जेब्रा—अफ्रिकाको जंगली घोडा
जेब्रा—अफ्रिकाको जंगली घोडा
अफ्रिकाका ब्यूँझनुहोस्! लेखकद्वारा
अफ्रिकी मैदानमा जेब्राको बथान बेफिक्री दौडिरहेका छन्। तिनीहरू तेज रफ्तारमा दौड्दा बाक्लो याल र पाटे कोखा सलक्क-सलक्क हल्लिन्छ। तिनीहरूका खुरले मैदानका सुक्खा भूमिलाई खोस्रेको घत्र्याकघुत्रुक आवाज सुनिन्छ। धेरै किलोमिटर टाढादेखि नै तिनीहरूको पछिपछि रातो धूलो बुङबुङ उडिरहेको देख्न सकिन्छ। तिनीहरू स्वतन्त्र भई कुनै अवरोधविना दौडन्छन्।
कुनै अदृश्य संकेत पाएझैं गरी तिनीहरूको गति अलि-अलि गर्दै कम भएर अन्तमा टक्क रोकिन्छ। तिनीहरू आफ्नो बाक्लो अनि बलियो दाँतले घाँस तान्न थाल्छन्। यो बथान एकदमै सतर्क छ। तिनीहरू कहिले माथि हेर्छन् त कहिले आवाज सुनेको जस्तो गर्छ र हावामा सुँघ्न थाल्छ। धेरै टाढाबाट हावामा मिसिएर आएको बाघ गर्जेको आवाज तिनीहरूको कानमा पुग्छ र तिनीहरू ठाडो परेर हेर्छन्। त्यो आवाज तिनीहरूलाई राम्ररी थाह छ। कान ठाडो पार्दै, मुखमा घाँस झुन्ड्याउँदै त्यो गर्जन आएको दिशातिर हेर्छन्। तत्काल कुनै खतरा महसुस नभएपछि तिनीहरू फेरि निहुरिएर घाँस खान थाल्छन्।
झन्-झन् घाम चर्किंदै गएपछि तिनीहरू फेरि दगुर्न थाल्छन्। यसपल्ट यी जेब्राहरू पानीको बासनाले तानिएर नदीतिर जान्छन्। नदीको अग्लो डिलमा एकछिन अडिएर बिस्तारै बगिरहेको खैरो पानीलाई टोलाएर हेरेपछि फुस्रो भुइँमा खस्य्राकखुस्रुक गर्दै हिनहिनाउँछन्। नदीको शान्त सतहमुनि केही खतरा छ कि भनेर तिनीहरू आनाकानी गर्छन्। तर तिनीहरूलाई असाध्यै तिर्खा लागेको कारण कोही-कोही ठेलमठेल गर्छन्। अनि एकै चोटि हुत्तिएर नदी किनार पुग्छन्। एक-एक गर्दै तिनीहरू तिर्खा नमेटिउञ्जेल पानी पिएर तृप्त भएपछि खुला मैदानहरूतिर फर्कन्छन्।
साँझपख त्यो बथान नहडबडाई अग्ला-अग्ला घाँसहरूको बीचबाट
हिंड्न थाल्छन्। अस्ताउन लागेको रातो सूर्यको प्रकाश अनि अफ्रिकी घाँसे मैदानमा यी जंगली घोडाहरूको छायाँ एकदमै शोभायमान देखिन्छ।समूहमा बस्न रुचाउने धर्के जनावर
जेब्राहरूको दिनचर्या प्रायजसो एकै किसिमको हुन्छ। तिनीहरू भोजन र पानीको खोजीमा सधैं एक ठाउँबाट अर्को ठाउँ सरिरहन्छन्। खुला चरनहरूमा यी जेब्राहरू सफा र हृष्टपुष्ट देखिन्छन् र तिनीहरूको पुष्ट शरीरमा काला धर्काहरू टिनिक्क तन्किएको हुन्छ। जेब्राका धर्काहरू बेजोड हुन्छन् र कसै-कसैको भनाइअनुसार त प्रत्येक धर्काहरू फरक-फरक हुन्छन्। तिनीहरूको सेतो र कालो धर्काहरू त्यस मैदानमा पाइने अन्य जनावरहरूभन्दा एकदमै फरक हुन्छ। तैपनि, तिनीहरू मनमोहक हुनुका साथै खुला अफ्रिकी जंगलहरूको विशेषता हो।
जेब्राहरू समूहमा बस्न रुचाउँछन्। हरेक जनावरले आफ्नो बथानभित्र एकअर्कासँग बलियो सम्बन्ध गाँसेको हुन्छ र त्यस सम्बन्धलाई तिनीहरू जिन्दगीभर बिर्संदैनन्। एउटा ठूलो बथानमा हजारौं जनावरहरू भए तापनि त्यसभित्र थुप्रै स-साना परिवारहरू हुन्छन् अनि प्रत्येक परिवारमा भाले र त्यसका पोथीहरू हुन्छन्। यो सानो परिवारले पनि अनुशासन पालन गरेर आ-आफ्नो दर्जाअनुसार हिंड्छन्। परिवारलाई डोऱ्याउने घोडीले त्यस परिवारको गतिविधि निर्धारण गर्छ। अरू जेब्रा तथा बछेडा-बछेडीहरूलाई दर्जाअनुसार लाम लगाएर आफूले चाहिं नेतृत्व लिन्छ। तैपनि, सबै कुरा भालेकै नियन्त्रणमा हुन्छ। आफ्नो परिवारको मार्ग परिवर्तन गर्न चाहेको खण्डमा तिनी पोथीको नजिक जान्छ र अर्को दिशातिर बिस्तारै ठेल्छ।
जेब्राहरू सफा बस्न रुचाउँछन्। त्यसैले तिनीहरू प्रायजसो एकअर्काको याल, काँध र पिठिउँ रगड्दै र कुटुकुटु टोकिरहेको देख्न सकिन्छ। यसरी एकअर्काको सरसफाइ गरिदिंदा तिनीहरूबीचको सम्बन्ध बलियो हुन्छ र बछेडा-बछेडी जन्मेको केही दिनमै तिनीहरूले यस्तो स्याहारसुसार गर्न थाल्छन्। स्याहारसुसार गर्न परिवारको अर्को सदस्य नभएको खण्डमा, आङ चिलाएका जेब्राहरू भुइँमा लडिबुडी गरेर वा रूख, धमिराको ढिस्को वा अन्य अचल वस्तुमा जीउ रगडेर चित्त बुझाउँछन्।
बाँच्नको लागि संघर्ष
जेब्राको जीवन खतरामुक्त हुँदैन। सिंह, सिकारी कुकुर, हुँडार, चितुवा र गोहीले यो २५० किलोग्राम वजन हुने घोडालाई आफ्नो सिकार बनाउन ताकिरहेको हुन्छ। जेब्रा प्रतिघण्टा ५५ किलोमिटरको दरले कुद्न सक्छ तर कहिलेकाहीं यो छक्क्याउने सिकारीहरूको पासोमा पर्छ। सिंहहरूले ढुकेर मौका छोपिरहेका हुन्छन् भने, गोहीहरू हिलाम्मे पानीमुनि लुकिरहेका हुन्छन् अनि चितुवाहरू अँध्यारोमा लुकेर झम्टिन तयार हुन्छन्।
बथान सतर्क छ र सबैले संयुक्त प्रयास गरेको छ भने, जेब्रा खतरामा पर्ने सम्भावना कम हुन्छ। राती बगालका अधिकांश घोडाहरू सुते तापनि कोही-कोहीचाहिं नसुती जाग्राम बस्छन् र पहरा दिन्छन्। जेब्राले कुनै सिकारी नजिक आउँदै गरेको देखेमा हिनहिनाउँछ र पूरै बथानले खतराको संकेत
पाउँछ। आफ्नो बगालका कुनै सदस्य बिरामी वा बूढो भएकोले बथान दौडेको रफ्तारमा दौड्न सक्दैन भने, अरू जेब्राहरू बिस्तारै हिंड्छन् वा त्यो अशक्त जनावर फेरि बगालकै रफ्तारमा हिड्न सक्ने नहोउञ्जेल पर्खन्छन्। खतरा आइपर्दा भाले निडर भई घोडी र सिकारीहरूको बीचमा आएर आफ्नो बथानलाई भाग्ने समय दिन शत्रुलाई टोक्ने र लात हान्ने गर्छ।परिवारमा भएको त्यस्तो एकतालाई अफ्रिकाको सेरेनगेटीको मैदानमा प्रकृतिशास्त्री ह्युगो भान लाविकले देखेको घटनाले पुष्टि गर्छ। जंगली कुकुरहरूले जेब्राको बथानलाई लखेटे अनि एउटी घोडी, खाइलाग्दो बछेडो र वर्ष दिन पुगेको एउटा बछेडोलाई बगालबाट छुट्याएर सिकार बनाउन खोज्यो। जेब्राको बाँकी बथान बुर्कुसी मारेर दौडे भने ती माउ र बछेडोले साहसी भई कुकुरहरूसित लडे। तर कुकुरहरू आक्रामक हुन थाले अनि घोडी र त्यसको बछेडो पनि थाके। तिनीहरू बाँच्ला जस्तो देखिएको थिएन। भान लाविक त्यो दुःखलाग्दो दृश्य सम्झँदै यसो भन्छन्: “अकस्मात् मैले जमिन थर्केको आवाज सुनें र यताउती टाउको घुमाएर हेर्दा दसवटा जेब्रा तेज गतिमा तिनीहरू भएतिर आइरहेको देखेर म तीन छक परें। केही क्षणपछि नै त्यस बथानले घोडी र तिनको दुइटा बछेडालाई बीचमा पारेर जताबाट आएका थिए त्यतैतिर सुइँकुच्चा ठोके। कुकुरहरूले तिनीहरूलाई ५० मिटरजति त लखेटे तर बगालभित्र छिर्न नसकेपछि लखेट्नै छोडे।”
परिवारको देखभाल गर्ने
घोडीले आफ्नो भर्खरै जन्मेको बछेडोको रक्षा गर्छ र सुरुमा तिनले उसलाई
बगालको अन्य सदस्यहरूबाट छुट्टै राख्छ। यसरी प्रारम्भिक चरणमा बछेडोले आमासित घनिष्ठ सम्बन्ध बढाउन सक्छ। अनि त्यसले आफ्नो आमाको छालामा भएको बेजोड सेतो र कालो धर्काहरू सम्झिरहन्छ। त्यसपछि भने त्यो आफ्नी आमाको आवाज, गन्ध र धर्के नमुनालाई चिनेर अरू कुनै घोडीको आवाजबाट झुक्किंदैन।भर्खरै जन्मेको बछेडा वा बछेडीको आफ्नो आमाबाबुको जस्तो बेजोड सेता र काला धर्काहरू हुँदैनन्। त्यो सुरुमा कैलो रंगको हुन्छ र हुर्कंदै गएपछि मात्र कालो हुन थाल्छ। एउटा ठूलो बथानमा थुप्रै परिवारहरू हुने हुँदा ती परिवारहरूका बछेडा-बछेडीहरू पनि विभिन्न परिवारका बछेडा-बछेडीहरूसँगै खेल्छन्। तिनीहरू दगुर्छन् र एक अर्कालाई खेदाखेद गर्छन् अनि आफूभन्दा ठूला घोडाहरूको बीचमा लात हान्दै र दगुर्दै खेल्दा कहिलेकाहीं ती ठूला घोडाहरू पनि तिनीहरूसित खेल्छन्। आफ्नो मसिनो खुट्टाको आडमा यी बछेडाहरू चरा तथा अरू साना जनावरहरूलाई लखेट्दै खेलिरहेका हुन्छन्। लामो, मसिनो खुट्टा, ठूलठूला कालो आँखा र मुलायम नरम छाला भएका सुन्दर बछेडा-बछेडीहरू साना र हेरूँ-हेरूँ लाग्ने हुन्छन्।
स्वतन्त्र अनि मनमोहक
आज जेब्राहरूको ठूल-ठूला बथानहरू अफ्रिकाको विशाल घाँसे मैदानमा अझ पनि स्वतन्त्र भएर दौडिरहेका हुन्छन्। यो दृश्य साह्रै रोमाञ्चक हुन्छ।
सेतो र कालो धर्काहरू भएको, परिवारप्रति वफादार अनि स्वतन्त्र भएर हिंड्ने जेब्रा सानदार र मनमोहक जन्तु होइन भनेर कसले पो भन्न सक्छ र? त्यस्तो जनावरबारे सिक्दा हजारौं वर्षअघि सोधिएको यस प्रश्नको जवाफ पाउन सकिन्छ: जेब्रालाई “कसले . . . खुल्ला छोडिदियो?” (अय्यूब ३९:५) जवाफ स्पष्ट छ। सबै जीवित प्राणीहरूका रचनाकार यहोवा परमेश्वरले। (g02 1/22)
[पृष्ठ १६-मा भएको पेटी]
जेब्राको छालामा किन धर्काहरू भएका?
विकासवादमा विश्वास गर्नेहरूले जेब्राको छालामा भएका धर्काहरूबारे बुझाउन गाह्रो मान्छन्। कोही-कोही त्यसले चेताउनी दिने काम गर्छ भन्छन्। तथापि, सिंह तथा अन्य विशाल सिकारीहरू जेब्राका ती टाटेपाटे धर्काहरू देखेर अलिकता पनि तर्सिंदैनन् भन्ने कुरा स्पष्ट छ।
अरूचाहिं त्यस्ता टाटेपाटे धर्काहरूले यौन आकर्षण गर्छ भन्छन्। तथापि, सबै जेब्राको धर्का उस्ता-उस्तै किसिमको हुने अनि भाले र पोथी हुँदैमा ती धर्काहरू फरकफरक नहुने हुँदा उक्त कुरा मनासिब देखिंदैन।
अर्को सिद्धान्तअनुसार अफ्रिकाको उखुम गर्मीको तापलाई कम गर्न यी सेता र काला धर्काहरू विकास भएका हुन् भनिन्छ। उसोभए, अरू जनावरहरूको छालामा चाहिं किन धर्काहरू छैनन् त?
एउटा प्रचलित सिद्धान्तअनुसार जेब्राको धर्काले यिनीहरूलाई कसैको सिकार हुनदेखि बचाउँछ। अफ्रिकी मैदानको उखुम गर्मीले गर्दा टाढाबाट जेब्रालाई चिन्न गाह्रो पर्छ भनी वैज्ञानिकहरूले पत्ता लगाएका छन्। तथापि, टाढाबाट हेर्दा मात्र झुक्किने कुरा खासै फाइदाको कुरा होइन किनभने जेब्राको सबैभन्दा मुख्य शत्रु, सिंहले एकदमै नजिकबाट आक्रमण गर्छ।
हिंडिरहेको जेब्राको बथानमा आफूले ताकेको कुनै जेब्रालाई सिकार गर्न तिनीहरूको धर्काले सिंहलाई अलमल्लमा पार्छ भन्ने दाबी पनि गरिएको पाइन्छ। तैपनि, वास्तवमा भन्ने हो भने, जंगली जनावरहरूको अध्ययनले देखाएअनुसार अरू जनावरहरूको जस्तै जेब्राको सिकार गर्न पनि सिंह उत्तिकै दक्ष अनि सफल हुन्छ।
उक्त प्रश्नलाई झनै अलमल्ल पार्ने अर्को कुरा के हो भने, जेब्राका धर्काहरू कहिलेकाहीं आफ्नै लागि समेत खतराको कारण हुन्छन्। तिनीहरूको सेतो र कालो धर्काहरूमा राती जुनको उज्यालो किरण परेपछि त एकनासे रङ हुने अरू जनावरहरूलाई भन्दा जेब्रालाई सजिलै देख्न सकिन्छ। सिंहहरूले प्रायजसो राती सिकार गर्ने हुनाले जेब्राको लागि यो झनै खतरानाक साबित हुन सक्छ।
उसोभए, जेब्राका धर्काहरू कहाँबाट आयो त? यस कुराको ज्ञान यो सरल वाक्यबाट पाउन सकिन्छ: “परमप्रभुको आफ्नै हातले यी सबै गर्नुभएको हो।” (अय्यूब १२:९) हो, सृष्टिकर्ता स्वयम्ले पृथ्वीका सम्पूर्ण प्राणीहरूलाई बेजोड स्वरूप तथा गुणहरू दिई जीवनको लागि अद्भुत ढंगमा सुसज्जित पारेर तिनीहरूको रचना गर्नुभएको कारण मानिसले कतिपय कुराहरू पूर्णतया बुझ्न सक्दैनन्। जीवित प्राणीहरूको अनौठो संरचनाले अर्को उद्देश्य पनि पूरा गर्छ। यसले मानिसको हृदयलाई आनन्दित तुल्याउँछ, मनोरञ्जन दिन्छ र खुसी पार्छ। निस्सन्देह, सृष्टिको सुन्दरताले आज थुप्रैलाई पुरातन समयका दाऊदलाई जस्तै यस्तो महसुस गराउँछ: “हे परमप्रभु, . . . सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो। पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।”—भजन १०४:२४.