सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जोर्नीशोथ भएकाहरूका लागि आशा

जोर्नीशोथ भएकाहरूका लागि आशा

जोर्नीशोथ भएकाहरूका लागि आशा

“हृदयसम्बन्धी रोग वा क्यान्सरले जस्तो जोर्नीशोथले गर्दा धेरै मानिसहरू मर्ने त गर्दैन तर यसले मानिसको जीवनशैलीलाई भने एकदमै ठूलो असर पार्छ” भनी डा. फतिमा मिली बताउँछिन्‌। जोर्नीशोथले जीवनका हरेक पक्षलाई असर गर्न सक्छ। जोर्नीशोथका रोगीहरूले भोग्नुपर्ने केही समस्याहरू के-के हुन्‌? के यसको सामना गर्न सकिन्छ?

इटालीका २८ वर्षीया काट्या a यसो भन्छिन्‌: “म २० वर्षको छँदा मलाई जोर्नीशोथ भएपछि मेरो जीवनले अर्कै मोड लियो। यस रोगको दुखाइले गर्दा मैले आफ्नो जागिरलगायत पूर्ण-समय सेवकाई पनि छोड्‌नुपऱ्‍यो।” जोर्नीशोथका रोगीहरू सबैले नै पीडा महसुस गर्छन्‌। इंगल्याण्डका ६३ वर्षीय एलन यसो भन्छन्‌: “दुखाइ त्यत्ति असह्‍य नहोला तैपनि शरीरको कुनै न कुनै भागमा सधैं पीडा भइरहन्छ।” अर्को समस्या हो, थकान। “पीडा र शरीर सुन्‍निने जस्ता कुराहरू सहन सके तापनि यसबाट हुने थकान असह्‍य हुन्छ” भनेर २१ वर्षीया सारा भन्छिन्‌।

भावनात्मक पीडा

सेट्‌सुको नाउँकी ६१ वर्षीया जापानी महिलाका अनुसार दिन-दिनै पीडा भोग्नुपर्दा “भावनात्मक तथा मानसिक तवरमा हताश” हुन सक्छ। नहोस्‌ पनि कसरी, पेन्सिल वा टेलिफोन समात्नु मात्र पनि कठिन हुन सक्छ! सतचालीस वर्षीया काजुमी यस्तो विलौना गर्छिन्‌: “एउटा सानो बच्चाले गर्न सक्ने साधारण कामसमेत मेरोलागि असम्भव हुन्छ।” धेरैबेर उभिरहन नसक्ने ६० वर्षीया जेनिस यसो भन्छिन्‌: “मैले पहिला गर्ने गरेका कामहरूसमेत गर्न नसक्दा मलाई दिक्क लाग्छ।”

त्यस्तो सिमितताले निराशा साथै आफूप्रति नकारात्मक झुकाउ बढाउन सक्छ। गाकु, एक जना २७ वर्षीया यहोवाको साक्षी हुन्‌ र तिनी यसो भन्छन्‌: “प्रचारको काममा पूर्णतया भाग लिन नसक्दा वा मण्डलीका जिम्मेवारीहरूलाई राम्ररी पूरा गर्न नसक्दा म आफूलाई बेकम्मा महसुस गर्छु।” दुई वर्षको उमेरदेखि नै जोर्नीशोथको सिकार भएकी फ्रान्सेस्का आफू “निराशाको भुँवरीमा झन्‌-झनै डुब्दै गइरहेको महसुस गर्छिन्‌।” त्यस्तो निराशाले आध्यात्मिकतामा प्रतिकूल असर पार्न सक्छ। दक्षिण अफ्रिकाका जोइस भन्‍ने साक्षीले आफू मसीही सभाहरूबाट टाढिंदै जान थालेको कुरा स्वीकारिन्‌। तिनी यसो भन्छिन्‌, “कसैलाई भेट्‌ने मेरो हिम्मत नै हुँदैन।”

रोगीलाई आफ्नो भविष्यको बारेमा पनि अनेकन्‌ चिन्ता हुन सक्छ। जस्तै: चलहल गर्न नसकेको कारण अरूमाथि भर पर्नुपर्ला, कसैले पनि आफूलाई वास्ता नगर्लान्‌, लडेर हड्डी भाँचिएला अनि आफ्नो परिवारको पालनपोषण गर्न नसकिएला भन्‍ने चिन्ता लाग्न सक्छ। बाउन्‍न वर्षीया योको यो कुरा स्वीकार्छिन्‌: “कुरूपता देखापर्न थालेपछि कतै यो बढ्‌ने पो हो कि भनेर मलाई डर लागिरहन्थ्यो।”

आफूले माया गरेको व्यक्‍तिले पीडा भोगिरहेको दिनदिनै हेर्नुपर्दा परिवारका अन्य सदस्यहरूलाई पनि मानसिक पीडा हुन सक्छ। केही दम्पतीहरूले त वैवाहिक तनाउसमेत सामना गर्नुपर्ने हुन सक्छ। इंगल्याण्डकी एक जना आइमाई डेनिज यसो भन्छिन्‌: “विवाह गरेको १५ वर्षपछि मेरो श्रीमान्‌ले यसो भन्‍नुभयो, ‘मलाई तिम्रो रोग देखेर वाक्क लागिसक्यो अब म सहन सक्दिनँ!’ उहाँले म र हाम्रो ५ वर्षकी छोरीलाई छोडेर जानुभयो।”

तसर्थ, जोर्नीशोथले रोगी तथा तिनीहरूको परिवार दुवैसामु ठूल-ठूला चुनौतीहरू खडा गर्न सक्छ। तैपनि, थुप्रै यस रोगको सामना गर्न सफल भएका छन्‌! कसै-कसैले कसरी यसो गरिरहेका छन्‌, आउनुहोस्‌ हामी हेरौं।

आफ्ना सिमितताहरूलाई विचार गर्दै

तपाईंलाई जोर्नीशोथ भएको छ भने पर्याप्त मात्रामा आराम लिनु अत्यावश्‍यक छ, यसो गर्दा थकान कम गर्न सकिन्छ। तथापि, यसको मतलब केही कामै गर्नुहुँदैन भनेको चाहिं कदापि पनि होइन। तिमोथी यसो भन्छन्‌: “जोर्नीशोथ भएका मानिसहरू सक्रिय रहनुपर्छ अन्यथा रोगको चिन्ताले ग्रस्त पार्छ र चौबीसै घण्टा पीडा भएको महसुस भइरहन्छ।” मायो क्लिनिकका बाथ रोगसम्बन्धी विशेषज्ञ विलियम जिन्सबर्ग यसो भन्छन्‌: “धेरै गर्नु र धेरै नगर्नुबीचको भिन्‍नतालाई व्यक्‍त गर्न गाह्रो छ। कहिलेकाहीं मानिसहरूलाई आराम गर्न र आफ्नो रोगलाई नबिर्सन सम्झाउनुपर्ने हुन्छ।”

यसको निम्ति तपाईंले आफ्ना सिमितताहरूलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ, त्यसमा परिवर्तन गर्नुपर्ने हुन सक्छ। दक्षिण अफ्रिकाकी डाफ्ने यसो भन्छिन्‌: “मैले वास्तविकतालाई स्वीकार्नुपरेको छ र म कुनै-कुनै काम पटक्कै गर्न नसक्ने भएकी होइन तर त्यसलाई बिस्तारै गर्नुपर्छ भनेर मैले बुझ्नुपऱ्‍यो। म चिन्तित वा निराश हुनुको सट्टा अलि-अलि गर्दै काम गर्छु।”

यसको अलावा आफ्नो डाक्टर वा शारीरिक थेरापिस्टसित छलफल गरेर उपलब्ध विभिन्‍न सहायक सामग्रीहरूबारे राम्रो जानकारी लिनु पनि बेस हुन्छ। केइको यसो भन्छिन्‌: “तलमाथि गर्न हामीले लिफ्ट राखेका छौं। ढोकाको ह्‍याण्डल घुमाउँदा मेरो नाडी दुख्ने भएकोले हामीले त्यो पनि फेऱ्‍यौं। अब म टाउकोले धकेलेर सबै ढोका खोल्न सक्छु। सबै पानीका धाराहरूमा हामीले घुमाउनु नपर्ने कल जडान गऱ्‍यौं, जसले गर्दा मैले घरको केही न केही काम भए पनि गर्न सक्ने भएँ।” जोर्नीशोथबाटै पीडित गेल भन्छिन्‌: “मेरो कार र घरका साँचोहरू घुमाउन सजिलो होस्‌ भनेर त्यसमा बिंड जोडिएका छन्‌। काँगियो तथा ब्रुशहरूमा पनि लामो बिंड जोडेको छु र यसलाई म आफूले चाहेअनुसार जतै पनि घुमाउन सक्छु।”

पारिवारिक सहयोग—“बलको स्रोत”

ब्राजिलकी कार्ला यसो भन्छिन्‌: “मेरो श्रीमान्‌को सहयोग एकदमै अपरिहार्य भएको छ। डाक्टरकहाँ जानुपर्दा उहाँ पनि मेरो साथमा आइदिने गर्नुहुन्छ जसले गर्दा मलाई ठूलो साहस मिल्यो। यस रोगले मेरो शरीरमा कसरी असर गर्छ, यसका लक्षणहरू के-के हुन्‌ र यसको लागि कस्तो उपचारको आवश्‍यकता पर्छ भनेर हामी दुवैले थाह पायौं। मलाई कस्तो समस्या भइरहेको छ भनी उहाँले बुझ्नुहुने भएकोले मलाई ढुक्क लाग्यो।” हो, आफ्नो पति वा पत्नीका सीमितताहरूलाई स्वीकार्ने र तिनीहरूको अवस्थाबारे जानकारी लिने श्रीमान्‌ तथा श्रीमतीहरूले एकअर्काबाट निकै बल र सहयोग पाउन सक्छन्‌।

उदाहरणका लागि, आफ्नो श्रीमान्‌ले जोर्नीशोथको कारण निर्माण कार्यमा धेरै समय बिताउन नसकेपछि बेटले सरसफाइ गर्ने जागिर खाइन्‌। काजुमीको श्रीमान्‌ले तिनको स्याहारसुसार गर्नुको अलावा तिनले गर्न नसक्ने घरायसी कामकाज पनि गरिदिन्थे। त्यसबाहेक, तिनको श्रीमान्‌ले छोराछोरीहरूलाई तिनीहरूले गर्न सक्ने काम गर्न प्रशिक्षणसमेत दिए। काजुमी यसो भन्छिन्‌: “मेरो श्रीमान्‌ बलको ठूलो स्रोत हुनुभएको छ। उहाँको मदत नपाएको भए मेरो अवस्था झनै नाजुक भइसकेको हुने थियो।”

अस्ट्रेलियाकी क्यारोल नाउँकी आइमाई यस्तो सावधानी अपनाउने सुझाउ दिन्छिन्‌: “तीन थुप्रो कामको तालिका नबनाउनुहोस्‌। घरायसी कामकुरा गर्न नसक्दा मभित्र असमर्थताको भाव बढ्‌न थाल्छ।” परिस्थिति बुझ्ने अनि बिरामीको ख्याल राख्दै दिइएको पारिवारिक सहयोग रोगीहरूका लागि बलको ठूलो स्रोत हुन सक्छ।

आध्यात्मिक सहयोग

काट्या यसो भन्छिन्‌: “यस्तो रोग लागेको मानिसले आफू कस्तो अवस्थाबाट गुज्रिरहनुपरेको छ भन्‍ने कुरा कसैले पनि बुझ्न सक्दैन भनेर रोगी विश्‍वस्त हुन्छ। यसले गर्दा यहोवा परमेश्‍वरमा भरोसा राख्दै उहाँले मात्र हाम्रो शारीरिक तथा भावनात्मक अवस्था साँच्चै बुझ्नुहुन्छ भनेर स्वीकार्नु आवश्‍यक हुन्छ। (भजन ३१:७) उहाँसित राम्रो सम्बन्ध बनाएको कारण मैले मनोशान्ति पाउनुका साथै आफ्नो रोगलाई शान्त भएर सहन सकेको छु।” बाइबलले यहोवालाई “सबै सान्त्वनाका परमेश्‍वर . . . हुनुहुन्छ। . . . उहाँले हाम्रा सबै सङ्‌कष्टमा सान्त्वना दिनुभएको छ” भनेर सम्बोधन गर्नु साँच्चै उपयुक्‍त छ।—२ कोरिन्थी १:३, ४.

तसर्थ, लामो समयदेखि दुखाइ सहिरहनुपरेका मानिसहरूका लागि प्रार्थना, सान्त्वनाको शक्‍तिशाली स्रोत हुन सक्छ। काजुमी यसो भन्छिन्‌: “दुखाइले गर्दा राती सुत्न नसक्दा म धुरुधुरु रुँदै दुखाइ सहनको लागि बल दिनुहोस्‌ र सबै कठिनाइहरूसित बुद्धिमानी भई डट्‌न सकूँ भनी यहोवासामु आफ्ना दुःखहरू पोख्दै बिन्ती गर्ने गर्छु। यहोवाले मलाई अवश्‍य जवाफ दिनुभएको छ।” फ्रान्सेस्काले पनि परमेश्‍वरबाट त्यस्तै मायालु सहयोग महसुस गरेकी छिन्‌। तिनी यसो भन्छिन्‌: “मैले फिलिप्पी ४:१३ मा उल्लिखित वचनहरू पूर्ति भएको देखेकी छु: ‘जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।’ ”

प्रायजसो, यहोवा परमेश्‍वरले मसीही मण्डलीमार्फत सहयोग दिनुहुन्छ। उदाहरणका लागि, गेल, यहोवाका साक्षीहरूको स्थानीय मसीही मण्डलीका आफ्ना आध्यात्मिक भाइबहिनीहरूबाट पाएको मदतबारे बताउँछिन्‌। “तिनीहरूको प्रेमले मलाई निराश नहुन मदत गऱ्‍यो” भनी गेल भन्छिन्‌। त्यसै गरी, “के तपाईं आफ्नो जीवनको कुनै रमाइलो अनुभव बताउन सक्नुहुन्छ?” भनेर केइकोलाई सोध्दा तिनले यस्तो जवाफ दिइन्‌: “सक्छु, त्यो हो मण्डलीका सबैबाट पाएको माया र सहानुभूति!”

त्यस्तो सहायता दिने सन्दर्भमा यहोवाका साक्षीहरूको मण्डलीमा निरीक्षकहरूले नेतृत्व लिन्छन्‌। सेट्‌सुको भन्छिन्‌: “प्राचीनहरूले कुरा सुनिदिएर सान्त्वना दिंदा रोगसित लडिरहेको व्यक्‍तिलाई कत्ति ठूलो ढाडस मिल्छ भन्‍ने कुरा शब्दहरूमा वर्णन गरेर साध्य हुँदैन।” तथापि, जोर्नीशोथ भएको रोगी, डानियल हामीलाई यस्तो सम्झना दिलाउँछन्‌, “हाम्रा आध्यात्मिक भाइबहिनीहरूले तब मात्र हामीलाई मदत गर्न सक्छन्‌ जब हामीले उनीहरूलाई मदत गर्ने मौका दिन्छौं।” त्यसकारण, रोग लागेकाहरू मण्डलीका सभाहरूमा उपस्थित हुन सक्दो कोसिस गरेर सँगी मसीहीहरूको सम्पर्कमा रहिरहनु महत्त्वपूर्ण छ। (हिब्रू १०:२४, २५) त्यहाँ तिनीहरूले धैर्य धारण गर्न आवश्‍यक आध्यात्मिक प्रोत्साहन पाउन सक्छन्‌।

पीडा अन्त हुनेछ

चिकित्सा जगत्‌ले हालसम्म गरेका उपलब्धिहरूप्रति जोर्नीशोथका रोगीहरू कृतज्ञ छन्‌। तथापि, सर्वोत्तम उपचारले समेत यस रोगलाई निवारण गर्न सकेको छैन। यी सबै कुराहरूलाई विचार गर्दा, परमेश्‍वरको नयाँ संसारसम्बन्धी प्रतिज्ञाबाट यसका रोगीहरूले सबैभन्दा बढी सान्त्वना पाउन सक्छन्‌। b (यशैया ३३:२४; प्रकाश २१:३, ४) त्यस संसारमा “लङ्‌गडा मृगझैं उफ्रनेछ।” (यशैया ३५:६) मानिसजातिलाई दुःख दिने जोर्नीशोथ र अरू जम्मै रोगहरू सदाका लागि नामेट हुनेछन्‌! तसर्थ, स्पाइनल अर्थ्राइटीस भएका पिटर यसो भन्छन्‌: “मैले यस्तो अवस्थामा पनि रातको निष्पट्ट अन्धकारपछि सुनौलो बिहानी आउनेछ भन्‍ने आशा पाएको छु।” जुलियाना नाउँ गरेकी मसीही आइमाईले पनि त्यस्तै विचार व्यक्‍त गर्दै यसो भनिन्‌: “प्रत्येक दिन बित्दा म आफूले सानो विजय हासिल गरेझैं महसुस गर्छु र सहने बल प्राप्त गर्छु!” हो, जोर्नीशोथ मात्र होइन तर सबै प्रकारको पीडा अन्त हुने दिन नजिकिंदै छ! (g01 12/08)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b बाइबलका प्रतिज्ञाहरूबारे बुझाउन यहोवाका साक्षीहरू तपाईंकहाँ आओस्‌ भन्‍ने चाहनुहुन्छ भने, यहोवाका साक्षीहरूको स्थानीय मण्डलीमा सम्पर्क राख्नुहोस्‌ वा यस पत्रिकाका प्रकाशकहरूसित पत्राचार गर्नुहोस्‌।

[पृष्ठ १०-मा भएको चित्र]

रोगीहरूको जीवनलाई सजिलो बनाउने थुप्रै साधनहरू छन्‌

[पृष्ठ १२-मा भएको चित्र]

मसीही सभाहरूमा मायालु सहयोग पाउन सकिन्छ