सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

वर्षे वन

भारतमा वर्षे वन केवल दक्षिणी प्रान्त केरालामा मात्र पाइन्छ भनिन्थ्यो। तथापि, हालसालै वातावरणविद्‌ सौम्यदिप दत्तले उत्तरपूर्वी प्रान्त आसामदेखि अरूणाचल प्रदेशसम्म फैलिएको एउटा अर्को ५०० वर्ग किलोमिटर क्षेत्रफलको वर्षे वन भेट्टाएका छन्‌ भनेर नयाँ दिल्लीको डाउन टु अर्थ पत्रिका रिपोर्ट गर्छ। यस वनमा थरीथरीका वन्यजन्तुहरू पाइन्छन्‌। जस्तै, “स्तनधारी जीवका ३२ प्रकारका जातिहरू अनि २६० जातका चरा, त्यसबाहेक हात्ती, बाघ र ध्वाँसे चितुवा, चिनिया सालक, भालु, जरायो, हुकु, कालिज मुनाल, धनेस र जंगली हाँसजस्ता दुर्लभ प्रजातिहरू पनि पाइन्छन्‌।” तथापि, अन्तरराष्ट्रिय बजारमा, वनमा पाइने रूखका काठहरूको बढ्‌दो मागले गर्दा थुप्रै वर्षे वनहरू खतरामा परेका छन्‌ भनी डाउन टु अर्थ टिप्पणी गर्छ। त्यस्ता रूखहरू अत्यधिक मात्रामा कटनी भएको खण्डमा वर्षे वनहरू नाश भएर जानेछन्‌ र केवल खेती योग्य जमिन मात्र बाँकी रहनेछन्‌ भनी केही प्रकृतिशास्त्रीहरू डराउँछन्‌। (g01 10/8)

जहाजहरूले रोग फैलाउँछन्‌

“जहाजलाई सन्तुलनमा राख्ने पानीले संसारभरि रोग फैलाएर मानिस, जनावर तथा बोटबिरुवाहरूको जीवनलाई नै खतरामा पारिरहेको छ” भनी बेलाइतको द डेली टेलिग्राफ बताउँछ। जहाजलाई सन्तुलनमा राख्न पानी भरिन्छ र त्यो पानी समुद्र वा जहाज मर्मतसम्भार गरिने बन्दरगाहमा फ्याँकिन्छ। संयुक्‍त राज्यमा मेरिल्याण्डको स्मिथसोनियन इन्भाइरोमेन्टल रिसर्च सेन्टरका अन्वेशकहरूले पत्ता लगाएअनुसार जहाजहरूले बोक्ने त्यस्तो पानीमा अनगिन्ती ब्याक्टेरिया तथा भाइरसहरू हुन्छन्‌। चेस्पीक तटमा परीक्षण गरिएका १५ वटै जहाजको पानीमा भएका सूक्ष्म जीवहरू हैजा निम्त्याउने ब्याक्टेरियाहरू भएको थाह लाग्यो। जहाजले बोक्ने हरेक एक लिटर पानीमा ८३ करोड ब्याक्टेरिया तथा ७ अरब ४० करोड भाइरसहरू भएको पाइयो र ती संख्याहरू अन्य जीवाणुको भन्दा छदेखि आठ गुणा बढी छन्‌। (g01 10/8)

“प्रविधिले उब्जाएको तनाउ”

नयाँ प्रविधिको प्रयोग गर्ने दबाउका कारण उत्पन्‍न भएको हतोत्साह अर्थात्‌ “प्रविधिले उब्जाएको तनाउ” बढ्‌दै छ भनेर क्यानाडाको म्याकलिन्स पत्रिका रिपोर्ट गर्छ। “कहिल्यै अन्त नहुने नयाँ प्रविधि सिक्नुपर्ने प्रक्रियादेखि लिएर इ-मेल, कम्प्युटरबाट फोन गर्ने तथा सेलुलर फोनको प्रयोगले गर्दा कार्यालय र घरबीचको दूरी झन्‌ झनै कम हुँदै जानुजस्ता कारणले यस्तो तनाउ उत्पन्‍न हुन्छ” भनेर उक्‍त अध्ययनबाट थाह लागेको छ। तपाईं यसको सामना कसरी गर्न सक्नुहुन्छ? विशेषज्ञहरू दायरा तोक्न सुझाउ दिन्छन्‌। कुनै खास साधन प्रयोग गर्दा त्यसले जीवनलाई सरल बनाउँछ वा झन्‌ जटिल बनाइदिन्छ पक्का गर्नुहोस्‌। नयाँ प्रविधि सिक्न खर्च गर्नुपर्ने समय र त्यसबाट हुने लाभलाई तौलनुहोस्‌। “हरेक दिन त्यस्तो साधन कुन-कुन बेला बन्द गर्ने यकिन गर्नुहोस्‌” र त्यसपछि अरू अत्यावश्‍यक कामकुरामा समय बिताउनुहोस्‌। “हरेक दिन मानिसहरू आफ्नो योजनाअनुरूप चल्नुको सट्टा बिहानदेखि नै इ-मेल खोलेर गल्ती गर्छन्‌” भनी भ्यानकुभरका समय सदुपयोगसम्बन्धी विशेषज्ञ डान स्टाम्प टिप्पणी गर्छन्‌। “यसले गर्दा बिहानको झन्डै डेढ घण्टा समय व्यर्थैमा खेर जान्छ।” (g01 10/22)

बाघको गर्जन

बाघको गर्जन सुन्दा पशुमात्र नभई मानिससमेत किन शिथिल हुन्छन्‌? संयुक्‍त राज्य अमेरिका नर्थ क्यारोलाइनाको फाउना कम्युनिकेशन्स रिसर्च इन्स्टिच्युटका वैज्ञानिकहरूले, “बाघले, मानिसको कानले ठम्याउन नसक्ने ‘कम फ्रिक्वेन्सीको’ आवाज निकालेर गर्जन्छ भन्‍ने कुरा पत्ता लगाएका छन्‌” भनी लन्डनको द सन्डे टेलिग्राफ रिपोर्ट गर्छ। मानिसले २० हर्जभन्दा (Hz) माथिको आवाज मात्र सुन्‍नसक्छ तर बाघले “हाम्रो कानले सुन्‍नसक्ने भन्दा सानो आवाज अर्थात्‌ १८ हर्जभन्दा कम फ्रिक्वेन्सीको घुरघुराहट र हाम्रो कानले स्पष्टसित सुन्‍नसक्ने फ्रिक्वेन्सीको आवाजलाई सँगसँगै निकालेर गर्जन्छ। परिणामस्वरूप, उक्‍त इन्स्टिच्युटका अध्यक्ष एलिजाबेथ भोन मुगेन्टहेलरका अनुसार मानिसहरूले बाघको गर्जनलाई महसुस गर्नसक्छन्‌ अनि यही चेतनाले केही क्षणको लागि शिथिल बनाइदिन्छ” भनी सोही अखबार बताउँछन्‌। धेरै समयदेखि बाघलाई प्रशिक्षण दिइरहेकाहरूले समेत यस्तै महसुस गरेका छन्‌। (g01 10/8)

केटाकेटीहरू आफ्नो पुस्तक आफै लेख्छन्‌

जाम्बियाका केटाकेटीहरूलाई पढ्‌न उत्साहित गर्न त्यहाँका विद्यार्थीहरूलाई आफै स-साना पुस्तकहरू लेख्न र चित्र कोर्न प्रोत्साहित गरिएको छ भनेर जाम्बिया डेली मेल रिपोर्ट गर्छ। “स्कूलहरूका प्रायजसो पुस्तकालयमा जाम्बियाका विद्यार्थीहरूलाई पटक्कै थाह नभएको कुरा तथा परिस्थितिहरूबारे लेखिएका पाठ्य सामग्रीहरू छन्‌” भनेर सरकारी रिपोर्ट उल्लेख गर्छ। “केटाकेटीहरूले लेखेका पुस्तकहरू उनीहरूको आफ्नै बौद्धिक स्तरको र चाखलाग्दा हुने भएकाले केटाकेटीहरूले आफ्ना पुस्तक आफै लेख्नु फाइदाजनक छ।” कुनै-कुनै कथा स्कूल वा कक्षा पुस्तकालयको भाग हुनसक्छ भने, रेडियोमा वाचन गरिन वा छापिनसमेत सक्छन्‌। डेली मेल यस्तो टिप्पणी गर्छ: “पाठ्य सामग्रीहरू वृद्धि गर्ने यो एकदमै सस्तो तरिका हो, किनकि यसका लागि कापी र कलमको मात्र आवश्‍यकता पर्छ। साथै, यो प्रचुर मात्रामा उपलब्ध स्रोतद्वारा (विद्यार्थीहरू) हाल अपुग तथा महँगा दाममा पाइने साधन (किताबहरू) तयार पार्ने उत्तम तरिका पनि हो।” (g01 10/22)

मलेरियाको औषधी प्रभावकारी रहेन

‘जाम्बियामा मलेरिया हुने बित्तिकै दिइहाल्ने औषधी क्लोरोक्वाइनलाई सरकारी वितरकहरूले बिस्तारै उक्‍त रोगको उपचारमा प्रयोग गर्न छाडेका छन्‌’ र  त्यसको सट्टा त्योभन्दा प्रभावकारी औषधीको प्रयोग गरिरहेको छ भनी टाइम्स अफ जाम्बिया रिपोर्ट गर्छ। एउटा अध्ययनअनुसार “क्लोरोक्वाइन कम प्रभावकारी भएको कारण जाम्बियामा मलेरियाबाट पाँच वर्षमुनिका २५,००० मध्ये १२,००० बच्चाहरूको वर्षेनी मृत्यु हुने गरेको” देखिए पछि त्यसको प्रयोग निषेध गरिएको हो। अरू पूर्व तथा दक्षिण अफ्रिकी देशहरूमा पनि यस्तो परिवर्तन गरिएको छ। “उक्‍त देशमा क्लोरोक्वाइन ३० वर्षभन्दा बढी समयसम्म सफलतासाथ प्रयोग गरिएको भए तापनि हाल आएर त्यस राष्ट्रको सबैभन्दा प्रमुख हत्यारा मलेरियाको उपचारमा यो त्यति प्रभावकारी देखिएन” भनी टाइम्स बताउँछ। (g01 10/22)

कीटनाशक औषधीभन्दा झारपात बेस

न्यु साइन्टिस्ट पत्रिकाको रिपोर्टअनुसार पूर्व अफ्रिकी किसानहरूले आफ्नो मकै बालीलाई जोगाउन कीटनाशक औषधीको सट्टा झारपात प्रयोग गरिरहेका छन्‌। पूर्व अफ्रिकाका मकै खेती गर्ने किसानहरूले दुइटा गम्भीर शत्रुहरूको सामना गरिरहेका छन्‌। एउटा हो, परजीवी बिरुवा, स्ट्राइगा। यसले वर्षेनी १० अरब अमेरिकी डलर मूल्य बराबरको बाली नष्ट गर्छ। मकैका बोटहरूको बीचबीचमा डेस्मोडियम भन्‍ने बिरुवा लगाइएमा स्ट्राइगा उम्रन पाउँदैन भनेर केन्याली अन्वेषक जिदिन कानले पत्ता लगाए। अर्को शत्रुजीव हो, बोटको डाँख्ला खाइदिने कीराको लार्भा। यसले हरेक वर्ष मकै बालीको तीन भाग नष्ट गर्छ। तथापि, बोटको डाँख्ला खाइदिने कीराहरू स्थानीय झार नेपियर खान रुचाउँदा रहेछन्‌ भनेर कानले पत्ता लगाए। किसानहरू यो झारपात आफ्नो खेतमा रोपेर कीराहरूलाई मकैको सट्टा यसतर्फ आकर्षित गर्छन्‌। उक्‍त घाँसबाट निस्कने लिस्याइलो पदार्थले ती लार्भाहरूलाई फसाएर मार्छ। “यो विधि कीटनाशक औषधी प्रयोग गर्नुभन्दा उत्तम छ र यो एकदमै सस्तो पनि छ” भनी कान बताउँछ। “अनि यसले गर्दा यहाँको खेती उत्पादनमा ६० देखि ७० प्रतिशतसम्म वृद्धि भएको छ।” (g01 10/8)

रक्सी पिएर साइकल नचलाउनुहोस्‌

रक्सी पिएर साइकल चलाउनु पनि रक्सी पिएर कार हाँक्नु जत्तिकै खतरनाक हुनसक्छ भनी न्यु साइन्टिस्ट पत्रिका रिपोर्ट गर्छ। “साइकल चलाउँदा, गाडी हाँक्दाभन्दा बढी दिमाग र सवारी साधनबीच सन्तुलन कायम राख्नु आवश्‍यक हुन्छ। त्यसकारण, यसलाई रक्सीले त झनै असर गर्छ” भनेर संयुक्‍त राज्य अमेरिकाको मेरिल्याण्डस्थित जोन्स हप्किन्स युनिभर्सिटीका ग्वाह्वा ली बताउँछन्‌। ली तथा तिनका सहकर्मीहरूले ४६६ जना साइकल चालकहरूको अध्ययन गर्दा चार वा पाँच पेग पिएर साइकल चलाउनेहरू गम्भीर रूपमा घाइते हुने वा मारिने खतरा २० गुणा बढी हुन्छ भन्‍ने कुरा पत्ता लगाए। एक पेग मात्र पिएर साइकल चलाउनेहरूसमेत छ गुणा बढी खतरामा पर्छन्‌। “अझ खतराको कुरा त, ती साइकल चालकहरूले रक्सी जतिधेरै पिउँछन्‌ त्यति नै धेरै हेल्मेट नलगाउने सम्भावना पनि हुन्छ” भनी न्यु साइन्टिस्ट बताउँछ। (g01 10/22)

केराका बोटहरूबाट कागत

प्रायजसो केरा काटिसकेपछि यसका डाँख्लाहरूलाई मल होस्‌ भनेर त्यत्तिकै जमिनमा छोडिन्छन्‌। तथापि, नागोया सिटी युनिभर्सिटीका प्राध्यापक हिरोशी मोरीशिमाले केराका डाँख्लाहरूबाट कागत बनाउन सफलता हासिल गरे भनेर जापानको आशाही शिम्बुन पत्रिका रिपोर्ट गर्छ। यस बोटका रेसाहरू “लामा र बलिया हुन्छन्‌ अनि कागत उत्पादन गर्न प्रयोग गरिने मनिला हेम्पबाट उत्पादित कच्चा पदार्थ जत्तिकै गुणस्तरीय हुन्छन्‌।” मेसिनले केराका डाँख्लाबाट उत्पादन गरेका कागतहरू साधारण कागत जत्तिकै गुणस्तरीय छन्‌ र पुनः उत्पादन गरिएका कागतहरूभन्दा बलियो साबित भएको छ। “केरा विश्‍वभर १२३ देशहरूमा उत्पादन गरिन्छ र वर्षेनी ५,८०,००,००० टन उत्पादन गरिन्छ, जसबाट पर्याप्त मात्रामा कच्चा पदार्थ उपलब्ध हुनसक्छ” भनी उक्‍त अखबार बताउँछ। (g01 10/22)