“सुनौलो देश” म्यानमार
“सुनौलो देश” म्यानमार
म्यानमारका ब्यूँझनुहोस्! लेखकद्वारा
एसियाका छिमेकी राष्ट्रहरूसँग प्राकृतिक सिमानाको काम गर्ने हिम-श्रृंखलाहरूको बीचमा यो “सुनौलो देश” अवस्थित छ। यसको दक्षिण-पश्चिममा बंगालको खाडी र अन्दमन समुद्रको २,००० किलोमिटरभन्दा परसम्म फैलिएको समुद्रीतट पर्दछ। यसको पश्चिममा बंगलादेश र भारत, उत्तरमा चीन अनि पूर्वमा लाओस र थाइल्याण्ड छ। यो माडागास्करभन्दा अलिकति ठूलो र उत्तर अमेरिकाको टेक्सस राज्यभन्दा सानो छ। यस देशको नाउँ के हो? म्यानमार, जसलाई पहिला बर्मा भनिन्थ्यो।
यहाँका सुरुका बासिन्दाहरूले सुनौलो देश भनेर नाउँ दिएको म्यानमारमा तेल, प्राकृतिक ग्याँस, तामा, टिन, चाँदी, टङस्टेन तथा अन्य खनिजहरूका साथ-साथै नीलमणि, पन्ना, लालमणि, हरितमणिजस्ता बहुमूल्य पत्थरहरू प्रशस्त मात्रामा पाइन्छन्। अरू सम्पदाहरूमा सगुन, सतिसाल, सिसौजस्ता दुर्लभ काठहरू पाइने उष्ण कटिबन्धीय वर्षे वनहरू पर्दछन्। यी जंगलहरूमा बाँदर, बाघ, भालु, अर्ना, हात्तीलगायत थुप्रै जंगली जनावरहरू छन्। तर यस सुनौलो देशको साँचो सम्पदा भनेको यहाँका मानिसहरू हुन्।
म्यानमारका मानिसहरू
म्यानमरका मानिसहरू स्वभावैले मृदुभाषी, शान्त, अनुशासित र आतिथेय छन्। उनीहरू पाहुनाहरूसँग श्रद्धा र इज्जतसाथ व्यवहार गर्छन्। साना केटाकेटीहरूले आफूभन्दा ठूला पुरुषहरूलाई अंकल र स्त्रीहरूलाई आन्टी भनेर सम्बोधन गर्छन्।
म्यानमारको भ्रमण गर्ने आगन्तुकहरूले त्यहाँका वृद्ध मानिसहरूको कोमल अनुहारबारे अक्सर कुरा गर्छन्। त्यहाँका आइमाईहरू भन्छन्, मस्त जवानीमा जस्तो यस्तो छाला हुनुको रहस्य थनका नामको रूखबाट निकालिएको थनका भन्ने हल्का पहेंलो रङको श्रृंगार सामग्री हो। यस रूखको हाँगाको टुक्रालाई सिलौटोमा पिंधेर, अलि-अलि पानी हालेपछि आइमाईहरूले त्यसलाई मिहिन लेदो बनाउँछन्, जसलाई उनीहरूले आफ्नो अनुहारमा विभिन्न कलाकृतिहरू बन्ने गरी लगाउँछन्। थनकाले रगत थाम्नु र
शीतलता प्रदान गर्नुका साथसाथै चर्को घामबाट छालालाई बचाउँछ।म्यानमारका लोग्नेमान्छे तथा आइमाई दुवैको औपचारिक पहिरन लुंगी हो, जुन दुई मिटर जति लामो कपडालाई यसका छेउहरू जोडेर गोलो आकारको हुने गरी सिलाए सजिलै बनाउन सकिन्छ। आइमाईले यसलाई फरियाजस्तै आफ्नो कम्मरमा बेर्छिन् र बाँकी रहेको भागलाई चाहिं कम्मरमा भित्रतिर घुसार्छिन्। तर लोग्नेमान्छेले भने दुवै छेउलाई समातेर कम्मरमा खुकुलो खालको गाँठो पार्छ। भद्र तथा लगाउन सजिलो भएकोले उष्ण कटिबन्धीय क्षेत्रका लागि लुंगी एकदमै उपयुक्त छ।
यसो बजारतिर घुम्न गयौं भने म्यानमारका मानिसहरू रेसमको कपडा बुन्न, गर-गहना बनाउन र काठमा बुट्टा कोर्न निकै सिपालु रहेछन् भन्ने कुरा प्रस्ट हुन्छ। सगुन, सतिसाल र अरू काठहरू प्रयोग गरेर मानिस, बाघ, घोडा, अर्ना र हात्तीका आकृतिहरू मनै लोभ्याउने किसिमले बनाइएको भेटिन्छ। दिन-दिनै प्रयोग हुने सामानहरू; जस्तै: टेबुल, कोठाका छेकबार तथा कुर्सीहरू कुशलतासाथ बुट्टा भरेर सजाइएको हुन्छ। तर यदि तपाईं साँच्चै सामान किन्ने विचार गर्दै हुनुहुन्छ भने, भाउ घटाउने हिसाबले जानुहोस्।
म्यानमारका मानिसहरू बार्निस लगाएर सजाइएको काठका कचौराहरू, प्लेटहरू र ढकनी भएका बट्टाहरू बनाउन सिपालु छन्। ती भाँडाहरू त्यत्ति विशेष हुनुको कारण तिनमा कुँदिएका स्वच्छन्द बुट्टाहरू नै हुन्। यी सामानहरू बनाउँदा सुरुमा बाँसका मसिना रेसाहरूको जाली बुनिन्छ। (उच्चस्तरको सामान बनाउँदा बाँसका रेसाहरू र घोडाको रौं मिसाएर बुनिन्छ।) यसमा बार्निसको रूखबाट प्राप्त हुने थित्सेको तेल र जनावरको हाड डढाएर पिंधेको धूलो मिसाएर बनाइएको बार्निसलाई कालिगढले सात पत्रसम्म लगाउँछन्।
बार्निस सुकिसकेपछि कालिगढले स्टिलको मसिनो सियोले सतहमा बुट्टाहरू कुँद्छ। त्यसपछि अलि-अलि रङ लगाएर
टल्काएपछि त्यो एउटा राम्रो कलाकृति मात्र होइन, घरको लागि पनि उपयोगी वस्तु बन्छ।व्यापक धार्मिक प्रभाव
म्यानमारका लगभग ८५ प्रतिशत मानिसहरू बौद्धमार्गी छन् र बाँकी अरूले चाहिं आफूलाई मुसलमान तथा इसाई हुँ भन्छन्। दक्षिणपूर्व एसियाका अधिकांश देशहरूमा जस्तै म्यानमारका मानिसहरूको जीवनमा पनि धर्मले महत्त्ववपूर्ण भूमिका खेल्छ। तथापि, केही खास धार्मिक प्रचलनहरू भने थुप्रै आगन्तुकहरूका लागि अनौठो हुन सक्छ।
उदाहरणका लागि, बौद्ध भिक्षुहरूले स्त्रीहरूलाई नछुने शपथ खान्छन्। स्त्रीहरू पनि उनीहरूको आदर गर्दै नजिक जाँदैनन्। बसमा यात्रा गर्दासमेत धार्मिक प्रचलनले असर गर्छ। एक जना पश्चिमेली आगन्तुक, बसमा यस्तो लेखेको देख्दा छक्क पर्लान्, “हामी कति बजे पुग्छौं भनेर कृपया चालकलाई नसोध्नुहोला।” के चालकहरूलाई यात्रीहरूले उक्त प्रश्न सोधेर हैरान बनाएकोले यस्तो लेखिएको हो? होइन। त्यहाँका बौद्धमार्गीहरू यस्ता प्रश्नहरूले आत्मालाई उदासीन बनाउँछ र यात्रा ढिलो हुन सक्छ भन्ने विश्वास गर्छन्!
म्यानमारको इतिहास
म्यानमारको प्रारम्भिक इतिहास अस्पष्ट छ, तर थुप्रै जनजातिहरू छिमेकी देशहरूबाट बसाइँ सरेजस्तो देखिन्छ। सम्भवतः मोन जातिले यस देशको नाउँ सुभन्नाभूमि राखेको हुनुपर्छ, जसको अर्थ हो, “सुनौलो देश।” तिब्बती-बर्मेली मूलका मानिसहरू पूर्वी हिमालयबाट आए भने अहिलेको दक्षिण-पश्चिम चीनबाट ताईहरू आए। म्यानमारको विविध जन-जाति र भाषिक समूहहरूलाई यहाँको खाल्डाखुल्डी परेको भूबनोटले छुट्याएको छ।
भर्खरै उपनिवेष भएको भारतबाट १९ औं शताब्दीको सुरुतिर बेलाइतीहरू यहाँ आउन थाले। पहिला त तिनीहरू दक्षिणी भागमा बसोबास गरे र पछि बिस्तारै सम्पूर्ण देश नै ओगटे। सन् १८८६ सम्ममा त म्यानमार, जसलाई त्यतिखेर बर्मा भनिन्थ्यो, बेलाइत अधीनस्थ भारतमा गाभिसकेको थियो।
दोस्रो विश्व युद्धको दौडान, यस देशमा भीषण युद्ध भयो र केही महिनापछि नै सन् १९४२ मा जापानीहरूले बेलाइतीहरूलाई खेदे। त्यसपछि, कुख्यात “मृत्यु रेलमार्ग” निर्माण गरियो। यो ४०० किलोमिटर लामो रेलमार्गले बर्माको थानब्युजायाटलाई जंगल र पहाडहरू हुँदै थाइल्याण्डको नोङ प्लाडुकसँग जोड्थ्यो। पछि फलामको कमी भएको कारण मलायाको (अहिलेको मलेसिया) मध्य भागको प्रायजसो रेलमार्ग झिकेर यहाँ प्रयोग गरियो। यस परियोजनाको एउटा सानो अंश क्वाई नदीमाथि पुल बनाउनु पनि थियो, जुन पछि एउटा लोकप्रिय चलचित्रको कथावस्तु बन्न पुग्यो।
भारतीय तथा बर्मेली मूलका ३,००,००० भन्दा बढी युद्धबन्दीहरूले ४०० हात्तीको सहयोगद्वारा यो रेलमार्ग बनाएका थिए। यो काम गर्दा दशौं हजार मानिसहरूको ज्यान गयो। संयुक्त सेनाको भीषण बम वर्षाको कारण यो रेलमार्ग त्यति प्रयोग गरिएन र अन्तत: यसलाई प्रयोग गर्नै छोडियो। पछि, प्रायजसो सबै रेलमार्ग झिकियो र त्यसलाई अन्तै प्रयोग गरियो।
पछि सन् १९४५ मा बेलाइतीहरूले यस देशलाई जापानबाट खोसेर फेरि आफ्नै अधीनमा पारे। तर बेलाइती शासन धेरै समय टिकेन किनकि जनवरी ४, १९४८ मा बर्मा बेलाइतबाट स्वतन्त्र भयो। जून २२, १९८९ मा संयुक्त राष्ट्र संघले यस देशको नयाँ नाउँ, म्यानमारलाई मान्यता प्रदान गऱ्यो।
सुनौला राजधानीहरूको देश
शताब्दीयौंको दौडान म्यानमारको थुप्रै राजधानी शहरहरू भए। उदाहरणका लागि, म्यानमारको मुटुमा मन्डलाये शहर पर्छ, जुन सुनौलो शहरको नामले लोकप्रिय छ। विभिन्न समयमा बनेका सयौं देवालयहरू छ्यासछ्यासती पाइने र ५,००,००० मानिसहरू बसोबास गर्ने यो शहर बेलाइतीहरूले शासन गर्नुभन्दा पहिलाको अन्तिम राजधानी थियो। राजा मिन्डोनले सन् १८५७ मा आफू र आफ्ना रानीहरूका लागि भव्य दरबार बनाउँदा मन्डलायेलाई शाही सम्मान दिए। चार वर्ग किलोमिटर क्षेत्रफल भएको यो पुरानो शहरलाई ८ मिटर अग्लो र ३ मिटर चौडा जग भएको
पर्खालले घेरेको छ। सुरक्षाको लागि यसको वरिपरि पानीले भरिएको ७० मिटर चौडा खाडल छ।सन् १८८५ मा बेलाइतीहरूले मिन्डोनको उत्तराधिकारी, राजा टिबाउलाई देश निकाला गरेर भारत पठाइदिए तर तिनीहरूले दरबारलाई भने केही पनि गरेनन्। तर दोस्रो विश्व युद्धले यस दरबारलाई छोडेन र यो जलेर नष्ट भयो। यसको बावजूद सहासी हँदै म्यानमारका मानिसहरूले पहिलाकै स्थानमा रातो र सुनौलो काठका भवनहरू बनाएर दरबारको दुरुस्त नक्कल बनाए। आगन्तुकहरू गएर यो ठाउँ हेर्न सक्छन्।
मन्डलायेबाट २०० किलोमिटर तलतिर पागन पर्छ। सामान्य युगको प्रथम सहस्राब्दीतिर बसालिएको यो अर्को पुरानो राजधानी ११ औं शताब्दीमा अत्यन्तै वैभवशाली थियो तर यो २०० वर्षसम्म मात्र रह्यो। केही साना गाउँहरूको वरपर छरिएर रहेको भए तापनि यहाँका पुराना र जीर्ण सयौं मन्दिर तथा देवालयहरूले यसको अतीतको गौरवको आभास दिन्छ।
वर्तमान राजधानी, यंगुन (सन् १९८९ सम्म आधिकारिक रूपमा रंगुन भनेर चिनिन्थ्यो) ३० लाखभन्दा बढी जनसंख्या भएको तथा कार, बस र खुला ट्याम्पोहरूको हर्न सुनिने व्यस्त शहर हो। दुवै किनारमा रूख भएको चौडा सडकको छेउमा बेलाइती शासनको सम्झना दिलाउने पुराना भवनहरू अझै बाँकी भए तापनि अहिले रंगुन शहरमा थुप्रै गगन-चुम्बी होटल तथा कार्यालय भवनहरू छन्।
दुई हजार पाँच सय वर्ष पुरानो श्वेदागोन देवालयमाथिको सुनको जलप लगाइएको गजुरले पनि पुरातन समयको संवृद्धि र वास्तुकलाको कौशलता झल्काउँछ। भनिन्छ, लगभग ७,००० जति हिरा र अरू बहुमूल्य पत्थरहरू यस गजुरमा जडिएका छन्। गजुरको टुप्पो एउटा ७६-क्यारेटको हिराले सजिएको छ। म्यानमारका अधिकांश भवनहरूजस्तै श्वेदागोन पनि भुइँचालो र युद्धको कारण भत्किएकोले गर्दा यसका थुप्रै भाग पुनर्निर्माण पनि गरिएको छ।
तर कतिपयले के दाबी गर्छन् भने, वास्तवमा यंगुनको आकर्षण भनेको सुनौलो सूले देवालय हो। चौबाटोमा अवस्थित ४६ मिटर अग्लो र २,००० वर्ष पुरानो सूले देवालयले ट्राफिक नियन्त्रण गर्न सहयोग पुऱ्याउँछ। यस देवालयको चारैतिर पसलहरूको लहर छ।
आध्यात्मिक सुन
सन् १९१४ मा दुई जना इन्टरनेसनल बाइबल स्टुडेन्ट्स (त्यतिखेर यहोवाका साक्षीहरू यही नामले चिनिन्थे) अझ उत्कृष्ट सुन अर्थात् आध्यात्मिक सुनको चाह गर्ने मानिसहरूको खोजीमा भारतबाट रंगुन आइपुगे। सन् १९२८ र १९३० मा अरूमिसनरीहरू पनि आए र सन् १९३९ तिर कुल २८ जना साक्षीहरू भएको तीनवटा मण्डली स्थापना भइसकेका थिए। सन् १९३८ सम्म यहोवाका साक्षीहरूको बम्बईस्थित भारत शाखा कार्यालयले यहाँको कामको सुपरिवेक्षण गर्थ्यो। त्यसपछि सन् १९४० सम्म अस्ट्रेलिया शाखाले यहाँको कामको हेरविचार गऱ्यो। दोस्रो विश्व युद्धपछि, सन् १९४७ मा म्यानमारको आफ्नै पहिलो शाखा कार्यालय रंगुनमा खोलियो।
जनवरी १९७८ मा शाखा कार्यालयलाई इन्या रोडमा सारियो। चार तले मुख्यालय भवन नै म्यानमार बेथेल घर भएको छ। अहिले ५२ जनाको बेथेल परिवार देशभरिका सक्रिय ३,००० साक्षीहरूको आवश्यकता पूरा गर्न व्यस्त छन्। म्यानमारमा थुप्रै जातीय भाषाहरू बोलिने हुनाले शाखामा मुख्यतया गरिने काम नै अनुवाद कार्य हो। यहोवाका साक्षीहरूको कडा परिश्रमले सुनौलो देशको धेरै धन-सम्पत्तिमा अर्को एउटा ‘सुनको ढिका’ थपेको छ। (g01 12/08)
[पृष्ठ १७-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
बंगला देश
भारत
चीन
लाओस
थाइल्याण्ड
म्यानमार
मन्डलाये
पागन
यंगुन
बंगालको खाडी
[स्रोत]
Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc
[पृष्ठ १७-मा भएको चित्र]
माथिबाट: लुंगी लगाएका लोग्नेमानिस तथा आइमाईहरू; एक जवान बौद्ध भिक्षु; “थनका” लगाएकी आइमाई
[पृष्ठ १८-मा भएको चित्र]
बदाम बारीमा प्रचार गर्दै
[पृष्ठ १८-मा भएको चित्र]
कुँदेर बनाइएका सामग्रीहरू स्थानीय बजारमा बेचिन्छन्
[स्रोत]
chaang.com
[पृष्ठ १८-मा भएको चित्र]
बार्निस लगाएको टेबुलको सतहमाथि बुट्टा भर्दै
[पृष्ठ १८-मा भएको चित्र]
बार्निस लगाएर सुन्दर ढंगमा सजाइएको कचौरा
[स्रोत]
chaang.com
[पृष्ठ २०-मा भएको चित्र]
यहोवाका साक्षीहरूको म्यानमार शाखा कार्यालय
[पृष्ठ १६-मा भएको चित्रको स्रोत]
© Jean Leo Dugast/Panos