भूकम्पबारे विस्तृत छलफल
भूकम्पबारे विस्तृत छलफल
“हामीलाई स्थिर पृथ्वीमा बस्ने बानी भइसकेको कारण त्यो चलहल गर्ने बित्तिकै हाम्रो मन अत्तालिन्छ।”—“द भायलेन्ट अर्थ।”
“भूकम्प भनेको प्रकृतिका सबैभन्दा विनाशक र शक्तिशाली शक्तिहरूमध्ये एक हो” भनी द वर्ल्ड बूक इनसाइक्लोपीडिया टिप्पणी गर्छ। यो कुनै बढाइचढाइ गरी भनिएको कुरा होइन किनभने एउटा ठूलो भूकम्पबाट निस्कने ऊर्जा, सबैभन्दा पहिले बनाइएको अणु बमबाट निस्कने भन्दा १०,००० गुणा बढी हुन सक्छ! यो भन्दा अझ डरलाग्दो कुरा त के हो भने, भूकम्प भनेको जुनसुकै हावापानी वा मौसममा जान सक्छ र यसले दिन, रात केही भन्दैन। अनि वैज्ञानिकहरूलाई भयानक भूकम्प जान सक्ने सम्भाव्य ठाउँ कहाँ छ भनी धेरथोर थाह भए तापनि भूकम्प कहिले जानेछ भनेर तोकेरै भन्न चाहिं सक्दैनन्।
जमिनको सतहमुनि चट्टानको हलचलले गर्दा भूकम्प जान्छ। यस प्रकारको गतिविधि निरन्तर चलिरहन्छ। प्रायजसो, यस्तो हलचले गर्दा हुने कम्प पृथ्वीको सतहमा चाल पाइँदैन तर सिस्मोग्राफले त्यो पत्ता लगाएर नाप्न सक्छ। a अन्य अवस्थामा भने थुप्रै चट्टानहरू टुक्रिन्छन् र जमिन बेसरी हल्लिन्छ।
तर पृथ्वीको सतहमा किन निरन्तर हलचल भइरहन्छ? “यसको जवाफ भूचालका पत्रहरूसित सम्बन्धित सिद्धान्तमा पाइन्छ, यस्तो धारणाले भूविज्ञानसम्बन्धी धारणामा आमूल परिवर्तन ल्याएको छ” भनी नेशनल अर्थक्वेक इन्फरमेशन सेन्टर (एन इ आइ सी) बताउँछ। एन इ आइ सी अझ यसो भन्छ, “सातवटा ठूल-ठूला पत्रहरू छन् र ती पनि अझ स-साना पत्रमा विभाजित छन्, सबै एकअर्काको सापेक्षिक गतिमा हुन्छन् अनि प्रति वर्ष १० देखि १३० मिलिमिटरसम्म [एक इन्चको आठ भागको एक भागदेखि पाँच भागसम्म] फरक हुन्छ भन्ने कुरा हामीलाई थाह छ।” एन इ आइ सी-ले बताएअनुसार प्रायजसो भूकम्प, भूचालका पत्रहरूको सीमांकन गर्ने साँघुरो भूबनोटमा सीमित हुन्छ। यी ठाउँहरूमा नै ९० प्रतिशत जति ठूल-ठूला भूकम्पहरू जाने गर्छन्।
वेग र तीव्रता
कत्तिको ठूलो भूकम्प गयो भन्ने कुरा यसको वेग वा तीव्रता नापेर पत्ता लगाउन सकिन्छ। चार्ल्स
रेक्टरले सन् १९३० को दशकमा भूकम्पको वेग नाप्ने यन्त्र विकास गरे। सिस्मोग्राफ स्टेसनका संख्याहरू बढ्दै गएपछि रेक्टरको धारणामा आधारित थुप्रै नयाँ नापहरू विकास भए। उदाहरणका लागि, वेगको फैलावट नाप्ने यन्त्रले भूकम्प गएको स्थानमा पैदा भएको शक्ति नाप्छ।निस्सन्देह, भूकम्पले कुन हदसम्म क्षति पुऱ्यायो भनेर यी यन्त्रहरूले सधैं देखाउँदैनन्। सन् १९९४ जून महिनामा उत्तरी बोलिभियामा गएको ८.२ रेक्टर स्केलको भूकम्पलाई विचार गर्नुहोस्, जसले केवल पाँच जना मानिसको ज्यान लिएको अनुमान गरियो। यद्यपि, १९७६ मा चीनको टाङशानमा ८.० रेक्टर स्केल मात्रको भूकम्पले लाखौं मानिसको ज्यान लियो!
भूकम्पको वेगले होइन तर त्यसको तीव्रताले मानिस, भवन तथा वातावरणमा पारेको असर देखाउँछ। साँच्चै भन्ने हो भने, भूकम्पले मानिसमा पार्ने असर बुझ्ने महत्त्वपूर्ण बुँदा यही हो। आखिर, कम्प हुँदैमा धनजनको क्षति हुने होइन। वास्तवमा भत्किएका भवन, ग्याँस वा बिजुलीको चुहावट, खसेका मालसामान र त्यस्तै अन्य कुराहरूले गर्दा नै प्रायजसो चोटपटक लाग्ने वा मृत्यु हुने गर्छ।
भूकम्पवैज्ञानिकको एउटा लक्ष्य भूकम्प जानुअघि यसबारे पूर्व चेताउनी दिन खोज्नु हो। एडभान्स्ड सिस्मिक रिसर्च एण्ड मनिटरिङ सिस्टम भनिने एउटा डिजिटल प्रोग्राम विकास गरिदैंछ। सि एन एन-को एउटा रिपोर्टअनुसार यो डिजिटल प्रणाली र जानकारी हासिल गर्ने उच्च प्रविधियुक्त साधनको मदत उपलब्ध भएको खण्डमा अधिकारीहरूलाई “भूकम्प उत्पत्ति भएको सबैभन्दा खतरनाक बिन्दु किटान गर्न सजिलो हुनेछ।” यसको फलस्वरूप अख्तियारवालाहरूले प्रभावित क्षेत्रमा तुरुन्तै मदत पठाउन सक्नेछन्।
निश्चय पनि भूकम्प जान सक्ने सम्भावनाबारे सजग भयौं भने चोटपटक, धनजनको क्षति कम गर्न र मुख्यतया ज्यान जोगाउन प्रभावकारी हुनेछ। तर भूकम्प सधैं गइरहने हुँदा यस्तो प्रश्न उठ्छ: भूकम्पले गर्दा खडा हुने समस्याको सामना गर्न कसै-कसैले कस्तो मदत पाएका छन्? (g02 3/22)
[फुटनोट]
a सिस्मोग्राफ भनेको भूकम्प जाँदा जमिनको हलचल नाप्ने एउटा यन्त्र हो। सबैभन्दा पहिलो सिस्मोग्राफ सन् १८९० मा बनाइएको थियो। आज, संसारभरि ४,००० भन्दा बढी सिस्मोग्राफ स्टेसनहरू छन्।
[पृष्ठ ५-मा भएको तालिका]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
कतिवटा भूकम्प?
विवरण वेग वर्षेनी औसत
ठूलो ८ र त्योभन्दा ठूलो १
प्रमुख ७-७.९ १८
बेसरी ६-६.९ १२०
ठिक्कको ५-५.९ ८००
हल्का ४-४.९ ६,२००*
सानोतिनो ३-३.९ ४९,०००*
एकदमै सानो <३.० वेग २-३:
प्रति दिन १,००० जति
वेग १-२:
प्रति दिन ८,००० जति
* अनुमानित।
[स्रोत]
Source: National Earthquake Information Center
By permission of USGS/National Earthquake Information Center, USA
[पृष्ठ ५-मा भएको चित्रको स्रोत]
Seismogram on pages 4 and 5: Figure courtesy of the Berkeley Seismological Laboratory