विश्वदर्शन
विश्वदर्शन
घारभित्र जन्मकैद
“शत्रुहरूलाई तह लाउनको लागि अफ्रिकी माहुरीहरूले अनौठो तर एकदमै प्रभावकारी तरिका निकालेका छन्” भनी न्यु साइन्टिस्ट पत्रिका बताउँछ। “तिनीहरूले शत्रुलाई घारभित्र झ्यालखानामा थुनिदिन्छन्। यस्तो खालको सजायले परजीवीहरू घुस्न दिंदैन र आवश्यक परेमा भाग्नको लागि माहुरीको हूललाई प्रशस्त समय दिन्छ।” अनुसन्धाताहरूले “माहुरीभन्दा आधा सानो एथिना टुमिडा नामक कीराबाट दक्षिण अफ्रिकाका माहुरीहरूले आफूलाई कसरी बचाउँछन् भनी अनुसन्धान गरे।” अनुसन्धाताहरूमध्येका एक पिटर नोइम्यानले यी कीराहरूलाई “ट्याङ्कजस्तो” भनी वर्णन गरे। त्यसैकारण, माहुरीहरूले आफूलाई बचाउन सक्ने एक मात्र उपाय भनेको कीरालाई कैद गर्नु हो। नोइम्यान बताउँछन्, “केही माहुरीहरूले झ्यालखाना बनाउँछन् भने, अरूले चाहिं कीरा नभागोस् भनेर त्यसलाई कुरेर बस्छन्।” यो झ्यालखाना बनाउनको लागि कच्चा पदार्थको रूपमा माहुरीहरूले रूखको चोप जम्मा गर्छन्, जसलाई बनाउन चार दिनसम्म लाग्छ। युरोपियन मूलका माहुरीहरू जसमा उत्तर अमेरिकी माहुरीहरू पनि समावेश छन्, त्यसको भने यस्तो गुण हुँदैन। त्यसैकारण त, लगभग पाँच वर्षअगाडि संयोगवश संयुक्त राज्य अमेरिका भित्रिएको कीराले घारमा अक्रमण गऱ्यो भने, त्यो घार “सखाप” हुन्छ। (g02 2/22)
जनावरहरूले प्रदूषणको मात्रा नाप्छन्
वायु प्रदूषण र भूमि प्रदूषण नाप्नका लागि गँड्यौलाहरू एकदमै उपयुक्त जीवहरू हुन् भनी जीवशास्त्री स्टिभ हप्किन दाबी गर्छन्। मानव निर्मित जटिल यन्त्रहरूले भन्दा सजिलै पाइने र साधारण यी जीवहरूले राम्रो काम गर्छ। पानीको गुणस्तर नाप्न सिपी कीरा प्रयोग गरिन्छ। बाल्टिन जत्रो आकारको भाँडोभित्र आठवटा जिउँदो सिपी कीरा भएको एउटा उपकरण, राइन र डानुबे नदीहरूमा पानीको प्रदूषणको मात्रा नाप्न प्रभावकारी साबित भइसकेको छ। “प्रदूषकको मात्रा अचानक वृद्धि भएमा सिपीले यो कुरा चाल पाइहाल्छ” भनी यस यन्त्रका योजनाकर्ता किस क्रामर भन्छन्। हजारौं प्रकारका रासायनिक प्रदूषकहरूप्रति प्रतिक्रिया देखाउन सिपी कीराले आफ्नो खोल बन्द गर्छ, जसले गर्दा उक्त उपकरणमा संकेत देखिन थाल्छ। यी उपकरणहरूको मुख्य फाइदा भनेको संक्रमणले जीवित प्राणीहरूमा पार्ने असर नाप्न सक्नु हो भनी स्पेनको खबरपत्रिका एल पाइस बताउँछ। (g02 2/22)
कम उमेरका पियक्कडहरू
“युरोपका युवाहरूले पहिलेभन्दा कलिलो उमेरमा र पहिलाको भन्दा धेरै पटक मद्यपान गर्न थालेका छन्” भनी जर्मन खबरपत्रिका सुडोइच जाइटुङ बताउँछ। यस भयावह अवस्थाबारे भर्खरै मात्र युरोपियन युनियनका स्वास्थ्य मन्त्रीहरूलाई अवगत गराइएको थियो। यो समस्या कत्तिको गम्भीर छ? उदाहरणका लागि, सन् १९९८ मा गरिएको एउटा अध्ययनअनुसार, कुनै-कुनै देशहरूमा १५ वर्षका ४० देखि ५० प्रतिशत केटाहरूले नियमित तवरमा बियर पिउँछन् भने इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्सका त्यतिनै उमेरका केटीहरूले केटाहरूले भन्दा बढी रक्सी र अरू नै प्रकारका मद्य पिउँछन्। डेनमार्क, फिनल्याण्ड र बेलाइतमा १५ वर्षभन्दा कम उमेरका आधाभन्दा बढी केटाकेटीहरू कम्तीमा पनि एक चोटि रक्सीले मात्तिएका छन्। युरोपियन युनियनका राष्ट्रहरूमा १५ देखि २९ वर्षका हजारौं मानिसहरू मद्यकै कारणले मर्छन्। मद्यपान गर्दाको बेफाइदाहरूबारे युवाहरूलाई सजग गराउन मद्यसम्बन्धी शिक्षा दिनू भनी मन्त्री परिषद्ले निर्देशन दिएको छ। (g02 2/8)
धूम्रपानको कारण हुने मृत्यु अर्थव्यवस्थाको लागि फाइदा?
“चेक गणतन्त्रमा, फिलिप मोरिस कम्पनीका अधिकारीहरूले . . . धूम्रपान गर्नेहरूको मृत्यु चाँडै हुने हुँदा त्यसले स्वास्थ्यसम्बन्धी खर्च बचाउन मदत गर्छ भन्ने आर्थिक सर्वेक्षण प्रस्तुत गर्दैछन्” भनी द वल स्ट्रिट जर्नल बताउँछ। “चुरोट निर्माताहरूले जारी गरेको प्रतिवेदनले . . . चुरोटमा लगाइने करबाट उठ्ने राजश्व र ‘चाँडै हुने मृत्युले गर्दा बच्ने स्वास्थ्यसम्बन्धी खर्चजस्ता’ कुराहरू नै राष्ट्रको अर्थतन्त्रलाई उकास्ने धूम्रपानका ‘फाइदाजनक पक्षहरू’ हुन् भनी बताउँछ।” लेख अझै यसो भन्छ: “यसबाट हुने फाइदा केलाउँदा सन् १९९९ मा धूम्रपानबाट सरकारले कुल ५.८२ अरब कोरूना (१,४७१ लाख डलर) नाफा कमायो भनी उक्त प्रतिवेदनको अन्तमा बताइएको थियो।” तत्कालै त्यस प्रतिवेदनको विरोध गरियो। एक जना स्तम्भकारले यस्तो लेखिन्, “चुरोटले ज्यान लिन्छ भन्ने कुरालाई पहिला-पहिला चुरोट कारखानाहरूले अस्वीकार गर्थे। तर अहिले त उनीहरू त्यही कुरामा घमण्ड गर्न थालेका छन्।” अर्थविद् केनेथ वार्नरले यसो भने: “आफ्ना ग्राहकहरूलाई मारेर सार्वजनिक ढुकुटीका लागि पैसा जम्मा गर्दैछु भनी निर्धक्कसँग भन्न सक्ने के त्यस्तो अरू कुनै कम्पनी होला र? मेरो विचारमा त एउटै पनि छैन।” यसको अर्को हप्ता फिलिप मोरिसले क्षमा याचना गऱ्यो। बरिष्ठ उपाध्यक्ष स्टेभन सि. पारिशले यसो भने, “यो घोर गल्ती मात्र होइन तर सरासर गलत पनि थियो भन्ने कुरा हामीले बुझ्यौं। तर यसलाई पटक्कै उचित छैन भन्नु मात्र पर्याप्त छैन।” (g02 2/8)
बच्चाहरूलाई कम भौतिकवादी हुन मदत गर्ने
साना बच्चाहरूसमेत “धेरै समान किन्ने उपभोक्ता” भएकाले बच्चाहरू “व्यापारीहरूको लागि दुहुनू गाई” भएका छन् भनी क्यानाडाको ग्लोब एण्ड मेल खबरपत्रिका उल्लेख गर्छ र “यस लहरलाई रोक्न कुनै पनि कदम प्रभावकारी हुन सकेको छैन।” तथापि, स्टानफोर्ड युनिभर्सिटी स्कूल अफ मेडिसिनका प्राध्यापकहरूको एउटा टोलीले यस समस्याको समाधान पत्ता लगाएको दाबी गर्छन्: बच्चाहरूलाई टिभी हेर्ने समय घटाउन र के-कस्ता कार्यक्रम हेर्ने भनी निर्णय गर्न मदतकारी हुने छ हप्ते लामो एउटा पाठ्यक्रम। यस कार्यक्रममा भाग लिएका बच्चाहरू वर्षको अन्तसम्ममा नयाँ खेलौनाहरू किनिदिनको लागि आमाबाबुलाई पहिले जति कर नगर्ने भइसकेका थिए। ग्लोब-अनुसार, “सामान्यतया एउटा बच्चाले एक वर्षमा ४०,००० वटा विज्ञापनहरू हेर्छ, जबकि सन् १९७० को दशकमा २०,००० वटा जति मात्र हेरिन्थ्यो।” (g02 2/8)
बाइबल अनुवादमा नयाँ कीर्तिमान
“अहिले पूरा वा आंशिक रूपमा बाइबल कुल २,२६१ भाषामा उपलब्ध छ र विगत १२ महिनामा मात्रै २८ वटा नयाँ भाषा थपिए” भनी बेलाइतको बाइबल सोसाइटी बताउँछ। “अहिले ३८३ भाषाहरूमा पूरा बाइबल उपलब्ध छ, जसमा गत वर्षभन्दा १३ वटा नयाँ भाषा थपिएका छन्।” पुरानो र नयाँ नियम भनेर पनि चिनिने हिब्रू वा युनानी धर्मशास्त्रमध्ये कुनै एकको पूरा खण्ड हाल ९८७ भाषामा उपलब्ध छन्। (g02 2/22)
रक्तक्षेपणका खतराहरू
अस्ट्रेलियाको सिड्नी मर्निङ हेराल्ड पत्रिकाले बताएअनुसार “तीनवटा रक्तक्षेपणमध्ये एउटा रक्तक्षेपण, [न्यु साउथ वेल्स] स्वास्थ्य निर्देशिकाअनुरूप रक्तक्षेपण गर्नु नपर्ने अवस्थामा गर्ने गरिन्छ।” “बिरामीको रगतमा हेमोग्लोबिन सात वा सोभन्दा तल झरेमा मात्र रक्तक्षेपण गर्नुपर्ने कुरा निर्देशिकाले बताउँछ।” रगतको प्रयोगसम्बन्धी अध्ययन गरेका डा. रस विल्सनले यसो भने, “अनावश्यक रक्तक्षेपण गर्नाले बिरामी हृदयघात भएर मार्न सक्छ।” डा. विल्सनले छ वर्ष पहिले गरको अध्ययनको प्रतिवेदनअनुसार “वर्षेनी लगभग १८,००० जना [अस्ट्रेलियनहरू] शल्य चिकित्साको दौडान हुने प्रतिकूल असरको कारण मर्छन्।” चिकित्सकहरूले रक्तक्षेपण गर्ने कुरा गर्दा सधैं उनीहरूलाई रक्तक्षेपण स्वास्थ्य निर्देशिकाबारे सम्झाउनुपर्ने र बिरामीहरूले पनि चिकित्सकलाई सीधै प्रश्न सोध्न सकून् भन्ने हेतुले तिनीहरूलाई पनि त्यस निर्देशिकाबारे जानकारी दिनुपर्ने सुझाउ डा. विल्सन दिन्छन्। (g02 2/22)
गाँजा र मुटु
“गाँजा सेवन गरेको समयमा अधबैंसे मानिसहरूलाई हृदयघात हुने खतरा पाँच गुणा बढी हुन्छ” भनी क्यानाडाको ग्लोब एण्ड मेल-ले भर्खरै गरेको अध्ययन प्रतिवेदनमा बताइएको थियो। “गाँजा सेवन गर्दा मुटुको गति बढ्छ, कहिलेकाहीं त दुई गुणासम्म बढ्छ र रक्तचाप पनि तलमाथि हुन्छ . . .। यसले गर्दा रगत जम्न सक्छ र मुटुको मांसपेशीहरूसम्म रगत पुग्न नदिएर हृदयघातको सम्भावनालाई बढाउँछ।” टोरन्टो विश्वविद्यालयका डा. हारोल्ड कालान्टले यसो भने: “मुटुले बढी काम गर्नुपर्ने भएकोले बूढाबूढीहरूलाई हृदयघातको खतरा बढी हुन्छ।” रिपोर्टले बताएअनुसार कोकिन अझै खतरनाक हुन्छ किनभने यसको सेवन गरेको एक घण्टाभित्र हृदयघात हुने खतरा २५ गुणा बढी हुन्छ। (g02 2/22)