सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन आफ्ना छोराछोरीलाई ठूलो सोरले पढेर सुनाउने?

किन आफ्ना छोराछोरीलाई ठूलो सोरले पढेर सुनाउने?

किन आफ्ना छोराछोरीलाई ठूलो सोरले पढेर सुनाउने?

“एउटा किताब तान्दै तिनी मेरो काखमा बसिन्‌। त्यस किताबका पानाहरू कुकुरका कानझैं दोब्रिएका र . . . मखनले च्यापच्याप परेको थियो। त्यसपछि तिनी यसो भन्‍न थालिन्‌, ‘ड्याडी, यो पढिदिनुस्‌ न। यो पढिदिनुस्‌ न भन्या।’ ”—डा. क्लिफर्ड शिमेल्स, शिक्षा शास्त्रका प्राध्यापक।

केटाकेटीहरू—तिनीहरूले एकदमै छिटो सिक्छन्‌। तीन वर्षमुनिका केटाकेटीहरूको मस्तिष्क चाँडचाँडो विकास भइरहेको हुन्छ भनी अनुसन्धानले देखाउँछ। हरेक दिन आमाबाबुले छोराछोरीसँगै बसेर पढ्‌दा, गीत गाउँदा र माया-ममता देखाउँदा त्यस्ता कार्यहरूले बच्चाको स्वास्थ्यकर विकासमा निर्णायक भूमिका खेल्छ। तथापि, एउटा अध्ययनअनुसार दुईदेखि आठ वर्षबीचको केटाकेटीका आमाबाबुहरूमध्ये आधाजसोले मात्र आफ्ना छोराछोरीहरूलाई दिनहुँ पढेर सुनाउने गर्छन्‌। तपाईं सोध्नुहोला, ‘मेरो बच्चालाई पढेर सुनाउँदा के त्यसले साँच्चै केही फरक पार्ला त?’

पढाइप्रतिको रुचि जगाउने

विशेषज्ञहरूका अनुसार फरक पार्छ। “भविष्यमा कुशलतासाथ पढ्‌न सक्नको लागि चाहिने ज्ञान बढाउन तिनीहरूलाई ठूलो स्वरले पढेर सुनाउनु एकदमै महत्त्वपूर्ण छ। विशेष गरी स्कूलमा भर्ना हुनुअघिका वर्षहरूमा यसो गर्नु महत्त्वपूर्ण हुन्छ” भनेर बिकमिङ अ नेसन अफ रिडर्स रिपोर्ट गर्छ।

किताबबाट पढिएका कथाहरू सुन्दा केटाकेटीहरूले सानै उमेरमा पानामा लेखिने अक्षरहरू र बोलिने शब्दहरू आपसमा मिल्दा रहेछन्‌ भनी सिक्छन्‌। तिनीहरू किताबमा भएका भाषासित पनि परिचित हुन्छन्‌। “हरेक चोटि आफ्नो बच्चालाई पढेर सुनाउँदा हामीले उसको मनमा ‘आनन्दमय’ सन्देश प्रसार गरिरहेका हुन्छौं। तपाईं यसलाई व्यापारिक सन्देश पनि भन्‍न सक्नुहुन्छ, जसले बच्चालाई किताबहरूप्रति रुचि बढाउन र मनमा आनन्दमय छाप पार्न उसको मानसिक स्थितिलाई तयार पार्छ” भनी ठूलो स्वरले पढ्‌ने विषयमा लेखिएको एउटा पुस्तकले बताउँछ। किताबहरूप्रति यस्तो प्रेम जगाउने आमाबाबुले आफ्ना छोराछोरीमा आजीवन पढ्‌ने रुचि खेती गरिरहेका हुन्छन्‌।

तिनीहरूलाई वरपरको संसार बुझ्न मदत गर्ने

आफ्ना छोराछोरीलाई ठूलो स्वरले पढेर सुनाउने आमाबाबुले तिनीहरूलाई महत्त्वपूर्ण उपहार दिइरहेका हुन्छन्‌। त्यो हो, मानिस, ठाउँ र अन्य चीजबीजहरूबारे ज्ञान। कम खर्चमै तिनीहरू किताबका पृष्ठहरूमार्फत विश्‍वभर “यात्रा” गर्नसक्छन्‌। दुई वर्षीय एन्थनीको उदाहरणलाई विचार गर्नुहोस्‌, जसलाई तिनकी आमाले जन्मेदेखि नै पढेर सुनाउँथिन्‌। तिनी यसो भन्छिन्‌: “उसको चिडियाखानाको प्रथम यात्रा भनेको नयाँ कुराहरू पुनः पत्ता लगाउनु थियो।” पुनः पत्ता लगाउनु? हो, एन्थनीले जेब्रा, सिंह, जिराफ तथा अन्य जन्तुहरूलाई आफ्नै आँखाले पहिलो पटक देखे तापनि ती सबै प्राणीलाई उसले पहिले नै चिनिसकेको थियो।

उसकी आमा अझ यसो भन्छिन्‌: “दुई वर्षभित्र एन्थनीले किताबहरूबाट असंख्य मानिस, जनावर, चीजबीज तथा विचारधाराहरूबारे थाह पाइसकेका थिए।” हो, केटाकेटीहरू सानै छँदा ठूलो स्वरले पढेर सुनायौं भने तिनीहरूले आफू बसिरहेको संसारबारे थुप्रै कुराहरू बुझ्न सक्छन्‌।

घनिष्ठ सम्बन्ध निर्माण गर्ने

हुर्कंदै गरेको उमेरमा साना केटाकेटीहरूले भविष्यमा आफ्नो कामलाई असर गर्ने खालका मनोवृत्तिहरू विकास गर्छन्‌। तसर्थ, आमाबाबुले भरोसा, पारस्परिक आदर तथा समझसहितको घनिष्ठ सम्बन्धको लागि जग बसाल्नुपर्छ। यस प्रक्रियामा पढाइले निर्णायक भूमिका निर्वाह गर्नसक्छ।

आफ्ना छोराछोरीलाई अंकमाल गरेर तिनीहरूको लागि पढिदिंदा वास्तवमा आमाबाबुले यसो भनिरहेका हुन्छन्‌: “म तिमीलाई माया गर्छु।” क्यानाडावासी फिबीको छोरा अहिले आठ वर्षको भएको छ र तिनले छोरालाई पढेर सुनाउने सन्दर्भमा यसो भनिन्‌: “यसले गर्दा नेथन हामीसित घनिष्ठ हुन सकेको म र मेरो श्रीमान्‌ले महसुस गरेका छौं। ऊ हामीसित खुलस्त भएर कुरा गर्छ र आफूलाई कस्तो महसुस भइरहेको छ भनेर अक्सर बताउँछ। यसले हामीलाई विशेष प्रकारको बन्धनमा बाँधेको छ।”

सिन्डीले आफ्नी छोरी एक वर्षकी हुँदादेखि नै र एक दुई मिनेट जति मात्र ध्यान दिएर सुन्‍नसक्ने भएदेखि नै तिनलाई ठूलो स्वरले पढेर सुनाउने बानी बसालिन्‌। के त्यसो गर्न आफूले खर्च गरेको समय र प्रयास फलदायी भएको छ? सिन्डी यस्तो टिप्पणी गर्छिन्‌: “सँगै पढ्‌नेबेला मित्रैलो अनि शान्त वातावरण बनाउँदा अबिगेलले दिनभरि स्कूलमा घटेका घटना वा साथीहरूसित परेको समस्याबारे खुरुखुरु भन्‍न थाल्छिन्‌। के आमाबाबुले चाहने कुरा पनि त्यही होइन र?” स्पष्टतया ठूलो स्वरले पढ्‌दा आमाबाबु तथा बच्चाबीचको सम्बन्ध घनिष्ठ हुनसक्छ।

जीवनमा आवश्‍यक पर्ने सीप विकास गर्ने

“हाम्रा छोराछोरीहरूले आज टेलिभिजन तथा अन्य स्रोतहरूबाट अनावश्‍यक कुराहरू सिक्ने हुँदा अहिले जत्तिको मानसिक पोषण, स्पष्ट विचारधारा, बुद्धि, मानसिक नियन्त्रणको आवश्‍यकता पहिला कहिल्यै परेको थिएन र यी कुराले नै तिनीहरूलाई सही मूल्य-मान्यताअनुरूप जिउन र आफ्नो जीवनप्रति उचित दृष्टिकोण राख्न मदत गर्छ” भनी थ्री स्टेप्स टु अ स्ट्रङ फेमिली पुस्तक बताउँछ। आमाबाबुले मात्र त्यस्तो सकारात्मक तथा स्वास्थ्यकर प्रभाव पार्नसक्छन्‌।

किताबमा पाइने मिश्र वाक्य तथा राम्ररी संरचना गरिएका वाक्यहरू बच्चालाई पढेर सुनाउँदा त्यसले उनीहरूलाई आफ्ना भावनाहरू बोली तथा लेखाइमा व्यक्‍त गर्न सिकाउन उपयोगी हुनसक्छ। बेबिज नीड बुक्स-की (बच्चाहरूलाई किताब चाहिन्छ) लेखिका डोरथी बटलर यसो भन्छिन्‌: “व्यक्‍तिविशेषको विचारधाराको गुणस्तर उसको भाषाको गुणस्तरमा भर पर्छ। वास्तवमा जहाँसम्म सिक्ने र बौद्धिक विकासको कुरा छ, भाषाले महत्त्वपूर्ण भूमिका खेल्छ। राम्ररी कुराकानी गर्ने सीप हुनु भनेको राम्रो सम्बन्धको जीवनरक्‍त नै हो।

राम्रा किताबहरूबाट पढेर सुनाउँदा त्यसले पनि असल आचरण तथा नैतिक मूल्य-मान्यताहरूलाई बलियो बनाउनसक्छ। आफ्ना छोराछोरीसँगै पढ्‌ने र तर्क गर्ने आमाबाबुहरूले तिनीहरूलाई समस्या समाधान गर्ने सीपहरू विकास गर्न मदत गरिरहेका हुन्छन्‌। सिन्डीले आफ्नी छोरी अबिगेलसँगै पढ्‌दा कथाहरूमा प्रस्तुत गरिएका परिस्थितिहरूमा अबिगेलको प्रतिक्रिया कस्तो हुन्छ भनी हेर्न तिनी सजग भइन्‌। “आमाबाबु भएको नाताले हामीले उसमा भएका नकारात्मक पक्षहरू थाह पाउन सक्छौं र उसको मनमा भएका गलत सोचाइहरूलाई सानै उमेरमा हटाउन मदत दिन सक्छौं होला।” वास्तवमा, छोराछोरीलाई ठूलो स्वरले पढेर सुनाउँदा त्यसले तिनीहरूको मन अनि मस्तिष्क दुवैलाई प्रशिक्षण दिन सकिन्छ।

पढाइलाई रोचक बनाउनुहोस्‌

तनाउमुक्‍त, अनौपचारिक अनि रमाइलो वातावरण कायम राखेर बच्चालाई “दबाउ नदिईकन” पढ्‌नुहोस्‌। समझदार आमाबाबुलाई कुन बेला पढाइ रोक्नुपर्छ भन्‍ने कुरा थाह हुन्छ। लिना भन्छिन्‌: “दुई वर्षीया एन्ड्रु कहिलेकाहीं लखतरान हुन्छन्‌ तरैपनि तिनी लामो समयसम्म चुपो लागेर बसिरहन सक्दैन। उसको मुडअनुसार हामी हाम्रो पढाइको तालिकालाई छोट्याउँछौं। पढाइबारे एन्ड्रुले कुनै नकारात्मक सोचाइ राखेको हामी चाहँदैनौं। त्यसैकारण, उसले चाहेभन्दा बढी पढेर सुनाउने गर्दैनौं।”

ठूलो स्वरले पढ्‌नु भनेको छापिएको कुरालाई जस्ताको तस्तै पढ्‌नु मात्र होइन। चित्रै चित्रले भरिएको किताबको पढाइ रोचक बनाउनको लागि पाना कुन बेला पल्टाउने हो, थाह पाइराख्नुहोस्‌। अक्षरहरू सरर्र पढ्‌नुहोस्‌। आवाज ठूलो सानो गर्दा अनि आवश्‍यक परेको ठाउँमा जोड दिएर पढनाले पनि कथालाई झनै जीवन्त बनाउँछ। तपाईंको आवाजमा न्यानोपन छ भने त्यसले बच्चालाई सुरक्षित महसुस गराउनसक्छ।

तपाईंको बच्चाले सक्रियतासाथ भाग लिंदा सबैभन्दा बढी फाइदा हुन्छ। ठाउँ-ठाउँमा रोक्नुहोस्‌ र आफ्नै शब्दमा जवाफ दिनुपर्ने खालका प्रश्‍नहरू सोध्नुहोस्‌। बच्चाको जवाफ सुनिसकेपछि आफैले पनि केही थप जवाफहरू दिएर बुझाउनुहोस्‌।

किताबहरू छनौट गर्दा होसियार हुनुहोस्‌

तथापि, राम्रा किताबहरू छनौट गर्नु सबैभन्दा महत्त्वपूर्ण पक्ष हुनसक्छ। यसो गर्न अलिकति गृहकार्य गर्नुपर्छ। होसियारीसाथ किताबहरू जाँच्नुहोस्‌ र उत्थानदायी वा शिक्षाप्रद सन्देश र नैतिक शिक्षा दिने कथाहरू भएका किताबहरू मात्र प्रयोग गर्नुहोस्‌। मुखपृष्ठ, त्यसका चित्रहरू अनि लेखनशैलीहरू राम्ररी जाँच्नुहोस्‌। आमाबाबु तथा बच्चा दुवैलाई मनपर्ने किताबहरू छान्‍नुहोस्‌। बच्चाहरूले प्रायजसो एउटै कथा घरीघरी पढ्‌न लगाउनेछन्‌।

संसारभरका आमाबाबुहरूले विशेष गरी बाइबलका कथाहरू भएको मेरो पुस्तक असाध्यै रुचाएका छन्‌। a यो किताब छोराछोरीसित पढ्‌न आमाबाबुहरूको लागि तयार पारिएको हो र यसले केटाकेटीहरूलाई असल पाठक बन्‍न मात्र होइन बाइबलप्रति तिनीहरूको चासो जगाउन पनि मदत गर्छ।

आफ्ना छोराछोरीको लागि ठूलो स्वरले पढ्‌ने आमाबाबुहरूले तिनीहरूमा राम्रो पढ्‌ने बानी बसाल्न सक्छन्‌, जसबाट आजीवन अर्थपूर्ण परिणामहरू पाउन सकिन्छ। जोआनले आफ्नी छोरीबारे यसो भनिन्‌: “जेनिफरले स्कूल गएर पढ्‌ने बानी बसाल्नुअघि लेखपढ्‌ गर्न मात्र सिकिनन्‌ तर हाम्रो महान्‌ सृष्टिकर्ता यहोवालाई समेत प्रेम गर्न थालिसकेकी थिइन्‌। आफ्ना प्रत्येक निर्णयहरूमा डोऱ्‍याइको लागि जेनिफरले उहाँको वचन बाइबलमा भर पर्न सिकेकी छिन्‌।” साँच्चै, तपाईं आफ्ना छोरा वा छोरीलाई के सिक्न मदत गर्नुहुन्छ त्योभन्दा पनि कस्तो कुरालाई प्रेम गर्न सिकाउनुहुन्छ भन्‍ने कुरा महत्त्वपूर्ण छ। (g01 11/22)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ १४-मा भएको पेटी/चित्र]

बच्चाको लागि पढ्‌नुहुँदा

• छोरा वा छोरी सानै छँदा सुरु गर्नुहोस्‌।

• पढाइको लागि तयार हुन आफ्नो बच्चालाई समय दिनुहोस्‌।

• तपाईंहरू दुवैलाई मन पर्ने कथा पढ्‌नुहोस्‌।

• सक्दो जोसका साथ पढ्‌नुहोस्‌।

• प्रश्‍नहरू सोधेर आफ्नो बच्चालाई पनि भाग लिन लगाउनुहोस्‌।

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

Photograph taken at the Wildlife Conservation Society’s Bronx Zoo