शिक्षकहरूहामीलाई किन तिनीहरूको आवश्यकता छ?
शिक्षकहरूहामीलाई किन तिनीहरूको आवश्यकता छ?
“लगनशील भएर हजार दिन अध्ययन गर्नुभन्दा महान् शिक्षकसित एक दिन अध्ययन गर्नु असल हुन्छ।”—जापानी उखान।
स्कूलमा छँदा तपाईंलाई असाध्यै छाप पारेको कुनै शिक्षक थियो? अथवा यदि तपाईं अहिले विद्यार्थीहुनुहुन्छ भने, के तपाईंको कुनै मनपर्ने शिक्षक छ? यदि छ भने, यसो हुनुको कारण के हो?
एक जना दक्ष शिक्षकले आत्मविश्वास बढाउनुका साथै शिक्षा हासिल गर्नुलाई एउटा आकर्षक चुनौती बनाउँछ। भारतका एक अधबैंसे व्यापारीले कोलकतास्थित आफ्नो स्कूलको अंग्रेजी शिक्षकलाई बढो स्नेहपूर्वक सम्झन्छन्। “साशोन सरको असल शिक्षणशैलीले मलाई भाषाप्रति प्रेम विकास गर्न मदत मात्र गरेन तर उहाँले मेरो आत्म-सम्मान बढाइदिनुभयो। अक्सर उहाँले मेरा उत्कृष्ट रचनाहरू छान्नुहुन्थ्यो र केही ‘परिमार्जित’ गरेर त्यसलाई विभिन्न अखबार तथा पत्रिकाहरूलाई छाप्नको लागि दिनुहुन्थ्यो। केही निबन्धहरू अस्वीकृत भए तापनि अरू भने स्वीकृत हुन्थे। अखबारबाट प्राप्त भएको पारिश्रमिकभन्दा पनि ठूलो कुरा त, आफ्ना रचनाहरू अखबारमा छापिएको खुसीले आफ्नो लेखन दक्षताप्रति मेरो आत्मविश्वास बढ्यो।”
जर्मनी, म्युनिकका ५० वर्ष नाघिसकेकी मार्गिट नाउँ गरेकी एक फरासिली महिला यसो भन्छिन्: “मलाई साह्रै मनपर्ने एक जना शिक्षिका हुनुहुन्थ्यो। साह्रै जटिल कुरालाई पनि सरल ढंगमा बुझाउने उहाँको शैली असाध्यै राम्रो थियो। केही कुरा नबुझेको खण्डमा प्रश्न सोध्न उहाँले हामीलाई उत्साहित गर्नुहुन्थ्यो। उहाँ अमित्रैलो होइन तर सबैसित मिलनसार हुनुहुन्थ्यो। यसले गर्दा कक्षामा पढाइने विषयवस्तु झनै रमाइलो हुन्थ्यो।”
पिटर नाउँ गरेका एक अष्ट्रियाली नागरिक आफ्नो गणित शिक्षकलाई सम्झँदै यसो भन्छन्, “उहाँले व्यावहारिक उदाहरणहरू दिनुभएर हामीले सिकिरहेका कुराको उपयोगिता बुझ्न मदत दिनुहुन्थ्यो। त्रिकोणमिति गणित अध्ययन गरिरहेका बेला, त्रिकोणमितिको सिद्धान्तलाई प्रयोग गरेर कसरी कुनै भवनलाई नछोइकन त्यस भवनको उचाइ नाप्न सकिन्छ भनेर उहाँले सिकाउनुभयो। त्यस बखत मैले मनमनै यसो भनेको अझै बिर्सेको छैन, ‘ओहो, क्या गजबको कुरा!’ ”
उत्तरी इंग्ल्याण्डका पलीनले आफ्नो शिक्षकलाई यसो भनिन्: “मलाई गणित एकदमै गाह्रो लाग्छ।” शिक्षकले सोधे: “के तिमी यस विषयमा अझ राम्रो गर्न चाहन्छौ? म तिमीलाई मदत गर्न सक्छु।” तिनी यसो भन्छिन्: “त्यसपछि केही महिनासम्म उहाँले मलाई विशेष ध्यान दिनुभयो, स्कूलपश्चात् पनि उहाँले मलाई मदत गर्नुहुन्थ्यो। मलाई थाह थियो, उहाँ म सफल भएको हेर्न चाहनुहुन्थ्यो, मेरो ख्याल गर्नुहुन्थ्यो। यसले मलाई अझै मेहनत गर्न प्रोत्साहन दियो र मैले उन्नति गरें।”
स्कटल्याण्डका ३० वर्ष पुगिसकेकी एन्जी नाउँ गरेकी एक महिलाले आफ्नो इतिहास शिक्षक ग्राहमलाई बिर्सेकी छैनन्। “उहाँले इतिहासलाई साह्रै चाखलाग्दो बनाउनुहुन्थ्यो! उहाँले घटनाहरूलाई कथाजस्तै गरी बताउनुहुन्थ्यो र हरेक विषयलाई उहाँ एकदमै उत्साहित हुँदै बताउने गर्नुहुन्थ्यो। उहाँले ती सबै घटनाहरूलाई जीवन्त बनाउनुहुन्थ्यो।” तिनी ह्युइट नाउँ गरेकी एक कक्षाकी वृद्धा शिक्षिकाको पनि बडो स्नेहपूर्वक सम्झना गर्छिन्। “उहाँ साह्रै दयालु र अरूको असाध्यै ख्याल गर्नुहुन्थ्यो। एक दिन कक्षामा म उहाँलाई एउटा प्रश्न सोध्न गएँ। उहाँले मलाई बोक्नुभयो। उहाँले मलाई साँच्चै ख्याल गर्नुहुँदो रहेछजस्तो लाग्यो।
दक्षिण ग्रीसका तिमोथीले व्यक्त गरे। “मैले मेरो विज्ञान शिक्षकलाई अझै बिर्सेको छैन। उहाँको कुरा सुनेपछि संसार अनि जिन्दगीप्रतिको मेरो दृष्टिकोण अर्कै भयो। उहाँले कक्षामा एक किसिमको आदर अनि सिक्ने कौतूहलताको वातावरण सृजना गर्नुहुन्थ्यो। उहाँले हाम्रो मनमा ज्ञान प्राप्त गर्ने लालसा अनि कुनै पनि कुरा बुझ्ने चाहना जगाइदिनुहुन्थ्यो।”
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया निवासी रामोनाको पनि एउटा उदाहरण छ। तिनी यस्तो लेख्छिन्: “मेरो उच्च माध्यामिक स्कूलको एक शिक्षिकालाई अंग्रेजी विषय असाध्यै मन पर्थ्यो। उहाँको त्यो उत्साहले अरूलाई पनि उत्साहित बनाउँथ्यो! निकै गाह्रो अंशलाई पनि उहाँले सजिलो बनाइदिनुहुन्थ्यो।”
क्यानाडाकी जेनले शारीरिक शिक्षा पढाउने शिक्षकबारे बडो उत्साहित हुँदै यसो भने, “उहाँसित रमाइलो गर्ने अनि सिकाउने विचारहरूको खानी नै थियो। उहाँले हामीलाई खुला ठाउँहरूमा लानुहुन्थ्यो र वरपरको पाखापखेरोतिर चिप्लेटी खेल्ने अनि
वरफमा माछा मार्नेजस्ता क्रियाकलापहरू गर्न सिकाउनुभयो। हामी आफै आगो बालेर अमेरिकी आदिवासीहरूले बनाउने रोटी अर्थात् बानक पनि बनाउँथ्यौं। यी सबै क्रियाकलापहरू घरभित्र मात्र बसिरहने मजस्तो किताबको कीरोको लागि निकै रमाइलो अनुभव थियो!”शाङ्घाइमा जन्मेकी हेलेन नाउँ गरेकी महिला लज्जालु स्वभावकी छिन् र तिनले हङकङमा स्कूलको पढाइ पूरा गरेकी थिइन्। तिनी ती दिनहरू सम्झँदै यसो भन्छिन्: “पाँच कक्षामा चान नाउँ गरेको मेरा एक शिक्षक हुनुहुन्थ्यो। उहाँले शारीरिक शिक्षा अनि चित्रकला सिकाउनुहुन्थ्यो। म अलि पातली थिएँ र भलिबल अनि बास्केटबलजस्ता खेलमा लद्दू थिएँ। तर उहाँले मलाई कहिल्यै गिज्याउनुभएन। उहाँले मलाई मैले खेल्न सक्ने ब्याड्मिन्टन अनि अन्य खेलहरू खेल्न दिनुहुन्थ्यो। उहाँ अरूको ख्याल गर्ने अनि दयालु हुनुहुन्थ्यो।
“त्यस्तै गरेर चित्रकलामा वस्तु तथा मानिसहरूको चित्र बनाउन म त्यति सिपालु थिइनँ। त्यसैकारण उहाँले मलाई विभिन्न बुट्टा तथा आकृतिहरूको चित्र बनाउन दिनुहुन्थ्यो, जसमा म अलि बढी सिपालु थिएँ। अन्य विद्यार्थीहरूको उमेरभन्दा मेरो उमेर अलि कम भएको कारण उहाँले मलाई अर्को वर्ष पनि त्यही कक्षा दोहऱ्याउन राजी गर्नुभयो। मेरो स्कूले जीवनको यो एउटा निर्णायक मोड थियो। मेरो आत्मविश्वास बढ्यो र मैले उन्नति गर्न सकें। म उहाँप्रति सधैं कृतज्ञ रहिरहनेछु।”
तपाईंको विचारमा कस्तो शिक्षकले सबैभन्दा राम्रो छाप पार्न सक्छन् होला? आफ्नो पुस्तक टु टिच—द जर्नी अफ अ टिचर-मा विलियम एयर्स, यस प्रश्नको उत्तर यसरी दिन्छन्: “प्रभावकारी ढंगमा सिकाउन सबैभन्दा महत्त्वपूर्ण कुरा विद्यार्थीप्रति समर्पित विचारशील र अरूको ख्याल राख्ने शिक्षक चाहिन्छ। . . . प्रभावकारी ढंगमा सिकाउनु कुनै एउटा विशेष कला वा शैली, योजना वा कार्य होइन। . . . सिकाउनुमा मुख्यतः प्रेम विथोलित हुन्छ।” त्यसोभए सफल शिक्षक कसलाई भन्ने त? उनी यसो भन्छन्: “तपाईंको हृदय छोएको, तपाईंको कुरा बुझिदिएको, तपाईंलाई आदर गर्ने अनि संगीत, गणित, ल्याटिन भाषा, चंगा उडाउनेजस्ता कुनै पनि विषयमा असाध्यै रुचि राखेर अरूलाई प्रभाव पार्ने अनि हौसला दिने शिक्षक नै सफल शिक्षक हुन्।”
निस्सन्देह, धेरै शिक्षकहरूले विद्यार्थीका साथै अभिभावकहरूबाट पनि कृतज्ञताका अभिव्यक्तिहरू पाएका छन् र यसले गर्दा असफलताको बावजूद शिक्षण पेसालाई निरन्तरता दिन तिनीहरू उत्प्रेरित भइरहेका छन्। यी सबै टिप्पणीहरूको मूल आशय भने शिक्षकले विद्यार्थीप्रति देखाएको साँचो चासो अनि दया नै हो।
निस्सन्देह, सबै शिक्षकहरूले यस्तो चासो देखाउँदैनन्। साथै, शिक्षकहरूले अक्सर धेरै दबाउहरूको सामना गर्नुपर्छ, जसको कारणले गर्दा आफ्ना विद्यार्थीहरूको लागि तिनीहरू सकेजति गर्न सक्दैनन्। यसले हामीलाई यो प्रश्न सोध्न बाध्य तुल्याउँछ, त्यसोभए किन मानिसहरूले यस्तो कठिन पेसा रोज्छन् त? (g02 3/8)
[पृष्ठ ४-मा भएको चित्र]
“सिकाउनुमा मुख्यतः प्रेम विथोलित छ”