शिक्षण पेसा—सन्तुष्टि अनि आनन्द
शिक्षण पेसा—सन्तुष्टि अनि आनन्द
“शिक्षण पेसामा लागिरहन मलाई कुन कुराले मदत गर्छ? सिकाउनु गाह्रो अनि थकाइलाग्दो हुन सक्छ तर सिक्न उत्सुक बच्चाहरू र तिनीहरूको उन्नति देख्दा म यस पेसालाई नछोड्ने उत्प्रेरणा पाउँछु।”—लिमारिज, न्यु योर्क शहरका शिक्षक।
विभिन्न किसिमको चुनौती, अवरोध अनि निरुत्साहको बावजूद विश्वभरिका लाखौं शिक्षकहरू आफूले रोजेको पेसामा लागिरहेका छन्। धेरै आदर पाउन सकिंदैन भन्ने कुरा थाह हुँदा-हुँदै पनि केले हजारौं विद्यार्थीहरूलाई शिक्षक बन्नको लागि प्रयत्न गर्न उत्प्रेरित गर्छ? केले तिनीहरूलाई यस पेसामा लागिरहन मदत गर्छ?
भारतको राजधानी नयाँ दिल्लीको एउटा स्कूलकी शिक्षिका, मारियान यसो भन्छिन्: “किशोर किशोरीहरूलाई उनीहरूको सबैभन्दा कठिन वर्षहरूमा बाटो देखाउन मदत गर्न सकें भनी जान्न पाउँदा मलाई साह्रै सन्तुष्टि अनुभव हुन्छ। तपाईंको मदत पाएका जवानहरूले वर्षौं पछिसम्म पनि तपाईंलाई सम्झिरहँदा महसुस हुने सन्तुष्टि अरू कुनै पेसाले पनि दिन सक्दैन।”
अघिल्लो लेखमा उल्लिखित जुलियानोले यसो भने: “कुनै विषयमा विद्यार्थीहरूको चासो जगाउन सफल हुँदा पनि एक किसिमको ठूलो सन्तुष्टि महसुस हुन्छ। उदाहरणका लागि, मैले इतिहासको कुनै अंशबारे व्याख्या गरिसकेपछि केही विद्यार्थीहरूले मलाई यसो भने: ‘नरोक्नुहोस्। हामीलाई अझै बताउनुहोस्!’ यस्ता हार्दिक अभिव्यक्तिहरूले स्कूलमा दिक्क लागिरहेको बेलासमेत आनन्द दिन्छ किनकि आफूले ती किशोर किशोरीहरूको मनमा नयाँ कुराबारे चासो जगाउन सकेकोमा ठूलो सन्तुष्टि मिल्छ। पढाएको विषयवस्तुलाई विद्यार्थीहरूले राम्ररी बुझिसकेपछि तिनीहरूको आँखामा एक प्रकारको चमक देख्दा आनन्द लाग्छ।”
इलिना नाउँ गरेकी इटालीकी एक शिक्षिकाले यसो भनिन्: “मेरो विचारमा सन्तुष्टि भन्ने कुरा कहिलेकाहीं हुने ठूल-ठूला उपलब्धिहरूबाट भन्दा अक्सर दिनहुँ हुने सा-साना कामकुराहरू; जस्तै: विद्यार्थीहरूका सा-साना उपलब्धिहरूबाट मिल्छ।”
तीस वर्ष पुगेकी कनी नाउँ गरेकी अस्ट्रेलियालीले यसो भनिन्: “तपाईंले पढाएका विद्यार्थीहरूले तपाईंको प्रयासको सराहना गर्दै पत्र लेख्ने समय निकाल्दा ठूलो इनाम पाएको महसुस हुन्छ।”
अर्जेन्टिनाको मेन्डोजा निवासी ओस्कार पनि यस्तै विचार व्यक्त गर्छन्: “आफ्ना विद्यार्थीहरूलाई सडक वा अन्य स्थानहरूमा भेट्दा तिनीहरूले सिकेका कुराहरूको लागि मूल्यांकन व्यक्त गर्दा मलाई मेरो प्रयास खेर गएनछ जस्तो लाग्छ।” स्पेनका म्याड्रिड निवासी एन्जलले यसो भने: “यस अद्भुत तर कठिन पेसामा आफ्नो जीवनको केही अंश समर्पित गर्दा मेरो प्रयासको फलस्वरूप मैले सिकाएका जवानहरू असल पुरुष तथा स्त्रीहरू भएको हेर्न पाउँदा मलाई सन्तुष्टि मिल्छ।”
सबैभन्दा माथि उल्लिखित लिमारिजले यसो भनिन्: “मलाई लाग्छ, शिक्षकहरू एउटा विशेष पहिचान बोकेका
व्यक्तिहरू हुन्। हामी पक्कै साधारण मानिसहरू होइनौं किनभने हामी यति ठूलो जिम्मेवारी वहन गर्छौं। तर तपाईंले चाहे दस जनाको होस् वा एक जनाको, कुनै बच्चाको जीवनमा अर्थपूर्ण परिर्वतन ल्याउन सक्नु नै तपाईं आफ्नो काममा सफल हुनुभएको प्रमाण हो, यो नै सबैभन्दा ठूलो सन्तुष्टि हो। तपाईंले आनन्दसाथ आफ्नो काम गर्नुभयो।”के तपाईंले आफ्नो शिक्षकलाई धन्यवाद दिनुभएको छ?
एक जना विद्यार्थी वा अभिभावकको हैसियतमा शिक्षकले तपाईंको लागि खर्च गर्नुभएको समय, प्रयास अनि चासोको लागि के तपाईंले कहिल्यै उहाँलाई धन्यवाद दिनुभएको छ? वा के तपाईंले उहाँहरूलाई कहिल्यै धन्यवादका पत्रहरू पठाउनुभएको छ? केन्या, नैरोबीका आर्थरले एउटा एकदमै मनासिब टिप्पणी गरे: “प्रशंसा गर्दा शिक्षकहरूले अझ उन्नति गर्छन्। सरकार, अभिभावक अनि विद्यार्थीहरूले उनीहरू र उनीहरूको सेवालाई उच्च कदर गर्नुपर्छ।”
लेखक तथा शिक्षक लुएन जोन्सनले यस्तो लेखे: “शिक्षकको आलोचना गरिएको एउटा पत्रको सट्टा सयवटा प्रशंसाका पत्रहरू पाउँछु। यसले गर्दा नराम्रो भन्दा राम्रा शिक्षकहरू धेरै छन् भन्ने मेरो विश्वास झनै मजबुत हुन्छ।” चाखलाग्दो कुरा त के छ भने, धेरै मानिसहरूले जासुसहरू लगाएर “आफ्ना पहिलेका शिक्षकहरू खोज्छन्। मानिसहरू आफ्ना शिक्षकहरू पत्ता लगाएर तिनीहरूलाई धन्यवाद दिन चाहन्छन्।”
शिक्षकले कुनै पनि मानिसको शिक्षाको आधारभूत जग बसाल्छ। सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयका उत्कृष्ट प्राध्यापकहरूसमेत शिक्षकहरूप्रति ऋणी हुन्छन्, किनभने शिक्षा, ज्ञान र समझप्रति तिनीहरूको चाह जगाउन शिक्षकहरूले नै समय र प्रयास खर्च गरे। नैरोबीका अर्थर यसो भन्छन्: “निजी तथा सरकारी क्षेत्रका सबै उच्च पदाधिकारीहरूलाई उनीहरूको जीवनमा कुनै न कुनै घडीमा शिक्षकहरूले सिकाएका हुन्छन्।”
हाम्रो चासो जगाउने, हाम्रो मन अनि हृदयलाई उत्प्रेरित गर्ने, ज्ञान र समझ प्राप्त गर्न बाटो देखाउने ती स्त्री तथा पुरुषहरूप्रति हामी कत्ति कृतज्ञ हुनुपर्छ!
महान् शिक्षक यहोवाप्रति हामी कत्ति धेरै कृतज्ञ हुनुपर्छ, जसको प्रेरणाद्वारा हितोपदेश २:१-६ का शब्दहरू लेखियो: “हे मेरो छोरो, यदि तैले मेरा वचन हृदयमा लिइस् र मेरा आज्ञा तेरो मनमा राखिस् भने बुद्धिमा तेरो ध्यान र तेरो मन समझ-शक्तिमा लगाइस् भने, तैंले विवेक माग्छस् भने समझशक्तिलाई पुकार्। यदि तैंले त्यसलाई चाँदीझैं खोजिस् र गाड़-धनझैं त्यो खनिस् भने, तैंले परमप्रभुको भय बुझ्नेछस्, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। किनभने बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ, र ज्ञान र समझ-शक्ति उहाँबाटनै आउँछन्।”
यस विचारणीय शास्त्रपदमा उल्लिखित “यदि” शब्दलाई ध्यान दिनुहोस्। कल्पना गर्नुहोस्, यदि हामी त्यो चुनौती स्वीकार्न इच्छुक भयौं भने, हामीले “परमेश्वरको ज्ञान प्राप्त” गर्नेछौं! निस्सन्देह, यो नै सबैभन्दा महान् शिक्षा हो। (g02 3/8)
[पृष्ठ १३-मा भएको पेटी]
आनन्दित अभिभावक
न्यु योर्क शहरका एक शिक्षकले निम्न पत्र प्राप्त गरे:
“मेरा छोराछोरीहरूको लागि तपाईंले जे जति गर्नु भयो, त्यसको लागि म तपाईंलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तपाईंको रेखदेख, दया अनि कौशलताले गर्दा तपाईंले तिनीहरूलाई ठूल-ठूला उपलब्धिहरू हासिल गर्न मदत गर्नुभयो। तपाईंले गर्दा आज म मेरा छोराछोरीहरूको गर्व गर्न सक्छु र यसलाई म जिन्दगीभर बिर्सने छैन। तपाईंकी शुभचिन्तक, एस.बी.”
कतै तपाईंले पनि प्रोत्साहन दिन सक्नुहुने कुनै शिक्षक छन् कि?
[पृष्ठ १२-मा भएको चित्र]
‘पढाएको विषयवस्तु बुझिसकेपछि विद्यार्थीहरूको आँखामा एक प्रकारको चमक देख्दा आनन्द लाग्छ।’—जुलियानो, इटाली
[पृष्ठ १३-मा भएको चित्र]
‘विद्यार्थीहरूले तपाईंको प्रयासको सराहना गर्दै पत्र लेख्ने समय निकाल्दा ठूलो इनाम पाएको महसुस हुन्छ।’—कोनी अष्ट्रेलिया