सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन पुरुषहरूले महिलाहरूलाई कुटपिट गर्छन्‌?

किन पुरुषहरूले महिलाहरूलाई कुटपिट गर्छन्‌?

किन पुरुषहरूले महिलाहरूलाई कुटपिट गर्छन्‌?

अन्य सबै प्रकारका अपराधीहरूबाट भन्दा पनि आफ्नै पुरुष साथी वा पतिद्वारा महिलाहरूको हत्या हुनसक्ने सम्भावना धेरै हुनसक्छ भनी केही विशेषज्ञहरू बताउँछन्‌। पत्नीमाथि गरिने दुर्व्यवहार रोक्न असंख्य अध्ययनहरू गरिएका छन्‌। कस्तो स्वभावको मानिसले आफ्नो पत्नीलाई कुटपिट गर्छ? उसको बाल्यकाल कस्तो थियो? विवाहपूर्व भेटघाटको दौडान के ऊ हिंस्रक थियो? कुटपिट गर्ने व्यक्‍तिले उपचारप्रति कस्तो प्रतिक्रिया देखाउँछ?

कुटपिट गर्ने सबै व्यक्‍तिहरू एकै किसिमका हुँदैनन्‌ भनी विशेषज्ञहरूले पत्ता लगाएका छन्‌। कहिलेकाहीं मात्र कुटपिट गर्ने व्यक्‍ति पनि हुन्छ। यस्तो व्यक्‍तिले कुनै हातहतियारको प्रयोग गर्दैन र आफ्नो पत्नीलाई लगातार दुर्व्यवहार गरेको रेकर्ड पनि हुँदैन। ऊ वास्तवमा हिंस्रक व्यक्‍ति हुँदैन तर उसलाई कुनै बाहिरी तत्त्वले उक्साएको हुनसक्छ। अर्कोतर्फ, सधैं कुटपिट गर्ने बानी बसिसकेको व्यक्‍ति पनि हुन्छ। उसले सधैंजसो दुर्व्यवहार गरिरहन्छ र आफूले गरेको गल्तीको पश्‍चात्ताप गर्ने छाँटकाँट पनि देखाउँदैन।

यद्यपि, कुटपिट गर्ने व्यक्‍तिहरूको स्वभाव बेग्लाबेग्लै हुन्छ भन्‍नुको अर्थ कुनै-कुनै प्रकारको कुटपिट गम्भीर हुँदैन भन्‍न खोजिएको होइन। साँच्चै भन्‍ने हो भने, सबै प्रकारको शारीरिक दुर्व्यवहारले चोट पुऱ्‍याउनसक्छ वा भनौं मृत्युसमेत हुनसक्छ। यसप्रकार, एक जना व्यक्‍तिले गर्ने हिंसा अर्कोको भन्दा कम वा कम घातक छ भन्दैमा कुटपिटलाई छुट दिन मिल्दैन। स्पष्टतः कुनै पनि हालतमा कुटपिट “स्वीकार्य” हुँदैन। तथापि, बाँचुञ्जेल सँगै बस्ने सँगै मर्ने बाचा बाँधेको आफ्नी पत्नीलाई पुरुषले किन शारीरिक दुर्व्यवहार गर्छ त?

पारिवारिक पृष्ठभूमिको प्रभाव

शारीरिक दुर्व्यवहार गर्ने धेरैजसो पुरुषहरू दुर्व्यवहारी परिवारमा हुर्केका हुन्छन्‌ भन्‍ने कुरामा अचम्म मान्‍नु पर्दैन। पत्नीमाथि गरिने दुर्व्यवहारसम्बन्धी अनुसन्धान गर्न झन्डै दुई दशक बिताएका माइकल ग्रोच यसप्रकार लेख्छन्‌, “कुटपिट गर्ने अधिकांश पुरुषहरू घरेलु ‘झैझगडाको वातावरण[मा]’ हुर्केका हुन्छन्‌। तिनीहरूको बाल्यकाल र किशोरावस्था भावनात्मक अनि शारीरिक दुर्व्यवहार ‘सामान्य’ ठानिने अमित्रैलो वातावरणमा बितेको हुन्छ।” एक विशेषज्ञको भनाइअनुसार यस्तो वातावरणमा हुर्केको पुरुषले “महिलाहरूलाई घृणा गर्न सानो उमेरदेखि नै आफ्नो बाबुबाट” सिकिसकेको हुन्छ। महिलाहरू सधैं पुरुषहरूकै अधीनमा बस्नुपर्छ र तिनीहरूलाई अधीनमा राख्ने तरिका उनीहरूलाई तर्साउनु, चोट पुऱ्‍याउनु अनि होच्याउनु हो भनेर एउटा पुरुषले सानो छँदै सिक्छन्‌। साथै, आफ्नो बाबुको समर्थन पाउन आफ्नो बाबुको जस्तै व्यवहार गर्नुपर्छ भनेर उसले सिक्छ।”

चाहे राम्रो होस्‌ या नराम्रो, आमाबाबुको आचरणले छोराछोरीमाथि गहिरो असर पार्छ भनी बाइबलले स्पष्ट पार्छ। (हितोपदेश २२:६; कलस्सी ३:२१) निस्सन्देह, पारिवारिक पृष्ठभूमिले पुरुषलाई कुटपिट गर्ने छुट दिंदैन तर यसले हिंसात्मक स्वभाव सुरु हुनुको कारण बुझ्न मदत गर्नसक्छ।

सांस्कृतिक प्रभाव

कुनै-कुनै मुलुकमा महिलाहरूलाई कुटपिट गर्नु सामान्य साथै स्वीकार्यसमेत ठानिन्छ। संयुक्‍त राष्ट्रको प्रतिवेदनले यसो भन्छ, “आफ्नो पत्नीलाई कुटपिट गर्ने अथवा शारीरिक रूपमा तर्साउने पतिको अधिकारलाई धेरैजसो समाजमा पूर्णतया मान्यता दिइन्छ।”

यस्तो दुर्व्यवहारलाई मान्यता नदिने देशहरूमा समेत धेरैले हिंसात्मक व्यवहार गरिरहेका हुन्छन्‌। यस सम्बन्धमा केही मानिसहरूका तर्कहीन सोचाइहरू निकै घातक हुन्छन्‌। दक्षिण अफ्रिकामा प्रकाशित हुने विक्ली मेल एण्ड गार्डियन पत्रिकाअनुसार केप प्रायद्वीपमा गरिएको अध्ययनले आफ्नो पत्नीलाई दुर्व्यवहार गर्दिनँ भनी दाबी गर्ने अधिकांश पुरुषहरूको विचारमा महिलाहरूलाई पिट्‌नु ठीकै हो र यसलाई हिंसा भन्‍नु मिल्दैन।

स्पष्टतः अक्सर यस्ता विकृत विचारहरू बाल्यकालदेखि नै सुरु हुन्छ। उदाहरणका लागि, बेलाइतमा गरिएको एउटा अध्ययनले देखाएअनुसार ११ र १२ वर्षका ७५ प्रतिशत केटाहरूको विचारमा महिलाले पुरुषलाई रिस उठाएको खण्डमा महिलालाई कुटपिट गर्नु ठीकै हो।

कुटपिट गर्नेहरूलाई कुनै छुट छैन

माथि उल्लिखित तथ्यहरूले पत्नीमाथि गरिने दुर्व्यवहार के हो, सो बुझाउन मात्र खोजेको हो तर यी तथ्यहरूले यस्तो घृणित कार्यलाई कदापि छुट दिंदैन। सरल अर्थमा भन्‍ने हो भने, आफ्नो पत्नीलाई कुटपिट गर्नु यहोवाको नजरमा घोर पाप हो। उहाँको वचन बाइबलमा यस्तो लेखिएको छ: “पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। किनभने कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन, तर मण्डलीलाई ख्रीष्टले गर्नुभएझैं त्यसको पालन पोषण गर्दछ।”—एफिसी ५:२८, २९.

यस रीतिरिवाजको “आखिरी दिनमा” धेरै मानिसहरू “दुर्व्यवहारी” “स्वाभाविक प्रेम रहितका” र “निष्ठूर” हुनेछन्‌ भनेर बाइबलले धेरैअघि भविष्यवाणी गरेको थियो। (२ तिमोथी ३:१-३, द न्यु इंग्लिस बाइबल) पत्नीप्रति गरिने दुर्व्यवहारको व्यापकता मात्र पनि यस भविष्यवाणीले बताएको समयमा हामी बाचिरहेका छौं भन्‍ने कुराको संकेत हो। तर शारीरिक दुर्व्यवहारको सिकार भएकाहरूलाई मदत गर्न के गर्न सकिन्छ? के कुटपिट गर्ने व्यक्‍तिले आफ्नो आचरणमा परिवर्तन ल्याउने कुनै आशा छ? (g01 11/8)

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

“आफ्नी पत्नीलाई कुटपिट गर्ने व्यक्‍ति र अपरिचित व्यक्‍तिलाई मुक्का हान्‍ने अपराधी वास्तवमा उस्ता-उस्तै हो।”— जब पुरुषहरूले महिलाहरूलाई कुटपिट गर्छन्‌

[पृष्ठ ६-मा भएको पेटी]

पुरुष हुनुको घमण्ड एक विश्‍वव्यापी समस्या

ल्याटिन अमेरिकाबाट निस्केको “माचिस्मो” शब्द अंग्रेजी भाषा बोल्नेहरूले अत्यन्तै प्रयोग गर्न थालेका छन्‌। यसले पुरुष हुनुको घमण्डलाई संकेत गर्नुका साथै महिलाहरूमाथि दुर्व्यवहार गर्ने मनोभावलाई संकेत गर्छ। तर पुरुष हुनुको घमण्ड ल्याटिन अमेरिकामा मात्र सीमित छैन भन्‍ने कुरा निम्न रिपोर्टहरूले संकेत गर्छ।

इजिप्ट: आलेक्जान्ड्रियामा गरिएको तीन महिने अध्ययनले देखाएअनुसार महिलाहरूलाई चोट पुऱ्‍याउने प्रमुख कारक तत्त्व भनेको नै घरेलु हिंसा हो। स्थानीय स्वास्थ्य चौकीमा घरेलु हिंसाद्वारा प्रभावित २७.९ महिलाहरू उपचारको लागि आउने तथ्यले यस कुराको पुष्टि दिन्छ।—महिला विषयक चौथो विश्‍व सम्मेलनको बुँदा ५.

थाइल्याण्ड: बैंकक शहर नजिकैको सबैभन्दा ठूलो क्षेत्रमा ५० प्रतिशत विवाहित महिलाहरू नियमित रूपमा पिटिन्छन्‌।—प्यासिफिक इन्स्टिच्युट फर विमेन्स्‌ हेल्थ।

हङकङ: “पतिद्वारा पिटिएको भनी रिपोर्ट गर्ने महिलाहरूको संख्यामा गत वर्ष ४० प्रतिशतले वृद्धि भयो।”—साउथ चाइना मर्निङ पोस्ट, जुलाई २१, २०००.

जापान: सन्‌ १९९५ मा हिंसाबाट बच्न आश्रय खोज्ने महिलाहरूको संख्या ४,८४३ थियो भने, सन्‌ १९९८ मा त्यो संख्या बढेर ६,३४० पुग्यो। “तीमध्ये एक तिहाइको भनाइअनुसार आफ्नो पतिको हिंसात्मक व्यवहारले गर्दा तिनीहरू आश्रय खोजिरहेका थिए।”—जापान टाइम्स, सेप्टेम्बर १०, २०००.

बेलाइत: “बेलाइतभरि हरेक छ सेकेन्डमा एउटा घरमा बलात्कार, कुटपिट वा हातहतियारको प्रहारजस्ता घटना घट्‌ने गर्छन्‌।” लण्डन नगर प्रहरीको एक गुप्तचर विभागअनुसार “प्रहरीले घरेलु हिंसाको सिकार भएकाहरूबाट हरेक दिन १,३०० अर्थात्‌ वर्षमा ५,७०,००० भन्दा धेरै टेलिफोन कलहरू प्राप्त गर्छन्‌। त्यसमध्ये ८१ प्रतिशत टेलिफोन कलहरू त पुरुषहरूको आक्रमणको सिकार भएका महिलाहरूका हुन्छन्‌।”—द टाइम्स, अक्टोबर २५, २०००.

पेरू: प्रहरीलाई गरिने अपराधका उजुरीहरूमध्ये ७१ प्रतिशत उजुरी त पतिद्वारा कुटिएका महिलाहरूको नै हुन्छन्‌।—प्यासिफिक इन्स्टिच्युट अफ विमेन्स्‌ हेल्थ।

रूस: “एक वर्षमा १४,५०० रूसी महिलाहरू आफ्ना पतिद्वारा मारिए र घरेलु हिंसामा परेर थप ५६,४०० महिलाहरू अपांग अथवा नराम्रो गरी घाइते भए।”—द गार्डियन।

चीन: जिङलुङ फ्यामिली सेन्टरका निर्देशक प्राध्यापक चेन युयुन यसो भन्छन्‌, “यो एउटा नयाँ समस्या हो। विशेष गरी शहरी क्षेत्रमा यो समस्या बढिरहेको छ। छिमेकीहरूबाट आउने दबाउले मात्र घरेलु हिंसालाई कम गर्ला जस्तो छैन।”—द गार्डियन।

निकारागुआ: “निकारागुआमा महिला विरुद्ध हिंसा निकै बढिरहेको छ। एउटा सर्वेक्षणले दाबी गरेअनुसार गत वर्ष मात्रै निकारागुआका ५२ प्रतिशत महिलाहरू आफ्नो पतिबाट कुनै न कुनै प्रकारको घरेलु हिंसाबाट पीडित भए।”—बीबीसी समाचार।

[पृष्ठ ७-मा भएको पेटी]

खतराका संकेतहरू

संयुक्‍त राज्य अमेरिका, युनिभर्सिटी अफ रोड आइल्याण्डमा कार्यरत रिचर्ड जे. जेल्सद्वारा गरिएको अध्ययनअनुसार घरेलु वातावरणमा हुने शारीरिक अनि भावनात्मक दुर्व्यवहारका खतराहरू यसप्रकार छन्‌:

१. दुर्व्यवहार गर्ने पुरुष पहिला पनि घरेलु हिंसामा सहभागी भइसकेको छ।

२. ऊ बेरोजगार छ।

३. कम्तीमा पनि वर्षमा एक चोटि उसले अवैध लागूऔषध सेवन गर्छ।

४. घरमा उसले आफ्नो बुबाले आमालाई कुटेको देखेको छ।

५. विवाह नगरी दुई जना सँगै बसेको छ।

६. जागिर त छ तर तलब एकदमै कम पाउँछ।

७. उसले उच्च माध्यामिक विद्यालयको पढाइ पूरा गरेको छैन।

८. उसको उमेर १८ देखि ३० वर्षबीचको छ।

९. आमा या बुबा वा दुवैले घरमा आफ्ना छोराछोरीमाथि हिंसात्मक दुर्व्यवहार गर्ने गर्छन्‌।

१०. आयस्रोत गरिबीको स्तरभन्दा कम छ।

११. पुरुष र महिलाको जातीय पृष्ठभूमि बोग्लाबेग्लै छ।

[पृष्ठ ७-मा भएको चित्र]

घरेलु हिंसाले केटाकेटीहरूलाई गम्भीर रूपमा असर गर्नसक्छ