विश्वदर्शन
विश्वदर्शन
चिकित्सा रेकर्डमा—टेलिभिजन हेर्ने बानी पनि समावेश?
बच्चाको चिकित्सा रेकर्डमा उसको टेलिभिजन हेर्ने बानीलाई पनि समावेश गर्नुपर्छ भन्ने स्पेनका बाल चिकित्सकहरूको सुझाउ छ। डायरीयो मेडिको नामक स्पेनी पत्रिकाअनुसार ती डाक्टरहरू बिरामी बच्चाले दिनमा कति घण्टा टिभी हेर्छन् र कस्ता कार्यक्रमहरू अनि कसको निरीक्षणमा हेर्छन् भन्ने कुरा हामीले थाह पाउनुपर्छ भन्छन्। किन? किनभने सर्वेक्षणअनुसार टिभी हेर्न धेरै समय बिताउँदा जाँगरिलो नभई लोसे हुने, सानोतिनो कुरामा पनि निहुँ खोज्ने, थरीथरीका चीजबीजहरू किन्न रहर गर्ने, विद्यालयको गतिविधिमा कम ध्यान दिने र टिभी हेर्न लग्गू हुने सम्भावना बढी देखियो। “बाल चिकित्सकहरू आमाबाबुलाई छोराछोरीहरूको कोठामा वा [केटाकेटीहरूले] आफूले चाहेजस्ता कार्यक्रमहरू हेर्न सक्ने ठाउँमा टिभी नराख्ने सुझाउ दिन्छन्” भनी सोही रिपोर्ट बताउँछ। “त्यसबाहेक, खाना खाने बेला टेलिभिजन हेर्ने बानी गर्नु हुँदैन र आमाबाबुहरूले आफ्ना बच्चाहरूलाई दिनको दुई घण्टाभन्दा कम समय मात्र टिभी हेर्ने छुट दिनुपर्छ, अझ सकिन्छ भने त एक घण्टाभन्दा कम भए झनै बेस।” (g01 11/8)
चीनको जनसंख्या वृद्धि
“चीनको जनसंख्या बढेर १ अरब २६ करोड पुगेको छ र त्यहाँका मानिसहरूको आयु लामो हुनुका साथै उनीहरू शिक्षित अनि निक्कै शहरिया भएका छन्” भनी एबीसीन्युज डट कम बताउँछ। राष्ट्रिय तथ्यांक विभागका निर्देशक जु जेशीनका अनुसार १९९० देखि अहिलेसम्ममा १३ करोड २२ लाख जनसंख्या वृद्धि भइसकेको छ। सन् १९७० को दशकदेखि थालिएको एक सन्तान मात्र भन्ने जन्म नियन्त्रण अभियानले गर्दा जन्म दर घटेर प्रति वर्ष १.०७ प्रतिशत हुन गएको हो। तथापि, १९९९ को सर्वेक्षणअनुसार प्रत्येक १०० जना महिलाको लागि ११७ जना पुरुषहरू भएकोले अधिकारीहरू चिन्तित छन्। आफ्नो गर्भमा छोरी भएको थाह पाउने बित्तिकै गर्भपात गर्ने चलनले गर्दा पनि त्यसो भएको हुनसक्छ। “असन्तुलित जन्म दरको अनुपातले बेहुलीहरूको कमी, वेश्यावृत्ति अनि आइमाईहरूलाई अपहरण गरेर विवाहको लागि बेचबिखन गर्ने समस्या पो बढ्ने हुन् कि भनेर समाजशास्त्रीहरू चिन्तित छन्” भनी सोही रिपोर्ट बताउँछ। (g01 11/8)
चिनीबाट प्लास्टिक
ब्राजिलको प्राविधिक अनुसन्धान संस्थानका वैज्ञानिकहरूले चिनीलाई प्लास्टिकमा परिवर्तन गर्न सक्ने नयाँ प्रजातिका ब्याक्टेरियाहरू पत्ता लगाएका छन्। पहिला पत्ता लगाएका प्रजातिहरूले सा-साना टुक्रा पारिदिएको चिनीलाई मात्र पचाएर त्यसलाई प्लास्टिकमा परिवर्तन गर्नसक्थे तर “यो [भर्खरै पत्ता लागेको ब्याक्टेरियाले] चिनीलाई सीधै परिवर्तन गर्न सक्ने कुरा थाह लागेको छ” भनी इन्जिनियर कार्लोस रसल बताउँछन्। चाहिनेभन्दा बढी खान दिएपछि यस ब्याक्टेरियाले बढी भएको चिनीलाई एकदमै मसिना जैविक दानाहरूमा परिणत गर्छ, जसलाई वैज्ञानिकहरूले तरल पदार्थद्वारा छुट्याउँछन्। अन्वेषकहरूका अनुसार “तीन किलो चिनीबाट एक किलो प्लास्टिक निकाल्न सकिन्छ” भनेर ओ एस्टाडो डे साऊ पाऊलो पत्रिका उल्लेख गर्छ। (g01 11/8)
चिल्लो भोजनले दिमागलाई सुस्त बनाउँछ
“धेरै चिल्लो भोजनले तपाईंको मस्तिष्क तथा मुटुका धमनीहरूलाई साँघुरो बनाउनसक्छ” भनी न्यु साइन्टिस्ट पत्रिका बताउँछ। अत्यधिक चिल्लो पदार्थले पार्ने असरबारे बुझ्न क्यानाडाका अनुसन्धानकर्ताहरूले “एक महिना पुगेका मुसाहरूलाई चार महिना नपुगुञ्जेलसम्म अत्यधिक पशु वा वनस्पति घिउ भएको भोजन खुवाए।” अर्को समूहको मुसालाई चाहिं एकदमै कम चिल्लो भएको नियन्त्रित भोजन खुवाइयो। त्यसपछि दुवै समूहलाई धेरै कुरा सिकाइयो। त्यसको परिणाम? धेरै चिल्लो भोजन खाने मुसाहरूले “दुब्ला मुसाहरूले जति काम गर्न सकेनन्।” अनुसन्धानकर्ता गोर्डन विनोकरले यसो भने: “धेरै चिल्लो भोजनले प्रायः सबै कार्यमा असर पुऱ्याउँछ। जनावरहरूलाई समेत यसले यतिबिघ्न असर पुऱ्याउँछ भन्ने कुरा विचारणीय छ।” रिपोर्टअनुसार “रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने इन्सुलिनको कार्यलाई बाधा पुऱ्याएर चिल्लो पदार्थले मस्तिष्कलाई ग्लुकोज सोस्नदेखि रोक्नसक्छ” भन्ने अनुसन्धानकर्ताहरूको सोचाइ छ। (g01 11/8)
खाना खेर फाल्नु
“विवाह भोज तथा अन्य भव्य पार्टीहरूमा अत्यधिक मात्रामा भोजन खेर जान्छ” भनेर जापानको माइनेची डेली न्युज उल्लेख गर्छ। यसरी खाना खेर जाने सन्दर्भमा सरकारले गरेको सर्वेक्षणअनुसार परिवारले सरदर ७.७ प्रतिशत, खाद्यान्न बिक्रेताहरूले १.१ प्रतिशत र भोजनालयहरूले ५.१ प्रतिशत खाना पकाउनुअघि नै फ्याँक्ने गर्छन्।
तथापि, “भव्य पार्टीहरूमा १५.७ प्रतिशत खाद्य पदार्थहरू फ्याँकिन्छन्” अनि विवाह भोजको लागि तयार पारिएको झन्डै २४ प्रतिशत खाना “कि त त्यतिकै छोडिन्छ होइन भने फ्याँकिन्छन्” भनेर सोही अखबार टिप्पणी गर्छ। खाद्यान्न उत्पादकहरूले मात्र “खानेकुरा पटक्कै खेर नफालेको” रिपोर्ट गर्छन्। (g01 11/8)नम्बर एक हत्यारा
“मद्यपानले हरेक वर्ष ५५,००० युवाहरूको ज्यान लिन्छ” भनेर फ्रान्सेली दैनिक ले फिगारो रिपोर्ट गर्छ। विश्व स्वास्थ्य संघका अनुसार १५ देखि २९ वर्षबीचका युरोपेली पुरुषहरूको नम्बर एक हत्यारा र २५ प्रतिशत मृत्युको कारक तत्त्व मद्यपान हो। यसरी मृत्यु हुनुमा “मात्तिनु, ट्राफिक दुर्घटना, आत्महत्या र नरहत्या” समावेश छन् भनी उक्त अखबार बताउँछ। यस्तो परिस्थिति विशेष गरी केही पूर्वी युरोपेली राष्ट्रहरूमा एकदमै गम्भीर छ जहाँ “अत्यधिक मद्यपानले गर्दा एक तिहाइ युवाहरूको अकालमा मृत्यु हुन्छ।” स्वीडेनको स्टकहोल्ममा भएको वार्तामा विश्व स्वास्थ्य संघका महानिर्देशक डा. ग्रो हार्लेम ब्रन्टलानले मदिरा उत्पादकहरूले गर्ने अत्यधिक व्यापार विज्ञापनको घोर निन्दा गरे किनभने यसले युवाहरूलाई “मदिराप्रति सन्तुलित तथा सही दृष्टिकोण राख्न” बाधा खडा गर्छ। (g01 11/22)
हात्तीको जस्तो स्मरणशक्ति
केन्याको एम्बोसेली राष्ट्रिय निकुञ्जमा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरूले हात्ती लोप नहुनुको मुख्य कारण नै सबैभन्दा बढी बाँचेकी ढोईको स्मरणशक्ति हो भन्ने कुरा पत्ता लगाए। “हात्तीको बथानमा . . . ३५ वर्ष पुगेकी ढोईले भन्दा कम्तीमा पनि ५५ वर्ष पुगेकी सबैभन्दा पाको ढोईले आफ्ना साथी र पराई हात्ती छुट्याउनसक्छ” भनेर साइन्स न्युज रिपोर्ट गर्छ। धेरै वर्ष पुगेकी ढोईले पुरानो आवाज वा गडगडाहट सम्झिरहेको हुन्छ र कुनै नयाँ आवाज सुन्ने बित्तिकै आफ्नो बथानलाई प्रतिरक्षाको लागि एक ठाउँमा भेला गर्छ। सोही रिपोर्टअनुसार “एउटी ढोईले लगभग १०० वटा साथीहरूको आवाज चिन्नसक्छ।” तसर्थ, कुनै सिकारीले धेरै उमेर पुगिसकेकी ढोईलाई माऱ्यो भने त्यस हात्तीको बथानले नै आवश्यक जानकारीहरू गुमाउँछन्। (g01 11/22)
कसरी आनन्दित हुने
“बैंकमा धेरै सम्पत्ति हुँदैमा सन्तोषजनक जीवन प्राप्त गर्न सकिंदैन। वास्तवमा, धनी, प्रख्यात अनि प्रभावशाली भएर सन्तुष्टि पाइँदैन” भन्ने कुरा मनोवैज्ञानिकहरूले गरेको नयाँ अनुसन्धानले देखाउँछ। संयुक्त राज्यको मिसोरी कोलम्बिया युनिभर्सिटीका केनन सेल्डन भन्छन्: “पश्चिमी संस्कृतिका थुप्रै विज्ञापनहरूले हामी सुन्दर, प्रख्यात र धनी हुनुपर्छ भन्ने सन्देश दिन्छ। यसले व्यापारिक गतिविधिलाई त बढाउँछ तर यसको चक्रमा पर्ने मानिसहरू सबैभन्दा आनन्दित मानिसहरूचाहिं होइनन्।” कलेज जाने ७०० भन्दा बढी विद्यार्थीहरूसित गरिएको अध्ययनले देखाएअनुसार “आत्मसम्मान” अनि “अरूसित नजिकको सम्बन्ध हुनु” नै आनन्दित हुने सबैभन्दा महत्त्वपूर्ण तत्त्वहरू हुन् भनेर प्रस्ट भएको कुरा लण्डनको दी इन्डिपेन्डेन्ट-ले रिपोर्ट गऱ्यो। आनन्दित हुन चाहिने कुराबारे पैसाको विषयमा खासै चर्चा गरिएन। “पैसाले आनन्द किन्न सक्दैन भनेर सोच्नेहरूलाई पैसाको महत्व थाह छैन” भन्ने कुरा “धेरैले विश्वास गर्न छोडेका छन्” भनेर उक्त समाचारपत्र बताउँछ। (g01 11/22)
गाडी चलाउने सन्दर्भमा नमुना बसाल्ने
“छोराछोरीहरूले लाइसेन्स लिनुअघि र गाडी चलाउन सिकिरहेको बेला आफू तिनीहरूका नमुना बनिरहेका हुन्छन् भनेर आमाबाबुहरू सजग हुनु आवश्यक छ,” भनी राजमार्ग सुरक्षाको लागि बिमा संघका सुजन फर्गुसन बताउँछन्। न्यु साइन्टिस्ट पत्रिकाले दिएको रिपोर्टअनुसार तिनी र तिनका सहपाठीहरूले १८ देखि २१ वर्षका केटाकेटीहरू तथा तिनीहरूका आमाबाबुहरूको गरी जम्मा १,४०,००० अमेरिकी परिवारहरूको दुर्घटना रिपोर्ट परीक्षण गरे। पाँच वर्षमा दुई वा तीन चोटि कार दुर्घटनामा परिसकेका आमाबाबुका छोराछोरीहरूको कार दुर्घटना हुने सम्भावना कुनै पनि दुर्घटनामा नपरेका आमाबाबुका छोराछोरीहरूको भन्दा २२ प्रतिशत धेरै देखियो। त्यसै गरी रातो बत्ती बलेको देख्दादेख्दै पनि गाडी कुदाउने जस्ता ट्राफिक नियम उल्लंघन गर्ने सन्दर्भमा पनि सोही कुरा सत्य साबित भएको थियो। यस्ता परिस्थितिहरूमा छोराछोरीहरूले आफ्ना आमाबाबुको नक्कल गर्ने सम्भावना ३८ प्रतिशत रहेको देखियो। दुर्घटना रोकथामको लागि बेलाइती शाही संगठनकी जेन ईशन यसो भन्छिन्, “आमाबाबुले उदाहरण बसाल्नुपर्छ। मानिसहरूलाई सडकमा कसरी सुरक्षित हुने भन्ने कुरा सानै उमेरदेखि सिकाउनुपर्छ।” (g01 9/22)