थुप्रै ठाउँबाट सान्त्वना तथा अनुकम्पा
थुप्रै ठाउँबाट सान्त्वना तथा अनुकम्पा
संयुक्त राज्यका विभिन्न प्रान्त तथा अन्य देशहरूबाट स्वयम्सेवकहरू आए। त्यस्तै स्वयम्सेवकहरूमध्ये क्यानाडाको ओटावाबाट आएका २९ वर्षीय वारुणकर्मी टम (माथि देखाइएको) पनि थिए। तिनले ब्यूँझनुहोस्!-लाई यसो भने: “मैले उक्त घटना टिभीमा देखें र न्यु योर्कका मेरा सँगी वारुणकर्मीहरूलाई भावनात्मक तवरमा सहयोग गर्न इच्छुक भएँ। म शुक्रबारको दिन न्यु योर्क गएँ र मदत गर्न शनिबार घटनास्थल पुगें। मलाई बकेट ब्रिगेद भनिने बाल्टिनबाट भग्नावशेष अन्यत्र सार्ने समूहमा खटाइयो।”
“त्यस दुर्घटनामा परेका वारुणकर्मीहरूको कुनै चिनो पाउने आशामा हामीले एक-एक सावेल गर्दै भग्नावशेषहरू हटाउन थाल्यौं। मैले बन्द ढोका खोल्ने एउटा हालिगन औजार र पाइपहरू जोड्न प्रयोग गरिने सामग्री पनि भेट्टाएँ। यो एकदमै कठिन कार्य थियो। एक ट्रक फोहोर जम्मा गर्न ५० जना स्वयम्सेवकहरूलाई दुई घण्टा लाग्यो।
“सोमबार सेप्टेम्बर १७ मा हामीले केही वारुणकर्मीहरूको लासलाई बाहिर निकाल्यौं। ती वारुणकर्मीहरू अघिल्लो मंगलबार त्यस भवनभित्र पसेका थिए। त्यस दृश्यलाई म कहिल्यै भुल्न सक्दिनँ, सबै उद्धार कर्मीहरूले काम गर्न बन्द गरेर हाम्रा मृतक सहकर्मीहरूको सम्मानमा आ-आफ्नो टोपी तथा हेल्मेट फुकालेर उभिए।”
“त्यस घटनास्थलको दृश्यलाई हेर्दा हाम्रो जीवन कत्ति नाजुक रहेछ भन्ने कुराले मलाई झस्कायो। यसले मेरो जीवन, काम र परिवारबारे सोच्न बाध्य तुल्यायो। जोखिमपूर्ण भए तापनि मेरो जागिरले मानिसहरूलाई मदत गर्ने र अझ उनीहरूको जीवन नै बचाउने भएकोले एकदमै इनामदायी छ।”
साक्षीहरू व्यावहारिक मदत दिन्छन्
त्यो दुर्घटना भएको दुई दिनपछिसम्म झन्डै ७० जनाले यहोवाका साक्षीहरूको मुख्यालयमा शरण लिए। आफ्ना होटेलका कोठा तथा सामानहरू गुमाउनु परेकाहरूलाई बस्ने ठाउँ र फेर्नको लागि एक सरो लुगा दिइयो। तिनीहरूको लागि भोजनको प्रबन्ध पनि मिलाइयो। अझ त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त, तिनीहरूलाई अनुभवी मसीही प्राचीनहरूले भावनात्मक तवरमा सहयोग गरे।
ग्राउन्ड जिरो भनिने उक्त घटनास्थलमा खोजी तथा उद्धार कार्यमा जुटेका कामदारहरूका लागि यहोवाका साक्षीहरूले आवश्यक आकस्मिक साधन तथा सामग्रीहरू पनि पठाइदिए। वारुणकर्मीहरूलाई उद्धार क्षेत्रसम्म जान आउनका लागि आवश्यक यातायात सेवा पनि अग्नि नियन्त्रण विभागलाई उपलब्ध गराइयो। यसमा फोहोर मैला ओसार्ने ३९ वर्षीय साक्षी रिकार्डोलगायत (दायाँतिर, सबैभन्दा माथि) अन्य सयौं कामदारहरू पनि सम्मिलित थिए र तिनीहरूले हरेक दिन टनका टन फोहोर हटाउने सरसफाइ कार्यमा भाग
लिए। तिनले ब्यूँझनुहोस्!-लाई यसो भने: “त्यो ठाउँ निकै तनाउपूर्ण थियो, अझ भनौं भने, आफ्ना हराएका सहकर्मीहरूको खोजी गरिरहेका वारुणकर्मीहरूको लागि त झनै तनाउपूर्ण थियो। तिनीहरूले एक जना वारुणकर्मीलाई जिउँदै बाहिर निकालिरहेको मैले देखें। अर्को एक जना वारुणकर्मीचाहिं अर्को मान्छेको लासले थिचिएर मरेको थियो। थुप्रै वारुणकर्मीहरू रोइरहेका थिए। म पनि भावविह्वल भएर रोएँ। त्यस दिन तिनीहरूजस्तो साहसी त्यहाँ अरू कोही पनि थिएनन्।”“समय र अवसर”
त्यस विपत्तिमा परेर हजारौं मानिसहरू मरे। तिनीहरूमध्ये कम्तीमा पनि १४ जना साक्षीहरू त्यो दुर्घटना हुँदा त्यहीं वा त्यसकै वरपर थिए। ट्रिनिडाडका ६५ वर्षीया जोइस क्युमिंग्स विश्व व्यापार केन्द्रनजिकै दन्त चिकित्सककहाँ गएकी थिइन्। दुःखको कुरा, त्यो समय उक्त दुर्घटना घटेको बेलातिर पऱ्यो। धूवाँले गर्दा उकुसमुकुस भएको कारण तिनलाई तुरुन्तै अस्पताल पुऱ्याइयो। तर उनीहरूले तिनलाई बचाउन सकेनन्। तिनी पनि ‘समय र अवसरको’ वशमा परेकाहरूमध्येकै थिइन्। (उपदेशक ९:११) तिनी एक जोसिलो प्रचारकको रूपमा चिनिन्थी।
क्यालभिन डसन (पेटी हेर्नुहोस्) दक्षिणपट्टिको भवनको ८४ औं तलामा रहेको एउटा दलाली कारोबार गर्ने कार्यालयमा काम गर्थे। उत्तरको भवनलाई जहाजले ठक्कर दिने बित्तिकैको सबै दृश्य तिनले आफ्नो कार्यालयबाट राम्ररी देखेका थिए। त्यति नै बेला तिनका मालिकले कार्यालयमा फोन गरेर के भयो भनी तिनीसित सोधपुछ गरे। उनले यसो भने: “क्याल्भिन आफूले देखेका कुराहरू बताउन खोज्दैथिए। क्याल्भिनले भने, ‘मानिसहरू हाम्फाल्दै छन्!’ मैले तिनलाई बाहिर निस्कन र त्यहाँ काम गर्ने जति सबैलाई पनि बाहिर निकाल्न अह्राएँ।” क्याल्भिन त्यहाँबाट बच्न सकेनन्। उक्त मालिक अझै यसो भन्छन्: “क्याल्भिन साह्रै राम्रो मानिस थियो र हामी सबैले अझ भनौं भने, हामीमध्ये आध्यात्मिक कुरामा ध्यान नदिनेहरू समेतले तिनको मूल्यांकन गर्थ्यौं। तिनको ईश्वरभक्ति र मायालु स्वभावको हामी प्रशंसा गर्थ्यौं।”
त्यस दुर्घटनाको सिकार हुने अर्को साक्षी चार जना छोराछोरीका बाबु अनि अग्नि नियन्त्रण विभागका क्याप्टेन जेम्स अमाटो (सँगैको पृष्ठको तल दायाँपट्टि) थिए। “आगो लागेको भवनबाट मानिसहरू भागिरहेको बेला तिनी भने
त्यस भवनभित्र पस्ने” निर्भीक मानिस थिए भनी तिनलाई चिन्नेहरू सबैले भन्ने गर्थे। जेम्सलाई तिनको अनुपस्थितिमै अग्नि नियन्त्रण विभागको गण प्रमुखमा बढुवा गरियो।जर्ज डीपास्क्वाले नाउँको अर्का साक्षीले सात वर्षसम्म वारुणकर्मीको रूपमा काम गरिसकेका थिए। तिनको विवाह मेलिसासित भएको थियो र तिनको जर्जिया रोज नाउँकी दुई वर्षीया सानी छोरी थियो। स्टेटेन टापुको यहोवाका साक्षीहरूको मण्डलीमा तिनी प्राचीनको रूपमा सेवा गर्दै थिए र तिनी दक्षिणी भागको भवन ढल्दा त्यसैको दशौं तलामा थिए। अरूको ज्यान बचाउन खोज्दा तिनले पनि आफ्नो ज्यान गुमाउनुपऱ्यो।
मानिसहरूको उद्धार गर्ने क्रममा यी दुई जनाले मात्र नभई अन्य सयौं साहसी वारुणकर्मी, प्रहरी र आकस्मिक कार्यकर्ताहरूले आफ्नो ज्यान गुमाए। यी उद्धारकर्मीहरूले देखाएको साहसको वर्णन गरेर साध्य नै छैन। न्यु योर्क शहरका मेयर रुडोल्फ जुलियानीले बढुवा भएका वारुणकर्मीहरूको एउटा समूहलाई पछि यसो भने: “त्यस्तो डरलाग्दो परिस्थितिमा पनि तपाईंहरू साहसी भई अघि बढ्न इच्छुक हुनु हाम्रोलागि प्रेरणादायी कुरा हो। . . . अनि . . . न्यु योर्क शहरको अग्नि नियन्त्रण विभागले देखाएको जस्तो साहस अरू कसैले पनि देखाएको छैन।”
सान्त्वना प्रदान गर्ने सेवकाई
त्यो दुर्घटना भएपछिका दिनहरूमा संयुक्त राज्य अमेरिकाका ९,००,००० यहोवाका साक्षीहरूले दुःखमा परेकाहरूलाई सान्त्वना दिन संयुक्त प्रयास गरे। छिमेकीप्रतिको प्रेमले तिनीहरूलाई दुःखमा परेकाहरूलाई सान्त्वना दिन उत्प्रेरित गऱ्यो। (मत्ती २२:३९) दुःखमा परेका मानवजातिका लागि एक मात्र साँचो आशातर्फ ध्यानाकर्षित गर्न तिनीहरूले आफ्नो सेवकाईमा यथासक्दो कोसिस गरे।—२ पत्रुस ३:१३.
जन समुदायसित भेटघाट गर्दा साक्षीहरूले अनुकम्पा देखाए। तिनीहरूको उद्देश्य धर्मशास्त्रबाट सान्त्वना दिनु र ख्रीष्टको यो स्फूर्तिदायी उदाहरण अनुकरण गर्नु थियो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।”—मत्ती ११:२८-३०.
यहोवाका साक्षीहरूको स्थानीय म्यानहाटन मण्डलीका प्राचीनहरूको समूहलाई त्यस घटनास्थलभित्र गएर उद्धारकर्मीहरूलाई सान्त्वना दिने अनुमति दिइयो। यिनीहरूले सकारात्मक प्रतिक्रिया देखाए। यी सेवकहरूले यस्तो टिप्पणी गरे: “हामीले तिनीहरूलाई शास्त्रपदहरू देखाउँदा ती मानिसहरूको गह आँसुले भरियो।” बन्दरगाहमा बिसाइएको डुँगामा बसेर उद्धारकर्मीहरूले पीडा भुल्ने प्रयास गरिरहेका थिए। “तिनीहरू असाध्यै निराश देखिन्थे र आफूले देखेका कुराहरूसित डट्न नसकेको कारण तिनीहरूले आफ्नो टाउको झुकाएर बसेका थिए। हामी तिनीहरूसँगै बस्यौं र बाइबलको पद पढेर सुनायौं। ती मानिसहरूले आफूलाई यस्तै किसिमको सान्त्वना चाहिएको थियो भनी टिप्पणी गर्दै हामीलाई त्यहाँ आएकोमा धन्यवाद दिए।”
यस दुःखद घटनापछि भेटिएका मानिसहरू केही पढ्न चाहन्थे र फलस्वरूप हजारौं पुस्तिकाहरू निश्शुल्क वितरण गरियो। तीमध्ये केही तपाईंको प्रियजनको मृत्यु हुँदा, विल देयर एभर बि अ वर्ल्ड विथआउट वार? र के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? भन्ने पुस्तिकाहरू थिए। त्यसबाहेक ब्यूँझनुहोस्!-का दुईवटा अंकमा छापिएका आवरण लेखहरूलाई पनि विशेष ध्यान दिइयो। ती हुन्: “आतंकवादको नयाँ रूप” (जून ८, २००१) र “डरलाग्दो घटनाले उब्जाएको तनाउको सामना गर्ने।” (अगस्त २२, २००१ [अंग्रेजी]) थुप्रै परिस्थितिहरूमा साक्षीहरूले पुनरुत्थानसम्बन्धी बाइबलले प्रदान गर्ने आशाबारे व्याख्या गरे। (यूहन्ना ५:२८, २९; प्रेरित २४:१५) करोडौं मानिसहरूकहाँ यस्तो सान्त्वनादायी सन्देश पुगेको हुनुपर्छ।
यसले हामीलाई सोच्न उत्प्रेरित गर्नुपर्छ
न्यु योर्क शहरमा घटेको जस्ता घटनाहरूले हामीलाई आफ्नो जीवन कसरी बिताइरहेका छौं, त्यसबारे विचार गर्न उत्प्रेरित गर्नुपर्छ। के हामी आफ्नो स्वार्थ मात्र पूरा गर्दैछौं वा अरूको आनन्दको लागि पनि केही योगदान पुऱ्याइरहेका छौं? अगमवक्ता मीकाले यस प्रकार सोधे: “परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्वरसित नम्र भएर हिंड़नू।” (मीका ६:८) मरेकाहरूका लागि साँचो आशाबारे र यस पृथ्वीमा प्रमोदवनरूपी परिस्थिति स्थापना गर्न परमेश्वरले के गर्नुहुनेछ भनेर परमेश्वरको वचन बाइबलबाटै बुझ्न हामीमा नम्र मनोभाव हुनुपर्छ। बाइबलका प्रतिज्ञाहरूबारे अझ बढी जान्न चाहनुहुन्छ भने, तपाईंको टोलछिमेकका यहोवाका साक्षीहरूसित सम्पर्क राख्न हामी तपाईंहरूलाई आग्रह गर्छौं।—यशैया ६५:१७, २१-२५; प्रकाश २१:१-४. (g02 1/8)
[पृष्ठ ११-मा भएको पेटी/चित्र]
टाट्यानाको प्रार्थना
क्याल्भिन डसनकी विधवा पत्नी लेनाले आफ्नी सात वर्षीया छोरीले आफ्नो बाबु अब फर्कनेछैनन् भन्ने कुरा दुई/तीन दिनपछि थाह पाएपछि गरेको प्रार्थनाबारे ब्यूँझनुहोस्!-लाई बताए। लेनाले प्रार्थना गरिसकेपछि टाट्यानाले सोधिन्, “मम्मी, म प्रार्थना गरूँ?” आमाले हुन्छ भनिन्। टाट्यानाले यसरी प्रार्थना गरिन्: “यहोवा, स्वर्गमा हुनुहुने हाम्रो पिता, हामी तपाईंलाई यस भोजन र यस नयाँ दिन देख्ने मौका दिनुभएको लागि धन्यवाद दिन चाहन्छौं। अनि तपाईंको आत्मा म र मम्मीमाथि रहोस् ताकि हामी बलियो हुन सकौं। तपाईंको आत्मा बुबामाथि पनि रहोस् र उहाँ फर्कनुहुँदा बलियो हुन सकून्। अनि उहाँ फर्कनुहुँदा राम्रो, हट्टाकट्टा र आनन्दित अनि स्वस्थ हुन सकून् र हामी उहाँलाई फेरि भेट्नेछौं। येशूको नाउँमा . . . अँ, मेरी मम्मीलाई बलियो बनाउनचाहिं नभूल्नुहोला नि। आमिन।”
टाट्यानाले कुरा राम्ररी बुझिन् कि बुझिनन् भनी पक्का नभएको कारण लेनाले तिनलाई सोधिन्: “टायना, तिमीले एकदमै राम्रो प्रार्थना गऱ्यौ। तर, छोरी, ड्याडी फर्कनुहुनेछैन भनेर के तिमीलाई थाह छ?” अचानक टाट्यानाको अनुहारै अँध्यारो भयो। “आउनुहुन्न?” तिनले सोधिन्। तिनकी आमाले भनिन् “हो, आउनुहुन्न। मैले तिमीलाई भनिसकें नि। ड्याडी फर्केर आउनुहुन्न भनेर तिमीले बुझ्यौ होली भन्ठानेकी थिएँ।” टाट्यानाले भनिन्: “तर तपाईंले मलाई सधैं उहाँ नयाँ संसारमा आउनुहुनेछ भनी भन्नुहुन्थ्यो त!” अन्तमा आफ्नी छोरीले के भन्न खोजेको कुरा बुझेपछि लेनाले भनिन्: “मलाई माफ गर, टाट्याना। मैले तिम्रो कुरा बुझिनछु। मलाई त तिमीले ड्याडी भोली फर्कनुहुनेछ भन्ठानेकी छ्यौ होला जस्तो लागेको थियो।” लेनाले यसो भनिन्: “नयाँ संसार तिनलाई साँच्चै वास्तविक लाग्दो रहेछ भन्ने कुरा बुझेर मलाई खुसी लाग्यो।”