दोषी भावनाहरू—के ती सधैं गलत हुन्?
बाइबलको दृष्टिकोण
दोषी भावनाहरू—के ती सधैं गलत हुन्?
अचेल धेरै मानिसहरू दोषी भावना महसुस नहोस् भन्ने चाहन्छन्। तिनीहरू जर्मन दार्शनिक फ्रेड्ररिक निशेले जस्तै सोच्छन्, जसले यसो भने: “अहिलेसम्ममा मानिसलाई लागेको सबैभन्दा डरलाग्दो बिमारी भनेकै दोषी भावना हो।”
तर केही अनुसन्धाताहरू भने अहिले अर्कै निष्कर्षमा पुगेका छन्। “दोषी महसुस गर्नु भनेको संवेदनशील र भरोसायोग्य मानिसमा नभई नहुने अत्यावश्यक कुरा हो” भनी अन्तरराष्ट्रिय ख्यातिप्राप्त चिकित्सक तथा लेखिका, विद्यावारिधि प्राप्त सुसन फरवर्ड भन्छिन्। “यो अन्तस्करणको एउटा कार्य हो।” त्यसोभए, के सबै दोषी भावनाहरू गलत हुन् त? के दोषी भावना मदतकारी हुन सक्ने कुनै परिस्थितिहरू छन्?
दोष के हो?
आफूले माया गर्ने व्यक्तिको चित्त दुःखाउँदा वा चल्नुपर्ने स्तरअनुरूप चल्न नसक्दा दोषी भावना झनै बढ्छ। एउटा सन्दर्भिकाअनुसार, दोष “असफलता, गलत काम, अपराध वा पापले गर्दा कुनै व्यक्तिमा हुने ग्लानिको भावनासित” सम्बन्धित छ।
हिब्रू धर्मशास्त्रमा दोष, इस्राएलीहरू परमेश्वरको व्यवस्थाअनुरूप जीउन नसक्नुसित सम्बन्धित थियो जसको प्रायजसो संकेत लेवी तथा गन्तीको पुस्तकमा पाइन्छ। चाखलाग्दो कुरा त के छ भने, मसीही युनानी धर्मशास्त्रमा दोष भन्ने शब्द कतै पनि पाइँदैन भने पनि हुन्छ। तर यो शब्द प्रयोग भएको कुनै-कुनै ठाउँमा यसले परमेश्वर विरुद्ध गम्भीर गल्ती भन्ने अर्थ पनि दिन्छ।—मर्कूस ३:२९; १ कोरिन्थी ११:२७.
दुःखको कुरा, कहिलेकाहीं आफूले कुनै गलत काम नगरे तापनि हामी दोषी महसुस गर्न सक्छौं। उदाहरणका लागि, यदि कुनै व्यक्तिले सबै कामबाट सिद्धताको आशा गर्छ र आफ्नोलागि अव्यावहारिक स्तर निर्धारण गर्छ भने, निराशाले उसमा दोषी भावना झनै बढाउन सक्छ। (उपदेशक ७:१६) अथवा कहिलेकाहीं कुनै गल्तीको लागि आवश्यकभन्दा बढी दोषी महसुस गरेर लज्जित हुँदै हामी आफैलाई सजाय दिइरहेका हुन सक्छौं। त्यसोभए, दोषी महसुस गर्नुका लाभदायक पक्षहरू के हुन्?
दोषी भावनाले फाइदा गर्न सक्छ
दोषी भावना कम्तीमा पनि तीन तरिकामा फाइदाजनक हुन सक्छ। पहिलो, यसले हामी स्वीकार्य स्तरहरूप्रति सजग छौं भन्ने संकेत दिन्छ। यसले हामीमा क्रियाशील अन्तस्करण छ भनी देखाउँछ। (रोमी २:१५) वास्तवमा, अमेरिकन साइकायट्रिक एसोसिएसनद्वारा प्रकाशित पुस्तकले दोषी भावना नहुनु समाजको लागि हानिकारक हुन्छ भनेको छ। भ्रष्ट र बोधो अन्तस्करण भएकाहरूलाई असल र खराबबीचको भिन्नता छुट्याउन गाह्रो पर्छ र यो हानिकारक हुन सक्छ।—तीतस १:१५, १६.
दोस्रो, दोषी अन्तस्करणले हामीलाई गलत कामहरू गर्नबाट रोक्न सक्छ। शारीरिक पीडाले हामीलाई सम्भाव्य स्वास्थ्य समस्याबारे सजग बनाएझैं दोषी भावनासित सम्बन्धित भावनात्मक पीडाले हामीलाई नैतिक तथा आध्यात्मिक समस्याबारे सजग बनाउँछ। आफ्ना कमजोरीहरूबारे सजग भइसकेपछि भविष्यमा फेरि आफूलाई, आफ्ना प्रिय जनहरूलाई अथवा अरूलाई चोट नपुऱ्याउनको लागि होसियार हुन्छौं।—मत्ती ७:१२.
अन्तमा, दोष स्वीकार्नाले दोषी र पीडित पक्ष दुवैलाई मदत पुग्न सक्छ। उदाहरणका लागि, राजा दाऊदको गल्तीले तिनलाई तीव्र भावनात्मक पीडा महसुस गरायो। “जब म चूप लागें, तब मेरा हड्डीहरू दिनभरिको मेरो कङ्कलाशब्दले गर्दा मक्किए” भनी तिनले लेखे। तर जब अन्ततः तिनले आफ्नो पाप परमेश्वरसामु स्वीकारे, तिनीले प्रसन्न हुँदै यस्तो भजन गाए: “तपाईले मलाई चारैतिरबाट छुटकाराको गीतले घेर्नुहुनेछ।” (भजन ३२:३, ७) दोष स्वीकार्दा पीडित व्यक्तिलाई राहत पुग्न सक्छ किनकि यसो गर्दा पीडित व्यक्ति अरूले आफूलाई माया गर्दो रहेछ भन्ने कुरामा ढुक्क हुन सक्छ।—२ शमूएल ११:२-१५.
दोषी भावनाप्रति सन्तुलित दृष्टिकोण
दोषी भावनाप्रति सन्तुलित दृष्टिकोण राख्नको लागि, पापीहरू र पापको सम्बन्धमा येशू अनि फरिसीहरूले राखेको एकदमै विपरीत दृष्टिकोणलाई विचार गर्नुहोस्। लूका ७:३६-५० मा हामी एउटी अनैतिक आइमाईबारे पढ्छौं, जो येशूले खाना खाइरहनुभएको ठाउँमा एक जना फरिसीको घरमा पसी। ऊ येशूको नजिकै गई, आफ्नो आँसुले उहाँको खुट्टा धोई र त्यसमा एकदमै महँगो मलहम घसी।
यस धर्मपरायण यहूदीले यस आइमाईलाई आफ्नो प्रतिष्ठा र ओहदाभन्दा निकै तल्लो स्तरको ठान्दै घृणा गऱ्यो। उसले मनमनै यसो भन्यो: “यिनी [येशू] अगमवक्ता हुँदाहुन् ता उनलाई छुने को र कस्ती आइमाई हो भनी यिनले जान्ने थिए, किनकि यो ता पापीनी हो।” (लूका ७:३९) येशूले तिनको सोचाइलाई तत्कालै सच्याउनुभयो। येशूले यसो भन्नुभयो, “तिमीले मेरो शिरमा तेल घसि दिएनौ, तर यसले ता मेरा खुट्टामा मलहम घसेकी छ। यसकारण म तिमीलाई भन्दछु, त्यसका पाप जो धेरै छन् सो क्षमा भएका छन्, किनकि त्यसले ज्यादा प्रेम गरी।” निस्सन्देह, यस्तो दयालु वचन सुनेपछि यस आइमाईले प्रोत्साहन पाइन् र तिनको मन हल्का भयो।—लूका ७:४६, ४७.
यहाँ येशूले अनैतिकतालाई ढाकछोप गर्न खोजिरहनुभएको थिएन। बरु, परमेश्वरको सेवा गर्न उत्प्रेरणा दिने प्रेमको महत्त्वबारे उहाँले त्यस घमण्डी फरिसीलाई सिकाउँदै हुनुहुन्थ्यो। (मत्ती २२:३६-४०) यस आइमाईले आफ्नो विगतको अनैतिक जीवनको लागि दोषी महसुस गर्नु पक्कै पनि ठीक थियो। तिनी पश्चात्तापी थिइन् भन्ने कुरा तिनी रोएको, विगतको आचरणलाई ढाकछोप गर्न कुनै बहाना नबनाएको र येशूलाई सार्वजनिक रूपमा सम्मान गर्नका लागि सक्रिय कदम चालेकोबाट स्पष्ट देखिन्छ। यो देखेर येशूले तिनलाई यसो भन्नुभयो: “तिम्रो विश्वासले तिम्रो उद्धार भएको छ, शान्तिसित जाऊ।”—लूका ७:५०.
अर्कोतर्फ, फरिसीले तिनलाई अझै पनि पापीको रूपमा घृणा गरिरह्यो। सायद उसले ‘तिनमा परमेश्वरप्रतिको डर राखिदिएर’ तिनलाई लज्जित बनाउन खोज्यो। तर सधैं आफूले सोचेअनुसार अरूले गरेनन् भन्दैमा तिनहरूलाई दोषी महसुस गराउन खोज्नु मायालु कार्य होइन र अन्ततः यसले नकारात्मक प्रभाव पार्छ। (२ कोरिन्थी ९:७) आवश्यक परेको बेला सच्याउनुका साथै सल्लाह दिनुपरेको खण्डमा समेत असल उदाहरण बसालेर, निष्कपटसाथ अरूको प्रशंसा गरेर अनि तिनीहरूमा भरोसा राखेर येशूको उदाहरण अनुकरण गर्दा असल नतिजा प्राप्त हुन्छ।—मत्ती ११:२८-३०; रोमी १२:१०; एफिसी ४:२९.
हामीले केही गल्ती नै गरेका छौं भने चाहिं दोषी महसुस गर्नु असल हुन सक्छ र यसो गर्नु आवश्यक पनि छ। हितोपदेश १४:९ यसो भन्छ: “मूर्ख आफ्नो भुल सुधार्न अति अभिमानी हुन्छ।” दोषी अन्तस्करणले हामीलाई आफ्नो गल्ती स्वीकार्न तथा अरू आवश्यक कदम चाल्न उत्प्रेरित गर्न सक्छ र यसरी उत्प्रेरित गर्नु पनि पर्छ। तथापि, हामीले यहोवाको सेवा गर्नुको मुख्य कारण दोषी भावना होइन तर प्रेम हुनुपर्छ। (अय्यूब १:९-११; २:४, ५) यस कुरालाई ध्यानमा राख्दै असल मानिसहरूलाई प्रोत्साहन र स्फूर्ति प्रदान गर्दा तिनीहरूले आफूले सकेजति गर्नेछन् भनी बाइबलले आश्वासन दिन्छ। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त, यसो गर्दा तिनीहरू खुसी हुनेछन्। (g02 3/8)