मैले आफ्नो गर्भको बच्चा गुमाएँ
मैले आफ्नो गर्भको बच्चा गुमाएँ
सोमबार अप्रिल १०, २००० को दिन न्यानो र घमाइलो थियो। त्यसैकारण मैले बाहिर गएर एक दुईवटा काम गर्ने विचार गरें। मेरो गर्भको बच्चा भर्खरै ३ महिना नाघेको र जीउ त्यति हल्का नभए तापनि बाहिर निस्कन पाउँदा म खुसी थिएँ। एउटा पसलको काउन्टरमा पैसा तिर्न कुरिरहेको बेला मलाई मेरो शरीरमा केही गडबडी भएजस्तो लाग्यो।
घर पुग्दा मात्र मेरो डर साँचो साबित भयो। मेरो रक्तश्राव भइरहेको थियो र अघिल्लो दुईवटा गर्भधारणमा यस्तो नभएको कारण मलाई साह्रै डर लाग्यो! मैले मेरो डाक्टरलाई फोन गरें तर तिनले भोलिपल्टसम्म कुर्ने सल्लाह दिए किनभने त्यही दिन मैले डाक्टरसित भेट्ने समय मिलाइसकेको थिएँ। त्यो रात हाम्रा दुई जना बच्चालाई सुताउनअघि म अनि मेरो श्रीमान् मिलेर हामीलाई आवश्यक बल दिनुहोस् भनी यहोवालाई प्रार्थना गऱ्यौं। त्यसपछि म निदाएँ।
तर असाध्यै पीडा भएकोले म राती २ बजेतिर निद्राबाट ब्यूँझिएँ। बिस्तार दुख्न अलि कम भयो तर एक छिन निदाएको मात्र के थिएँ, दुख्न फेरि सुरु भइहाल्यो। यस पटक त एकनासे रूपमा छिन-छिनमै दुखिरह्यो। रक्तश्राव बढिरहेको थियो र संकोचन भइरहेको महसुस भयो। यस्तो हुनुमा कतै मेरै पो कुनै गल्ती थियो कि भनेर मैले मनमनै सोचें तर मलाई आफूले त्यस्तो केही गरेजस्तो लागेन।
बिहान पाँच बजेतिर त म डाक्टरकहाँ नगई नहुने भयो। म अनि मेरो श्रीमान् अस्पताल पुग्दा आकस्मिक कक्षका दायालु, मदतकारी अनि समानुभूतिशील कर्चमारीहरूले हामीप्रति निकै सहयोगी मनोभाव देखाए। दुई घण्टापछि हामीलाई जुन कुराको डर थियो डाक्टरले त्यही खबर सुनायो: मेरो गर्भ तुहियो।
लक्षणहरू पहिल्यै देखिएको हुँदा यस्तो नतिजा होला कि भनी मैले अनुमान गरिसकेकी थिएँ, त्यसैले यो खबर सुनेर म त्यतिबिघ्न विचलित भइनँ। साथै, हरपल मेरो श्रीमान् मेरो साथमा हुनुभएकोले मलाई निकै आड भयो। तर अहिले हामी बच्चा नलिई घर फर्किंदै थियौं र हाम्री छ वर्षीया छोरी क्यातलिन अनि चार वर्षीय छोरा डेभिडलाई के भन्ने भनेर हामीले केही सोच्नै सकेनौं।
बच्चाहरूलाई के भन्ने?
राती सुत्नुअघि केही गडबडी भएको थियो भनेर बच्चाहरूलाई थाह थियो तर तिनीहरूको जन्मन लागेको भाइ वा बहिनी मरिसक्यो भनी हामीले तिनीहरूलाई कसरी भन्ने? हामीले तिनीहरूलाई केही पनि नलुकाई सबै कुरा भन्ने निर्णय गऱ्यौं। बच्चा हामीसँगै आउनेछैन भनी बच्चाहरूलाई बताउन मेरी आमाले हामीलाई मदत गर्नुभयो। हामी घर पुग्ने बित्तिकै तिनीहरू दौडेर हामीलाई भेट्न आए अनि हामीलाई अँगालो हालेर म्वाँइ खाए। तिनीहरूको पहिलो प्रश्न थियो, “बच्चा ठीकै छ होइन?” मैले केही जवाफै दिन सकिनँ तर मेरो श्रीमान्ले हामी सबैलाई कसेर अँगालो हाल्नुभयो र भन्नुभयो: “बच्चा मरिसक्यो।” हामीले एकअर्कालाई अँगालो हालेर रोयौं र यसो गर्दा हाम्रो पीडा बिस्तारै कम हुन थाल्यो।
तर पछि गएर हाम्रा छोराछोरीले देखाउने प्रतिक्रियाबारे भने हामी त्यति तयार थिएनौं। जस्तै,
मेरो गर्भ तुहेको दुई हप्तापछि यहोवाका साक्षीहरूको स्थानीय मण्डलीमा एक जना वृद्ध साक्षी तथा हाम्रो परिवारको घनिष्ठ मित्रको निधन भएको घोषणा गरियो। चार वर्षको हाम्रो छोरा डेभिड बेसरी रुन थाल्यो र मेरो श्रीमान्ले उसलाई बाहिर लगे। रुन बन्द भएपछि, डेभिडले आफ्नो मित्र किन मऱ्यो भनी सोध्यो। त्यसपछि उसले बच्चा मर्नुको कारण पनि सोध्यो। अनि उसले आफ्नो बाबुलाई सोध्यो, “के तपाईं पनि मर्नुहुनेछ?” यहोवा परमेश्वरले किन अहिलेसम्म शैतानलाई नष्ट नगर्नुका साथै “परिस्थिति सुर्धानु” भएको छैन भनी डेभिड जान्न चाहन्थ्यो। साँच्चै, उसको त्यो कलिलो दिमागमा कति प्रश्नहरू खेलिरहेका रहेछन् भनेर थाह पाउँदा हामी छक्क पऱ्यौं।क्यातलिनले पनि धेरै प्रश्नहरू सोधिन्। तिनी आफ्नो पुतलीसँग खेल्दा एउटा पुतली बिरामी भएको अनि अरू पुतलीहरू चाहिं नर्स तथा परिवारका सदस्यहरू भएको खेल खेल्थिन्। तिनी एउटा कागजको बाकसलाई पुतलीको अस्पताल बनाउँथिन् अनि कहिलेकाहीं आफ्ना पुतलीहरूमध्ये एउटा मरेको खेल खेल्थिन्। हाम्रा बच्चाहरूको प्रश्न अनि खेलहरूले गर्दा तिनीहरूलाई जीवनबारे बताउन र बाइबलले कसरी हामीलाई परीक्षाहरूको सामना गर्न मदत दिन्छ भन्ने विषयहरूमा महत्त्वपूर्ण पाठ सिकाउने धेरै अवसरहरू प्रदान गऱ्यो। हामीले तिनीहरूलाई, पृथ्वीलाई एउटा सुन्दर प्रमोदवन बनाउने अनि सबै प्रकारका दुःख, पीडा र मृत्युबाट समेत छुटकारा दिने परमेश्वरको उद्देश्यबारे पनि सम्झना दिलायौं।—प्रकाश २१:३, ४.
मैले कसरी पीडाको सामना गरें
पहिलो चोटि अस्पतालबाट घर फर्किंदा म भावनात्मक रूपमा स्तब्ध थिएँ र मलाई कुनै पनि कुराको हेक्कै थिएन। मैले गर्नुपर्ने कामहरू धेरै थिए तर कहाँबाट सुरु गर्ने भनेर मलाई केही थाह थिएन। मैले यस्तै समस्या भोगिसकेका धेरै साथीहरूसित कुरा गरें र तिनीहरूले मलाई धेरै सान्त्वना दिए। मेरो एक जना प्रिय मित्रले मलाई फूलको गुच्छा पठाइन् र दिउँसो मेरा छोराछोरीहरूलाई घुमाउन लगिन्। म तिनको मायालु चासो अनि व्यावहारिक मदतको धेरै मूल्यांकन गर्छु।
मैले आफ्ना परिवारका फोटोहरूलाई एल्बममा मिलाएर राखें। आफ्नो गर्भको बच्चाको लागि बनाएका लुगाहरूलाई हेरें र त्यसलाई समाएँ, त्यही नै मैले गुमाएको बच्चाको अन्तिम भौतिक सम्झनाहरू थिए। हप्तौंसम्म मेरो मनमा भावनात्मक उथलपुथलहरू भइरह्यो। परिवार अनि साथीहरूबाट सहयोग पाउँदा-पाउँदै पनि कुनै दिन त म आँसु थाम्न नसकेर धुरुधुरु रुन्थें। कहिलेकाहीं मलाई आफू पागल भएछु जस्तो लाग्थ्यो। विशेष गरी, गर्भवती साथीहरूबीच बस्दा मलाई निकै गाह्रो हुन्थ्यो। पहिले-पहिले म सोच्ने गर्थें, गर्भ तुहुनु त स्त्रीहरूको जीवनको एउटा नगण्य दुःख हो, जसलाई हामी तुरुन्तै बिर्सिहाल्छौं। मेरो सोचाइ कत्ति गलत रहेछ! a
प्रेम—सबैभन्दा उत्तम उपचार
समय बित्दै जाँदा मेरोलागि सबैभन्दा प्रभावकारी उपचार नै मेरो श्रीमान् तथा सँगी मसीहीहरूले देखाएको प्रेम थियो। एक जना साक्षीले खाना पकाएर मेरो घरसम्म ल्याइदिइन्। मण्डलीको एक जना प्राचीन अनि उहाँकी पत्नीले फूल अनि शुभेच्छा व्यक्त गरिएको कार्ड दिनुभयो र त्यो साँझ हामीसितै बिताउनुभयो। उहाँहरू कति व्यस्त हुनुहुन्थ्यो भनेर हामीलाई थाह थियो, त्यसैले उहाँहरूको यस्तो सद्भावले हाम्रो हृदय छोयो। अरू धेरै साथीहरूले पनि कार्ड अनि फूलहरू पठाए। “हामी तपाईंबारे सोचिरहेका छौं” भन्ने साधारण शब्दहरूले पनि हाम्रोलागि ठूलो अर्थ राख्यो! मण्डलीको एक जना सदस्यले यस्तो लेखिन्: “हामी यहोवाले जस्तै जीवनलाई निकै मूल्यावान् ठान्छौं। एउटा भंगेरा भुइँमा खस्दा त यसबारे उहाँलाई थाह हुन्छ भने, मानिसको भ्रूण नष्ट हुँदा त उहाँले थाह नपाउने कुरै छैन।” मेरी भाउजूले यस्तो लेख्नुभयो: “हामी मानिसको जन्म र जीवनबारे सोच्दा जति चकित हुन्छौं त्यति नै भ्रूण नष्ट हुँदा चकित हुन्छौं।”
केही हप्तापछि राज्यभवनमा बसिरहेको बेला मलाई रुन मन लाग्यो अनि सभा सुरु हुनुअगाडि नै म त्यहाँबाट हिंडे। म रुँदै बाहिर निस्केको देखेर मेरा दुइ जना प्रिय मित्रहरू कारमा मसँगै बसे, मेरो हात समातेर तिनीहरूले मलाई हँसाए। त्यसपछि हामी तीनै जना राज्यभवनभित्र गयौं। “दाज्यू-भाइभन्दा पनि नजीकको” मित्रहरू पाउनु कस्तो आनन्दको कुरो!—हितोपदेश १८:२४.
मेरो गर्भ तुहेको खबर फैलन थालेपछि अरू धेरै सँगी साक्षीहरूले पनि यस्तै अनुभव भोगेका रहेछन् भन्ने थाह पाउँदा म छक्क परें। पहिला मैले राम्ररी नचिनेका साक्षीहरूले समेत मलाई सान्त्वना अनि प्रोत्साहन दिन सके। मलाई आवश्यक परेको बेला तिनीहरूले दिएको मायालु सहयोगले मलाई बाइबलले भनेका यी शब्दहरूको सम्झना दिलायो: “मित्र सब समय एक प्रेमी साथी हुन्छ, औ दाज्यू-भाइ चाहिँ दु:खमा सहभागी हुनलाई जन्मेको हुन्छ।”—हितोपदेश १७:१७.
परमेश्वरको वचनबाट सान्त्वना
मेरो गर्भ तुहिएको एक हप्तापछि ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव थियो। एक साँझ जब हामी येशूको अन्तिम दिनबारे बाइबल विवरण पढ्दै थियौं, आचनक मेरो मनमा यस्तो भावना जाग्यो: ‘कसैलाई गुमाउनुको पीडा कस्तो हुन्छ भनी यहोवालाई राम्ररी थाह छ। उहाँले आफ्नै पुत्र गुमाउनुभयो!’ यहोवा हाम्रो स्वर्गमा बस्नुहुने पिता हुनुभएकोले उहाँ कत्तिको समझदार हुनुहुन्छ अनि उहाँका सेवकहरू, चाहे पुरुष होस् वा महिला, उहाँ कत्तिको समानुभूतिशील हुनुहुन्छ भनी म कहिलेकाहीं बिर्सन्छु। यस घडीमा भने मैले निकै ठूलो पीडाबाट मुक्ति पाएको महसुस गरें। मैले पहिला कहिल्यै यहोवासित यतिबिघ्न घनिष्ठ महसुस गरेकी थिइनँ।
मैले बाइबल आधारित प्रकाशनहरू, विशेष गरी प्रियजनहरू गुमाउनुपर्दाको अवस्थाबारे बताइएका प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! पत्रिकाबाट पनि धेरै प्रोत्साहन पाएँ। उदाहरणका लागि, अगस्त ८, १९८७ अंकको अवेक!-मा “बच्चा गुमाउनुपर्दाको पीडा सहने” विषयको लेख अनि तपाईंको प्रिय जनको मृत्यु हुँदा पुस्तिका धेरै नै मदतकारी साबित भयो। b
दुःखको अन्त
समय बित्दै जाँदा कुनै दोषी भावना महसुस नगरी हाँस्न सक्दा अनि आफूले गुमाएको बच्चाको कुरै नल्याइ कुराकानी गर्न सक्दा मैले आफ्नो पीडा हटेको थाह पाएँ। तरपनि, मेरो गर्भ तुहेको थाह नपाउने साथीहरू भेट्दा अथवा हाम्रो राज्यभवनमा भर्खरै जन्मेको बच्चा लिएर केही परिवार आउँदा कहिलेकाहीं म भावनात्मक रूपमा अलि विचलित हुन्थें।
त्यसपछि एक बिहानी उठ्दा मैले निकै चंगा महसुस गरें। आँखा खोल्नअघि नै मैले एक प्रकारको आराम अर्थात् मैले महिनौसम्म महसुस नगरेको शान्ति र चयन महसुस गरें। आफ्नो बच्चा गुमाएको एक वर्षपछि म गर्भवती भएँ र त्यस बेला फेरि पनि गर्भ तुहुने पो हो कि भन्ने विचार मेरो मनमा आउने गर्थ्यो। खुसीको कुरा, अक्टोबर २००१ मा मैले एउटा स्वस्थ्य बच्चालाई जन्म दिएँ।
आफूले गुमाएको बच्चाप्रति म अझै दुःखी छु। यद्यपि, यी सबै घटनाहरूले जीवन, हामीलाई सान्त्वना दिने मेरो परिवार, आफ्ना सँगी मसीहीहरू अनि परमेश्वरप्रति अझ बढी कृतज्ञ हुन सकेकी छु। परमेश्वरले हाम्रा बच्चाहरूलाई खोसेर लैजानु हुने होइन तर “समय र अवसरलेनै [हामी] सबैलाई अधीन गरेको हुन्छ” भन्ने तीतो सत्यलाई पनि यस अनुभवले स्पष्ट पारेको छ।—उपदेशक ९:११.
परमेश्वरले सबै प्रकारका शोक, रुवाइ अनि पीडाका साथसाथै गर्भ तुहुदाको शारीरिक तथा भावनात्मक पीडासमेत हटाउनुहुने समयको म अति उत्सकुतासाथ बाटो हेर्छु! (यशैया ६५:१७-२३) त्यतिबेला सबै आज्ञाकारी मानिसहरूले यसो भन्न सक्नेछन्: “ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?”—१ कोरिन्थी १५:५५; यशैया २५:८.—साभार। (g02 3/22)
[फुटनोटहरू]
a अनुसन्धानले देखाएअनुसार गर्भ तुहुदा हरेकले बेग्ला-बेग्लै प्रतिक्रिया देखाउँछन्। कोही-कोही अलमल्ल पर्छन्, कोही निराश हुन्छन् भने, कोही त अति नै दुःखित हुन्छन्। अनुसन्धाताहरूको भनाइअनुसार गर्भ तुहुनुजस्तो गम्भीर क्षति भोग्नु पर्दा शोकित हुनु स्वभाविकै हो र यसरी शोकित हुनु पनि पीडा कम गर्ने एउटा तरिका हो।
b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।
[पृष्ठ २१-मा भएको पेटी]
गर्भ तुहुने सम्भावना तथा कारणहरू
“अध्ययनहरूले देखाएअनुसार १५ देखि २० प्रतिशत गर्भ तुहुने गर्छन्” भनी द वर्ल्ड बूक इनसाइक्लोपीडिया बताउँछ। “तर गर्भधारण (निषेचन) भएको दुई हप्ताभित्र गर्भ तुहुन सक्ने खतरा बढी हुन्छ, जुन बेला अधिकांश महिलाहरूलाई आफू गर्भवती छु भनेर समेत थाह हुँदैन।” अर्को एउटा सन्दर्भिका यसो भन्छ, “गर्भधारण भएको सुरुको १२ हप्तामा ८० प्रतिशतभन्दा बढी गर्भ तुहुन्छ” अनि त्यसमध्ये कम्तीमा पनि आधा जति त भ्रूणमा भएका क्रोमोजमहरूको खराबीले गर्दा हुन्छ भनिन्छ। आमा र बुबाको क्रोमोजमहरूमा हुने त्रुटिहरूले गर्दा यस्ता खराबीहरू उत्पन्न हुने होइन।
कतिपय अवस्थामा गर्भ तुहुनुको कारण आमाको स्वास्थ्य हुन सक्छ। चिकित्सा विशेषज्ञहरूको भनाइअनुसार यसको कारण पाठेघरको मुख वा पाठेघरमा हर्मोनसम्बन्धी र रोग प्रतिरोधात्मक प्रणालीमा हुने गडबडी, संक्रमण अनि अन्य कारणहरू हुन सक्छन्। मधुमेह (यदि राम्ररी नियन्त्रणमा राखिएको छैन भने) र उच्च रक्तचापजस्ता दीर्घकालीन रोगहरू पनि यसको एउटा कारण हुन सक्छ।
विशेषज्ञहरूको भनाइअनुसार व्यायाम गरेर, गह्रौ भारी उचालेर वा यौन सम्बन्ध राखेर गर्भ तुहिन्छ नै भन्ने छैन। लडेको कारण, सानोतिनो धक्काले गर्दा वा झसंग हुँदा गर्भ तुहिन्छ भन्नु त्यति तार्किक देखिंदैन। एउटा सन्दर्भिका यसो भन्छ: “तपाईंको जीवनलाई नै खतरामा पार्ने गरी गम्भीर चोटपटक नलागेसम्म चोटपटकले भ्रूणलाई हानि हुन्छ जस्तो देखिंदैन।” गर्भाशयको उत्कृष्ट रचनाले सृष्टिकर्ता कत्ति बुद्धिमान् अनि मायालु हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गर्छ!—भजन १३९:१३, १४.
[पृष्ठ २३-मा भएको पेटी/चित्र]
कसरी परिवार र साथीहरूले मदत गर्न सक्छन्
परिवारको कुनै सदस्य वा मित्रको गर्भ तुहुदा कहिलेकाहीं के भन्ने वा के गर्ने भनी थाहै हुँदैन। यस्तो पीडा भोग्नुपर्दा मानिसहरूले बेग्ला-बेग्लै किसिमको प्रतिक्रिया देखाउने हुनाले सान्त्वना दिने अनि मदत गर्ने कुनै एउटा निश्चित उपाय छैन। यद्यपि, निम्न सल्लाहहरूलाई ध्यान दिनुहोस्। c
मदत दिन तपाईंले गर्न सक्ने व्यावहारिक कुराहरू:
◆ अरू छोराछोरीहरूको रेखदेख गरिदिने प्रस्ताव राख्नुहोस्।
◆ खाना पकाएर पीडित परिवारलाई लगिदिनुहोस्।
◆ बुबालाई पनि मदत गर्नुहोस्। एक जना बुबाले यसो भने, “यस्तो अवस्थामा बुबालाई शुभेच्छा व्यक्त गरिएका कार्डहरू त्यति पठाउने गरिंदैनन्।”
भन्न सक्नुहुने मदतकारी कुरा:
◆ “तपाईंको गर्भ तुहियो भन्ने कुरा सुन्दा मलाई धेरै दुःख लाग्यो।”
यस्ता साधारण शब्दहरूले पनि ठूलो अर्थ राख्छ, यस्ता शब्दहरूले थप सान्त्वनाका शब्दहरू भन्ने मौका दिन्छ।
◆ “रुन मन लाग्छ भने, रुनुहोस्।”
गर्भ तुहिएको पहिलो हप्ता वा महिनौं पछिसम्म पनि आँसु नरोकिन सक्छ। पीडित व्यक्तिले आँसु झारेकोमा आफूलाई केही अप्ठ्यारो भएको छैन भनी पीडित पक्षलाई निश्चिन्त गराउनुहोस्।
◆ “तपाईंको हालखबर बुझ्न के म अर्को हप्ता तपाईंलाई फोन गर्न सक्छु?”
सुरुमा पीडित व्यक्तिले धेरै सहानुभूति प्राप्त गर्लान् तर समय बित्दै जाँदा पनि तिनीहरूको पीडा कम भएको हुँदैन र अरूले बिर्सेछन् भन्ने तिनीहरूलाई लाग्न सक्छ। तपाईंले तिनीहरूलाई मदत दिइरहनुभएको छ भनी तिनीहरूले महसुस गर्नु राम्रो कुरा हो। दुःखी भावना हप्तौं वा महिनौंसम्म देखापर्न सक्छ। अर्को चोटि गर्भाधारण हुँदा कुनै समस्या नआइपरे तापनि तिनीहरूको आँखा रसाउन सक्छन्।
◆ “यस्तो बेला के भन्नुपर्छ भनेर मलाई केही थाह छैन।”
केही नभन्नुभन्दा यति भन्नु पनि कता हो कता बेस हो। तपाईंले देखाउनुभएको इमानदारिता र तिनीहरूलाई सान्त्वना अनि मदत दिन तपाईंले देखाउनुभएको इच्छुकताले तिनीहरूप्रतिको तपाईंको चासो प्रकट गर्छ।
के भन्नु हुँदैन:
◆ “किन पीर गर्नुहुन्छ, तपाईंले अर्को बच्चा जन्माउन सकिहाल्नुहुन्छ नि।”
यो कुरा सही होला तर यस्तो भनाइले पीडित पक्षलाई खासै समानुभूति दर्शाइरहेको हुँदैन। आमाबाबुले जुनसुकै बच्चा होइन तर आफूले गुमाएको त्यही बच्चा चाहन्थे। तिनीहरूले अर्को बच्चा जन्माउने विषयमा विचार गर्नु अघि, तिनीहरूलाई अझै आफूले गुमाएको बच्चाको दुःख हुन सक्छ।
◆ “बच्चामै केही खोट भएको पनि त हुन सक्छ।”
बच्चामा केही खोट हुन सक्ने भए तापनि यसो भन्नु सान्त्वनादायी कुरा होइन। आमालाई आफ्नो गर्भको बच्चा स्वस्थ थियो भन्ने लाग्छ।
◆ “तपाईंले बच्चाको अनुहार देख्न नपाउँदै यस्तो भएको राम्रो भयो। यदि बच्चा जन्मेपछि यस्तो भएको भए कत्ति नराम्रो हुन्थ्यो होला।”
अधिकांश महिलाहरूको गर्भावस्थाको सुरुदेखि नै आफ्नो गर्भमा भएको बच्चासित एक प्रकारको घनिष्ठ सम्बन्ध भइसकेको हुन्छ। त्यसैले, गर्भमा रहेको बच्चा मर्दा आमा अक्सर दुःखी हुन्छिन्। आफ्नो गर्भको बच्चालाई आमाले जति राम्ररी अरू कसैले पनि “नजान्ने” भएकोले वेदना झनै चर्किन्छ।
◆ “तपाईंका अरू छोराछोरी पनि त छन् नि अब त्यसैमा चित्त बुझाउनुहोस्।”
शोकाकुल आमाबाबुलाई यसो भन्नु भनेको एउटा खुट्टा गुमाउने व्यक्तिलाई यसो भन्नु बराबर हुन सक्छ: “तपाईंले एउटा खुट्टा गुमाउनुपऱ्यो त के भो र, अर्को खुट्टा त छँदैछ नि।”
निस्सन्देह, एकदमै होसियारीसाथ बोल्ने अनि निष्कपट व्यक्तिले समेत कहिलेकाहीं भन्न नहुने कुरा भन्छन्। (याकूब ३:२) त्यसकारण, गर्भ तुहुनुको पीडा भोग्नुपरेका विवेकशील महिलाहरूले राम्रो मनसाय भएको व्यक्तिले आफ्नो सान्त्वनालाई राम्ररी व्यक्त गर्न नसक्दा रोष प्रकट गर्नुको सट्टा मसीही प्रेम देखाउन चाहन्छन्।—कलस्सी ३:१३.
[फुटनोट]
c वेलिङटन, न्यु जील्याण्ड, मिसक्यारेज सपोर्ट ग्रुपले तयार परेको अ गाइड टु कोपिङ विथ मिसक्यारेज-ले तयार पारेको जानकारीबाट छाँटकाँट गरिएको हो।