तपाईंको शरीरका सूक्ष्म “ट्रकहरू”
तपाईंको शरीरका सूक्ष्म “ट्रकहरू”
पाँच दिनअघि यो न्युक्लियससहितको कोष थियो। तर कोष पूर्ण विकसित र वृद्धि भइसकेपछि यसले आफ्नो न्युक्लियसलाई निष्कासन गऱ्यो। अब यो रेटिक्युलोसाइट भएको छ। त्यो के हो? त्यो तपाईंको रगतको प्रवाहमा प्रवेश गर्न तयार अविकसित रातो रक्तकोष हो। अबको दुई चार दिनपछि यो पूर्णतया विकसित रातो रक्तकोष बन्नेछ।
यो सानो कोष ट्रकजस्तै हुन्छ। यसले “ओसार्ने वस्तु”, अक्सिजन ओसार्ने प्रोटिन अर्थात् हेमोग्लोबिन हो। चार महिनाभित्र यो “ट्रक”-ले तपाईंको शरीरमा लगभग २५० किलोमिटर यात्रा गरिसकेको हुन्छ भन्ने अनुमान गरिएको छ। तपाईंको शरीरभरि झन्डै दस अरब केशिकाहरू (साना रक्तनलीहरू) हुन्छन् र यो पृथ्वीको कुल परिधिभन्दा दुई गुणा लामो हुन्छ। शरीरको सम्पूर्ण भागमा अक्सिजन पुऱ्याउन खरबौं एरिथ्रोसाइटहरू (राता रक्तकोषहरू) आवश्यक पर्छन्।
तपाईंको रक्तनलीमा यो सानो “ट्रक” सधैं गुडिरहेकै हुन्छ। यसको गति परिस्थितिअनुसार फरक-फरक हुन्छ। यी कोषहरू मुटुको एओर्टा अर्थात् रगतको “प्रमुख राजमार्गमा” यात्रा गर्दा प्रति सेकेन्ड १२० सेन्टिमिटरको दरले सबैभन्दा तीव्र गतिमा दौडन्छन्। यो कोष शरीरको “साना बाटोहरू” भएर केशिकाहरूको टुप्पामा पुगुञ्जेलसम्म यसको गति बिस्तारै घटेर लगभग ०.३ मिलिमिटर प्रति सेकेन्ड भइसकेको हुन्छ।
रक्तकोषहरू कहाँबाट आउँछन्
सामान्य वयस्क मानिसका रक्तकोषहरू हड्डीको मासीमा बनिन्छन्। हरेक दिन, शरीरको एक किलोग्राम तौलका लागि तपाईंको हाडको मासीले २.५ अरब राता रक्तकोषहरू, एक अरब ग्रानुलोसाइट (सेता कोषहरू) र २.५ अरब प्लेट्लेट्सहरू उत्पादन गर्छ। यसप्रकार दैनिक रूपमा नष्ट हुने कोषहरूको क्षतिपूर्ति हुन्छ। सामान्य वयस्क व्यक्तिमा प्रति सेकेन्ड लाखौं राता रक्तकोषहरू बनिने र नष्ट हुने गर्छन्।
अब हड्डीको मासीबाट रक्तनलीमा प्रवेश गर्न यी अविकसित राता कोषहरू हड्डीका मासीहरूमा भएको साना नलीहरूको बाहिरी पर्खालमा पुग्छन् र माइग्रेशन पोर भनिने छिद्रहरूबाट भित्र घुसेर रगतमा पुग्छन्। थप तीन दिनसम्म यसले हेमोग्लोबिन अझै उत्पादन गर्छ। तर त्यसपछि विकसित रातो रक्तकोष वा एरिथ्रोसाइट भइसकेपछि भने यसले यो कार्य गर्न बन्द गर्छ।
सिस्टेमिक र पल्मोनरी रक्तसञ्चार
सत्रौं शताब्दीमा डाक्टरहरूले दुई प्रकारका रक्तसञ्चार प्रणाली हुन्छन् भन्ने कुरा पत्ता लगाए। सम्पूर्ण शरीरमा हुने रक्तसञ्चार अर्थात् सिस्टेमिक रक्तसञ्चार-मा तपाईंका शरीरका सूक्ष्म “ट्रक”-रूपी राता रक्तकोषहरू मुटुबाट शरीरका विभिन्न तन्तुहरूसम्म पुग्छन्। तिनीहरूले त्यहाँ अक्सिजन पुऱ्याउँछन् र कार्बन डाइअक्साइडको रूपमा रहेको अनावश्यक फोहोरलाई बाहिर ओसार्छन्। यस प्रक्रियालाई आन्तरिक श्वासप्रश्वास भनिन्छ। त्यसपछि ती राता रक्तकोषहरू मुटुमा फर्कन्छन्। फोक्सो र मुटुबीच हुने रक्तसञ्चार अर्थात् पल्मोनरी रक्तसञ्चार-मा चाहिं यी ट्रकहरूलाई फोक्सोमा पठाइन्छ। त्यहाँ तिनीहरूले फोहोरहरू अर्थात् कार्बन डाइअक्साइड बाहिर फ्याँकेर अक्सिजन भर्ने काम गर्छन्। यसरी पल्मोनरी रक्तसञ्चारले तपाईंको शरीरलाई सास फेर्न मदत गर्छ।
पर्याप्त राता रक्तकोषहरू नहुँदा
कहिलेकाहीं राता रक्तकोषहरू चाहिनेभन्दा कम मात्रमा हुन्छन्। यस्तो अवस्थालाई डाक्टरहरू रक्तअल्पता भन्छन्। यस्तो हुनुको विभिन्न कारणहरूमा (१) राता रक्तकोषहरूको उत्पादन वा वृद्धिमा गडबडी हुनु, (२) तिनीहरू धेरै मात्रामा नष्ट हुनु र (३) अत्यधिक रक्तस्राव हुनु आदि पर्छन्। दीर्घ सुजन वा ट्युमरका कारणले पनि रक्तअल्पता हुनसक्छ।
रगतमा फलामको मात्रा आवश्यकताभन्दा धेरै वा थोरै हुँदा पनि समस्याहरू उत्पन्न हुनसक्छन्। फलामको मात्रा एकदमै थोरै हुँदा राता कोषहरू सामान्यतया विकसित हुन सक्दैनन्। फलतः ती कोषहरू सामान्यभन्दा साना र फिक्का हुन्छन्। प्रायजसो अवस्थामा फलामको आपूर्ति गर्दा यो विकार ठीक हुन्छ। कहिलेकाहीं रगतमा फलामको मात्रा धेरै हुन्छ। क्षतिग्रस्त राता कोषहरू फुटेर रक्त सञ्चार प्रणालीमा फलामको अत्यधिक प्रभाव हुँदा यसो हुनसक्छ। फलस्वरूप बिस्तार-बिस्तारै शरीरका सम्पूर्ण अंगहरू विषाक्त हुन्छन्। विशेष गरी मुटु विषाक्त भयो भने सबैभन्दा खतरनाक हुन्छ। यस्तो अवस्थाले ग्रसित बिरामीहरूको पछिसम्म पनि मुटुमा रगतको कमी भइरहन्छ।
तपाईंको शरीरमा रक्त कोषहरूले के-कस्ता कामहरू गर्छन्, त्यसबारे विस्तृत रूपमा वर्णन गर्ने हो भने, ठेलीका ठेली पुस्तकहरू चाहिनेछन्। आंशिक रूपमा वर्णन गरिंदा मात्र पनि यसको उदेकलाग्दो जटिलताले जीवनको रचना तथा सृष्टि गर्नुहुने एक जना बुद्धिमान् व्यक्तिको महिमा गर्छ भन्ने कुरा स्पष्ट छ। महान् अनि समझदार सृष्टिकर्ताबारे उहाँका एक जना पुरातन उपासकले यसो भने: “हामी उहाँमै जिउँछौं, र चलहल गर्दछौं, र यसरी हाम्रो अस्तित्व रहेको छ।”—प्रेरित १७:२८. (g01 11/22)