सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जुम्ल्याहा गगनचुम्बी भवनहरू ध्वस्त भएको त्यो दिन

जुम्ल्याहा गगनचुम्बी भवनहरू ध्वस्त भएको त्यो दिन

जुम्ल्याहा गगनचुम्बी भवनहरू ध्वस्त भएको त्यो दिन

सेप्टेम्बर ११, २००१ का दिन न्यु योर्क सिटी, वासिङटन डि.सी. र पेन्सल्भेनियामा घटेको घटना संसारका करोडौं, सायद अरबौं मानिसहरूले सजिलै बिर्सन सक्नेछैनन्‌। न्यु योर्कको विश्‍व व्यापार केन्द्र तथा वासिङटनको पेन्टागनमा त्यो घटना घट्‌दा वा त्यसको खबर सुन्दा तपाईं कहाँ हुनुहुन्थ्यो?

त्यत्रोबिघ्न धनमाल, अझ भनौं भने त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, त्यतिका मानिसहरूको जीवन क्षणभरमै सखाप भएको कारण मानिसजाति गम्भीरतासाथ सोच्न बाध्य भएका छन्‌।

जीवनका प्राथमिकता तथा छनौटहरूबारे हामीले के सिक्यौं? ती दुःखलाग्दा घटनाहरूले मानवजातिका केही असल गुणहरू; जस्तै: आत्मत्याग, अनुकम्पा, धैर्य तथा निःस्वार्थ भावलाई कसरी प्रकट गऱ्‍यो? यो र यसपछिको लेखले यस पछिल्लो प्रश्‍नको जवाफ दिने प्रयास गर्नेछ।

दुर्घटनाबाट बचेकाहरू आफ्ना कथा सुनाउँछन्‌

त्यस विपत्तिको लगत्तै सबवे बन्द गरियो र लाखौं मानिसहरूले तल्लो म्यानहाटनबाट बाहिर भाग्नुपऱ्‍यो र तिनीहरूमध्ये धेरैजसो ब्रुकलिन र म्यानहाटनका पुलहरू हुँदै पारि पुगे। तिनीहरूले यहोवाका साक्षीहरूको मुख्यालय तथा कारखाना भवनहरूलाई छर्लंगै देख्न सक्थे। त्यस विपत्तिबाट भागेका केही व्यक्‍तिहरू तुरुन्तै ती भवनहरूतिर गए।

एक जना साक्षीकी छोरी अलाइशा (दायाँको) त्यहाँ आइपुग्नेहरूमध्ये पहिलो थिइन्‌। तिनको जीउभरि धूलो र खरानी थियो। a तिनले यसो भनिन्‌: “रेल चढेर आफ्नो कार्यालयतिर गइरहेको बेला मैले विश्‍व व्यापार केन्द्रबाट धूवाँको मुस्लो निस्किरहेको देखें। त्यस दुर्घटनाग्रस्त इलाकामा आइपुग्दा मैले भुइँभरि जताततै फुटेको सिसाका टुक्राहरू देखें र त्यहाँ एकदमै अन्योलको वातावरण छाएको थियो। मानिसहरू जताततै दौडिरहेका थिए भने, प्रहरीहरूले मानिसहरूलाई त्यहाँबाट अन्यत्र सार्ने कोसिस गरिरहेका थिए। त्यो ठाउँ कुनै युद्धग्रस्त इलाकाजस्तै देखिन्थ्यो।”

“म सुरक्षाको लागि नजिकैको भवनभित्र पसें। दक्षिणी भागको भवनलाई दोस्रो हवाईजहाजले ठक्कर दिंदा मैले ठूलो विस्फोटन भएको आवाज सुनें। जताततै धूवाँको मुस्लो फैलिरहेको त्यो दृश्‍य वर्णन गर्नै नसकिने खालको थियो। हामीलाई खतरा क्षेत्रबाट बाहिर निस्कन आग्रह गरियो। मलाई इस्ट रिभर तरेर ब्रुकलिनतिर जान लागेको डुंगामा राखियो। पल्लो छेउमा पुगेपछि मैले शिर उठाएर हेर्दा ठूल-ठूलो अक्षरमा ‘वाचटावर’ भनेर लेखिएको देखें! मेरो आमाले मान्‍नुहुने धर्मको मुख्यालय! म तुरुन्तै कार्यालय भवनभित्र पसें। त्यहाँजस्तो हेरविचार म अन्य ठाउँमा पाउन सक्दिनँ भन्‍ने कुरा मलाई थाह थियो। त्यहाँ धोइवरी सफा भएर मैले आमाबुबालाई फोन गरें।”

वेन्डेल (दायाँको) ती दुई गगनचुम्बी भवनहरूको माझमा रहेको मेरियट होटेलका ढोके थिए। तिनले यसो भने: “पहिलो विस्फोटन हुँदा म प्रतिक्षालयमा बसेर आफ्नो काम गरिरहेको थिएँ। मैले जताततै टुटेफुटेका चीजबीजहरू खसिरहेको देखें। मैले बाटोको पल्लोपट्टि हेर्दा, त्यहाँ एक जना मानिस आगोले जलेर भुइँमा परिरहेको थियो। म दौडेर गई आफ्नो कोट र शर्ट च्याती आगो निभाउने कोसिस गरें। त्यहींबाट गइरहेका अर्का बटुवा पनि आगो निभाउन आए। अन्तमा त्यस मानिसको मोजा र जुत्ताबाहेक सम्पूर्ण लुगा जलेर खरानी भयो। त्यसपछि वारुणकर्मीहरू आएर उसलाई औषधोपचार गर्न लगे।”

“त्यसको केही समयपछि नै सि बि एस टेलिभिजन समाचारका ब्रायन्ट गम्बेलले मलाई फोन गरेर त्यहाँ के भइरहेको थियो भनी सोधे। मेरो आवाज टेलिभिजनमा सुनेपछि भर्जिन टापुमा बसिरहेको मेरो परिवारले म जीवितै रहेछु भन्‍ने कुरा थाह पाए।”

छ फुट पाँच इन्च अग्लो हृष्टपुष्ट डोनल्ड विश्‍व वाणिज्य केन्द्रका जागिरे हुन्‌ र तिनी आफ्नो कार्यालयको ३१ औं तलाबाट जुम्ल्याहा गगनचुम्बी भवनहरू र मेरियट होटेलतिर हेरिरहेका थिए। तिनले यसो भने: “त्यहाँ भइरहेको कुरा देखेर म स्तब्ध अनि त्रसित भएँ। मानिसहरू उत्तरतिर रहेको भवनका झ्यालहरूबाट खसिरहेका र हामफालिरहेका थिए। म डरले अतालिंदै आफ्नो भवनबाट सकेसम्म छिटो निस्कन बाहिरतिर दौडें।”

अर्को अनुभव एक जना ६० वर्ष नाघिसकेकी आमा र तिनकी दुई ४० बसन्त पार गरिसकेकी छोरीहरूको थियो। रूथ र तिनकी बहिनी जोनी आफ्नी आमा जेनेससित जुम्ल्याहा गगनचुम्बी भवनहरू नजिकै भएको होटेलमा बसिरहेका थिए। लाइसेन्स प्राप्त नर्स, रूथ आफ्नो कथा यसरी सुनाउँछिन्‌: “म नुहाइरहेकी थिएँ। आमा र बहिनी चिच्याउँदै मलाई झट्टै बाहिर निस्कन भन्‍नुभयो। हामी १६ औं तलामा भएको कारण उहाँहरूले झ्याल नजिकैबाट तल सडकमा टुक्राटाक्रीहरू खसिरहेको देख्न सक्नुहुन्थ्यो। कतैबाट धकेलिएर खसेझैं गरी सँगैको छानामा एक जना मानिस खसेको आमाले आफ्नै आँखाले देख्नुभएछ।”

“मैले चाँडचाँडो लुगा लगाएँ र हामी भऱ्‍याङबाट तल ओर्लन थाल्यौं। त्यहाँ कोलाहल मच्चिएको थियो। हामी सडकमा पुग्यौं। हामीले विस्फोटनको आवाज सुन्‍नुका साथै आगोका झिल्काहरू पनि देख्यौं। हामीलाई दक्षिणतर्फ स्टेटन आइल्याण्डतिर जान लागेको जहाज भएको बाटरी पार्कतिर भाग्न आदेश दिइयो। बाटोमा हामी आमाबाट छुट्टिनुपऱ्‍यो। उहाँ दमको रोगी हुनुहुन्थ्यो। यस्तो धूवाँ, खरानी र धुलोको माझमा उहाँलाई के होला? हामीले उहाँलाई आधा घण्टासम्म खोज्यौं तर भेट्टाएनौं। तथापि, उहाँ एकदमै सक्षम अनि शान्त रहन सक्नुहुने भएकोले सुरुमा हामीलाई त्यति धेरै चिन्ता लागेन।”

“अन्ततः हामीलाई ब्रुकलिनको पुलपारि हिंडेर जाने निर्देशन दिइयो। पुलपारि ब्रुकलिनमा पुगेर ठूल-ठूला अक्षरमा ‘वाचटावर’ लेखिएको देख्न पाउँदा हामीले साह्रै ढुक्क महसुस गऱ्‍यौं! हामी सुरक्षित छौं भनेर हामीलाई थाह थियो।”

हामीलाई त्यहाँ स्वागत गर्नुका साथै बास बस्न पनि दिइयो। हामीसित लुगा नभएको कारण लुगा पनि दिइयो। तर हाम्रो आमाचाहिं कहाँ हुनुहुन्थ्यो त? हामीले रातभरि उहाँलाई अस्पतालहरूमा खोज्यौं तर भेट्टाउन सकेनौं। भोलिपल्ट बिहान साढे एघार बजेतिर हामीले एउटा सन्देश पायौं। आमा त तल प्रतिक्षालयमा पो हुनुहुँदो रहेछ! उहाँलाई के भएछ?”

तिनीहरूकी आमा, जेनिस घटना विवरण यसरी बताउँछिन्‌: “हामी होटेलबाट कुदेर बाहिर निस्कँदा मलाई एक जना उमेर ढल्किसकेकी साथीको चिन्ता लाग्यो किनभने तिनी हाम्रो रफ्तारमा हिंड्‌न सकेकी थिइनन्‌। म त्यहाँबाट फर्केर तिनलाई आफै बोकेर बाहिर ल्याउन चाहन्थें। तर त्यसो गर्नु खतरनाक थियो। त्यत्तिकैमा म आफ्ना छोरीहरूबाट अलग्गिएँ। तैपनि, तिनीहरू बुझकी हुनुका साथै रूथ एक योग्य नर्ससमेत भएकीले मलाई तिनीहरूको धेरै चिन्ता लागेको थिएन।”

“जताततै मानिसहरू थिए अनि विशेष गरी केटाकेटी र बच्चाहरूलाई मदतको ठूलो खाँचो थियो। मैले सकेजति मानिसहरूलाई मदत गरें। म त्यहाँबाट बिरामीहरूलाई राखिएको ठाउँमा गएँ, जहाँ यस दुर्घटनाको सिकार भएकाहरूलाई तिनीहरूको चोटपटकको आधारमा छुट्याएर औषधोपचार गरिंदै थियो। मैले ध्वाँसो र धूलो लागेका प्रहरी तथा वारुणकर्मीहरूको हात र मुख धुन मदत गरें। म त्यहाँ भोलिपल्ट बिहान तीन बजेसम्म बसें। त्यसपछि म स्टेटन आइल्याण्डमा जान लागेको अन्तिम डुंगामा चढें। छोरीहरूले पनि त्यहीं आश्रय लिएका होलान्‌ जस्तो मलाई लागेको थियो। तर मैले तिनीहरूलाई भेट्टाइनँ।

“म्यानहाटनतिर जाने सबैभन्दा पहिलो डुंगा चढेर म बिहान सबेरै त्यातातिर जान खोजें तर आकस्मिक कार्यकर्ता नभएको कारण म त्यसमा चढ्‌न सकिनँ। त्यसपछि मैले अघिल्लो दिन मदत गरेको एक जना प्रहरीलाई देखें। मैले तिनलाई बोलाएँ: ‘जोन! म म्यानहाटन फर्कन चाहन्छु।’ उसले यस्तो जवाफ दियो: ‘मसित आउनुस्‌।’

“म्यानहाटन आइपुगेपछि म मेरियोट होटेलतिर लागें। कतै मेरी वृद्धा साथीलाई अझ पनि बचाउन सक्छु कि। तर अफसोस! होटेल भग्नावशेषमा परिणत भइसकेको थियो। शहर सुनसान थियो, कतै चहलपहल थिएन। प्रहरी र वारुणकर्मीहरू मात्र झुत्रेझाम्रे अनि निदाउरो अनुहार लिएर बसिरहेका थिए।

“त्यसपछि म ब्रुकलिन ब्रीजतर्फ लागें। पुलको पल्लो छेउमा पुगेपछि मैले ‘वाचटावर’ लेखिएको एउटा चिरपरिचित पाटी देखें। कतै म आफ्ना छोरीहरूलाई त्यहाँ भेट्टाउन सक्छु कि। साँच्चै त्यस्तै भयो, तिनीहरू तल प्रतिक्षालयमा आएर मलाई अभिवादन गरे। आपसमा अँगालो हालेर हामी बेस्सरी रोयौं!”

“आश्‍चर्यको कुरा, धूवाँ, धुलो र खरानीमा त्यत्तिका बेर हिंड्‌नुपरे तापनि मलाई एक चोटि पनि दमले चापेन। मैले प्रार्थना गरिरहें किनभने म अरूको लागि बोझ होइन तर केही गर्न चाहन्थें।”

“यहाँ त अवतरण गर्ने ठाउँ नै छैन!”

ब्यूँझनुहोस!-का लेखकलाई २० वर्ष नाघेकी रेचेल नाउँकी आइमाईले यसो भनिन्‌: “म तल्लो म्यानहाटनमा आफ्नो घरनेर हिंडिरहेको बेला मैले आकासमा हवाईजहाजको आवाज सुनें। यसको आवाज एकदमै ठूलो भएको कारण मैले टाउको माथि उठाएर हेरें। बडेमानको जेट तलतिर झरिरहेको देख्दा मैले त विश्‍वासै गर्न सकिनँ। यति कम उचाइमा त्यै पनि यस्तो तेज गतिमा किन उडिरहेको होला भनेर म त छक्क परें। यहाँ त अवतरण गर्ने ठाउँ नै छैन! सायद पाइलटले नियन्त्रण गुमायो होला। त्यसपछि मैले एक जना आइमाई चिच्याएको आवाज सुनें, ‘हेर्दाहेर्दै त्यो जहाज भवनमा ठोक्किन पुग्यो!’ उत्तरपट्टिको भवनबाट आगोको ज्वाला निस्क्यो। त्यस भवनमा एउटा ठूलो प्वाल परेको मैले देखें।”

“मैले आफ्नो जीवनमा देखेको सबैभन्दा भयावह दृश्‍य यही थियो। मलाई त यो होइन होला जस्तो लाग्यो। म त त्यहाँ तीन छक परेर ठिंग उभेको उभेकै भएँ। त्यसको एक छिनपछि नै दोस्रो गगनचुम्बी भवनलाई अर्को जहाजले हिर्कायो र अन्ततः दुवै भवन गर्ल्यामगुर्लुम ढल्यो। मेरो त होसहवासै उड्यो। मैले त त्यो भयावह दृश्‍य हेर्नै सकिनँ!”

“पौडनु परे पौडुँला”

विश्‍व व्यापार केन्द्रको दक्षिणपट्टि तीनवटा जति ब्लक नाघेपछि आइपुग्ने अमेरिकी स्टक एक्सचेन्जसँगैको स्कूलमा १६ वर्षीया डेनिस भर्खरै आइपुगेकी थिइन्‌। “भर्खर बिहानको ९:०० बजेको थियो। केही घटना घट्यो रे भन्‍ने कुरा त मलाई थाह थियो तर कस्तो घटना भनेरचाहिं थाह थिएन। म स्कूलको ११ औं तलामा इतिहासको कक्षामा पढिरहेकी थिएँ। विद्यार्थीहरू सबै डरले थरथर कामिरहेका थिए। तैपनि, हाम्री शिक्षिका हामीले आफ्नो परीक्षा देओस्‌ भन्‍ने चाहनुहुन्थ्यो। तर हामीलाई त्यहाँ बसिरहन मन नलागेको कारण हामी तुरुन्तै घर गइहाल्न चाहन्थ्यौं।”

“दोस्रो जहाजले दक्षिणी भवनलाई ठक्कर दिंदा भवनै थर्कियो। तर के भएको हो भनेर हामीलाई अझ पनि थाह थिएन। अचानक मैले शिक्षिकाको वाकी-टाकीमा यस्तो आवाज सुनें: ‘दुइटा जहाजले जुम्ल्याहा भवनहरूलाई हान्यो!’ मैले मनमनै यस्तो विचार गरें, ‘यस्तो अवस्थामा स्कूलमा बसिरहनु ठीक छैन। यो आतंकवाद हो र अबको पालो सट्टाबजार नै हुन सक्छ।’ त्यसैले, हामी बाहिरतिर दौड्यौं।

“हामी ब्याटरी पार्कतिर कुदेर गयौं। के भइरहेछ भनेर हेर्न म पछाडि फर्कें। दक्षिणपट्टिको भवन ढल्नै लागेको देखें। अब अरू ठूल-ठूला भवनहरू पनि एकपछि अर्को गर्दै ढल्छन्‌ होला जस्तो लाग्यो। खरानी र धूलो मेरो नाक अनि घाँटीभित्र पसिरहेको कारण सास फेर्नै गाह्रो भइरहेको थियो। ‘पौडनु परे पौडुँला’ भन्‍ने विचार गर्दै म इस्ट रिभरतिर दगुर्न थालें। भाग्ने क्रममा मैले मलाई बचाउनुहोस्‌ भनी यहोवालाई प्रार्थना गरें।

“अन्ततः मलाई न्यु जर्सीतिर जाने डुंगामा राखियो। मेरो खोजी गर्न आमाले पाँच घण्टा बिताउनुपरे तापनि म सुरक्षित थिएँ!”

“के यो नै मेरो जीवनको अन्तिम दिन हो?”

न्यु जर्सी प्रिन्सटनका २८ वर्षीय जोसुआ उत्तरतिरको भवनको ४० औं तलाको कक्षामा पढाइरहेका थिए। त्यस घटनाबारे तिनी यसो भन्छन्‌: “अचानक बम पड्‌केझैं भयो। डरलाग्दो गरी कम्प हुन थालेको कारण ‘मैले त यो भुइँचालो होला’ भन्ठानें। जसै मैले बाहिर हेरें, मैले त पत्याउनै सकिनँ किनभने त्यस भवनको चारैतिर धूवाँ र टुक्राटाक्री चीजबीजहरू छरपस्ट थिए। मैले कक्षामा भएका सबैलाई भनें, ‘सबैले आ-आफ्नो मालसामान यहीं छोड। हामी यहाँबाट बाहिर निस्किहालौं!’ ”

“हामी डम्म धूवाँले भरिएको भऱ्‍याङबाट तल ओर्लन थाल्यौं र त्यहाँ पानी पनि निस्किरहेको थियो। तर त्यहाँ कोही पनि आतिएका भने थिएनन्‌। हामी ओर्लिरहेको भऱ्‍याङमा आगो नलागोस्‌ भनेर मैले प्रार्थना गरिरहें।”

“भऱ्‍याङबाट तल ओर्लंदै गर्दा मैले मनमनै सोचें, ‘के यो नै मेरो जीवनको अन्तिम दिन हो?’ मैले यहोवालाई प्रार्थना गरिरहें र मैले एक प्रकारको अनौठो मनोशान्ति महसुस गरें। त्यस्तो आन्तरिक शान्ति मैले कहिल्यै पनि अनुभव गरेको थिइनँ। म त्यो क्षण कहिल्यै बिर्सनेछैनँ।

“हामी भवनबाट बाहिर निस्कँदा प्रहरीहरूले सबैलाई छिट-छिटो बाहिर निस्कन मदत गरिरहेका थिए। मैले माथि हेरें र दुवै भवनमा ठूलो प्वाल परेको थियो। यो त सपनामा पनि सोच्नै नसकिने खालको घटना थियो।”

“त्यसपछि हजारौं मानिसहरूले आफ्नो सास रोकेझैं सन्‍नाटा छायो। मेरो त आङै सिरिङ भयो। न्यु योर्क शहर नै टक्क अडिएझैं भयो। त्यसको लगत्तै चिच्याएका आवाजहरू सुनियो। दक्षिणपट्टिको भवन ढल्दै थियो! धूवाँ, खरानी र धूलोको मुस्लो हामीतिर हुत्तिएर आइरहेको थियो। यो चलचित्रमा देखिने कुनै डरलाग्दो दृश्‍यजस्तै थियो। तर यो हाम्रै आँखाअगाडि भइरहेको थियो। त्यस धूलोमूलोले हामीलाई ढाकेपछि सास फेर्नै गाह्रो भयो।”

“म बल्लतल्ल म्यानहाटन पुलनेर पुगें र त्यहाँ पुगेर मैले पछाडि फर्केर हेर्दा उत्तरपट्टिको भवन पनि बिस्तारै यसमा भएको टेलिभिजनको ठूलो एन्टिनासँगै ढल्दै गरेको देखें। त्यस पुलमा हिंड्‌दै गर्दा मैले यहोवाका साक्षीहरूको बेथेलसम्म पुग्न पाओस्‌ भनेर प्रार्थना गरिरहें। त्यो ठाउँ देख्दा म जति खुसी भएको थिएँ त्यति खुसी पहिला कहिल्यै भएको थिइनँ। अनि त्यहाँ कारखानाको भित्तामा हरेक दिन हजारौं मानिसहरूले देख्न सक्ने गरी ठूलो पाटीमा यस्तो लेखिएको थियो, ‘परमेश्‍वरको वचन बाइबल दिनहुँ पढ्‌नुहोस्‌’! मैले मनमनै भनें ‘अब अलिकता त हो। हिंडिरह, तिमी त्यहाँ पुग्नेछौ।’ ”

“ती घटनाहरूलाई विचार गर्दा मैले जीवनमा आफ्नो प्राथमिकता छुट्याउनुपर्छ र जुन कुरालाई प्राथमिकता दिनुपर्ने हो त्यसलाई प्राथमिकता दिनै पर्छ भनेर बुझें।”

“मैले मानिसहरू टावरबाट हाम्फालिरहेको देखें”

बाइस वर्षीया जेसिकाले उक्‍त घटना विश्‍व व्यापार केन्द्र नजिकैको सबवेबाट बाहिर निस्कँदै गर्दा देखिन्‌। “मैले माथि हेरें र खरानी, फलाम र अरू विभिन्‍न किसिमका टुक्राटाक्रीहरू पनि खस्दै गरेको देखें। मानिसहरू पे फोन चलाउन कुरिरहेका थिए र अरूले ढिला गर्दा झन्‌-झनै चिढिंदै थिए। मैले शान्त रहन सकूँ भनेर प्रार्थना गरें। त्यसपछि अर्को विस्फोटन भयो। इस्पात तथा सिसाहरू खस्दै थिए। ‘ला, अर्को हवाईजहाज पनि आयो!’ भनेर अरूहरू चिच्च्याएको मैले सुनें।”

“यसो माथि हेरेको मात्र थिएँ म त झसंग भएँ किनभने मानिसहरू धूवाँ र आगोका ज्वाला निस्किरहेका माथिल्ला तलाहरूबाट बाहिर हाम्फालिरहेका थिए। एक जना मानिस र आइमाई सँगै हाम्फालेको दृश्‍य मेरो आँखासामु अझै पनि झलझली आइरहन्छ। तिनीहरू एकछिन त झ्यालमा समातेर अडिए। तर तिनीहरू धेरै बेरसम्म त्यसरी अडेर बस्न सकेनन्‌ र त्यसपछि तिनीहरू कहाँ खसे-खसे, केही अत्तोपत्तो भएन। त्यो दृश्‍य साँच्चै हृदयविदारक थियो।”

“जसोतसो म ब्रुकलिन पुलमा आइपुगें र मलाई जुत्ताले गर्दा अप्ठ्यारो भएको हुनाले जुत्ता फुकालेर दगुरें र ब्रुकलिनपट्टिको नदीको किनार पुगें। त्यहाँबाट वाचटावरको कार्यालय भवनसम्म हिंडेर गएपछि मलाई शान्त रहन तुरुन्तै अरूले मदत गरे।”

“त्यस रात मैले घरमा अगस्त २२, २००१ को अवेक!-मा दिइएको ‘भावनात्मक चोट सामना गर्ने’ विषयक श्रृंखलाबद्ध लेख पढें। यसमा मलाई चाहिएकै जानकारी थियो!”

त्यस विपत्तिले मानिसहरूलाई आफूले सक्दो मदत गर्न उत्प्रेरित गऱ्‍यो। अर्को लेखले यस कथाको उक्‍त पक्षबारे वर्णन गर्नेछ। (g02 1/8)

[फुटनोट]

a ब्यूँझनुहोस्‌!-ले त्यसबाट बचेका थुप्रै मानिसहरूसित अन्तरवार्ता लिएको थियो तर ती सबैलाई यस संक्षिप्त पुनरावृत्तिमा उल्लेख गर्न सम्भव छैन। तिनीहरूको सहयोगले यो अभिलेख पूरा गर्न र पुष्टि गर्न मदत मिल्यो।

[पृष्ठ ८-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

ध्वस्त भएको

1 उत्तरी भवन 1विश्‍व व्यापार केन्द्र

2 दक्षिणी भवन 2विश्‍व व्यापार केन्द्र

3 मेरियोट होटेल 3विश्‍व व्यापार केन्द्र

7 7विश्‍व व्यापार केन्द्र

नराम्रोसँग क्षतिग्रस्त भएको

4 4विश्‍व व्यापार केन्द्र

5 5विश्‍व व्यापार केन्द्र

L एउटा लिबर्टी प्लाजा

D डोइच बैंक १३० लिबर्टी स्ट्रि.

6 सं.रा.अ. चुङ्‌गीकर भवन विश्‍व व्यापार केन्द्र

N S पैदल यात्रीहरूले प्रयोग गर्ने उत्तर र दक्षिणको पुल

आंशिक रूपमा क्षतिग्रस्त

2F विश्‍व वित्त केन्द्र

3F विश्‍व वित्त केन्द्र

W विन्टर गार्डेन

[स्रोत]

As of October 4, 2001 3D Map of Lower Manhattan by Urban Data Solutions, Inc.

[पृष्ठ ८-मा भएको चित्र]

सबैभन्दा माथि: पहिला दक्षिणतिरको टावर ढल्यो

माथि: केही मानिसहरू शरण पाउन वाचटावर भवनहरूमा पसे

दायाँ: सयौं वारुणकर्मी तथा उद्धारकर्मीहरूले घटनास्थलमा दिनरात काम गरे

[स्रोत]

AP Photo/Jerry Torrens

Andrea Booher/FEMA News Photo

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

AP Photo/Marty Lederhandler

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

AP Photo/Suzanne Plunkett