सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रिसाहासित कसरी व्यवहार गर्ने?

रिसाहासित कसरी व्यवहार गर्ने?

युवा जनहरू सोध्छन्‌ . . .

रिसाहासित कसरी व्यवहार गर्ने?

“ऊ रिसले बौलायो। सायद अलि फुच्चे देखेर हो कि ऊ मलाई पिट्‌न चाहन्थ्यो। पछि हट्‌दै मैले उसलाई भने: ‘ए ए एक छिन पख त! पख न भन्याँ! तिमी किन मलाई पिट्‌न खोज्दैछौ? आखिर, मैले तिम्रो के बिगारेको छु र! तिमीलाई यति साह्रो रिस उठ्‌नुको कारणसमेत मलाई थाह छैन। पहिला, तिमीलाई रिस उठ्‌नुको कारण त बताऊ!’ ”—१६ वर्षीय डेभिड।

के तपाईं कहिल्यै हुल्याहाहरूको रिसको सिकार हुनुभएको छ? आजका मानिसहरू “स्वाभाविक प्रेम रहितका, खुशी नहुने” हुनेछन्‌ भनी बाइबलले भविष्यवाणी गरेको थियो। (२ तिमोथी ३:३) अनि तपाईंले “रीस गर्ने . . . क्रोधी-स्वभावको मानिससित संगत” नगर्न हर प्रयास गर्दा गर्दै पनि कहिलेकाहीं रिसाहाहरूको सामना गर्नैपर्ने हुनसक्छ। (हितोपदेश २२:२४) यस्तो बेला तपाईंले के गर्नुपर्छ?

रिसाहा व्यक्‍तिको सामना गर्दै

आज धेरैजसो युवाहरू आफूसित अरू रिसायो भने आफू पनि रिसाइहाल्छन्‌। तर त्यसो गर्दा समस्या झनै चर्कन्छ मात्र। यसबाहेक, आफ्नो आत्मसंयम गुमाउँदा तपाईं त्यो रिसाहा व्यक्‍तिकै स्तरमा झर्नुहुनेछ। हितोपदेश २६:४ यसो भन्छ: “मूर्खलाई मूर्खकै बोलीमा जवाफ नदे, नत्रता तँ पनि त्यहीजस्तै हुनेछस्‌।” किशोर जेरमीले आफूले भोग्नुपरेको नमीठो अनुभवबाट यी शब्दहरूको सत्यता बुझ्नसके। आफू स्कूलको खाजा खाने टेबलमा बसिरहेको बेला घटेको घटना तिनी यसरी सम्झन्छन्‌: “मेरो स्कूलमा केटाहरूको एउटा समूह थियो, तिनीहरू सधैं एकअर्कासँग जिस्किन्थे र अरूलाई पनि नानाभाँति कुरा गरेर जिस्क्याउने गर्थे। प्रायः तिनीहरू मलाई पनि जिस्क्याउँथे। म तिनीहरूले भनेको कुरालाई त्यति वास्तै गर्दिनँथें। तर तिनीहरूमध्ये एक जनाले मेरी आमाको नाउँ लिएर जथाभावी कुरा गर्न थालेपछि मलाई साह्रै रिस उठ्यो र रिसको झोंकमा म त्यस केटामाथि जाइलागें।” त्यसको नतिजा? जरमी भन्छन्‌, “त्यसले मलाई चुट्‌नसम्म चुट्यो।”

बाइबलले यस्तो बुद्धिमानी सल्लाह दिन्छ: “मीठो जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रीस उठाउँछ।” (हितोपदेश १५:१) हो, कसैले रिस देखाउँदा “नमिठो वचन” बोल्दै आफू पनि उल्टै रिसाउँदा परिस्थिति झनै बिग्रिन्छ। तथापि, नम्र जवाफले अक्सर परिस्थितिलाई शान्त बनाउनुका साथै तनाउपूर्ण वातावरणलाई साम्य पार्नसक्छ।

सुरुमा उल्लेख गरिएको डेभिडलाई फेरि एक चोटि विचार गर्नुहोस्‌। तिनले त्यस हुल्याहा केटालाई ऊ रिसाउनुको कारणबारे बताउन लगाउन सके। कसैले उसको खाजा चोरिदिएकोले ऊ रिसाएको रहेछ र आफ्नो अगाडि आउने पहिलो व्यक्‍तिलाई पिटेर आफ्नो रिस पोखाइरहेको थियो। डेभिडले यस्तो तर्क गरे: “मलाई पिटेर तिम्रो खाजा फिर्ता आउँछ र?” त्यसपछि तिनले दुवै जना चमेना गृहमा जाने कुरा गरे। डेभिड यसो भन्छन्‌, “मैले चमेना गृहकी एक कर्मचारी चिनेकोले मैले उसको लागि पनि खाजा लिइदिन सकें। उसले मसित हात मिलायो र त्यस उप्रान्त उसले मसित मिलनसार व्यवहार गरे।” शान्त बोली कत्ति शक्‍तिशाली हुँदो रहेछ, के तपाईंले देख्नुभयो? त्यसैले हितोपदेश यसो भन्छ, “मीठो बोलीले कड़ा हड्डीलाई पनि गलाउनसकिन्छ।”—हितोपदेश २५:१५

विनयी हुनु—कमजोरी वा पुरुषार्थ?

हो, “मीठो बोली” गर्नु सधैं सजिलो नहुनसक्छ। यसो हेर्दा रिस पोखाएर जोरी खोज्नु नै पुरुषार्थजस्तो देखिनसक्छ। विनयी भएमा कतै अरूले आफूलाई साँच्चै कमजोर पो ठान्‍ने हुन्‌ कि भन्‍ने डर पनि लाग्नसक्छ। तर वास्तवमा विनयी हुनु भनेको के हो? एउटा विश्‍वकोशअनुसार विनयी हुनु भनेको भलादमी हुनु हो। यद्यपि, सोही स्रोत यसो भन्छ, “भलादमीपनको पछाडि ठूलो शक्‍ति लुकेको हुन्छ।” त्यसैले, विनयी हुनु कमजोरीको चिन्ह नभई पुरुषार्थको चिन्ह हो। तर कसरी?

एउटा कारण त, विनयी व्यक्‍तिले आफूलाई वशमा राख्छ र उसले आफ्नो मानसिक एवम्‌ भावनात्मक सन्तुलन गुमाउँदैन। अर्कोतिर, विनयी नहुने व्यक्‍ति असुरक्षित, हतोत्साही वा निराशसमेत देखिनसक्छ। उसमा आत्मविश्‍वाससमेत हुँदैन। आफ्ना भावनालाई वशमा राख्न नसक्दा अरूसित उसको घरी-घरी झगडा भइरहनसक्छ। हो, “जुन मानिसले आफ्नो रीस थाम्नसक्‍तैन त्यो मानिस शत्रुको आक्रमणको निम्ति पर्खाल विनाको शहरजस्तै हो।” (हितोपदेश २५:२८) त्यसकारण, साँच्चै भन्‍ने हो भने विनयी व्यक्‍तिलाई नै पुरुषार्थी भन्‍न सुहाउँछ!

विनयीबारे बाइबल उदाहरणहरू

येशू ख्रीष्टलाई विचार गर्नुहोस्‌। उहाँले आफैलाई “विनयी, र नम्र हृदयको” भन्‍नुभयो। (मत्ती ११:२९) चोटको बदला चोट दिएर उहाँ कहिल्यै रूखो वा अव्यावहारिक हुनुभएन। वास्तवमा, येशूको घनिष्ठ मित्र प्रेरित पत्रुसले यसो भने: “[येशूले] गाली खाएर आफूले फेरि गाली गर्नुभएन। दुःख भोगेर धम्काउनुभएन, तर धर्मसँग इन्साफ गर्नेकहाँ आफैलाई सुम्पिदिनुभयो।” (१ पत्रुस २:२३) यद्यपि, सोही येशू “मन्दिरभित्र पस्नुभयो, र उहाँले मन्दिरमा किन-बेच गर्ने सबैलाई धपाउनुभयो” भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌। (मत्ती २१:१२) ईश्‍वरीय सहयोगको आवश्‍यकता परेको खण्डमा उहाँले “बाह्र पल्टनभन्दा बढ़ी स्वर्गदूतहरू” बोलाउन सक्नुहुन्थ्यो! (मत्ती २६:५३) तर उहाँ त्यत्तिबिघ्न कमजोर हुनुहुन्‍नथ्यो।

बाइबलको पुस्तक न्यायकर्ता ८:१-३ मा रेकर्ड गरिएको न्यायकर्ता गिदोनले बसालेको उदाहरणलाई पनि विचार गर्नुहोस्‌। ठूलो सैन्य विजयपछि एप्रैम जातिका केही सेनाहरू रिसाए किनकि तिनीहरूलाई लडाइँमा लड्‌ने मौका दिइएन भन्‍ने तिनीहरूको गुनासो थियो। “तपाईंले किन हामीसँग यस्तो व्यवहार गर्नुभयो? मिद्यानसँग लड़ाइँ गर्न जाँदा तपाईंले हामीलाई किन बोलाउनुभएन?” भन्दै तिनीहरूले आफ्नो रिस पोखाए। “अनि तिनीहरूले उनलाई अनेक अभियोग लगाए।” त्यतिबेला गिदोन “वीर मानिस” थिए। (न्यायकर्ता ६:१२) तिनीहरूले त्यसरी रिस पोखाउँदा उनले त्यसको जवाफ हिंसाले दिनसक्थे। तर त्यसो गर्नुको सट्टा उनले विनयी भएर जवाफ दिए, जसले ती झगडालु व्यक्‍तिहरूलाई शान्त गरायो। गिदोनले यसो भने, “तिमीहरूले गरेको तुलनामा मैले के गरेको छु र?” यस्तो नम्र जवाफको परिणाम के भयो? “तिनीहरूको रीस शान्त भयो।”

अन्तमा, अबिगेल नाउँ गरेकी एक स्त्रीको बाइबल विवरणलाई विचार गर्नुहोस्‌। आफ्नो शत्रु, इस्राएलको राजा शाऊलको कारण दाऊदले भगुवा जीवन बिताइरहेका थिए। देश निकालाको पीडा भोग्नु परे तापनि दाऊदका मानिसहरूले आफ्ना सँगी इस्राएलीहरूको सक्दो रखवाली र सुरक्षा गर्थे। तिनीहरूले मदत गरेको एक जना व्यक्‍ति अबिगेलका पति नाबाल थिए, जो निकै धनी थिए। यद्यपि, नाबाल “एक निष्ठूर नीच मानिस थियो।” जब दाऊदका मानिसहरूलाई केही खानेकुराको आवश्‍यकता पऱ्‍यो, तिनीहरूले विनम्रतासाथ नाबालसित केही खानेकुरा मागे। दाऊदका दलहरूले तिनलाई सित्तैमा सुरक्षा प्रदान गरेकोमा कृतज्ञता जाहेर गर्नु त परै जाओस्‌ दाऊदका दूतहरूलाई नाबालले “हकारे” र खाली हात फर्काइदिए।—१ शमूएल २५:२-११, १४.

यो सुनेर दाऊद साह्रै रिसाए अनि आफ्ना मानिसहरूलाई यस्तो आज्ञा दिए: “सबैले आफ्नो आफ्नो तरवार भिर!” जसै दाऊद र उनका मानिसहरू नाबाल अनि तिनको घरानाका सबै निर्दोष पुरुषहरूलाई मार्न जाँदैथिए, बाटैमा अबिगेलले उनीहरूलाई रोकिन्‌। तिनले दाऊदलाई प्रशस्त खाने अनि पिउने कुराहरू दिएर अभिवादन गरिन्‌। आफ्नो पतिको अक्षम्य व्यवहारको लागि तिनले क्षमा मागिन्‌ र निर्दोषहरूको ज्यान नलिन दाऊदसित बिन्ती गरिन्‌।—१ शमूएल २५:१३, १८-३१.

अबिगेलको नम्र बिन्तीले दाऊदको रिस थामियो। साँच्चै, आफूलाई कत्ति साह्रो रिस उठेको थियो भन्‍ने कुरा सम्झँदै दाऊदले यसो भने: “परमप्रभु इस्राएलका परमेश्‍वर धन्यका होऊन्‌, जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनुभयो। तिम्रो बुद्धि धन्यको हो, तिमी धन्यकी हौ, किनभने आज तिमीले मलाई हत्या र प्रतिशोधको दोषदेखि जोगायौ।” (१ शमूएल २५:३२-३५) हो, धेरैजसो घटनामा ‘मीठो जवाफले’ नै रिस थाम्नसक्छ। यद्यपि, तपाईंको मीठो जवाफको असर यस्तो भएन भने नि?

“रीस छोडिदेऊ”

त्यस परिस्थितिबाट उम्केर तपाईं बलिरहेको आगोमा घिउ थप्नबाट बच्न सक्नुहुन्छ। बाइबल यसो भन्छ, “दाउरा विना आगो निभ्छ।” बाइबलले अझै यस्तो सल्लाह पनि दिन्छ, ‘झगडा बढ़नअघिनै रीस छोड़िदेऊ।’ (हितोपदेश १७:१४; २६:२०) सत्र वर्षीया मेरीसाले यसो भनिन्‌, “मेरो स्कूलमा धेरैले मन पराउने एक जना केटा मसित बोल्न आए। तिमी राम्री छ्‌यौं भनेर उसले मलाई भन्यो। उसले त्यति मात्र के भनेको थियो उसको प्रेमिका रिसले आगो हुँदै मेरो अगाडि आइन्‌। तिनले मलाई उसको प्रेमीलाई मैले आफ्नो प्रेमजालमा फसाउन खोजेको आरोप लगाइन्‌ र मसित झगडा गर्न निहुँ खोजिन्‌! मैले उसलाई सम्झाउने लाख प्रयास गरें तर केही सीप लागेन। स्कूल छुट्टी भएपछि अरू केटीहरू साथमा लिएर ऊ मलाई कुट्‌न आइन्‌। म तुरुन्तै सुरक्षा गार्ड भएतिर गएँ र त्यो रिसाहा केटीलाई म झगडा गर्न चाहन्‍नँ र उसैको प्रेमी मसित कुरा गर्न आएको हो भनी बताएँ। त्यसपछि म त्यहाँबाट फुत्किहालें।” मेरीसाले आफ्नो आवेगलाई वशमा राखिन्‌। झगडा गर्नबाट टाढा रहनुका साथै तिनले आफ्नो सुरक्षाको लागि ठोस कदमहरू पनि चालिन्‌। त्यसैकारण हितोपदेश १७:२७ यसो भन्छ, “अनुभवीले थोरै शब्द मात्र बोल्छ, समझ-शक्‍ति भएकोले ठण्डा मिजास राख्छ।”

तथापि, अन्जानमा तपाईंले कसैलाई रिस उठाउनुभयो भने नि? सकेसम्म छिटो माफी मागिहाल्नुहोस्‌! अरूको रिस शान्त पार्न तपाईंले यति गरे पुग्नसक्छ। यी तनाउले भरिएका समय हुन्‌ र अधिकांश मानिसहरू झनक्क रिसाइहाल्छन्‌। तर यदि तपाईंले अरूसित व्यवहार गर्दा बाइबलको सिद्धान्त प्रयोगमा ल्याउनुभयो भने, अरूको रिसको सिकार हुनबाट तपाईं धेरै हदसम्म बच्नुहुनेछ। (g01 11/22)

[पृष्ठ २४-मा भएको चित्र]

“मीठो जवाफले क्रोधलाई शान्त पार्छ”

[पृष्ठ २५-मा भएको चित्र]

कहिलेकाहीं तपाईं चुपचाप त्यस ठाउँबाट उम्कनु पर्ने हुन्छ