधबैंसे पुरुषहरू” खतराको सूचीमा पर्ने समूह हुन्। हंगेरीमा गरिएको एक अध्ययनमा आत्महत्या गर्न विचार गर्ने अधिकांश केटीहरू टुक्रिएको परिवारमा हुर्किएको पाइयो।
विशेष गरी, वृद्धहरूका लागि अवकाश अनि शारीरिक अस्वस्थता पनि आत्महत्या गर्न उत्साहित गर्ने प्रमुख कारणहरू हुन्। रोग प्राणघातक हुनैपर्छ भन्ने छैन तर जब बिरामीलाई आफ्नो रोग असह्य हुन्छ त्यतिबेला उनीहरूले छनौट गर्ने एउटै समाधान अक्सर आत्महत्या नै हुन्छ।
यद्यपि, यस्ता परिस्थितिहरूको सामना गर्दा सबैले आत्महत्या गर्दैनन्। यसको विपरीत, यस्ता तनाउग्रस्त परिस्थितिहरूको सामना गर्नुपर्दा अधिकांशले आफ्नो ज्यान आफै लिंदैनन्। त्यसोभए किन केहीले आत्महत्यालाई समाधानको रूपमा लिन्छन् जब कि धेरैले भने त्यसो गर्दैनन्?
आधारभूत कारणहरू
जोन्स होप्किन्स युनिभर्सिटी स्कूल अफ मेडिसिनमा कार्यरत मानसिक रोग-विज्ञानका प्राध्यापक के रेडफिल्ड जेमिसन यसो भन्छिन्, “परिस्थितिलाई कुन दृष्टिले हेरिन्छ, त्यसैमा आत्महत्या गर्ने कि नगर्ने भन्ने निर्णयहरू भर पर्छन्।” उनी अझै यसो भन्छिन्: “मानसिक अवस्था स्वस्थ हुने प्रायजसो मानिसहरूले कुनै पनि परिस्थितिलाई आत्महत्या गर्न योग्य ठान्दैनन्।” सं.रा. राष्ट्रिय मानसिक स्वास्थ्य प्रतिष्ठानमा कार्यरत इभ के. मसचिट्सकीका अनुसार धेरै महत्त्वपूर्ण तर हतपत नदेखिने तत्त्वहरू एकै चोटि मिलेर आत्महत्याको गर्न उत्साहित गर्छ। यस्ता लुकेका तत्त्वहरूमा मानसिक असन्तुलन अनि कुलत, आनुवंशिक रचना र मस्तिष्कको बनौट समावेश छन्। आउनुहोस्, यीमध्ये केहीलाई विचार गरौं।
यीमध्ये केही मुख्य तत्त्वहरू मानसिक असन्तुलन जस्तै, नैराश्य, बाइपोलार मूड डिसअडर (दुइरूपी मनस्थिति), स्किट्सेफ्रिनिया (भाव र क्रिया समन्वय नरहने मानिसक रोग) र मद्य वा लागूऔषध दुर्व्यसन हुन्। युरोप र संयुक्त
राज्य दुवैबाट प्राप्त अनुसन्धानले देखाएअनुसार ९० प्रतिशतभन्दा धेरै आत्महत्याहरू यस्तै असन्तुलनहरूसित सम्बन्धित छन्। वास्तवमा, स्विडिस अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार यस्ता कुनै पनि असन्तुलन नहुने व्यक्तिहरूमा अत्महत्या दर १,००,००० मा ८.३ थियो भने निराशाले पिरोलिएका व्यक्तिहरूमा यो दर बढेर १,००,००० मा ६५० पुग्यो! विशेषज्ञहरूको भनाइअनुसार पूर्वीय देशहरूमा पनि आत्महत्या गर्न उत्साहित गर्ने कारणहरू यस्तायस्तै छन्। यद्यपि, आत्महत्या गर्न उत्साहित गर्ने परिस्थितिलगायत सबै प्रकारका नैराश्यहरूले समेत कुनै पनि व्यक्ति आत्महत्या गर्न बाध्य हुँदैनन्।एक चोटि आत्महत्या गर्न प्रयास गर्ने प्राध्यापक जेमिसन यसो भन्छिन्, “मानिसहरूमा परिस्थिति सुध्रने विश्वास भएसम्म तिनीहरूले नैराश्य सहनसक्छ।” यद्यपि, तिनले पत्ता लगाएअनुसार नैराश्यहरू बिस्तारै बढ्दै गएपछि यो असह्य हुन्छ फलतः आत्महत्या गर्ने इच्छालाई दबाउने मानसिक क्षमता बिस्तारै कमजोर हुँदै जान्छ। तिनी यस परिस्थितिलाई मोटरको ब्रेक थिच्दा-थिच्दा, खिया लागेर ब्रेकै नलाग्ने हुँदाको अवस्थासित तुलना गर्छिन्।
यस्ता झुकाउहरू बुझ्नु नितान्त आवश्यक छ, किनकि नैराश्य हटाउन सकिन्छ। निस्सहाय छु भन्ने सोचमा परिवर्तन ल्याउन सकिन्छ। लुकेका कारक तत्त्वहरूलाई हटाउने प्रयास गर्दा आत्महत्या गर्न उत्साहित गर्ने पीडा वा तनाउप्रति मानिसहरूले बेग्लै प्रतिक्रिया देखाउन सक्छन्।
कुनै पनि व्यक्तिको आनुवंशिक बनौट पनि अधिकांश व्यक्तिहरूले गर्ने आत्महत्याको मुख्य कारण हुनसक्छ। हो, कुनै पनि व्यक्तिको स्वभाव निर्धारण गर्न जीनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ र अध्ययनहरूले देखाएअनुसार केही पारिवारिक वंशहरूमा अरूमा भन्दा आत्महत्याका घटनाहरू बढी घट्ने गर्छन्। जेमिसन यसो भन्छिन्, यद्यपि, “आत्महत्या गर्ने आनुवंशिक झुकाउ हुँदैमा आत्महत्या गर्नैपर्छ भन्ने छैन।”
मस्तिष्कको बनौट पनि अर्को एउटा आधारभूत कारक तत्त्व हुनसक्छ। मस्तिष्कमा अरबौं न्युरोनहरूले विद्युतीय रसायनिक प्रक्रियाद्वारा सन्देश आदनप्रदान गर्छन्। स्नायुरेसाहरूमा केही खाली ठाउँ हुन्छन्, जसलाई सिन्याप्सेस् भनिन्छ। सिन्याप्सेस् हुँदै न्युरोट्रान्समिटरहरूले रसायनिक रूपमा जानकारीहरू लैजाने गर्छन्। कुनै पनि व्यक्तिको आत्महत्या गर्ने जैविक जोखिममा सेरोटोनिन अर्थात् न्युरोट्रान्समिटरको मात्राले भूमिका खेल्नसक्छ। इन्साइड द ब्रेन नामक पुस्तक यस्तो व्याख्या गर्छ: “सेरोटोनिनको मात्रामा कमी . . . आएमा जीवनको खुसी हरण हुनसक्छ, बाँच्न मन नलाग्ने र नैराश्य अनि आत्महत्याको जोखिम बढ्नसक्छ।”
यद्यपि, तथ्य कुरा के हो भने, कुनै व्यक्तिले आत्महत्या गर्छ नै भनेर पूर्व निर्धारित हुँदैन। करोडौं मानिसले पीडा अनि तनाउ सामना गर्छन्। कुनै पनि व्यक्तिलाई आत्महत्यातर्फ उन्मुख गर्ने वा नगर्ने भन्ने कुरा त त्यस व्यक्तिको मन अनि हृदयले कुनै पनि दबाउप्रति देखाउने प्रतिक्रिया-मा भरपर्छ। आत्महत्या गर्न उत्साहित गर्ने निकटतम कारक तत्त्वहरूलाई मात्र होइन तर लुकेका कारक तत्त्वलाई पनि सुल्झाउनैपर्छ।
त्यसोभए, जीवनप्रति आशावादी दृष्टिकोण राख्न के गर्न सकिन्छ त? (g01 10/22)
[पृष्ठ ६-मा भएको पेटी]
लिंग अनि आत्महत्या
संयुक्त राज्यमा गरिएको अध्ययनअनुसार महिलाहरूले पुरुषहरूभन्दा दुईदेखि तीन गुणा बढी आत्महत्या गर्ने प्रयास गर्छन् जब कि पुरुषहरू महिलाहरूभन्दा चार गुणा बढी सफल हुन्छन्। महिलाहरू पुरुषहरू जत्तिकै कम्तीमा पनि दुई चोटि नैराश्यबाट पीडित हुनसक्ने सम्भावना हुन्छ। यसले धेरैभन्दा धेरै आत्महत्याका प्रयासहरू हुनसक्ने सम्भावनालाई स्पष्ट पार्छ। यद्यपि, महिलाहरूको नैराश्य त्यति पीडादायी नहुनसक्छ। त्यसैले, उनीहरूले त्यति डरलाग्दा उपायहरू नअपनाउन सक्छन्। अर्कोतिर, आफ्नो प्रयास सफल बनाउन पुरुषहरूले निकै घातक अनि निर्णायक उपायहरू अपनाउनसक्छन्।
यद्यपि, चीनमा भने पुरुषहरूभन्दा महिलाहरू बढी सफल हुन्छन्। वास्तवमा, अध्ययनले देखाएअनुसार विश्वका महिला आत्महत्यामध्ये ५६ प्रतिशत त चीनको विशेष गरी ग्रामीण क्षेत्रमा हुने गर्छ। भनिन्छ, आवेगमा आएर महिलाहरूले गर्ने आत्महत्या सफल हुनुको एउटा कारण त्यस क्षेत्रमा घातक कीटनाशक औषधीहरू सजिलै उपलब्ध हुनु हो।
[पृष्ठ ७-मा भएको पेटी/चित्र]
आत्महत्या अनि एकाकीपन
मानिसहरूलाई नैराश्य अनि आत्महत्यातिर उन्मुख गर्ने कारक तत्त्वहरूमध्ये एउटा एकाकीपन हो। फिनल्याण्डमा आत्महत्यासम्बन्धी अध्ययनमा नेतृत्व लिने योउको लोनक्विस्टले यसो भने: “अधिकांश [आत्महत्या गर्ने] व्यक्तिहरूको जीवन सधैं एक्लो थियो। तिनीहरूसित धेरै फुर्सत थियो तर सरसंगति थोरै थियो।” जापानको हामामात्सु युनिभर्सिटी अफ मेडिसिनका मनोचिकित्सक केनसिरो ओहाराले टिप्पणी गरेअनुसार त्यस देशमा अधबैंसे पुरुषहरूले बढी आत्महत्या गर्नुको पछाडि “भावनात्मक एक्लोपन” थियो।
[पृष्ठ ५-मा भएको चित्र]
वयस्कहरूको लागि, अक्सर आर्थिक वा कामसित सम्बन्धित समस्याहरू आत्महत्या गर्न उत्साहित गर्ने परिस्थितिहरू हुन्