जोर्नीशोथ—अशक्त बनाउने रोग
जोर्नीशोथ—अशक्त बनाउने रोग
“यो रोग नलागुञ्जेल तपाईं यो कत्ति पीडादायी हुन्छ भन्ने कुरा कल्पनासमेत गर्न सक्नुहुन्न। मेरो विचारमा त सायद मरेपछि मात्र यसबाट छुटकारा पाउन सकिन्छ।”—सेट्सुको, जापान।
“सोह्र वर्षको उमेरमै मलाई यो रोग लागेकोले मेरो युवावस्था नै यसले छिनेझैं लाग्छ।”—डारेन, बेलाइत।
“यो रोग लागेर थला परेको कारण दुई वर्ष व्यर्थै खेर गयो।”—काट्या, इटाली।
“मेरा सबै जोर्नीहरू दुख्न थालेपछि मेरो जीवनमा पीडासिवाय केही भएन।”—जोइस, दक्षिण अफ्रिका।
यी जम्मै जोर्नीशोथ अर्थात् अर्थ्राइटीसले पीडित व्यक्तिहरूका दुःखदायी अभिव्यक्तिहरू हुन्। जोर्नीशोथबाट हुने पीडा, चलहल गर्न नसक्नु तथा कुरूप हुन सक्ने पीडाबाट मुक्ति पाउन हरेक वर्ष करोडौं रोगीहरू चिकित्सकहरूकहाँ जाने गर्छन्।
अमेरिकामा मात्रै जोर्नीशोथले गर्दा ४ करोड २० लाख मानिसहरू पीडित हुन्छन् र यी रोगीहरूमध्ये ६ जनामा १ को अंगभंग हुने गर्छ। वास्तवमा, त्यस देशका मानिसहरू अंगभंग हुनुको प्रमुख कारण यही जोर्नीशोथ हो। यस रोगले पार्ने आर्थिक असर “आर्थिक मन्दी हुँदा अर्थतन्त्रमा पुग्ने असरजस्तै हुन्छ” भनी नेसनल सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन बताउँछ, किनभने यसले गर्दा अमेरिकीहरूले उपचारमा हरेक वर्ष ६४ अरब अमेरिकी डलर खर्च गर्नुपर्छ र उत्पादनशीलतामा पनि कमी आउँछ। विश्व स्वास्थ्य संघको सर्वेक्षणअनुसार इन्डोनेसिया, चिली, चीन, थाइल्याण्ड, पाकिस्तान, फिलिपिन्स, ब्राजिल, भारत, मलेसिया र मेक्सिकोजस्ता विकासोन्मुख राष्ट्रहरूमा चिन्ताको मुख्य कारणको रूपमा रहेको जोर्नीशोथ र अन्य प्रकारका बाथ रोगहरू “औद्योगिक राष्ट्रहरूमा जत्तिकै” पाइयो।
जोर्नीशोथ वृद्धहरूलाई मात्र लाग्छ भन्ने कुरा सही होइन। हो, मानिसहरूको उमेर ढल्कँदै गएपछि यसले गम्भीर रूपमा असर गर्छ। तर सामान्यतया धेरैलाई लाग्ने रुमाटोइड अर्थ्राइटीस अर्थात् बाथ रोग प्रायजसो २५ देखि ५० वर्षबीचका मानिसहरूलाई लाग्छ। संयुक्त राज्यमा जोर्नीशोथ भएका ५ जनामध्ये झन्डै ३ जना ६५ वर्षभन्दा कम उमेरका छन्। त्यस्तै गरी, बेलाइतमा यस रोगको सिकार हुने ८० लाखमध्ये १२ लाख त ४५ वर्षभन्दा कम उमेरका छन्, जसमध्ये १४,५०० भन्दा धेरै केटाकेटीहरू पर्छन्।
जोर्नीशोथबाट पीडित हुनेहरूको संख्या वर्षेनी तीव्र गतिले बढिरहेको पाइन्छ। क्यानाडामा, आउँदो दशकभित्र यस रोगको सिकार हुनेहरूको संख्यामा दस लाखले वृद्धि हुने अनुमान गरिएको छ। अफ्रिका र एसिया महादेशहरूमा भन्दा युरोपमा यो रोग बढी व्याप्त भए तापनि ती महादेशहरूमा पनि यस रोगको प्रकोप बढिरहेको छ। जोर्नीशोथको प्रकोप झन् झनै बढ्दै गइरहेको कारण विश्व स्वास्थ्य संघले सन् २०००-२०१० लाई हाड र जोर्नीको शताब्दी घोषणा गर्न लगाएको छ। त्यस समयको दौडान संसारभरिका डाक्टर तथा स्वास्थ्य विशेषज्ञहरू मिलेर जोर्नीशोथजस्ता हाडजोर्नीसम्बन्धी रोगहरूबाट पीडित मानिसहरूको जीवनस्तर उकास्न प्रयास गर्नेछन्।
यस पीडादायी रोगबारे के-कति जानकारीहरू उपलब्ध छन्? यो रोग लाग्ने सम्भावना सबैभन्दा बढी कसलाई हुन्छ? जोर्नीशोथले गर्दा हात-गोडा चलाउनै नसक्ने मानिसहरूले के गर्न सक्छन्? के भविष्यमा यसको कुनै उपचार भेटिएला? यस पछिका लेखहरूमा यी विषयहरूबारे छलफल गरिनेछ। (g01 12/08)
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
X ray: Used by kind permission of the Arthritis Research Campaign, United Kingdom (www.arc.org.uk)