मेरो स्कूलको कसैलाई भेटें भने के गर्ने?
युवा जनहरू सोध्छन् . . .
मेरो स्कूलको कसैलाई भेटें भने के गर्ने?
“सोमबार स्कूल जानुपर्दा मलाई साह्रै पीर लाग्थ्यो। मलाई कुनै साथीले देखेको भए पहिल्यै लम्बेतान कथा बनाइहाल्थें। जस्तै, मेरा साथीहरूलाई म लेबर पार्टीका लागि पैसा उठाउन गएको थिएँ भन्थें।”—जेम्स, इंग्ल्याण्ड।
“मलाई देखेका मानिसहरूले मलाई स्कूलमा गिज्याउँथे। म साह्रै तनाउग्रस्त हुन्थें।”—डेबोरा, ब्राजिल।
यी युवाहरू आफ्ना साथीहरूले देखे कि भनेर किन यत्तिबिघ्न डराउँथे? के तिनीहरू कुनै गैरकानुनी काममा संलग्न भएका थिए? त्यसको ठीक विपरीत, पृथ्वीमा अहिले भइरहेको सबैभन्दा आदरणीय र महत्त्वपूर्ण काममा तिनीहरूले भाग लिइरहेका थिए। तिनीहरूले येशूले आज्ञा गर्नुभएको यो काम गर्दै थिए: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।”—मत्ती २८:१९, २०.
संयुक्त राज्य अमेरिकामा लिइएको आम सर्वेक्षणअनुसार ९० प्रतिशतभन्दा बढी किशोरकिशोरीहरूले परमेश्वरमा विश्वास गर्छन्। लगभग आधाजसो हरेक हप्ता चर्च जान्छन्। थुप्रै युवाहरू चर्चले आयोजना गरेका क्रियाकलापहरू; जस्तै: गायन टोलीमा भाग लिन्छन् तर आफ्ना स्कूलका साथीहरूसँग परमेश्वरबारे कुरा गर्नेहरू भने थोरै मात्र छन्। तथापि, यहोवाका साक्षीहरू भने ढोका-ढोकाको साक्षी कार्यको लागि विश्वभर प्रख्यात छन्। यस कार्यमा हजारौं जवान साक्षीहरूले पनि भाग लिन्छन्।
तपाईं जवान साक्षी हुनुहुन्छ भने, यस प्रचार कार्यमा तपाईंले पनि पक्कै भाग लिइसक्नुभयो होला। तर यसको मतलब तपाईंलाई यो काम गर्न एकदमै सजिलो लाग्छ भन्न खोजेको होइन। माथि उल्लिखित युवाहरूलाई जस्तै तपाईंलाई पनि सायद ढोका-ढोकाको प्रचार कार्यमा आफ्नो स्कूलको साथी पो भेटिन्छ कि भनेर दिक्क लाग्न सक्छ। जेनी नाउँ गरेकी एक युवती यसो भन्छिन्: “स्कर्ट लगाएर, झोला बोकेर र स्कूल जाँदाभन्दा पनि चिटिक्क परेर हिंडेको समयमा स्कूलको साथीलाई भेट्नुजस्तो अप्ठ्यारो लाग्ने कुरा अरू केही हुँदैन।”
स्कूलका साथीहरूलाई भेटिएला भन्ने डर अत्यन्तै प्रबल हुने हुँदा कोही-कोही जवान मसीहीहरू त अरूलाई झुक्याउन समेत खोज्छन्। लिओन नाउँ गरेका एक जना किशोर यसो भन्छन्: “मैले एक जना यस्तो जवान साक्षी चिनेको छु
जसले आफ्नो स्कूलका साथीहरूसँग जम्काभेट भइहाल्यो भने आफ्नो अनुहार छोप्नको लागि सेवकाईमा जाँदा टोपी भएको ज्याकेट लगाउने गर्छन्।” अरू केही युवाहरूचाहिं कुनै-कुनै टोलमा प्रचारै गर्दैनन्। साइमन नाउँका किशोर आफ्नो अनुभव यसरी सम्झन्छन्: “मेरो स्कूलका थुप्रै मानिसहरू बस्ने सडक छेउ-छाउमा प्रचार गर्न नपरोस् भनेर मैले प्रार्थना गर्ने गरेको मैले अझै बिर्सेको छैन।”तपाईं प्रचारमा जानुहुँदा आफूले चिनेको मानिसलाई देखेर अलि अप्ठ्यारो महसुस गर्नु स्वभाविकै हो। तर, डरले आफूमाथि प्रभाव जमाउन दिनुभयो भने चाहिं यसले तपाईंलाई हानि सिवाय अरू केही गर्दैन। “प्रचार कार्यप्रति मेरो यस्तो खराब मनोवृति थियो कि यसले मेरो आध्यात्मिकतामा नै नकारात्मक असर पारिसकेको थियो” भनी एलिसिया नाउँ गरेकी एक जर्मन किशोरी भन्छिन्।
गाह्रो लाग्दा-लाग्दै पनि तपाईंले किन प्रचार गर्नै पर्छ? यसको जवाफको लागि परमेश्वरले यो जिम्मेवारी किन तपाईंलाई दिनुभयो, विचार गरौं। त्यसपछि, प्रयत्न र अठोट गरेर तपाईं आफूमा भएको डर हटाउन सक्नुहुन्छ भनी हामी बुझाउनेछौं।
प्रचार गर्नुपर्ने दायित्व
सर्वप्रथम, तपाईंले आफ्नो विश्वासबारे अरूलाई बताउनु भनेको कुनै नयाँ वा अनौठो कुरा होइन भनी बुझ्नु मदतकारी हुन सक्छ। प्राचीन समयदेखि नै परमेश्वरसँग डराउने पुरुष तथा स्त्रीहरूले यसो गरिरहेका छन्। उदाहरणका लागि, विशाल जहाज बनाउने व्यक्तिको रूपमा नूह प्रख्यात छन्। (उत्पत्ति ६:१४-१६) तर २ पत्रुस २:५ अनुसार उनी “धर्मका प्रचारक” पनि थिए। आउँदै गरेको विनाशबारे अरूहरूलाई चेताउनी दिन नूहले बाध्य महसुस गरे।—मत्ती २४:३७-३९.
पछि, गैर-यहूदीहरूलाई प्रचार गर्न यहूदीहरूलाई तोकेर कुनै आज्ञा नदिइए तापनि धेरै जनाले आफ्नो विश्वासबारे अरूलाई बताए। त्यसकारण, रूथ नाउँ गरेकी एक जना विदेशीले यहोवालाई चिन्न सकिन्। आफ्नी यहूदी सासू नाओमीप्रति कृतज्ञ हुँदै रूथले तिनलाई यसो भनिन्: “तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, औ तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्।” (रूथ १:१६) यहोवाको “महान ख्याति” सुन्न र उहाँको मन्दिरमा सेवा गर्न धेरै गैर-यहूदीहरू पनि आउनेछन् भनी पछि राजा सुलेमानले संकेत गरे।—१ राजा ८:४१, ४२.
प्रचार गर्न तोकेरै कुनै आज्ञा नदिंदा त परमेश्वरका पुरातन सेवकहरूले अरूहरूसँग कुरा गरे भने, आजका मसीहीहरूले प्रचार गर्ने दायित्वलाई झनै कत्ति गहन रूपमा लिनुपर्ला! अझ हामीलाई त “राज्यको यो सुसमाचार” प्रचार गर्ने आज्ञा दिइएको छ। (मत्ती २४:१४) प्रेरित पावललाई जस्तै हामीलाई पनि यो सुसमाचार घोषणा गर्न करै लागेको छ। (१ कोरिन्थी ९:१६) हाम्रो उद्धार खतरामा छ। रोमी १०:९, १० यसो भन्छ: “तिमीले प्रभु येशूलाई आफ्नो मुखले स्वीकार गऱ्यौ, . . . भने तिम्रो उद्धार हुनेछ। किनभने मानिसले हृदयबाट धार्मिकतालाई विश्वास गर्नसक्छ, औ मुखबाट उद्धारको निम्ति स्वीकार गरिन्छ।”
तपाईं सबैसामु यस्तो “स्वीकार” कहाँ गर्न सक्नुहुन्छ? अनौपचारिक तवरमा प्रचार गर्नु त छँदैछ तर अरूलाई प्रचार गर्ने सबैभन्दा प्रभावकारी तरिकाहरूमध्ये ढोका-ढोकाको साक्षी कार्य अर्को हो। (प्रेरित ५:४२; २०:२०) तपाईं जवान हुनुभएको कारण के तपाईंले यस काममा भाग नलिए पनि हुन्छ? त्यस्तो पटक्कै होइन। बाइबलले भजन १४८:१२, १३ मा यस्तो आज्ञा दिन्छ: “जवान ठिटा र कुमारीहरू, वृद्ध मानिस र केटी-केटीहरू। तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्।”
साथीहरूलाई प्रचार गर्ने चुनौती
हो, सेवकाईको लागि बाहिर जाँदा एउटै स्कूलमा पढ्ने केटाकेटीलाई भेट्दा अप्ठ्यारो र के गरुँ कसो गरुँ हुन सक्छ। वास्तवमा, अरूले स्वीकारोस् भन्ने चाहना हुनु स्वभाविकै हो। कोही पनि अरूले आफूलाई गिज्याएको, अपमान गरेको वा मौखिक दुर्व्यवहार गरेको चाहँदैन। टान्या नाउँ गरेकी किशोरी भन्छिन्, “स्कूलका केटाकेटीहरू एकदमै निष्ठुर हुन सक्छन्!” त्यसकारण, राम्रो लुगा लगाएर हातमा बाइबल लिएर हिंडेको देख्दा साथीहरूले के भन्लान् भनी सोच्नु स्वभाविकै हो। दुःखको कुरा, तिनीहरूले तपाईंलाई गिज्याउने सम्भावना धेरै हुन्छ। फेलिप नाउँ गरेका एक ब्राजिलियन किशोर यसो भन्छन्, “म बसेको घरमा मेरै कक्षामा पढ्ने एक जना केटा पनि बस्थ्यो। उसले मलाई यसो भन्थ्यो, ‘बाइबल बोक्ने मान्छे आयो है! ए, तिम्रो त्यो झोलामा के छ हँ?’ ”
यस्तो गिज्याइको सिकार हुनु कुनै साधारण ख्यालठट्टा होइन। अब्राहामको छोरा इसहाकले आफ्नो सौतेनी दाइ इश्माएलबाट क्रुर गिज्याइको सामना गर्नुपऱ्यो भनी बाइबल बताउँछ। (उत्पत्ति २१:९) प्रेरित पावलले यस्तो दुर्व्यवहारलाई हल्कासित लिएनन्। गलाती ४:२९ मा पावलले यसलाई “खेदो” भन्नु उपयुक्त थियो।
त्यसै गरी, केही मानिसहरूले आफ्ना अनुयायीहरूप्रति शत्रुवत् व्यवहार गर्नेछन् भनी येशूले चेताउनी दिनुभयो। उहाँले यसो भन्नुभयो: “संसारले तिमीहरूलाई घृणा गर्दछ, तर तिमीहरूलाई घृणा गर्नभन्दा अघाड़ि मलाई घृणा गरेको हो भनी तिमीहरू जान्दछौ। तिमीहरू यस संसारका हुँदा हौ ता संसारले आफ्नोलाई माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ, मैले तिमीहरूलाई संसारबाट छानें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।”—मसीहीको हैसियतमा तपाईं पनि केही सतावट सहनको लागि तयार हुनुपर्छ। (२ तिमोथी ३:१२) तपाईंले आफ्ना साथीहरूलाई बाइबलबारे केही पनि नबताउनु भए तापनि कोही-कोहीले तपाईंको चालचलनसम्बन्धी उच्च स्तर र खराब काममा उनीहरूसँगै भाग नलिएको कारण तपाईंलाई सताउन सक्छन्। (१ पत्रुस ४:४) तथापि, येशू यस्ता सान्त्वनादायी शब्दहरू भन्नुहुन्छ: “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्, र खेदो गर्नेछन्, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्।” (मत्ती ५:११) खिल्ली र सतावटको बावजूद तपाईं कसरी आनन्दित हुन सक्नुहुन्छ? किनभने तपाईंलाई थाह छ कि तपाईंले यहोवाको हृदयलाई आनन्दित तुल्याइरहनुभएको छ! (हितोपदेश २७:११) अनि परमेश्वरलाई खुसी तुल्याएर तपाईं अनन्त जीवनको इनाम पाउने आशा गर्न सक्नुहुन्छ!—लूका १०:२५-२८.
खुसीको कुरा, तपाईंले सेवकाईमा भेट्नुहुने जति सबैले नै वा प्रायजसो साथीहरूले तपाईंप्रति वैमनश्यता राख्दैनन् होला। एन्जेला नाउँ गरेकी एक बेलाइती किशोरी यसो भन्छिन्: “ढोकामा तपाईंले साथीलाई भेट्नुहुँदा प्रायजसो तपाईंलाई भन्दा उनीहरूलाई नै बढी असजिलो महसुस भइरहेको हुन्छ!” वास्तवमा, कोही-कोही चाहिं तपाईं के भन्नको लागि आउनुभएको होला भनेर जान्न एकदमै उत्सुक हुन सक्छन्। तर जे होस्, आफ्ना सँगी विद्यार्थीहरूलाई साक्षी दिन धेरै जवान मसीहीहरू निकै सफल भएका छन्। तपाईंले पनि त्यसै गर्न सक्ने केही तरिकाहरूबारे हाम्रो यस श्रृंखलाको अर्को लेखले बताउनेछ। (g02 2/22)
[पृष्ठ २३-मा भएको चित्र]
सेवकाईमा जाँदा साथीहरूलाई भेटिएला कि भनेर धेरै किशोरकिशोरीहरू डराउँछन्
[पृष्ठ २५-मा भएको चित्र]
अरूले गिजाए तापनि कहिल्यै पनि आफ्नो विश्वासदेखि नसर्माउनुहोस्