सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रधान दूत माइकल को हुन्‌?

प्रधान दूत माइकल को हुन्‌?

बाइबलको दृष्टिकोण

प्रधान दूत माइकल को हुन्‌?

बाइबलले बताएअनुसार आत्मिक संसारमा लाखौं स्वर्गदूतहरू छन्‌। (दानियल ७:९, १०; प्रकाश ५:११) परमेश्‍वरप्रति वफादार रहने स्वर्गदूतहरूबारे धर्मशास्त्रको सुरुदेखि अन्तसम्म सयौं चोटि उल्लेख गरिएको छ। तथापि, यी आत्मिक प्राणीहरूमध्ये दुई जनाको मात्र नाउँ तोकेर दिइएको छ। एक जना गब्रिएल हुन्‌, जसले ६०० वर्षको दौडान तीन जना व्यक्‍तिलाई परमेश्‍वरको सन्देश सुनाएका थिए। (दानियल ९:२०-२२; लूका १:८-१९, २६-२८) बाइबलमा नाउँ तोकेरै बताइएको अर्को स्वर्गदूत चाहिं माइकल हुन्‌।

माइकल उल्लेखनीय स्वर्गदूत हुन्‌। उदाहरणका लागि, दानियलको पुस्तकमा माइकललाई यहोवाका जनहरूको पक्ष लिएर दुष्ट प्रेतहरूसँग युद्ध गर्ने स्वर्गदूत भनेर वर्णन गरिएको छ। (दानियल १०:१३; १२:१) यहूदाको प्रेरित पत्रमा, मोशाको लासबारे माइकलले शैतानसँग विवाद गरेको विवरण छ। (यहूदा ९) प्रकाशको पुस्तकमा माइकलले शैतान र त्यसका प्रेतहरूसँग युद्ध गरेको र तिनीहरूलाई स्वर्गबाट तल खसालेको विवरण छ। (प्रकाश १२:७-९) परमेश्‍वरका शत्रुहरूमाथि अरू कुनै पनि स्वर्गदूतको यति धेरै शक्‍ति र अख्तियार भएको चित्रण गरिएको छैन। त्यसैकारण, बाइबलले माइकललाई “प्रधान दूत” भन्‍नु कुनै अनौठो कुरो होइन किनभने “प्रधान” भन्‍नाले “मुख्य” वा “प्रमुख” भन्‍ने अर्थ लाग्छ।

माइकलको चिनारीबारे विवाद

मसीहीजगत्‌का सम्प्रदायहरू लगायत यहूदी तथा इस्लाम धर्महरूमा स्वर्गदूतहरूबारे बेग्लाबेग्लै धारणा छ। केही वर्णनहरू त एकदमै अस्पष्ट छन्‌। उदाहरणका लागि, दी एन्कर बाइबल डिक्सनरी यसो भन्छ: “एक जना विशिष्ट स्वर्गदूत र/वा (प्रायजसो चार वा सात जना) प्रधान दूतहरूको एउटा सानो समूह हुन सक्छ।” दी इम्पेरियल बाइबलडिक्सनरी-अनुसार, माइकल “असाधारण मानवको नाउँ हो र उहाँ परमेश्‍वरको पुत्र प्रभु येशू ख्रीष्ट हुनुहुन्छ वा सात जना प्रधान दूतहरूमध्ये एक हुनुहुन्छ भन्‍ने विषयमा दुई विपरीत धारणाहरू छन्‌।”

यहूदी किंवदन्तीअनुसार यी सात प्रधान दूतहरू गब्रिएल, जेरमिएल, माइकल, रगुएल, रफाएल, सरिएल र युरिएल हुन्‌। इस्लाम धर्ममा भने जिब्रिल, मिकल, इज्राइल र इस्राफिल नाउँ भएका चार प्रधान दूतहरू छन्‌ भनी विश्‍वास गरिन्छ। क्याथोलिकहरूले पनि चार जना प्रधान दूतहरूमा विश्‍वास गर्छन्‌: माइकल, गब्रिएल, रफाएल र युरिएल। बाइबलले यसबारे के भन्छ? के प्रधान दूतहरू थुप्रै छन्‌?

बाइबलको जवाफ

माइकलबाहेक अरू कुनै पनि प्रधान दूतको नाउँ बाइबलमा उल्लेख गरिएको छैन, न त धर्मशास्त्रमा “प्रधान दूत” भन्‍ने पदावलीलाई बहुवचनको रूपमा नै प्रयोग गरिएको छ। मूल ग्रीक भाषाको यहूदा ९ मा, यो उपाधि माइकलले मात्र धारण गर्नुहुन्छ भनी तोकेरै बताइएको छ। त्यसैकारण, यहोवा परमेश्‍वरले सबै स्वर्गदूतहरूलाई आफ्ना स्वर्गीय सृष्टिहरूमध्ये एकै जनाको अधीनमा राखिदिनुभएको छ भन्‍ने निष्कर्षमा पुग्नु तर्कसंगत छ।

सृष्टिकर्ताबाहेक, अर्को एक जना विश्‍वासी व्यक्‍ति अर्थात्‌ येशू ख्रीष्टको मात्र स्वर्गदूतहरू माथि प्रभुत्व छ भनी बताइएको छ। (मत्ती १३:४१; १६:२७; २४:३१) प्रेरित पावलले “प्रभु येशू” र “उहाँको शक्‍तिशाली स्वर्गदूतहरू”-बारे तोकेरै बताएका छन्‌। (२ थिस्सलोनिकी १:७) अनि पत्रुसले पुनरुत्थान हुनुभएका येशूलाई यसरी वर्णन गरे: “उहाँ स्वर्गमा गएर परमेश्‍वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ। स्वर्गदूतहरू, अख्तियारहरू र शक्‍तिहरू उहाँकै अधीनमा राखिएका छन्‌।”—१ पत्रुस ३:२२.

येशू नै प्रधान दूत माइकल हुनुहुन्छ भनी किटेरै बताएको विवरण बाइबलमा कतै पनि नपाइए तापनि येशूलाई प्रधान दूतको उपाधिसँग जोड्‌ने एउटा शास्त्रपद भने छ। थिस्सलोनिकीहरूलाई लेखेको पत्रमा प्रेरित पावलले यस्तो भविष्यवाणी गरे: “ठूलो शब्दले, प्रधान दूतको आवाज र परमेश्‍वरको तुरहीको साथ प्रभु आफै स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मर्नेहरूचाहिं पहिले बिउँतनेछन्‌।” (१ थिस्सलोनिकी ४:१६) यस शास्त्रपदमा येशूले परमेश्‍वरको मसीही राजाको हैसियतमा शक्‍ति प्राप्त गर्नुभएको विवरण छ। तथापि, उहाँ “प्रधान दूतको आवाज[मा]” बोल्नुहुन्छ। साथै नबिर्सनुहोस्‌, उहाँसित मरेकाहरूलाई बिउँताउने शक्‍ति पनि छ।

मानवको रूपमा पृथ्वीमा हुनुहुँदा येशूले थुप्रै पुनरुत्थानहरू गर्नुभयो। यसो गर्न उहाँले आफ्नो आवाज प्रयोग गर्नुभयो। उदाहरणका लागि, नाइन शहरमा एउटी विधवाको छोरालाई पुनरुत्थान गर्नुहुँदा येशूले यसो भन्‍नुभयो: “ए युवक, म तिमीलाई भन्दछु, उठ।” (लूका ७:१४, १५) पछि, आफ्नो मित्र लाजरसलाई पुनरुत्थान गर्नुअघि येशू “ठूलो सोरले कराउनुभयो, ‘लाजरस, बाहिर निस्की आऊ।’ ” (यूहन्‍ना ११:४३) तर यी अवसरहरूमा येशूको स्वर एक जना सिद्ध मानिसको जस्तो थियो।

पुनरुत्थान हुनु भएपछि येशू स्वर्गमा आत्मिक प्राणीको रूपमा “अति उच्च” बनाइनुभयो। (फिलिप्पी २:९) त्यसपछि उहाँ मानवको रूपमा रहिरहनुभएन र उहाँ प्रधान दूतको आवाजमा बोल्न थाल्नुभयो। “ख्रीष्टमा मर्नेहरू[लाई]” स्वर्गमा बिउँताउनको लागि परमेश्‍वरको तुरही बज्दा येशूले “प्रधान दूतको आवाज[मा]” “ठूलो शब्द” निकाल्नुभयो। हुन पनि, प्रधान दूतले मात्र “प्रधान दूतको आवाज” निकाल्न सक्छ।

हो, सराफ र करूबहरूजस्ता अरू पनि उच्च श्रेणीका स्वर्गदूतहरू छन्‌। (उत्पत्ति ३:२४; यशैया ६:२) यद्यपि, धर्मशास्त्रले पुनरुत्थान हुनुभएको येशू ख्रीष्टलाई नै सबै स्वर्गदूतहरूमध्ये मुख्य स्वर्गदूत अर्थात्‌ प्रधान दूत माइकल भनेर चिनाउँछ। (g02 2/8)