भूकम्पपछिको अवस्था सामना गर्ने
भूकम्पपछिको अवस्था सामना गर्ने
“हामी बिहानदेखि हिंड्या-हिंड्यै छौं। हामी आफ्नो ज्यान जोगाउन भागिरहेका छौं। दानापानी केही छैन। सबै घरहरू भत्किएका छन्।”—हरजिभन, भारतमा ७.९ रेक्टर स्केलको भूकम्पबाट बचेका व्यक्ति।
भूकम्पको प्रहार भयावह हुन्छ। “मेरो पलङ छेउको आठ फिट अग्लो काठको दराजबाट किताबहरू खसेर हावामा उडिरहेका थिए” भनी १९९९ मा ताइवानको भूकम्पबाट बचेकी महिलाले भनिन्। तिनी अझै यसो भन्छिन्, “मोटरसाइकल चढ्दा आफ्नो सुरक्षाको लागि किनेको नयाँ हेल्मेट दराजमाथिबाट खसेर झन्डै टाउकोमा बजारिएको। सुरक्षाको लागि किनेको सामानले नै झन्डै मेरो ज्यान गएको थियो।”
भूकम्पपछि
भूकम्प अनुभव गर्नु भनेको निकै भयावह कुरा भए तापनि त्यसबाट बच्नु त प्रारम्भिक चरण मात्र हो। भूकम्पपछि उद्धारकर्मीहरू साहसी भई घाइतेहरूलाई खोजेर उपचार गर्न थाल्छन्। प्रायजसो, तिनीहरूले फेरि केही छिनमै कम्प हुने खतरा हुँदा-हुँदै पनि त्यसो गर्छन्। एल साल्भाडोरमा हालै गएको भूकम्पको कारण पूरा गाउँ नै पुरिने गरी जम्मा भएको माटोको थुप्रोबाट मानिसहरूलाई बचाउन खोज्ने एक जना मानिसले यसो भने, “हामी असाध्यै होसियार हुनुपर्छ। अकस्मात् जमिन हल्लिन थाल्यो भने बाँकी पहाड सबै गर्ल्यामगुर्लुम ढल्न सक्छ।”
कहिलेकाहीं मानिसहरूले पीडितहरूको उद्धार गर्न असामान्य आत्म-त्यागको भाव प्रदर्शन गर्छन्। उदाहरणका लागि, सन् २००१ को सुरुतिर भारतमा एउटा एकदमै ठूलो भूकम्प गएको कुरा सुनेपछि हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने मनु नाउँ गरेको वृद्ध आफ्नो मातृभूमि फर्के। तिनले यसो भने, “म जानै पर्छ, संकट परेको बेला मैले आफ्नो परिवारलाई मात्र होइन तर सबैलाई मदत गर्नुपर्छ।” मनुले आफू गएका ठाउँहरूको अवस्था अत्यन्तै दयनीय भएको पाए। तथापि, तिनले यस्तो टिप्पणी गरे: “मानिसहरूले देखाएको साहस पत्याउनै गाह्रो छ।” एक जना पत्रकारले यसो भने: “म पुगेको ठाउँका मानिसहरू सबैले नै आफूले जे दिन सक्थे, विना हिचकिचाहट दिए—अरूलाई मदत गर्न एक दिनको, एक हप्ताको वा एक महिनाको तलब, आफूले जति दिन सक्थे, सबै दिए।”
निस्सन्देह, भूकम्पबाट ढलेका भवनहरूको भग्नावशेष हटाएर घाइतेहरूको उपचार गर्नु एउटा कुरा हो तर क्षणभरको त्रासले जीवन अस्तव्यस्त भएकाहरूको दिनचर्यालाई सामान्य अवस्थामा ल्याउनु भनेको अर्को कुरा हो। डेलोरसलाई विचार गर्नुहोस्, जसले एल साल्भाडोरको भूकम्पमा आफ्नो घर गुमाए। उनी यसो भन्छिन्, “यो त युद्धभन्दा नराम्रो हो। युद्धको बेला अरू केही नभए पनि हाम्रो घर त थियो।”
सुरुको लेखमा उल्लेख गरिएझैं कहिलेकाहीं भौतिक सरसामानको भन्दा भावनात्मक सहयोगको बढी आवश्यकता हुन्छ। उदाहरणका लागि, कोलम्बियाको पश्चिमतिर पर्ने आरमेनिया शहर १९९९ को सुरुतिर गएको भूकम्पले तहसनहन हुँदा हजारभन्दा बढी मानिसले आफ्नो ज्यान गुमाए भने अरू थुप्रैलाई चाहिं के गर्ने, कसो गर्ने केही थाह नहुनुका साथै निराश भए। प्रकोपले गर्दा आफै पनि घरबारविहीन भएका मनोचिकित्सक रबर्टो एस्टफानले यसो भने, “तपाईं जहाँसुकै जानुहोस्, मानिसहरू मदतको लागि गुहारिरहेका हुन्छन्। म ह्यामबर्गर किन्न बाहिर निस्कँदा मलाई प्रायः अभिवादन गर्ने प्रायजसो मानिसहरूले आफ्नो अनिद्राको समस्या वा दुःख पोखाउँछन्।”
डा. एस्टफानले अर्को के कुरा पनि राम्ररी बुझेका छन् भने, भूकम्पपश्चात् सामना गर्नुपर्ने भावनात्मक वेदना एकदमै दर्दनाक हुन्छ। उद्धार शिविर निर्माण गर्न मदत गरेकी एउटी आइमाईले के भनिन् भने, जागिर भएका मानिसहरूसमेत काममा जाने कुनै प्रयास गर्दैनन् किनभने तिनीहरूलाई अब धेरै बाँचिदैन होला जस्तो लाग्छ।
निराशाको बेला आशा प्रदान गर्ने
यस्ता संकटको बेला यहोवाका साक्षीहरूले पीडितहरूलाई शारीरिक मात्र होइन तर आध्यात्मिक तथा भावनात्मक
तवरमा मदत गर्ने प्रयास गर्छन्। उदाहरणका लागि, कोलम्बियामा माथि उल्लिखित भूकम्प जाने बित्तिकै यहोवाका साक्षीहरूको शाखा कार्यालयले स्थानीय आकस्मिक समिति खडा गऱ्यो। देशभरिका हजारौं साक्षी स्वयम्सेवकहरूले भोजन तथा पैसा पठाए। थोरै समयमै पीडित क्षेत्रमा लगभग ७० टन खाद्य सामग्री पठाइयो।प्रायजसो अवस्थामा आध्यात्मिक सहयोग अपरिहार्य हुन्छ। कोलम्बियाको भूकम्पपछि एकाबिहानै एउटी महिला त्यस क्षतिग्रस्त शहरमा हिंडिरहेकी थिइन्। त्यसै इलाकाका एक जना यहोवाको साक्षीले उक्त महिला असाध्यै विरक्त भएकी जस्तो देखिन्। साक्षी बहिनी ती महिलाकहाँ गएर के आशा छ मरिगएका प्रियजनहरूको निम्ति? भन्ने पर्चा दिइन्। a
उक्त महिलाले पर्चा लिइन् र घरमा गएर राम्ररी पढिन्। अर्को चोटि यहोवाका साक्षीहरू आउँदा आफ्नो कथा सुनाउन तिनी तयार थिइन्। त्यस शहरमा तिनका थुप्रै घरहरू थिए र त्यसैबाट राम्रो आय आर्जन पनि हुन्थ्यो तर भूकम्पले गर्दा तिनका ती सबै घरहरू भत्किएछन्। अहिले तिनी अचानक दरिद्र हुन पुगिन्। तर कुरा त्यति मात्र होइन। भूकम्पले गर्दा आफ्नो २५ वर्षीय छोरासित बस्ने गरेको घर भत्किनुका साथै छोराको पनि मृत्यु भयो। यी महिलाले आफूलाई पहिले कहिल्यै धर्ममा चासो नलागेको तर अहिले मनमा थुप्रै प्रश्नहरू उठ्न थालेको कुरा साक्षीलाई बताइन्। त्यस पर्चाले तिनलाई साँचो आशा प्रदान गऱ्यो। चाँडै तिनीसित गृह बाइबल अध्ययन सुरु गरियो।
मानिसजातिले भूकम्पजस्ता कुनै पनि प्राकृतिक प्रकोपबाट खतरा महसुस गर्न नपर्ने समय आउनेछ भन्ने कुरामा यहोवाका साक्षीहरू निर्धक्क छन्। त्यसको कारण यसपछिको लेखले बताउनेछ। (g02 3/22)
[फुटनोट]
a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।
[पृष्ठ ६-मा भएको पेटी]
तयार हुनुहोस्!
◼ पानी तताउने हिटरहरू पूरै बन्द गर्नुहोस् र गह्रौं सामानहरू भुइँमा वा तख्ताको तलतिर छन् कि छैनन्, पक्का गर्नुहोस्।
◼ परिवारका सदस्यहरूलाई बिजुली, ग्याँस र पानी बन्द गर्ने तरिका सिकाउनुहोस्।
◼ घरमा आगो निभाउने उपकरण तथा प्राथमिक उपचारको सरसामान राख्नुहोस्।
◼ नयाँ ब्याट्री राखेर यताउता सार्न मिल्ने सानो रेडियो तयार राख्नुहोस्।
◼ सबै परिवार मिलेर पूर्वाभ्यास गर्नुहोस् अनि यी बुँदाहरूमा जोड दिनुहोस् (१) शान्त रहनुहोस्, (२) स्टोभ र हिटर बन्द गर्नुहोस्, (३) ढोकानेर उभिनुहोस् वा टेबलमुनि लुक्नुहोस् अनि (४) झ्याल, ऐना र चिम्नी भएको ठाउँनेर नबस्नुहोस्।
[पृष्ठ ७-मा भएको पेटी/चित्र]
इजरायलमा भूकम्प
“पृथ्वीमा गएका भूकम्पहरूमध्ये सबैभन्दा लामो र क्रमिक इतिहास” इजरायलको छ भनी इतिहासकार आमोस नुर लेख्छन्। यसको कारण के हो भने, दरार बेंसी ताल अर्थात् पृथ्वीको धरातलको एउटा भागमा परेको दरार, भूमध्यसागर र अरबी भूमिको बीचमा पर्छ। यसको मतलब, इजरायलको उत्तरदेखि दक्षिणसम्मै त्यो दरार छ।
चाखलाग्दो कुरा त के छ भने, केही भूगर्भविद्हरूको विचारमा पुरातन वास्तुविद्हरूले भूकम्पबाट हुने क्षति कम गर्न विशेष प्रविधि प्रयोग गरेका थिए। यो कुरा सुलेमानको निर्माण परियोजनाबारे बाइबलको विवरणसित मेल खान्छ: “ठूलो चोकमा चारैपट्टि काटेर मिलाइएका ढुंगाका तीन लहर थिए, र देवदारको लामो एक लहर थियो। परमप्रभुको भवनको भित्री चोक र भवनको दलानको पनि त्यस्तै थिए।” (१ राजा ६:३६; ७:१२) ढुंगाका लहरमा काठका दलिन राख्ने यस्तो प्रविधि अन्य ठाउँहरूमा पनि देखिएका छन्; जस्तै: मगिद्दोको ढोका, यो सुलेमानको समयतिर वा त्योभन्दा अघि बनाइएको हुनुपर्छ भन्ने अनुमान गरिएको छ। शास्त्रज्ञ डेभिड एम. रलको विचारमा यी दलिनहरू “भूकम्पबाट हुने क्षति कम गर्न बीच-बीचमा राखिएको हुनुपर्छ।”
[चित्र]
बेत शेआन, इजरायलमा भूकम्पबाट भएका क्षति
[पृष्ठ ८-मा भएको पेटी/चित्र]
दुई मिनेटको त्रास—भूकम्प पीडितको वृत्तान्त
भारतको अहमेदावाद शहरमा, हाम्रो परिवार मेरो काकाको छोरीको विवाहको लागि तयारी गर्दैथियो। जनवरी २६, २००१ का दिन म घडीको आवाजले होइन तर बेसरी हल्लिएको कारण झसंग ब्यूझिएँ। स्टिलका दराजहरू एकदमै हल्लिएको देखेपछि मलाई पक्कै केही गडबडी हुनुपर्छ जस्तो लाग्यो। मेरो काका “घरबाट बाहिर निस्क!” भनेर चिच्याइरहनुभएको थियो। घरबाट बाहिर निस्केपछि हामीले घर ढल्लाजस्तै गरी हल्लिरहेको देख्यौं। हल्लिन बन्द नभएजस्तो लाग्यो। तर वास्तवमा, त्यो कम्प जम्मा दुई मिनेटको मात्र थियो।
यो तनाउ असह्य थियो। हामीले परिवारका सबै सदस्यहरू ठीक छन् कि छैनन् भनेर बुझ्ने प्रयास गऱ्यौं। टेलिफोन र विद्युत् आपूर्ति बन्द भएको कारण अर्को शहरमा भएका हाम्रा नातेदारहरूको अवस्था तत्काल बुझ्न सकेनौं। एक घण्टाको अन्योलपछि सबै सकुशल भएको थाह पायौं। तर अरू थुप्रैले भने आफ्नो परिवारका सदस्यहरू गुमाउनुपऱ्यो। उदाहरणका लागि, अहमेदावादमा मात्रै सयवटा भन्दा बढी भवन ढले र ५०० भन्दा बढी मानिसहरूको ज्यान गयो।
हप्तौंपछिसम्म पनि थुप्रैको मनमा त्रास छाएको थियो। राती सुत्न जाँदा मानिसहरूको मनमा सधैं कतै अर्को भूकम्प पो फेरि जाने हो कि भन्ने त्रास थियो किनभने अर्को भूकम्प जान सक्छ भन्ने पूर्वानुमान गरिएको थियो। पुनर्स्थापना कार्य एकदमै ढिलो भइरहेको थियो र थुप्रै घरबारविहीन भए। यस्तो बेहाल केवल दुई मिनेट गएको भूकम्पले गर्दा भएको थियो तर त्यसको तीतो सम्झना हामी कहिल्यै बिर्सनेछैनौं, सधैं हाम्रो दिमागमा रहिरहनेछ।—समिर सरैयाको वृत्तान्तमा आधारित।
[पृष्ठ ६, ७-मा भएको चित्र]
भारतमा जनवरी २००१ मा गएको भूकम्पको कारण ज्यान गुमाएका आमाको फोटो देखाउँदै एक जना भूकम्प पीडित र सँगै ती मृत व्यक्तिको लास जलाइँदैछ
[स्रोत]
© Randolph Langenbach/UNESCO (www.conservationtech.com)