जर्जियामा धार्मिक सतावट—अझ कतिञ्जेल?
जर्जियामा धार्मिक सतावट—अझ कतिञ्जेल?
कृष्णसागरको रमणीय समुद्रीतटदेखि लिएर बरफिलो ककेसस् पर्वतहरूसम्म फैलिएको जर्जिया, प्राकृतिक सौन्दर्यले सजिएको भूमि हो। युरोप र एसियाको सीमानासम्म फैलिएको यस पर्वतीय क्षेत्रलाई घना जंगल, बेगसित बग्ने नदीनाला अनि उर्वर उपत्यकाहरूले श्रृंगारेको छ। जर्जियाको राजधानी टिबिलसी, आधुनिक अनि पुरातन वास्तुकलाका भवनहरूको संगमको रूपमा रहेको एउटा व्यस्त शहर हो। तर जर्जियाको सबैभन्दा ठूलो सम्पत्ति भनेको बलियो पारिवारिक बन्धन अनि न्यानो आतिथ्यको लागि चिरपरिचित यहाँका मानिसहरू हुन्।
इतिहास पल्टाएर हेर्ने हो भने, जर्जियावासीहरूले धेरै नै थिचोमिचो सहेका छन्। तिनीहरूको देशलाई रोमी, फारसी, बाइजान्टिन, अरबी, टर्की, मंगोल, रूसी तथा अन्य जातिहरूले आक्रमण गरेका छन्। एउटा गणनाअनुसार टिबिलसी २९ पटक तहसनहस पारिएको थियो! a तैपनि, जर्जियावासीहरूले जीवन, कला, गीत अनि नृत्यलाई प्रेम मात्र गरेका छैनन् तर एउटा सहनशील समाजको रूपमा आफ्नो प्रतिष्ठालाई पनि कायमै राखेका छन्।
तथापि, दुःखको कुरा, अहिले आएर जर्जियाका सबै मानिसहरूको सम्बन्धमा यसो भन्न सकिंदैन। गत दुई वर्षको दौडान जर्जियाको एउटा सानो समूहले आफ्ना सयौं सह-नागरिकहरूमाथि आक्रमण गरेर आफ्नो देशको प्रतिष्ठालाई नै बिगारेका छन्। ती क्रुद्ध आक्रमणकारीहरूको समूहले निर्दोष पुरुष, स्त्री अनि केटाकेटीहरूका साथै वृद्ध अनि अशक्त व्यक्तिहरूलाई समेत कुटपिट गरेका छन्। आक्रमणकारीहरूले आफूले सिकार बनाएका व्यक्तिहरूलाई कीला-जडित लाठी अनि फलामे बारहरूले हिर्काएर जीउमा घावैघाउ बनाएका छन्, तिनीहरूको अनुहारलाई छिया-छिया पारेका छन् र तिनीहरूको टाउको फुटाएका छन्। निर्दोष जर्जियाली नागरिकहरूलाई किन यति निर्ममतासाथ पिटियो? किनकि तिनीहरू यहोवाका
साक्षीहरू हुन्—एक मसीही समुदाय र जर्जियामा ती अधिकांश आक्रमणकारीहरू जन्मनुअघि देखि नै तिनीहरू त्यहाँ थिए।घोर भर्त्सनादेखि आक्रमणसम्म
जर्जियामा धार्मिक स्वतन्त्रताको प्रत्याभूति दिइएको भए तापनि यहोवाका साक्षीहरूका साहित्यहरू बारम्बार जफत गरिएका छन्। सन् १९९९ अप्रिलमा भन्सार अधिकृतहरूले जर्जियाली अर्थोडक्स चर्चका प्रमुख कुलपतिले अनुमति दिएको खण्डमा मात्र साहित्यहरू भन्सारबाट लैजान दिने कुरा गरे। त्यसको लगत्तै अर्को महिना जर्जियाको इसानी-सामगोरी जिल्ला अदालतमा अर्थोडक्स चर्च पुनः चर्चामा आयो। संसदीय नायब तथा “मेरो जर्जिया महान्” नामक राजनैतिक आन्दोलनका नेता गुराम साराड्जेले यहोवाका साक्षीहरूको विरुद्ध तिनीहरूको कानुनी मन्यतालाई बदर गर्न दुईवटा मुद्दा दायर गरे। तिनले साक्षीहरूलाई राष्ट्र विरोधी तथा खतरनाक गुट भन्ने आरोप लगाए। साराड्जेको दाबीलाई कसले समर्थन गरिरहेको थियो? उक्त मुद्दामा क्याथोलिकस्-प्याट्रिआर्क अफ अल जर्जियाको सचिवको पत्र पनि संलग्न थियो।
मे २०, १९९९ मा मानवअधिकार तथा मौलिक स्वतन्त्रताको रक्षाको लागि युरोपेली महा-सन्धिलाई जर्जियाले अनुमोदन गऱ्यो र यसरी स्वतः यो मुलुक पनि सन्धिका धाराहरूमा आबद्ध भए। धारा १० ले यसो भन्छ: “सबैलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता छ। यस अधिकारमा सरकारी अख्तियारको हस्तक्षेपविना र देशहरूबीचको सीमानाको बावजूद विचार अवलम्बन गर्न पाउने अनि जानकारी तथा धारणाहरू ग्रहण एवम् व्यक्त गर्न पाउने स्वतन्त्रता समावेश छ।” तर के यस अधिकारले धार्मिक साहित्यहरूमाथि प्रतिबन्ध नलगाउनदेखि साक्षीहरूका विरोधीहरूलाई रोके? अहँ, पटक्कै रोकेन!
जून २१, १९९९ मा अफिस अफ द प्याट्रिआर्क अफ अल जर्जियाले भन्सार निरीक्षक प्रमुखलाई लेखेको पत्रमा “विदेशी धार्मिक साहित्यहरूको वितरणमा प्रतिबन्ध लगाइनुपर्ने” कुरामा जोड दिए। यसको अतिरिक्त, जर्जियाली अर्थोडक्स चर्चका आधिकारिक प्रवक्ता, जिओर्जी एन्ड्रिएड्जेले यहोवाका साक्षीहरू खतनाक छन् र यिनीहरूलाई प्रतिबन्ध लगाउनुपर्छ भनी घोषणा गरे। यी घोर भर्त्सनाहरूलाई बेवास्ता गरिएनन्। विगतमा यहोवाका साक्षीहरूका साहित्यहरू जलाउने धार्मिक कट्टरपन्थीहरू, अब साक्षीहरूलाई आक्रमण नै गरेको खण्डमा पनि कुनै सजाय नपाउने कुरामा ढुक्क भए। आइतबार, अक्टोबर १७, १९९९ मा तिनीहरूले साक्षीहरूमाथि फेरि अर्को आक्रमण गरे।
आक्रमक भीडका क्रियाकलापमाथि कुनै कारबाही गरिंदैन
त्यो आइतबार टिबिलसीमा पुरुष, महिला र बच्चाहरू गरी जम्मा १२० जना यहोवाका साक्षीहरू धार्मिक सभामा उपस्थित भएका थिए। बहिष्कृत अर्थोडक्स पादरी भासिलाइ मकालाभिसविली र तिनका २०० समर्थकहरू एक्कासी सभास्थलमा घुसे। b तिनीहरूले साक्षीहरूलाई घेरे अनि तिनीहरूलाई काठको लाठी अनि फलामका क्रसहरूले हिर्काएको हिर्काएकै गरे। चार जना आक्रमणकारीले एक जना साक्षीलाई उनको पाखुरा र घाँटी अँठ्याएर ताने। तिनीहरूले उनको टाउकोलाई मुन्ट्याएर कपाल खौरन थाले र अरू आक्रमणकारीहरू भने उनको यस्तो अपमान भएकोमा खिज्याइरहेका थिए। त्यो अनियन्त्रित भीडले उक्त ठाउँ छोड्दा १६ जना साक्षीलाई अपस्ताल लगेर उपचार गर्नुपऱ्यो। एक जना साक्षीको त तीनवटा करङ नै भाँचिएको थियो। पछि, पाती नाउँ गरेकी ४० वर्षीया महिलाले त्यो घटना सम्झँदै यसो भनिन्: “तिनीहरूले मलाई गाली गर्न थाले, तिनीहरूमध्ये एक जनाले मलाई भएभरको बलले हिर्काए। तिनीहरूले मेरो अनुहार र आँखामा हिर्काए। मैले मेरो अनुहारलाई हातले छेकेर जोगाउने कोसिस गरें। मेरा हातहरूमा रगत बगिरहेको थियो।” तिनीहरूले उनलाई कुटपिट गर्न छोडेपछि उनले आफ्नो बायाँ आँखाले देख्नै सकेनन्। आक्रमणको कारण आज पनि पातीको आँखा बिग्रिएको छ।
टेलिभिजनमा देखाइएको यस अत्याचारपूर्ण आक्रमणका दृश्यहरूले राष्ट्रपति एडवर्ड सेभरनाड्जे सत्यको पक्षमा बोल्न उत्प्रेरित भए। त्यसको भोलिपल्ट उनले यसो भने: “म यस्ता क्रियाकलापहरूको भर्त्सना गर्छु र यस्ता क्रियाकलापहरू विरुद्ध नियम लागू गराउने निकायहरूले फौजदारी मुद्दा दायर गर्नेछन् भन्ने कुरामा म विश्वस्त छु।” टिभीमा देखाइएका दृश्यहरूमा त्यस आक्रमणकारी भीडका नेताहरूलाई सजिलै ठम्याउन सकिने भएकोले तिनीहरूलाई दोषी ठहऱ्याउन कुनै गाह्रो काम थिएन। तर दुई वर्ष बितिसक्दा पनि कुनै पनि आक्रमणकारीहरूलाई दोषी ठहऱ्याइएका छैनन्।
कारबाही नगरिएकाले झनै हौसला बढ्यो
सरकारी अधिकारीहरूले कुनै कारबाही नगरेका कारण आक्रमणकारी जनसाधारण अनि पादरीहरूले हिंसात्मक कार्य गरे पनि हुँदो रहेछ भन्ने अर्थ लगाउनु कुनै अचम्मलाग्दो कुरा होइन। कुनै सजाय नपाएकाले हौसला बढेका आक्रमणकारीहरूले यहोवाका साक्षीहरूलाई घर, बाटो र उपासनास्थलहरूमा लुट्ने, कुटपिट गर्ने अनि लात हान्नेजस्ता हिंसात्मक गतिविधिहरू झनै बढाए। अक्टोबर १९९९ र अगस्त २००१ को बीच यहोवाका साक्षीहरूमाथि प्रमाणित रूपमै ८० वटा आक्रमण भए, जसले १,००० भन्दा धेरैलाई सिकार बनायो। यसो भए तापनि, फेब्रुअरी ९, २००१ मा टिबिलसीका एक जना सरकारी वकिलले संवाददाताहरूलाई भासिलाइ मकालाभिसविलीमाथि गरिएको अनुसन्धानको “अझै टुंगो” नलागेको कुरा बताए। दुःखको कुरा, यो लेख लेख्दासम्म पनि जर्जियाली अधिकारीहरूले यहोवाका साक्षीहरूका विरोधीहरूलाई घृणित अपराधहरू गर्न छुट दिइरहेका छन्।—“आक्रमणकारी भीडको अत्याचार चलिरहन्छ” शीर्षक पेटी हेर्नुहोस्।
यसमा प्रहरीहरूले कस्तो भूमिका निभाउँछन्? समाचार अनि टिभीमा देखाइएका दृश्यहरूले
प्रकाशमा ल्याएअनुसार प्रहरीहरूले यहोवाका साक्षीहरू विरुद्धको आक्रमणलाई छुट दिने काम मात्र होइन तर तिनीहरू स्वयम् त्यस्ता आक्रमणहरूमा सामेल भएका छन्! उदाहरणका लागि, सेप्टेम्बर ८, २००० मा जुगडिडि शहरमा हातमा लाठी लिएका प्रहरीहरूको एउटा समूहले ७०० यहोवाका साक्षीहरूको शान्तिपूर्ण सम्मेलनमा गोलमाल मच्चाए। प्रत्यक्षदर्शीहरूले दिएको रिपोर्टअनुसार नकाबधारी प्रहरीहरूले “हूलदंगा मच्चाउने कार्यमा अग्रसर भएर” लगभग ५० भन्दा धेरै साक्षीहरूलाई कुटपिट गरे। प्रहरीहरूले हवाइ फायर गर्दा बच्चाहरूको अनुहारमा छाएको आतंक सम्झँदै अधिवेशनस्थलका मालिक यसो भन्छन्, “त्यो एकदमै हृदयविदारक दृश्य थियो।” प्रहरीहरू अधिवेशन स्थलमा घुसे अनि आगो लगाइदिए। तर आजसम्म पनि तिनीहरूलाई कुनै सजाय दिइएको छैन।यस्तो निन्दनीय कार्यलाई कदापि छुट दिन नमिल्ने भएकोले (“प्रहरीहरूको सहभागिता” शीर्षकको पेटी हेर्नुहोस्) मे ७, २००१ मा यातना विरुद्ध संयुक्त राष्ट्र समितिले यस्तो वक्तव्य प्रकाशित गरे, “जर्जियामा नियम लागू गराउने व्यक्तिहरूद्वारा नै निरन्तर यातना दिने र अन्य निदर्यी, अमानवीय वा बेइज्जतीपूर्ण व्यवहार गरिने वा सजाय दिइने गरेको छ; असंख्य यातनाका आरोपहरूलाई शीघ्र, निष्पक्ष ढंगमा र पूर्ण जाँचबुझ गर्न असफल हुँदै गइरेहको छ।” c वास्तवमा, यस्तो हूलदंगा मच्चाउने को हुन् भनेर सबैलाई थाह भए तपानि, तिनीहरू विरुद्ध यहोवाका साक्षीहरूले दर्ता गरेका ४०० भन्दा बढी उजुरीहरूका बावजुद तिनीहरूलाई दोषी ठहराइएका छैनन्। त्यसैले, संसदद्वारा निर्वाचित जर्जियाको सरकारी वकिलले यस्तो टिप्पणी गरे: “मानवअधिकार संरक्षण गर्ने दायित्व लिएर ओहदामा बस्ने व्यक्तिहरूले नै मानवअधिकार हनन गरिरहेका छन्। तिनीहरूका लागि मानवअधिकार अक्षरमा मात्र सीमित छ।”
सर्वोच्च अदालतको फैसलाले अलमल्लमा पार्छ
आक्रमणकारी भीड अनि प्रहरीहरूको गैरकानुनी आक्रमण नरोकिंदै हालै जर्जियाको सर्वोच्च अदालतले यहोवाका साक्षीहरूको अधिकारबारे अलमल्ल पैदा गर्ने एउटा आदेश जारी गऱ्यो।
आउनुहोस्, यसबारे केही थप जानकारीहरू लिऔं। यहोवाका साक्षीहरूको कानुनी मान्यतालाई खारेज गर्न राजनीतिज्ञ गुराम साराड्जेले मुद्दा दायर गरे। फेब्रुअरी २९, २००० मा उनले दायर गरेको मुद्दा रद्द गरियो। यद्यपि, साराड्जेले पुनः अपील गरे र मुद्दा जिते। त्यसैकारण, यहोवाका साक्षीहरूले सर्वोच्च अदालतमा अपील गरे। फेब्रुअरी २२, २००१ मा सर्वोच्च अदालतले कानुनी परिभाषाको आधारमा साक्षीहरूको विरुद्ध निर्णय सुनाए। संविधानमा हालसम्म धार्मिक संघ संस्थाहरूको दर्ताबारे कुनै ऐन नभएकोले संविधानअनुसार धर्म सार्वजनिक ऐनअन्तर्गत दर्ता गरिनुपर्छ भनी सर्वोच्च अदालतले तर्क गऱ्यो। यस्तो ऐनको अभावमा यहोवा साक्षीहरू अरू कुनै तरिकामा दर्ता गर्न नसकिने अदालतको निष्कर्ष थियो।
यद्यपि, धार्मिक क्रियाकलापहरूलाई समर्थन गर्ने अन्य १५ वटा संघ संस्था जर्जियामा कानुनी रूपमा दर्ता भएका छन्।सर्वोच्च अदालतको फैसलाको प्रतिक्रियास्वरूप जर्जियाको न्याय मन्त्री मिखेल साकासभिलीले एउटा टेलिभिजन अन्तरवार्तामा यसो भने: “कानुनी दृष्टिकोणबाट हेर्ने हो भने यो फैसला निकै अस्पष्ट छ। मेरो विचारमा सर्वोच्च अदालतको इतिहासमा यो कुनै उल्लेखनीय उपलब्धि होइन। जर्जियाको संसदीय कानुनी समितिका कार्यकारी अध्यक्ष जुराब एडिसभिलीले केस्टन समाचार सेवालाई सर्वोच्च अदालतको फैसलाबाट आफू “निकै चिन्तित” भएको कुरा व्यक्त गरे, किनकि “यसले हाम्रा [जर्जियाली अर्थोडक्स] चर्चका कट्टरपन्थीहरूलाई अल्पसंख्यक धार्मिक समूहलाई दबाउन उक्साउनेछ।” दुःखको कुरा, एडिसभिलीको चिन्ता साँचो साबित भयो। फैसला सुनाएको केही दिनपछि नै यहोवाका साक्षीहरूमाथि फेरि हिंसा सुरु भयो। सन् २००१ मा साक्षीहरूमाथि आक्रमणकारी भीड, प्रहरी अनि अर्थोडक्स पादरीहरूद्वारा फेब्रुअरी २७, मार्च ५, मार्च ६, मार्च २७, अप्रिल १, अप्रिल ७, अप्रिल २९, अप्रिल ३०, मे ७, मे २०, जून ८, जून १७, जुलाई ११, अगस्त १२, सेप्टेम्बर २८ र सेप्टेम्बर ३० मा आक्रमणहरू भए। हिंसा अहिलेसम्म पनि मच्चिनै रहेको छ।
सतावट चर्किनै रहेको बेला, सर्वोच्च अदालतले आफ्नो फैसलाको स्पष्टिकरण दिन यस्तो सार्वजनिक वक्तव्य प्रकाशित गर्ने असाधारण कदम चाले: “दुःखको कुरा, यहोवाका साक्षीहरूको संघको दर्ताबारे सर्वोच्च अदालतको खारेजी फैसलालाई जनताहरूले गलत अर्थ लगाए। . . . निजी ऐन अन्तर्गत कानुनी मान्यता पाएका प्रतिवादीको कानुनी मान्यता बदर हुँदा तिनीहरूको विचार व्यक्त गर्न पाउने, ज्ञान र धर्म अभ्यास गर्न पाउने स्वतन्त्रता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उल्लंघन वा प्रतिबन्धित भएको छैन। एकल वा सामूहिक रूपमा, सार्वजनिक वा व्यक्तिगत तवरमा आफ्नो धार्मिक विश्वास परिवर्तन गर्न पाउने तिनीहरूको स्वतन्त्रतामा कुनै प्रतिबन्ध लागेको थिएन। . . . अदालतले प्रतिवादीको विचार तथा जानकारीहरू आदनप्रदान गर्न पाउने अधिकारमाथि कुनै प्रतिबन्ध लगाएको छैन। यसले तिनीहरूको शान्तिपूर्ण सभा गर्ने अधिकारलाई निषेध गरेको थिएन।”
हजारौं जर्जियालीहरूले सतावटको विरुद्ध आवाज उठाउँछन्
सर्वोच्च अदालतको यस वक्तव्यले हिंसात्मक आक्रमणकारी भीडहरूलाई खासै फरक नपारेको जस्तो देखिए तापनि
जर्जियाका हजारौं नागरिकहरूले सतावटको भर्त्सना गरेको थाह पाउनु कत्ति सान्त्वनादायी छ। जनवरी ८, २००१ देखि यहोवाका साक्षीहरूले एउटा अर्जी पत्र वितरण गर्न थाले जसमा तिनीहरूले आक्रमणकारी भीडको आक्रमणबाट सुरक्षा पाउनुपर्ने अनि जार्जियाली नागरिकहरू विरुद्ध हिंसात्मक आक्रमण गर्ने व्यक्तिहरूमाथि मुद्दा चलाउनुपर्ने माग राखिएको थियो। दुई हप्ताभित्रमा जर्जियाका सबै क्षेत्रहरूबाट १,३३,३७५ जना बालिग नागरिकहरूले उक्त अर्जीपत्रमा हस्ताक्षर गरिसकेका थिए। जर्जियामा १५,००० मात्र यहोवाका साक्षीहरू भएको कुरालाई विचार गर्दा, हस्ताक्षर गर्ने अधिकांश व्यक्तिहरू जर्जियाली अर्थोडक्स चर्चका सदस्यहरू नै हुनुपर्छ। तर जनवरी २२, २००१ मा त्यो अर्जीपत्र बेपत्ता पारियो। वास्तवमा, के भएको थियो?त्यो दिन, जर्जियाको सरकारी वकिल, नाना डेभडारियानीको कार्यालयमा उक्त अर्जीपत्रलाई औपचारिक बनाउन आम प्रदर्शन गर्ने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। सम्मेलनको दौडान भासिलाइ मकालाभिसविली र उनका दस समर्थकहरू कार्यालयमा जबरजस्ती घुसेर उक्त १४ खण्डे अर्जीपत्र खोसे। ककेसियन इन्स्टिच्युट फर पिस एण्ड डेमोक्रेसीकी एक प्रतिनिधिले उक्त अर्जीपत्र जोगाउन खोजे तर आक्रमणकारीहरूले तिनलाई पनि दुर्व्यवहार गरे। मकालाभिसविलीले गालीगलौज गरिरहेको बेला उनका समर्थकहरूले आयोजकहरूको हातबाट १४ खण्डे अर्जीपत्रको १२ वटा खण्ड खोसेर भागे। यो घटना आफ्नै आँखाले देख्ने एक जना विदेशी कुटनीतिज्ञले यसो भने: “यो त पत्याउनै नसकिने कुरा हो!” खुसीको कुरा, फेब्रुअरी ६ मा अर्जीपत्र पुनः साक्षीहरूको हात पऱ्यो र फेब्रुअरी १३, २००१ मा यसलाई जर्जियाको राष्ट्रपतिसामु पेस गरियो।
“सतावट दिन गरिने सबै कार्य विरुद्ध . . . मुद्दा दायर गरिनेछ”
जर्जियालगायत विश्वभरिका यहोवाका साक्षीहरू जर्जियाका राष्ट्रपतिले यस अर्जीपत्रअनुसार केही कदम चाल्ने ठूलो आशा लिएर बसिरहेका छन्। आखिर, विगतमा राष्ट्रपति सेभर्डनाड्जेले यहोवाका साक्षीहरूलाई दिइएको सतावटको बारम्बार भर्त्सना गरेका थिए। उदाहरणका लागि, अक्टोबर १८, १९९९ मा राष्ट्रपतिले यहोवाका साक्षीहरूमाथि गरिएको आक्रमणलाई “असह्य नरसंहार” भनी व्याख्या गरे। अक्टोबर २०, २००० मा राष्ट्रपति सेभर्डनाड्जेले यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्यलाई यस्तो लेखे: “हिंसा निर्मूल पार्न हामी यथासक्य गर्नेछौं।” तिनले अझ यसो भने: “मानवअधिकार तथा आफ्नो अन्तस्करणअनुसार निर्णय गर्न पाउने अधिकारको रक्षाको लागि जर्जियाली अधिकारीहरू कटिबद्ध रहने कुरामा म तपाईंहरूलाई आश्वस्त गराउन चाहन्छु।” पुनः नोभेम्बर २, २००० मा अर्गनाइजेशन फर सिक्युरीटी एण्ड कोअपरेसन इन युरोपलाई लेखेको पत्रमा राष्ट्रपति सेभर्डनाड्जेले यसो भने: “[जर्जियामा भएका अल्पसंख्यक धार्मिक समूहहरू] मुछिएको यो विवाद, हाम्रो जनता तथा सरकारमाझ गम्भीर चिन्ताको विषय भएको छ।” उनले उक्त आयोगलाई यस्तो आश्वासन दिए: “सतावट दिन गरिने सबै कार्यहरू तथा शारीरिक हिंसा विरुद्ध मुद्दा दायर गरिनेछ र दोषीहरू कानुनसामु जवाफदेही हुनेछन्।”
युरोप तथा संसारका अन्य भागका चिन्तित पर्यवेक्षकहरू राष्ट्रपति सेभर्डनाड्जेका यी कटिबद्ध शब्दहरू चाँडै वास्तविकतामा परिणत हुनेछन् भनी आशा गर्छन्। त्यतिञ्जेल, पीडादायी सतावटको बावजूद लगातार यहोवाको सेवा गरिरहने यी साहसी साक्षीहरूको लागि विश्वभरिका यहोवाका साक्षीहरूले आफ्ना सँगी विश्वासीहरूको खातिर खुरन्धार प्रार्थना गरिरहन्छन्।—भजन १०९:३, ४; हितोपदेश १५:२९. (g02 1/22)
[फुटनोटहरू]
a जर्जियाबारे थप जानकारीको लागि, फेब्रुअरी ८, १९९८ अंकको ब्यूँझनुहोस्!-मा “जर्जिया—संरक्षित पुरातन सम्पदा” शीर्षकको लेख हेर्नुहोस्।
b जर्जियन अर्थोडक्स चर्चले (जि ओ सी) वर्ल्ड काउन्सिल अफ चर्च (डब्लु सी सी)-को सदस्यता लिएकोमा चर्को आलोचना गरेपछि भासिली मकालाभिसविलीलाई जर्जियाली अर्थोडक्स चर्चबाट बहिष्कार गरियो। (त्यस बेलादेखि नै जि ओ सीले डब्लु सी सीबाट आफ्नो सदस्यता रद्द गऱ्यो।) त्यसपछि, कालाभिसविलीले मेट्रोपोलिटन किपरियनको अधीनमा रहेको ग्रीक ओल्ड क्यालेन्डरिस्टमा प्रवेश गरे।
c यातना र अन्य क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्ध संयुक्त राष्ट्र सन्धिमा आबद्ध १२३ राष्ट्रहरूमध्ये जर्जिया पनि एक हो। वास्तवमा जर्जियाले आफूलाई “यातना मुक्त” राष्ट्रको वर्गमा राखेका छन्।
[पृष्ठ २८-मा भएको ठूलो अक्षरको क्याप्सन]
“सतावट दिन गरिने सबै कार्यहरू तथा शारीरिक हिंसा विरुद्ध मुद्दा दायर गरिनेछ र दोषीहरू कानुनसामु जवाफदेही हुनेछन्।”—जर्जियाका राष्ट्रपति, एडवर्ड सेभर्डनाड्जे, नोभेम्बर २, २०००
[पृष्ठ २८-मा भएको ठूलो अक्षरको क्याप्सन]
“आशा छ, [अल्प संख्यक धार्मिक समूहरू विरुद्ध हुने हत्याको] यस मामिलालाई सुल्झाइनेछ र जर्जियामा भएका सारा धार्मिक समूहहरूले आफ्ना धार्मिक विश्वास व्यक्त गर्न पाउने अप्रतिबन्धित स्वतन्त्रताको आनन्द उठाउनेछन्।”—डेभिड सोउमबाड्जे, वाशिङ्टन डि.सीस्थित जर्जियाली दूताबासका वरिष्ठ सल्लाहकार., सं.रा.अ., जुलाई ३, २००१
[पृष्ठ २४-मा भएको पेटी/चित्र]
आक्रमणकारी भीडको अत्याचार चलिरहन्छ
जर्जियाली अधिकारीहरूले यहोवाका साक्षीहरूका आक्रमणकारीहरूलाई दोषी साबित गर्न नसक्दा साक्षीहरूले अझ धेरै सतावट भोग्नुपरेको छ।
उदाहरणका लागि, जनवरी २२, २००१ मा टिबिलसीको भानिटिस उबानी क्षेत्रमा भूतपूर्व अर्थोडक्स पादरी भासिलाइ मकालाभिसविली र तिनका आक्रमणकारी भीडले साक्षीहरूको ७० जनाको धार्मिक भेलामा आक्रमण गरे। आक्रमणकारीहरूले साक्षीहरूलाई मुक्का र लात हान्नुका साथै काठ र फलामको क्रसले हिर्काए। एक आक्रमणकारीले एक जना साक्षीको टाउकोमा एउटा ठूलो काठको क्रस यति साह्रो बजारे कि क्रस टुक्रा-टुक्रा भयो। केही साक्षीहरूलाई अँध्यारो कोठामा लगेर आक्रमणकारीहरूले पिट्नुसम्म पिटे। ती वृद्ध साक्षीहरूले भाग्दा-भाग्दै पनि मुक्का अनि क्रसको प्रहार खप्नुपऱ्यो। दुई जना आक्रमणकारीले एक १४ वर्षे ठिटोलाई लखेटेर मुक्का र लात हाने। एक ३० वर्षीय आक्रमणकारीले १२ वर्षको केटालाई खेद्दै लगेर उसको टाउकोमा एउटा ठूलो जर्जियाली बाइबल बजारे। त्यति नै बेला, एक जना साक्षी घरबाट भागेर प्रहरी बोलाउन गए तर तिनलाई समातियो। भीडले त्यस साक्षीको मुख रगतपच्छे नहोञ्जेलसम्म हिर्काए र पछि उनले रगत छाद्न थाले। अन्तमा, त्यो निष्ठुर भीड त्यहाँबाट भाग्यो। आक्रमणकारीहरूले अझै कुनै सजाय पाएनन्।
फेरि, अप्रिल ३०, २००१ मा भासिलाइ मकालाभिसविलीका समर्थकहरूले यहोवाका साक्षीहरूको सोही मण्डलीको धार्मिक सभा भंग गरे। आक्रमणकारीहरूले साक्षीहरूलाई बाहिर तानेर ल्याए र कीलै-कीला भएको लाठीले पिट्नुसम्म पिटे। कीलाले तामाज नाउँ गरेको साक्षीको दायाँ पाखुरा, बायाँ हात, बायाँ खुट्टा र बायाँ गाला छिया-छिया भयो। साथै, तामाजको टाउकोमा गहिरो चोट लागेको कारण पाँचवटा टाँका लगाउनुपऱ्यो। यस भीडले सभा हुने भवनमा खानतलासी पनि गरे अनि त्यहाँ भएका फर्निचर, विद्युतीय उपकरण र सबै झ्यालहरू तोडफोड गरे। तिनीहरूले यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रकाशनहरूको थुप्रो लगाएर बाहिर खुला ठाउँमा जलाइदिए। जून ७, २००१ मा ह्युमन राइट्स वाचले जर्जियाको आन्तरिक मामिलासम्बन्धी मन्त्री काका तारगामाड्जे र सहायक व्यवस्थापक जिया मेपारिसभिलीसित यो घटना अनि हालै भएका अन्य आक्रमणका दोषीहरूमाथि मुद्दा दायर गर्ने सम्बन्धमा चालिएका आवश्यक कदमहरूबारे आधिकारिक जानकारी मागे। तर अहिलेसम्म पनि कुनै आक्रमणकारीहरूमाथि मुद्दा चलाइएको छैन।
[पृष्ठ २५-मा भएको पेटी]
प्रहरीहरूको सहभागिता
सेप्टेम्बर १६, २००० मा यहोवाका साक्षीहरू अधिवेशन स्थलमा जान यात्रा गरिरहेको १९ वटा बसलाई रोक्न मारनेउली शहरका प्रहरीले बाटोमा अवरोध खडा गरे। एउटा बाटोमा खडा गरिएको अवरोधमा आक्रमणकारीहरूले साक्षीहरू चढेको बसमा ढुंगामुढा प्रहार गरे र एक जना यात्रुको त टाउकोमा चोट पनि लाग्यो। धेरै साक्षीहरूलाई जबरजस्ती बसबाट बाहिर तानेर निकालेर पिटियो भने अरू यात्रीहरूचाहिं लुटिए। त्यति नै बेला, अधिवेशन स्थल नष्ट गर्न सुरिएका मकालाभिसविलीका समर्थकहरू यात्रा गरिरहेको गाडीलाई भने प्रहरीहरूले खुरुखुरु जान दिए। ती आक्रमणकारी भीडले डेढ टन धार्मिक साहित्यहरू जलाए। घटनास्थलमा हुने प्रहरीहरूसमेत साक्षीहरूलाई पिट्न अघि सरे।
आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले यस आक्रमणबारे अनुसन्धान गर्नुका साथै “आवश्यक कारबाही” गर्ने कुरा पनि ककेसस् प्रेसले रिपोर्ट गऱ्यो। यस विषयमा जाँचबुझ गर्नेहरूसित दोषीउपर कारबाही गर्ने ठोस कारण छ। जर्जियाको संविधानको धारा २५ ले सारा जनतालाई आम सभा गर्ने अधिकारको प्रत्याभूति दिन्छ। यद्यपि, एक जना आक्रमणकारीमाथि पनि मुद्दा चलाइएको छैन। आक्रमणको पाँच महिनापछि केसटन समाचार सेवाले दिएको रिपोर्टअनुसार “मेरो जर्जिया महान्!” नामक राजनैतिक आन्दोलनका नेता गुराम साराड्जेकी वकिलले यहोवाका साक्षीहरूका दुईवटा अधिवेशन रोक्न मारनिउली र जुगडिडिका अधिकारीहरूलाई दबाउ दिएको कुरा स्वीकारिन्।
[पृष्ठ २५-मा भएको पेटी]
जर्जियाको संविधानले सुरक्षाको प्रत्याभूति दिन्छ
निम्न उद्धरणहरूले देखाएअनुसार अगस्त २४, १९९५ को जर्जियाको संविधानले धार्मिक स्वतन्त्रता अनि क्रुर आक्रमण विरुद्ध सुरक्षा प्रदान गर्ने प्रत्याभूति दिन्छ:
धारा १७—(१) कुनै पनि व्यक्तिको सम्मान अनि गरिमा अखण्डनीय छ। (२) यातना, आमानवीय, पाशविक वा अपमानजनक व्यवहार गर्न वा सजाय दिन निषेधित छ।
धारा १९—(१) व्यक्तिविशेषको बोल्ने, आफ्नो विचार व्यक्त गर्ने, अन्तस्करणअनुसार निर्णय गर्ने, धर्म अनि विश्वास अभ्यास गर्न पाउने अधिकार छ। (२) व्यक्तिविशेषको विचार, विश्वास वा धर्मको खातिर सतावट दिन निषेध छ।
धारा २४—(१) लिखित वा अन्य कुनै पनि तरिकामा आफ्नो विचार व्यक्त गर्न र प्रचारप्रसार गर्न अनि स्वेच्छासाथ जानकारीहरू हासिल गर्न र प्रचारप्रसार गर्न पाउने व्यक्तिविशेषको अधिकार छ।
धारा २५—(१) सेना, प्रहरी र सुरक्षा सेवामा खटिएका व्यक्तिहरूबाहेक प्रत्येक व्यक्तिविशेषसित पूर्व अनुमतिविना बन्द वा खुला आमसभा गर्ने अधिकार छ।
[पृष्ठ २२-मा भएको पेटी]
सारा विश्वले नियालिरहेका छन्
यहोवाका साक्षीहरूलाई दिइरहेको सतावट रोक्न जर्जिया असफल भएको कुरालाई अन्तरराष्ट्रिय समुदायले कुन दृष्टिले हेरिरहेका छन्?
संयुक्त राज्य र बेलाइतका सरकारहरूले संयुक्त रूपमा यस्तो विज्ञप्ति प्रकाशित गरे: “यहोवाका साक्षीहरूका सभाहरू बिथोलियो, थुप्रै मानिसहरूमाथि हिंसात्मक दुर्व्यवहार गरियो र अन्य कतिपयको सभा गर्ने अधिकार खोसियो। संयुक्त राज्य अमेरिका तथा बेलाइतका राजदूतावासहरू जर्जियामा यहोवाका साक्षीहरूको धार्मिक स्वतन्त्रताको अधिकार हनन गरिएका यी कार्यहरू तथा गम्भीर अतिक्रमणप्रति निकै चिन्तित छन्। . . . हामी जर्जियाको सरकारलाई यी घटनाहरूको छानबिन गर्न र सबैको धार्मिक अधिकारको सम्मान गर्ने प्रत्याभूतिप्रति सजग हुन आह्वान गर्दछौं।”
युरोपेली संघ—जर्जियाली संसदीय संयोजक समितिका प्रतिनिधि मण्डलका अध्यक्ष अर्सुला श्लाइकरले यसो भने: “पत्रकार, मानवअधिकार कार्यकर्ता र यहोवाका साक्षीहरूमाथि गरिएका एक पछि अर्को हिंसात्मक आक्रमणहरूको हालैका घटनाहरूप्रति म गहिरो चिन्ता व्यक्त गर्न चाहन्छु। . . . म यस्तो व्यवहारलाई आधारभूत मानवअधिकार विरुद्ध गरिएको आक्रमण ठान्छु किनभने जर्जियाले पनि मानवअधिकार तथा मौलिक हकको रक्षाको लागि युरोपेली महासन्धिको सन्धिपत्रमा हस्ताक्षर गरेका छन्।”
युरोपमा सुरक्षा अनि सहयोग विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको आयोगले यहोवाका साक्षीहरूमाथि गरिएको आक्रमणको सन्दर्भमा यस्तो लेखे: “हालैका घटनाहरूले ठूलो खतराको संकेत दिन्छ र जर्जियाको अवस्था अनियन्त्रित छ भन्ने कुराको सन्देश दिन्छ। यदि कुनै ठोस कदम चालिएन भने, अल्पसंख्यक धार्मिक समूहहरू विरुद्ध हिंसा बन्द हुनेछैन। हामीलाई आशा छ, राष्ट्र प्रमुखको हैसियतमा तपाईंले जनता अनि जर्जियाका अधिकारीहरूको लागि एउटा उदाहरण बसाल्नुहुनेछ र दुईवटा कडा अनि स्पष्ट सन्देश दिनुहुनेछ: अन्य धर्मबारे कुनै व्यक्तिको जस्तोसुकै सोचाइ भए तापनि, त्यो धर्म मान्ने व्यक्तिहरू विरुद्ध कुनै पनि प्रकारको हिंसा गर्नु निषेध छ; त्यस हिंसामा भाग लिने कुनै पनि व्यक्ति र विशेष गरी यस्ता घृणित कार्यलाई बढावा दिने वा त्यसमा भाग लिने प्रहरीहरूलाई कडाभन्दा कडा कारबाही गरिनेछ।” यस पत्रमा सं.रा. अमेरिकाको महासभाका सात जना सदस्यको हस्ताक्षर थियो।
युरोपमा सुरक्षा र सहयोग विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको आयोगका उपाध्यक्ष, सं.रा. महासभा सदस्य क्रिस्टोफर एच. स्मिथले यसो भने: “जर्जियाले दाबी गरेअनुसार किन धार्मिक स्वतन्त्रता र मानवअधिकार कायम गरिरहेको छैन? . . . साहित्यहरू जलाउनु हेलसिन्की सम्झौताको ठीक विपरीत कुरा हो र यसले नाजी वर्षहरूको दौडान गरिएको पुस्तक दाहको सम्झना दिलाउँछ।”
युरोप तथा मध्य एसियाको मानवअधिकार अवलोकनका कार्यकारिणी निर्देशकले राष्ट्रपति एडवर्ड सेभर्डनाड्जेलाई यस्तो चिठी लेखे: “अल्पसंख्यक धार्मिक समूहहरू विरुद्ध भएको सुरुका हिंसात्मक आक्रमणका दोषीहरूमाथि कुनै कारबाही गर्न जर्जियाली सरकार असफल भएको रेकर्डलाई ध्यानमा राख्दै जर्जियामा भविष्यमा हुन सक्ने हिंसाबारे ह्युमन राइट्स वाच निकै चिन्तित छ। हामी तपाईंहरूलाई यथाशीघ्र हिंसाको अन्त्य गर्न र हिंसाका सबै जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्न आग्रह गर्छौं।”
सारा विश्वले नियालिरेहका छन्। के जर्जियाले आफ्नो अन्तरराष्ट्रिय प्रतिबद्धताअनुरूप काम गर्न सक्ला? जर्जियाको प्रतिष्ठा जोखिममा छ।
[पृष्ठ २७-मा भएको पेटी]
युरोपेली अदालतमा अपील
जून २९, २००१ मा यहोवाका साक्षीहरूले मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा औपचारिक निवेदन दर्ता गरे, जसमा जर्जियाका नियम लागू गराउने निकायहरूले लगातार निष्क्रियता देखाएकोमा विरोध जनाइएको थियो। केही दिनपछि जुलाई २, २००१ मा युरोपेली अदालतले प्रतिक्रिया व्यक्त गऱ्यो। यस मुद्दालाई “प्राथमिकता दिइनुपर्छ” भन्ने न्यायिक संघको अध्यक्षका भनाइलाई अदालतका पदाधिकारीले लेखे।
[पृष्ठ २२-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
रूस
जर्जिया
कृष्ण सागर
टर्की
[पृष्ठ २२-मा भएको चित्र]
मे १३, २००१-घरमा आगो लगाउने धार्मिक कट्टरपन्थीहरूको एउटा समूहले शामोयान परिवारको घर जलाउँदा तिनीहरू घरबारविहीन भए
[पृष्ठ २२-मा भएको चित्र]
जून १७, २००१-जिओर्गी ब्यागिसभिली यहोवाका साक्षीहरूको सभामा उपस्थित भइरहेको समयमा हिंसात्मक आक्रमणको सिकार भए।
[पृष्ठ २३-मा भएको चित्र]
जुलाई ११, २००१-यहोवाका साक्षीहरूको सभामा उपस्थित भइरहेको बेला डेभिड सालारिड्जेलाई लट्ठीले पिठिउँ र करङमा हिर्काइयो
[पृष्ठ २७-मा भएको चित्र]
जून २८, २०००-आगो लगाउनेहरूले टिबिलसीस्थित यहोवाका साक्षीहरूको साहित्य भण्डारलाई नष्ट गरे
[पृष्ठ २७-मा भएको चित्र]
अगस्त १६, २०००-गिडानी-नाड्जालाड्भीस्थित अदालतको कोठामा वरेन शुफेल्ट नाउँ गरेका एक क्यानेडियाली साक्षीलाई भासिली मकालाभिसविलीका एक समर्थकले आक्रमण गरे
[पृष्ठ २८-मा भएको चित्रको स्रोत]
AP Photo/Shakh Aivazov