पर्यटन—विश्वव्यापी उद्योग
पर्यटन—विश्वव्यापी उद्योग
बहामासका ब्यूँझनुहोस्! लेखकद्वारा
‘मलाई बिदा चाहियो’ भनेर तपाईंले भन्नुभएको कति भयो? तपाईंलाई दैनिक जीवनका तनाउहरूबाट केही समयको लागि भए पनि मुक्त हुन मन लागेको हुन सक्छ। के तपाईं आफ्नो बिदा मनाउन टाढा-टाढाका ठाउँहरूमा जानुभएको छ? यस कुरालाई याद गर्नुहोस्: लगभग एक शताब्दीअघि पृथ्वीका धेरैजसो मानिसहरूले अहिलेजस्तो नियमित तवरमा बिदा लिंदैनथे। त्यति मात्र होइन, प्रायजसो मानिसहरू जीवनभर आफ्नो जन्मथलो छोडेर अन्त कतै जाँदैनथे। मनोरञ्जन वा पढाइको लागि धेरै टाढाका ठाउँहरूमा भ्रमण गर्नु भनेको साहसी वा धनाढ्यहरूको सानो समूहमा मात्र सीमित थियो। तर आज लाखौं मानिसहरू आफ्नो देशको एक छेउदेखि अर्को छेउसम्म जान्छन् वा पूरै पृथ्वीको परिक्रमा गर्छन्। यस्तो परिवर्तन हुनुको कारण के हो?
औद्योगिक क्रान्तिपछि करोडौं मानिसहरू सरसामान उत्पादन गर्ने र सेवा प्रदान गर्ने कार्यमा संलग्न भए। त्यसको परिणामस्वरूप आम्दानी बढ्न थाल्यो र अन्ततः आयस्रोत पनि बढ्यो। प्रविधिमा भएको तीव्र विकासले गर्दा साधारणतया थुप्रै मानिसहरूले गर्नुपर्ने काम मेसिनहरूले गर्न थाल्यो र निक्कै पैसा पनि बच्यो। यसले गर्दा मानिसहरूसित मनोरञ्जन गर्ने समय प्रशस्त भयो। यी अवस्थाहरूलगायत १९०० दशकको बीचतिर धेरै यात्रुहरू ओसारपसार गर्नसक्ने यातायातका साधनहरूको विकासले पनि पर्यटनक्षेत्रका सबै ढोकाहरू खोलिदियो। त्यसपछि, हालसालै आविष्कार गरिएका तीन थुप्रो सञ्चार उद्योगहरूले घरमै बसी-बसी हेर्न सकिने कार्यक्रमहरूमार्फत् विश्वभ्रमण गर्ने इच्छालाई झनै जगायो।
परिणामस्वरूप विश्वव्यापी पर्यटन उद्योगको विस्तार तीव्र गतिमा भइरहेको छ। सन् १९९७ तिर अन्तरराष्ट्रिय तवरमा यात्रा गर्ने मानिसहरूको संख्या ६१ करोड ३० लाखबाट बढेर सन् २०२० सम्ममा १ अरब ६० करोड पुग्ने अनुमान विश्व पर्यटन संगठनले (डब्लु टि ओ) गरेको छ र त्यसमा कमी आउने कुनै सम्भावना देखिंदैन। यस्तो वृद्धिले गर्दा व्यवसाय, रिसोर्टका साथै विभिन्न राष्ट्रहरूले पर्यटकहरूलाई पुऱ्याउने सुविधाहरूमा पनि वृद्धि भएको छ।
थुप्रै राष्ट्रहरू पर्यटन बजारमा प्रवेश गर्छन्
वास्तवमा पर्यटन भनेको दुवै पक्षलाई फाइदा पुऱ्याउने प्रबन्ध हो। उपभोक्ता आफ्नो दैनिक तालिकाबाट छुटकारा पाएर तृप्त हुन्छ, मनोरञ्जन गर्छ वा शिक्षा पाउँछ। तर सेवा प्रदान गर्नेहरूले चाहिं कस्ता फाइदाहरू पाउँछन्? अन्तरराष्ट्रिय पर्यटन भनेको विदेशी मुद्रा आर्जन गर्ने एउटा तयारी माध्यम हो। विदेशबाट वस्तु वा सेवा आयात गर्न थुप्रै राष्ट्रहरूलाई विदेशी मुद्राको आवश्यकता पर्छ।
वास्तवमा, विश्व पर्यटन संगठनको रिपोर्टले यसो भन्यो: “अन्तरराष्ट्रिय पर्यटन विदेशी मुद्रा कमाउने विश्वकै सबैभन्दा ठूलो व्यापार हो र थुप्रै राष्ट्रहरूको भुक्तान सन्तुलनमा यसले महत्त्वपूर्ण भूमिका खेल्छ। अन्तरराष्ट्रिय पर्यटनबाट प्राप्त हुने रकम सन् १९९६ मा पेट्रोलियम पदार्थ, यातायातका
साधनहरू, सञ्चार सामग्री, कपडा अथवा अन्य उत्पादन वा सेवाहरूको निर्यातबाट प्राप्त हुने विदेशी मुद्राहरूभन्दा पनि निकै बढी ४२३ अरब अमेरिकी डलर पुगेको छ।” सोही रिपोर्टले अझ यसो भन्यो: “पर्यटन व्यवसाय विश्वकै सबैभन्दा द्रुत गतिमा वृद्धि हुँदै गइरहेको व्यवसाय हो” र यसले “विश्वको कुल आन्तरिक उत्पादनको १० प्रतिशतभन्दा बढी भाग ओगटेको छ।” अतः आज भूतपूर्व सोभियत गणतन्त्रका केही देशहरूलगायत थुप्रै राष्ट्रहरू अन्तरराष्ट्रिय पर्यटन व्यवसायमा लाग्न आतुर देखिनु कुनै आश्चर्यको कुरा होइन।पर्यटनबाट आम्दानी हुने सरकारी राजस्वलाई भौतिक पूर्वाधार तयार पार्न, उच्च स्तरको शिक्षा प्रदान गर्न र अन्य अत्यन्तै अपरिहार्य राष्ट्रिय आवश्यकताहरू पूरा गर्न प्रयोग गरिन्छ। लगभग सबै सरकारहरू आफ्ना सबै नागरिकहरूले जागिर पाओस् भन्ने चाहन्छन्। पर्यटन क्षेत्रले प्रदान गर्ने जागिरले यस्तो आवश्यकता पूरा गर्न मदत गर्छ।
पर्यटनले राष्ट्रको अर्थतन्त्रमा पार्ने असरबारे बुझ्न मेक्सिको खाडीदेखि सुरु भएर संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्य र क्युबा टापुको बीचमा रहेको सा-साना टापुहरूको राष्ट्र बहामासलाई विचार गर्नुहोस्। बहामासमा व्यापारिक तवरमा उपयोगी हुन सक्ने कुनै पनि खेतीजन्य सामग्री तथा औद्योगिक कच्चा पदार्थहरू पाइँदैन भने पनि हुन्छ। तर यी टापुहरूमा न्यानो तापक्रम, सफा अनि स्वच्छ उष्णकटिबन्धीय तटहरू, लगभग साढे दुई लाख मित्रैला मानिसहरू हुनुका साथै संयुक्त राज्य अमेरिका नजिकै छ। यी सम्पत्तिहरू फलदायी पर्यटन उद्योगको सिर्जना गर्न उपयोगी साबित भएका छन्। तर पर्यटकहरूको बिदा रमाइलो र सुरक्षित बनाउन के गर्नुपर्छ?
आधुनिक समयमा बिदा मनाउनेहरूको चित्त बुझाउने
अन्तरराष्ट्रिय पर्यटनको सुरुमा निकै दुःखकष्ट झेलेर विदेश भ्रमण गर्ने थुप्रै मानिसहरू त्यति सन्तुष्ट हुँदैनथे। तथापि, आज आम सञ्चार माध्यमहरूले गर्दा धेरै टाढाका गन्तव्यस्थानहरूको झलकसमेत घरमै बसी-बसी टेलिभिजनमा हेर्न सकिन्छ। तसर्थ, त्यस्तो भ्रमणलाई आरामदायी बनाएर घरकै जस्तो वा त्योभन्दा राम्रो सुविधा दिएर यात्रालाई उल्लेखनीय अनुभव बनाउनु रिसोर्टहरूका लागि साँच्चै चुनौतीपूर्ण भएको छ। त्यसबाहेक, थुप्रै पर्यटकहरू प्रायजसो यात्रा गरिरहने भएकोले त्यस्ता ठाउँहरूमा पर्यटन निम्त्याउन विश्वव्यापी रूपमै प्रतिस्पर्धा भइरहेको पाइन्छ।
यसले गर्दा मानिसहरूलाई आकर्षित गर्ने विभिन्न तरिकाहरूका साथसाथै रिसोर्टहरूको संख्यामा पनि वृद्धि भएको छ। उदाहरणका लागि, बहामासको एउटा ठूलो आरामदायी होटेललाई विचार गर्नुहोस्। “तपाईंले बिताउनुहुने प्रत्येक दिनहरू अविस्मरणीय पार्ने ढंगमा यो रिसोर्ट निर्माण गरिएको छ” भनेर होटेलका संगठन विकासका निर्देशक, बेभर्ली सन्डर्ज बताउँछिन्। “तर हामी अझ बढी गर्न चाहन्छौं। तपाईंको भ्रमणलाई अझ अविस्मरणीय बनाउन हामी तपाईंहरू स्थानीय मानिसहरूसित पनि घुलमिल भएको हेर्न चाहन्छौं।” त्यस्ता रिसोर्टहरूले आफ्ना पाहुनाहरूको आवश्यकता कसरी पूरा गर्छन्?
रिसोर्टहरूमा गरिने अन्य कामहरू
“हाम्रो रिसोर्टका सबै २,३०० वटा कोठा भरिंदा झन्डै ७,५०० देखि ८,००० जति पाहुनाहरूको आवश्यकता एकै चोटिमा पूरा गर्नुपर्ने हुन्छ” भनी बेभर्ली बताउँछिन्। “यस्तो योजना बनाउनु र कार्यान्वयन गर्नु निकै चुनौतीपूर्ण छ। यस संगठनले यी सबै पाहुनाहरूको आवश्यकता पूरा गर्नु भनेको एउटा सानो शहर सञ्चालन गर्नु जत्तिकै हो तर यसमा थप चुनौतीहरू पनि हुन्छन्। हाम्रा पाहुनाहरूलाई उनीहरूको घरको जस्तै भोजन उपलब्ध गराउनुपर्छ। तर तिनीहरूको अनुभवलाई अविस्मरणीय बनाउने हो भने, असाध्यै स्वादिष्ट खाना तथा मनोरञ्जनहरूको पनि प्रबन्ध गर्नुपर्छ। थुप्रै रिसोर्टहरूमा ५० प्रतिशत वा त्योभन्दा बढी कामदारहरू खानपानको व्यवस्था गर्नमै जुटेका हुन्छन्।”
तैपनि, “नेपालमा पर्यटनको सामाजिक तथा साँस्कृतिक प्रभाव” विषयक आफ्नो निबन्धमा आइ. के. प्रधान यस्तो लेख्छन्, “यात्रा गर्दा वास्तविक मनोरञ्जन र आनन्द पाउने कुरा स्थानीय मानिसहरूले पाहुनालाई गर्ने व्यवहार र तिनीहरूले महसुस गर्ने सुरक्षामा निर्भर हुन्छ।”
संसारका सफल पर्यटकीय रिसोर्टहरूले यी क्षेत्रहरूमा
कसरी अत्यधिक सन्तुष्टि प्रदान गर्छन्? बहामासको प्रमुख रिसोर्टको प्रशिक्षण कार्यमा निरीक्षण गर्ने प्रबन्धक त्यसो कसरी गरिन्छ भन्ने विषयमा यस्तो जवाफ दिन्छिन्, “सिकाएर, उचित व्यवहार विकास गर्न लगाएर, प्रशिक्षण अनि गुणस्तरीय सेवा प्रदान गर्न अनुसन्धान गर्दै त्यस्ता त्रुटीहरू हटाएर। “बहामासका प्रायजसो बासिन्दाहरू स्वाभाविकतः असल मिजासका हुन्छन्। तर काम गर्दा भने तिनीहरूलाई सधैं मित्रैलो, रमाइलो अनि हँसिलो देख्न सकिंदैन। त्यसैकारण अरूले जस्तोसुकै व्यवहार गरे तापनि आफूले चाहिं डाक्टर, वकिल वा इन्स्युरेन्स कम्पनीका अभिकर्ताले जस्तै पेसागत व्यवहार देखाउनुपर्ने आवश्यकता तिनीहरूमा जगाउँछौं। पर्यटकहरूको सुविधाकै लागि हामी जुनसुकै कार्यमा पनि अन्तरराष्ट्रिय स्तरहरू पालन गर्ने गर्छौं। यस्ता स्तरहरू प्राप्त गर्न हामीले सामूहिक तवरमा जति बढी परिश्रम गर्छौं, हाम्रो काम पनि त्यत्ति नै सुगम र उच्चस्तरीय हुन्छ।”पर्यटनको अर्को पक्ष
तपाईंले पनि यात्रा गर्नुभएको छ भने, के राम्रो योजना बनाउँदा-बनाउँदै पनि सोच्दै नसोचेको खर्च बेहोर्नुपरेको अनुभव गर्नुभएको छ? पर्यटन व्यवसायीहरूले पनि त्यस्तै अनुभव गरिरहेका छन्।
“पर्यटन व्यवसायले हाम्रो विकासोन्मुख समाजमा थुप्रै लाभ पुऱ्याउन सक्छ” भनी माथि उल्लिखित प्रधान बताउँछन्। तथापि, सही कदम चालिएन भने “समाधानै गर्न नसकिने खालका समस्याहरू पनि उब्जिन सक्छन्” भनी तिनी टिप्पणी गर्छन्। तिनी अझ यसो भन्छन्: “[हामी] आधुनिक पर्यटनले पार्न सक्ने विभिन्न असरहरूको बारेमा सजग हुनु निकै आवश्यक छ।” तिनले कस्ता समस्याहरूबारे उल्लेख गर्दैथिए?
“ठूलो संख्यामा पर्यटकहरू आउने राष्ट्रहरूले जान-अन्जानमै प्रायजसो परम्परागत जीवनशैली लोप हुनुजस्ता गम्भीर समस्या अनुभव गर्नुपरेको छ। केही ठाउँहरूमा त स्थानीय संस्कृति लोप हुँदै गइरहेका छन्।” बहामासको पर्यटन मन्त्रालयका उच्च अधिकारी कोर्डेल थमसनले पर्यटनको नकारात्मक असरबारे त्यसरी वर्णन गरे। आफ्नो देशमा पर्यटनले ल्याएका लाभहरूबारे थमसन गर्वका साथ बताउँछन्। तैपनि, जुन ठाउँमा बिदा मनाउन धेरै संख्यामा मानिसहरू ओइरिने गर्छन् तीमध्ये अधिकांशले स्पष्ट देख्न नसकिने थुप्रै असरहरू पारिरहेका हुन्छन्।
उदाहरणका लागि, पर्यटकहरूसित काम गर्ने कसै-कसैले आगन्तुकहरूले सधैं बिदा मनाइरहेका हुन्छन् भन्ने भ्रमपूर्ण सोचाइहरू राख्न थालेको महसुस गरेका छन्। स्थानीय बासिन्दाहरूले पनि यस्तो काल्पनिक जीवनशैलीको नकल गर्ने प्रयास गर्न सक्छन्। अरूलाई चाहिं त्यस्तो असर पर्दैन। तर आफ्नो फुर्सतको समय यस्ता रिसोर्टहरूमा बिताएर तिनीहरूले आफ्ना परम्परागत जीवनशैली त्याग्न थाल्छन्। कहिलेकाहीं पर्यटकहरूका लागि निर्माण गरिएका भवनहरू स्थानीय बासिन्दाहरूले असाध्यै मन पराउन थाल्छन् र कुनै-कुनै ठाउँमा समाजको केन्द्रबिन्दु बनेका स्वदेशी संस्कृति अन्ततः कमजोर हुँदै अस्तित्वबाटै विलीन भएर जान्छ।
थुप्रै प्रख्यात अन्तरराष्ट्रिय पर्यटनस्थलहरू दुई शक्तिहरूका माझमा पिल्सिएर संकटमा परेका छन्। तिनीहरू आगन्तुकहरू ओइरोलाग्दा पाउने आम्दानी हासिल गर्न चाहन्छन्। यद्यपि, तिनीहरू पर्यटकहरूको अवैध चाहनाहरूलाई सन्तुष्ट पार्न खोलिएका उद्योगहरूबाट उब्जेका सामाजिक समस्याहरूको बोझमा दबिएका हुन्छन्।
दिगो पर्यटन
आधुनिक पर्यटनका ठूल-ठूला फाइदाहरू भए तापनि त्यसले यसको निरन्तरतालाई खतरामा पारेको कारण हाल “दिगो पर्यटन” भन्ने अभिव्यक्ति निकै प्रचलित हुन थालेको छ। केही मुनाफादायी पर्यटनले दिने अस्थायी लाभहरूले ‘सुनको अण्डा दिने कुखुरालाई नै मार्ने’ खतरा हुन्छ भन्ने कुरा कसै-कसैले बुझ्न थालेको कुरा यसले प्रकट गर्छ। यो उद्योग रहिरहने हो भने, केही कठिन विवादहरू सुल्झाउनु आवश्यक छ।
पर्यटनले वातावरणमा पार्ने असर, स्वदेशी संस्कृतिलाई पुऱ्याउने आघात अनि नाफा कमाउने उद्देश्यले खोलिएका रिसोर्ट तथा ठूल-ठूला रिसोर्टहरूको उद्देश्य र सोही देशका राष्ट्रिय उद्देश्यहरू केही विचार गर्नुपर्ने कुराहरू हुन्, जसलाई आगामी दिनहरूमा सन्तुलनमा राख्नुपर्छ। हालैका केही महिनाहरूमा शान्ति र सुरक्षाको समस्याले यातायात व्यवसायमा गम्भीर संकट निम्त्याएको छ र यी समस्याहरू पनि चाँडै सुल्झाउनुपर्छ। यी समस्याहरूले समयको दौडान आधुनिक पर्यटन विकास कायम राख्न कस्तो असर पार्नेछ, त्यो हेर्न भने बाँकी नै छ।
सायद, अर्को चोटि तपाईं पनि आफ्ना सबै दैनिक क्रियाकलापलाई केही समयको लागि बिर्सेर घरदेखि धेरै टाढा रिसोर्टहरूमा आराम गर्न जानुहुँदा यस राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटनको विश्वव्यापी उद्योगलाई हल्का ठान्नुहुनेछैन। (g02 2/8)
[पृष्ठ १७-मा भएको पृष्ठभरिको चित्र]