सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेसा त्याग तथा जोखिमहरू

शिक्षण पेसा त्याग तथा जोखिमहरू

शिक्षण पेसा त्याग तथा जोखिमहरू

“शिक्षण पेसाबाट निकै आशा गरिन्छ तर हाम्रो स्कूलका समर्पित शिक्षकहरूले सर्वसाधारणबाट अक्सर त्यत्ति . . . प्रशंसा पाइरहेका हुँदैनन्‌।”—केन इलटाइस, यूनिभर्सिटि अफ सिड्‌नी, अस्ट्रेलिया।

“सबैभन्दा अपरिहार्य पक्ष” भनेकै शिक्षण पेसा हो र यस तथ्यलाई हामीले स्वीकार्नै पर्छ तर आज यस पेसामा कम पारिश्रमिकदेखि लिएर कक्षा कोठाको नाजुक अवस्था; अत्यधिक कागजी कामदेखि लिएर कक्षाको क्षमताभन्दा बढी विद्यार्थीहरू; अनादर र हिंसादेखि लिएर अभिभावकहरूको भावशून्यताजस्ता समस्याहरू विद्यमान छन्‌। केही शिक्षकहरूले कसरी यस्ता चुनौतीहरूको सामना गर्छन्‌?

आदरको कमी

हामीले न्यु योर्क शहरका चार जना शिक्षकहरूलाई तिनीहरूका प्रमुख समस्याहरूबारे सोध्यौं। सबैको एउटै जवाफ थियो: “आदरको कमी।”

केन्याका विलियमको भनाइअनुसार अफ्रिकामा पनि यस सन्दर्भमा धेरै परिवर्तनहरू भएका छन्‌। उनले यसो भने: “केटाकेटीहरूमाझ अनुशासन खस्किंदै गइरहेको छ। म केटाकेटी छँदा [अहिले उनी ४० वर्ष पुगिसकेका छन्‌] अफ्रिकी समाजमा शिक्षकहरू सबैभन्दा सम्मानित नागरिकको दर्जामा गनिन्थे। युवा अनि वृद्ध सबैले शिक्षकलाई आफ्नो आदर्श नमुना ठान्थे। अहिले यो आदर खस्कँदै गइरहेको छ। ग्रामीण अफ्रिकी क्षेत्रहरूमा समेत पश्‍चिमी संस्कृतिले जवानहरूलाई बिस्तारै प्रभाव पारिरहेको छ। चलचित्र, भिडियो अनि पत्रपत्रिकाहरूले अख्तियारवालाहरूप्रति आदर नदेखाउनु बहादुरीको चिह्न हो भनेजस्तै गरी देखाउँछन्‌।

जुलियानो नाउँ गरेका इटालीका एक शिक्षकले यसो भन्दै दुखेसो पोखे: “बच्चाहरू पनि समाजमा अति व्याप्त विद्रोही, अटेरी र अनाज्ञाकारी मनोभावले ग्रसित छन्‌।”

लागू पदार्थ र हिंसा

दुःखको कुरा, लागू पदार्थ स्कूलहरूमा एउटा ठूलो समस्या नै बनिसकेको छ। लागू पदार्थको विकराल समस्याबारे सं.रा.अ.-का शिक्षक तथा लेखक लुआन जोनसन यस्तो लेख्छिन्‌, “लागूऔषध दुर्व्यसनको रोकथामबारे प्रायः सबै स्कूललगायत शिशुशालादेखि नै पाठ्यक्रममा समावेश गरिएको छ। [तेस्रो अक्षर हाम्रो] अधिकांश वयस्कहरूलाई भन्दा . . . बच्चाहरूलाई लागूऔषधबारे बढी थाह छ।” तिनी यसो भन्छिन्‌, “आफूलाई असहाय, माया नपाएको, एक्लो, नरमाइलो वा असुरक्षित महसुस गर्ने विद्यार्थीहरूले लागूऔषध सेवन गर्ने सम्भावना धेरै हुन्छ।”— टु पार्टस्‌ टेक्सबूक, वन पार्ट लभ।

अस्ट्रेलियाका केन नाउँ गरेका शिक्षकले यस्तो प्रश्‍न सोधे: “आमाबाबुले नै लागू पदार्थ सेवन गर्ने र तिनीहरूबाटै सिकेका र अहिले दुर्व्यसनी भइसकेका नौ वर्षको केटोलाई शिक्षकहरूले कसरी सिकाउने?” तीस वर्ष नाघेका माइकल जर्मनीको एउटा विविध विषयहरू पढाइने स्कूलका शिक्षक हुन्‌। उनले यस्तो लेखे: “स्कूलमा लागू पदार्थ किनबेच तथा सेवन गरिन्छ भन्‍ने कुरा हामी सबैलाई थाह छ तर यस्ता घटनाहरू कमै मात्र पत्ता लाग्छन्‌।” उनले अनुशासनको कमीबारे पनि टिप्पणी गर्दै यसो भने, “विद्यार्थीहरूको विध्वंसकारी मनोवृत्तिलाई प्रकट गर्छ।” उनी अझै थप्छन्‌, “टेबल र भित्ताहरूमा जथाभावी कोरिएका र फर्निचरहरू तोडफोड गरिएका हुन्छन्‌। मेरा केही विद्यार्थीहरू पसलका मालसामानहरू चोर्ने वा अन्य त्यस्तै कामहरूले गर्दा प्रहरीको पक्राउ र केरकारमा परेका छन्‌। स्कूलहरूमा चोरीचकारी पनि व्याप्त हुनु कुनै अचम्मको कुरा होइन!”

अमिरा मेक्सिकोको गुआनाजुआटो प्रान्तमा शिक्षिकाको काम गर्छिन्‌। तिनी यसो भन्छिन्‌, “हामीले परिवारमै हिंसा र लागू पदार्थको दुर्व्यसनजस्ता समस्याहरूको सामना गर्छौं र त्यसले बच्चाहरूलाई प्रत्यक्ष असर गर्छ। तिनीहरू यस्तो वातावरणमा हुर्किरहेका हुन्छन्‌ जहाँ तिनीहरूले फोहोर र अश्‍लील बोलीवचन सिक्छन्‌। अर्को ठूलो समस्या गरिबी हो। यहाँ स्कूलको शिक्षा निश्‍शुल्क भए तापनि अभिभावकहरूले कापी, कलम र स्कूलका लागि अन्य आवश्‍यक सामग्रीहरू किन्‍नुपर्छ। तर यी सबै कुराभन्दा हातमुख जोर्ने काम नै प्रथम स्थानमा आउँछ।”

स्कूलमा बन्दुक?

हालै संयुक्‍त राज्यका स्कूलहरूमा घटेका गोली काण्डहरूले त्यस देशमा बन्दुकद्वारा हुने हिंसा गम्भीर समस्या बनेको छ भनेर देखाउँछ। एउटा रिपोर्ट यसो भन्छ: “हरेक दिन १,३५,००० बन्दुकहरू मुलुकको ८७,१२५ स्कूलहरूमा भित्रिन्छन्‌ भन्‍ने अनुमान गरिएको छ। स्कूलमा भित्रिने बन्दुकहरूको संख्या कम गर्न अधिकृतहरूले मेटल डिटेक्टर, निगरानी गर्ने क्यामरा, सुँघेर बन्दुक पत्ता लगाउन विशेष तालिमप्राप्त कुकुरहरू प्रयोग गर्नुका साथै विद्यार्थीहरूको दराज जाँच्ने, परिचय पत्र टाँस्ने अनि स्कूलमा किताब बोक्ने झोला ल्याउन निषेध गर्ने गरेका छन्‌।” (टिचिङ इन अमेरिका) यस्तो कडा सुरक्षाले गर्दा कसैको मनमा यस्तो प्रश्‍न आउला, हामी कुन विषयमा कुरा गर्दैछौं, स्कूल कि जेल? रिपोर्टले बताएअनुसार स्कूलमा बन्दुक ल्याएको कारण ६,००० भन्दा बढी विद्यार्थीहरू निष्कासित भएका छन्‌!

न्यु योर्क शहर निवासी आइरिस नाउँ गरेकी एक शिक्षिकाले ब्यूँझनुहोस्‌!-लाई यसो भनिन्‌: “विद्यार्थीहरूले स्कूलमा लुकाएर हतियारहरू ल्याउने गर्छन्‌। हतियार पत्ता लगाउने मेसिनले समेत हतियार पत्ता लगाउन सक्दैन। सरसम्पत्तिको तोडफोड गर्नु पनि स्कूलको अर्को एउटा जटिल समस्या हो।”

यस्तो अराजकपूर्ण परिस्थितिमा सुधार ल्याउन समझदार शिक्षकहरूले शिक्षा र मान्यताहरू सिकाउन भरमग्दुर प्रयत्न गर्छन्‌। त्यसैकारण थुप्रै शिक्षकहरू नैराश्‍य अनि शारीरिक तथा भावनात्मक थकाइबाट पीडित हुनु कुनै अचम्मलाग्दो कुरो होइन। जर्मनी, थुरिङगियास्थित शिक्षक संघका अध्यक्ष रल्फ बुशले यसो भने: “जर्मनीका दस लाख शिक्षकहरूमा एक तिहाइ शिक्षकहरू तनाउका कारण बिरामी हुन्छन्‌। आफ्नो पेसाबाट थाकेर लखतरान भएको महसुस गर्छन्‌।”

किशोरीहरूले बच्चा जन्माउँछन्‌

अर्को मुख्य समस्या भनेको किशोर किशोरीहरूको यौन गतिविधि हो। टिचिङ इन अमेरिका पुस्तकका लेखक जर्ज एस. मोरिसन यसो भन्छन्‌, “हरेक वर्ष लगभग दस लाख किशोरीहरू (१५ देखि १९ वर्षका ११ प्रतिशत केटीहरू) गर्भवती हुन्छन्‌।” विश्‍वका विकसित राष्ट्रहरूमध्ये किशोरीहरू गर्भवती हुने दर संयुक्‍त राज्य अमेरिकामा सबैभन्दा बढी छ।

यस परिस्थितिलाई आइरिसको यस भनाइले अझ पुष्टि गर्छ: “सबै किशोर किशोरीहरूबीच कुराकानीको मुख्य विषय नै यौन अनि पार्टी हुन्छ। यो एउटा लत नै भइसकेको छ। अहिले हाम्रा स्कूलका कम्प्युटरहरूमा पनि इन्टरनेटको सुविधा छन्‌! त्यसको मतलब, सजिलै च्याट ग्रुप र अश्‍लील साइटहरू हेर्न सकिने।” स्पेन, म्याड्रिडका एन्जलले यस्तो रिपोर्ट गरे: “यौन छाडापन त विद्यार्थी जीवनको वास्तविकता नै भइसकेको छ। हामीकहाँ भर्खरै किशोरावस्थामा पुगेका विद्यार्थीहरूसमेत गर्भवती भएका घटनाहरू छन्‌।”

“सुसारेजस्तो होइन”

कोही-कोही शिक्षकहरूको अर्को गुनासो के छ भने, धेरैजसो अभिभावकहरूले आफ्ना बच्चाहरूलाई घरैमा सिकाउनुपर्ने आफ्नो दायित्व पूरा गर्दैनन्‌। शिक्षकहरूको विचारमा अभिभावकहरू नै बच्चाहरूको पहिलो शिक्षक हुनुपर्छ। असल आचरण अनि आनीबानी घरैमा सिकाउनुपर्छ। त्यसैले, अमेरिकी शिक्षक संघकी अध्यक्ष स्यान्ड्रा फिल्डमेनको यस भनाइप्रति अचम्म मान्‍नुपर्दैन, “शिक्षकहरूलाई . . . सुसारेजस्तो होइन तर अन्य पेसाका व्यक्‍तिहरूलाई जस्तै व्यवहार गरिनुपर्छ।”

स्कूलमा दिइएका अनुशासनलाई आमाबाबुले अक्सर साथ दिंदैनन्‌। अघिल्लो लेखमा उल्लिखित लिमारिजले ब्यूँझनुहोस्‌!-लाई यसो भनिन्‌: “तपाईंले गल्ती गर्ने बच्चाबारे प्रधानाध्यापकलाई रिपोर्ट गर्नुभयो भने अभिभावकहरूको गाली खान पनि तयार हुनुपर्ने हुन्छ!” समस्याग्रस्त विद्यार्थीहरूसित व्यवहार गर्ने सन्दर्भमा माथि उल्लेखित बुशले यसो भने: “पारिवारिक लालनपालन हराउँदैछ। अब अधिकांश बच्चाहरू असल, राम्रो परिवारबाट आउँछन्‌ भन्‍ने कुरा मानिलिन सक्ने स्थिति छैन।” अर्जेन्टिनाको मेन्डोजाका एसटेलाले यसो भनिन्‌: “हामी शिक्षकहरू विद्यार्थीहरूसित डराउँछौं। यदि हामीले तिनीहरूलाई कम अंक दिएको खण्डमा तिनीहरूले हामीलाई ढुंगा हान्‍ने वा आक्रमण गर्ने गर्छन्‌। हाम्रो मोटर छ भने, तिनीहरूले तोडफोड गरिदिन्छन्‌।”

त्यसैले, अधिकांश देशहरूमा शिक्षकहरूको अभाव हुनुमा किन पो अचम्म मान्‍नुपर्छ र? कार्निजी कर्पोरेसन अफ न्यु योर्कका अध्यक्ष, भारटन ग्रेगोरियनले यस्तो चेताउनी दिए: “[सं.रा.अ-का] स्कूलहरूमा आगामी दशकभित्रमा २५ लाख नयाँ शिक्षकहरूको आवश्‍यकता पर्नेछ।” ठूल-ठूला शहरहरूले “भारत, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, युरोपलगायत राम्रा शिक्षकहरू पाउन सकिने जुनसुकै ठाउँबाट पनि जोडतोडका साथ शिक्षकहरूको खोजी गरिरहेका छन्‌।” यसको अर्थ, यी क्षेत्रहरूमा पनि पछि शिक्षकहरूको अभाव खट्‌किन सक्छ।

किन शिक्षकको अभाव?

शिक्षकको रूपमा ३२ वर्ष बिताइसकेका अनुभव प्राप्त जापानी शिक्षक योशिनारोले यसो भने, “शिक्षण पेसा एउटा महान्‌ कार्य हो र जापानी समाजमा यसलाई उच्च सम्मान दिइन्छ।” दुःखको कुरा, सबै संस्कृतिहरूमा यस्तो हुँदैन। माथि उल्लिखित ग्रेगोरियनको भनाइअनुसार शिक्षकलाई “पेसागत सम्मान, मान्यता अनि पारिश्रमिक दिंइदैन। . . . [सं.रा.अ.-का] अधिकांश प्रान्तहरूमा स्नातक अनि स्नाकोत्तर डिग्रीको माग गर्ने अन्य पेसाहरूको तुलनामा शिक्षण पेसामा पारिश्रमिक निकै थोरै छ।”

सबैभन्दा माथि उल्लिखित केन एल्टिसले यस्तो लेखे: “शिक्षण पेसामा भन्दा कम योग्यता माग गर्ने अन्य पेसाहरूले शिक्षण पेसाको तुलनामा बढी पारिश्रमिक पाएको देख्दा शिक्षकहरूलाई कस्तो लाग्ला? अथवा तिनीहरूले १२ महिनाअघि मात्र पढाएका विद्यार्थीहरूले तिनीहरूले अहिले कमाइरहेको भन्दा बढी कमाउँदा वा पाँच वर्षभित्रमै तिनीहरूले जत्ति नै कमाउँदा तिनीहरूलाई कस्तो लाग्छ होला? यस्ता कुराहरूले शिक्षकको आत्मसम्मानमा चोट पुऱ्‍याउँछ।”

विलियम एयर्सले यस्तो लेखे: “शिक्षकहरूलाई निकै थोरै पारिश्रमिक दिइन्छ। . . . हामीले वकिलले पाउने पारिश्रमिकको एक चौथाइ, लेखापालको भन्दा आधा, ट्रक चालक अनि जहाज मर्मत गर्ने कामदारले भन्दा कम पारिश्रमिक पाउने गर्छौं। . . . धेरै माग गर्ने तर आर्थिक रूपमा भने थोरै प्राप्त हुने यो जस्तो पेसा अरू कुनै पनि छैन।” (टु टिच—द जर्नी अफ अ टिचर) सोही विषयमा भूतपूर्व अमेरिकी महान्यायाधिवक्‍ताले नोभेम्बर २००० मा यसो भने: “हामी मानिसहरूलाई चन्द्रमामा पठाउन सक्छौं। . . . हाम्रा खेलाडीहरूलाई धेरै तलब दिन्छौं। हामी किन हाम्रा शिक्षकहरूलाई उचित पारिश्रमिक दिन सक्दैनौं?”

लिमारिजले यसो भनिन्‌, “सामन्यतः शिक्षकहरूलाई दिनुपर्ने भन्दा निकै थोरै पारिश्रमिक दिइन्छ। मैले त्यत्रो वर्ष अध्ययन गरेर पनि यहाँ न्यु योर्कमा निकै थोरै तलब पाउँछु र त्यसमाथि पनि महानगरमा जीवन निर्वाह गर्नु पर्दाको तनाउ त छँदैछ।” रूसको सेन्ट पिटर्सबगकी भ्यालेन्टिना नाउँ गरेकी शिक्षिकाले यसो भनिन्‌: “आयआर्जनको कुरा गर्ने हो भने, शिक्षण पेसालाई सम्मान गरिन्छ भनेर पटक्कै भन्‍न सकिंदैन। पारिश्रमिक न्यूनतम स्तरभन्दा पनि कम हुन्छ।” अर्जेन्टिनाको चुबुट निवासी मार्लिन पनि यस्तै दुःख व्यक्‍त गर्छिन्‌: “थोरै तलबले हामीलाई यताउता दौडधूप गरेर दुई तीन ठाउँमा काम गर्न बाध्य तुल्याउँछ। यसले साँच्चै हाम्रो प्रभावकारितालाई घटाउँछ।” नैरोबी, केन्याका अर्थर नाउँ गरेका शिक्षकले ब्यूँझनुहोस्‌!-लाई यसो भने: “खस्कँदो अर्थतन्त्रले गर्दा एउटा शिक्षकको रूपमा मेरो जीवन सजिलो छैन। थोरै पारिश्रमिकले गर्दा मानिसहरूलाई हाम्रो पेसा रोज्न सधैं निरुत्साहित गर्छ भन्‍ने कुरामा मेरा थुप्रै सहकर्मीहरूले समर्थन जनाउलान्‌।”

शिक्षकहरूलाई घण्टौं अल्झाइरहने अत्यधिक कागजी कामबारे न्यु योर्क शहरकी डायना नाउँ गरेकी शिक्षिका गुनासो गर्छिन्‌। सबैले गर्ने एउटा गुनासो यस्तो थियो: “दिनभरि कत्ति फाराम भर्ने, ती बेकारका फारामहरू।”

कम शिक्षक, बढी विद्यार्थी

जर्मनीको ड्युरेन निवासी बरथोल्ड अर्को एउटा सबैले गर्ने गुनासो पोख्छन्‌: “कक्षा निकै ठूला हुन्छन्‌! कुनै कक्षाहरूमा ३४ जनासम्म विद्यार्थीहरू हुन्छन्‌। त्यसको अर्थ, समस्या परिरहेका विद्यार्थीहरूलाई हामी ध्यानै दिन सक्दैनौं। तिनीहरूको ख्याल गर्नै सकिंदैन। व्यक्‍तिविशेषका आवश्‍यकताहरूप्रति ध्यान जाँदैन।”

माथि उल्लिखित लिमारिज यसो भन्छिन्‌, “आफ्ना बच्चाहरूको वास्ता नगर्ने अभिभावकहरूको अलावा मेरो कक्षामा ३५ जना विद्यार्थीहरू हुनु पनि गत वर्षको मेरो सबैभन्दा ठूलो समस्या थियो। कल्पना गर्नुहोस्‌, ६ वर्षका ३५ जना बच्चाहरू सबै एउटै कक्षामा!”

आइरिसले यसो भनिन्‌: “यहाँ न्यु योर्कमा विशेष गरी गणित र विज्ञान पढाउने शिक्षकहरूको अभाव छ। तिनीहरूले अन्य जुनसुकै क्षेत्रमा पनि राम्रो जागिर पाउन सक्छन्‌। त्यसैले शहरमा धेरै विदेशी शिक्षकहरू ल्याइन्छ।”

निस्सन्देह, शिक्षण पेसाले शिक्षकहरूबाट निकै कुरा माग गर्छ। त्यसोभए, केले शिक्षकहरूलाई यस पेसामा लागिरहन मदत गर्छ? तिनीहरू किन यस पेसामा लागिरहन्छन्‌? यस श्रृंखलाको अन्तिम लेखले यी प्रश्‍नहरूमाथि विचार गर्नेछ? (g02 3/8)

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

हरेक दिन सं.रा.अ.-का स्कूलहरूमा १,३५,००० बन्दुक भित्रिने अनुमान गरिएको छ

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

सफल शिक्षक कसलाई भन्‍न सकिन्छ?

एक सफल शिक्षकको परिभाषा तपाईं कसरी दिनुहुन्छ? के शिक्षक भनेको बच्चाको स्मरण शक्‍ति बढाउने, बच्चालाई फरर्र पढ्‌न सक्षम बनाउने र परीक्षा उत्तीर्ण गर्न मदत गर्ने व्यक्‍ति हो? अथवा प्रश्‍न गर्न, सोच्न र तर्क गर्न सिकाउने व्यक्‍ति? कसले बच्चालाई एक असल नागरिक बन्‍न मदत गर्छ?

“हामी शिक्षकहरू आफूलाई विद्यार्थीहरूको लामो अनि जटिल जीवन यात्राको सहयात्री ठान्छौं, तिनीहरूलाई व्यक्‍तिविशेषको हैसियतमा मर्यादा अनि सम्मान दियौं भने मात्र हामी योग्य शिक्षक बन्‍ने लक्ष्यतर्फ अघि बढिरहेका हुन्छौं। यो साधारण तर एकदमै गाह्रो काम पनि हो।”—टु टिच—द जर्नी अफ अ टिचर।

एक असल शिक्षकलाई प्रत्येक विद्यार्थीको अन्तर्निहित क्षमता तथा योग्यता थाह हुनुका साथै उसको त्यस योग्यतालाई कसरी प्रस्फुटित गर्न सकिन्छ भनेर पनि थाह हुन्छ। विलियम एयर्सले यसो भने: “हामीले आत्मबल, अनुभव, दक्षता अनि योग्यताहरूको विकास गर्ने उत्तम तरिका खोजी गर्नै पर्छ। . . . म एउटा रैथाने अमेरिकी अभिभावकको गुनासो सम्झन्छु, जसको पाँच वर्षीय छोरालाई शिक्षकहरूले ‘सुस्त दिमाग’ भएको केटो भनेका थिए। ‘विन्ड-उल्फलाई ४० भन्दा धेरै चराहरूको नाउँ र तिनीहरूको बसाइँ-सराई गर्ने बानीबारे थाह छ। सन्तुलनमा उड्‌ने गिद्धको पुच्छरमा १३ वटा प्वाँख हुन्छ भनेर उसलाई थाह हुन्छ। उसलाई त केवल उसमा भएको पूरा योग्यता तथा क्षमता बुझ्ने शिक्षक चाहिन्छ।’ ”

प्रत्येक बच्चाको क्षमताको पूर्ण सदुपयोग गर्न शिक्षकले बच्चाको चासोको विषय अर्थात्‌ बच्चालाई उत्प्रेरित गर्ने तत्त्व के हो, सो बुझ्नुका साथै कुन कुराले बच्चामा जोस पैदा गर्छ भन्‍ने कुरा शिक्षकले पत्ता लगाउनै पर्छ। अनि समर्पित शिक्षकहरूले बच्चाहरूलाई माया गर्नै पर्छ।

[स्रोत]

United Nations/Photo by Saw Lwin

[पृष्ठ ११-मा भएको पेटी]

के पढाइ सधैं रमाइलो हुनै पर्छ?

शिक्षक विलियम एयर्सले पढाइबारे दसवटा गलत धारणाको सूची बनाए। त्यसमध्ये एउटा हो: “असल शिक्षकले पढाइलाई रमाइलो बनाउँछ।” उनी फेरि यसो भन्छन्‌: “रमाइलोले ध्यानलाई अलमल्याउँछ, मनोरञ्जन दिन्छ। जोकरले हसाउँछ। चुट्‌किला रमाइलो हुन सक्छ। कुनै कुरा सिक्दा त्यसमा चासो दिएर लाग्ने, त्यसमा डुब्ने, रमाइलो हुने, अलमल्ल पर्ने अनि प्रायजसो गहिरो आनन्द दिने हुन्छ। पढाइ रमाइलो भयो भने, राम्रै हो। तर पढाइ रमाइलो हुनै पर्छ भन्‍ने छैन।” उनी यसो भन्छन्‌: “अरूलाई सिकाउँदा ज्ञान, दक्षता, योग्यता, विवेचना गर्ने, बुझ्ने क्षमताजस्तै थुप्रै कुरा मुछिएको हुन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसको लागि विचारशील, अरूको भावना बुझ्ने व्यक्‍ति चाहिन्छ।”—टु टिच—द जर्नी अफ अ टिचर।

जापानको नागोया शहरका सुमियोले आफ्ना विद्यार्थीहरूमा यही समस्या पाए: “उच्च माध्यामिक स्तरमा पढ्‌ने धेरैजसो विद्यार्थीहरू रमाइलो गर्नु बाहेक अरू कुनै कुरामा चासो लिंदैनन्‌ र केही मेहनत गर्न नपरोस्‌ भन्‍ने आशा गर्छन्‌।”

न्यु योर्क, ब्रूकलिनका विद्यार्थी सल्लाहकार रोजाले यसो भनिन्‌: “अक्सर विद्यार्थीहरूले पढाइ नरमाइलो हुन्छ भन्‍ने धारणा राख्छन्‌। शिक्षक पनि नरमाइलो हुन्छ। तिनीहरूको विचारमा सबै कुरा रमाइलो हुनुपर्छ। तपाईं के सिक्नुहुन्छ, त्यो तपाईंले सिक्न के गर्नुभएको छ त्यसमा भर पर्छ भन्‍ने कुरा तिनीहरू बुझ्न सक्दैनन्‌।”

रमाइलो गर्ने लत लागिसकेका युवाहरूलाई मेहनत र त्याग गर्न निकै गाह्रो हुन्छ। माथि उल्लिखित सुमियोले यसो भनिन्‌: “मुख्य कुरा के हो भने, तिनीहरूले पछिसम्मको लागि सोच्न सक्दैनन्‌। अहिले मेहनत गरेर काम गरेको खण्डमा भविष्यमा त्यसको मीठो फल पाइन्छ भनेर विचार गर्ने उच्च माध्यामिक स्तरका विद्यार्थीहरू निकै थोरै हुन्छन्‌।”

[पृष्ठ ७-मा भएको चित्र]

डायना, संयुक्‍त राज्य अमेरिका

[पृष्ठ ८-मा भएको चित्र]

‘लागु पदार्थ सेवन व्याप्त छ तर ती घटनाहरू कमै मात्र पत्ता लाग्छन्‌।’—माइकल, जर्मनी

[पृष्ठ ८-मा भएको चित्र]

“हामीले परिवारमै हिंसा र लागु पदार्थको दुर्व्यसनजस्ता समस्याहरूको सामना गर्छौं।”—अमिरा, मेक्सिको

[पृष्ठ ९-मा भएको चित्र]

“शिक्षकहरूलाई . . . सुसारेजस्तो होइन तर अन्य पेसाका व्यक्‍तिहरूलाई जस्तै व्यवहार गरिनुपर्छ।”—अमेरिकी शिक्षक संघकी अध्यक्ष स्यान्ड्रा फिल्डमेन