सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वन्यजन्तुलाई लेबल लगाउने

वन्यजन्तुलाई लेबल लगाउने

वन्यजन्तुलाई लेबल लगाउने

आफ्नो ढाडमा सूक्ष्म रेडियो ट्रान्समिटर जडान गरिएको अनि आफ्नो हरेक चालको निरीक्षण एवम्‌ विश्‍लेषण गरिएको कल्पना गर्नुहोस्‌। श्रीमती गिब्सन नाउँ दिइएको आल्बाट्रस जातको एउटा फिरन्ते चराले यस्तै अनुभव गर्छ। त्यो सूक्ष्म ट्रान्समिटरद्वारा अनुसन्धाताहरूले भूउपग्रहको माध्यमबाट त्यस चराको सबै चाल अध्ययन गर्न सक्छन्‌ भने, भूउपग्रहले त्यस चरालगायत अन्य चराहरूमा जडान गरिएको ट्रान्समिटरद्वारा संकेतहरू संकलन गरेर पृथ्वीमा प्रसारण गर्छ। प्राप्त तथ्यांकहरूले यस सानदार चराबारे केही नयाँ जानकारीहरू उपलब्ध गराएका छन्‌ र त्यसले तिनीहरूको संरक्षणमा टेवा दिने आशा गरिएको छ।

अष्ट्रेलियाको भिक्टोरियास्थित ला ट्रोब युनिभर्सिटीले दिएको रिपोर्टअनुसार कहिलेकाहीं एक दिनमै १००० किलोमिटर परसम्म उड्‌ने यी चराहरू एक दिनमा औसत ३०० किलोमिटरसम्म उड्‌छन्‌ भन्‍ने तथ्य अनुसन्धाताहरूले पत्ता लगाए। पखेटा फैलाउँदा एक टुप्पोदेखि अर्को टुप्पोसम्मको दूरी ३४० सेन्टिमिटर हुने यी चराहरू विश्‍वमा पाइने सबैभन्दा लामो पखेटा भएका चराहरू हुन्‌। यी विशाल चराहरूले समुद्रमाथि पंक्‍तिबद्ध वृत्ताकार बनाएर केही महिनाभित्रमै ३०,००० किलोमिटर भन्दा धेरै दूरी पार गर्छन्‌। संयुक्‍त राज्य अमेरिकामा गरिएको यस्तै अध्ययनले प्रकट गरेअनुसार एउटा लेसन आल्बाट्रसले आफ्नो एउटा बचेराको लागि आहारा ल्याउन होनोलुलुको उत्तरपश्‍चिमस्थित ट्रेन टापुदेखि आल्युशियन टापुसम्म ६,००० किलोमिटर जाने र आउने दूरी चार चोटि पार गर्छ।

उच्च प्रविधियुक्‍त यस अध्ययनले भाले फिरन्ते आल्बाट्रसभन्दा पोथी फिरेन्ते आल्बाट्रसको संख्या एकदमै घट्‌नुको कारण पनि पत्ता लगाएको छ। तिनीहरू उड्‌ने मार्गले देखाएअनुसार बच्चा हुर्काउने भालेहरू आन्टार्टिकाको नजिकै माछा खोज्न जान्छन्‌ तर बच्चा हुर्काउने पोथीहरू भने प्रायः सुदूर उत्तरतिर माछा मार्न लामा-लामा बल्छीहरू राखिएको ठाउँतिर जान्छन्‌। यी डुंगापछाडि राखिएका बल्छीहरूमा राखिएको आहारलाई टिप्न जाँदा बल्छीमा पर्छन्‌ र डुबेर मर्छन्‌। अरू जातको प्रजनन संख्या हेर्ने हो भने, पोथीहरूको भन्दा भालेहरूको संख्या दोब्बर छन्‌। अन्य आल्बाट्रस प्रजातिहरूलाई पनि यस्तै असर परेको छ। वास्तवमा, अष्ट्रेलिया तथा न्यु जील्याण्डको पानीमा माछा मार्न राखिएको बल्छीमा परेर एक चोटि त वर्षेनी ५०,००० चराहरू डुबेर मरेका थिए, जसले गर्दा विभिन्‍न प्रजातिहरू लोप हुने खतरा देखा पऱ्‍यो। साँच्चै भन्‍ने हो भने, अष्ट्रेलियामा त फिरन्ते आल्बाट्रसहरूलाई लोप हुन लागेको प्रजाति भनी घोषणा गरिएको छ। यो तथ्य पत्ता लागेपछि माछा मार्ने तरिकाहरूमा परिवर्तन ल्याइएका छन्‌, जसले गर्दा फिरन्ते आल्बाट्रसको संहारमा कमी आएको छ। तथापि, प्रजातिहरूको प्रजनन अवस्था घट्‌ने क्रम भने यथावतै छ।

चराहरूलाई लगाइदिने लेबल

सूक्ष्म विद्युतीय मेसिनहरूले अनुसन्धाताहरूलाई चराहरूको विशेष प्रजातिहरूको निरीक्षण गर्न मदत गर्छ तर कम खर्चिलो अनि योभन्दा निकै सरल विधि प्रयोग हुँदै आएको वर्षौं भइसकेको छ। त्यसमध्ये एउटा हो, चराहरूलाई लेबल लगाइदिने। यस पद्धतिअनुसार पाउजु लगाएझैं एउटा सानो धातु वा प्लास्टिकको लेबल होसियारीपूर्वक चराको खुट्टामा लगाइन्छ।

स्मिथसोनियन पत्रिकाको भनाइअनुसार, परम्परागत अनुसन्धान गर्ने औजारको रूपमा चरालाई लेबल लगाइ दिने चलन सन्‌ १८९९ मा ह्‍यान्स क्रिस्टियन मोरटेनसन नाउँ गरेका एक डेनिस शिक्षकले “आफ्नो नाउँ र ठेगाना कुँदेर आफैले बनाएको धातुका लेबलहरू १६५ वटा स्टरलिङ चराहरूलाई लगाइदिए पछि सुरु भयो।” हिजोआज, चरालाई लगाइदिने लेबललाई युरोपमा औंठी लगाउने भनिन्छ। यो प्रक्रिया अन्तरराष्ट्रिय जगत्‌मै लागू गरिन्छ अनि यसले चराहरू बसोबास गर्ने भौगोलिक क्षेत्र, तिनीहरूको बसाइँ सर्ने बानी, स्वभाव, सामाजिक संरचना, संख्या, अस्तित्व तथा जन्म दरजस्ता विषयहरूमा महत्त्वपूर्ण तथ्यांकहरू उपलब्ध गराउँछ। सिकार खेल्न अनुमति दिइएका स्थानहरूमा लेबल लगाउने पद्धतिले सिकारका लागि मार्न सकिने चराहरूको दीर्घकालीन व्यवस्थापनको लागि नीतिनियमहरू तर्जुमा गर्न सरकारलाई मदत गर्छ। लेबल लगाइदिंदा चराहरूलाई रोग तथा रासायनिक दूषित पदार्थले कस्तो असर पार्छ भनेर पनि पत्ता लाग्छ। इन्सेफ्‌लाइटिस र लाइमजस्ता मानिसलाई लाग्ने रोगका कीटाणुहरू बोक्न सक्ने चराहरूको जीवनबारे अध्ययन गरिएका सम्पूर्ण विवरण तथा स्वभावको तथ्यांक वास्तवमा हाम्रो स्वास्थ्य रक्षाको लागि पनि मदतकारी हुन सक्छ।

के लेबल लगाइदिनु क्रूरता हो?

लेबल लगाइदिने चलन भएका देशहरूमा मात्र यस पद्धतिलाई कडा निगरानीका साथ लागू गरिएको हुन्छ र अक्सर लेबल लागाइदिने व्यक्‍तिहरूले अनुमति पत्र लिएको हुनुपर्छ। अष्ट्रेलियास्थित अष्ट्रेलियन नेचर कन्जरभेसन एजेन्सी यसो भन्छ, “चराहरूलाई चोटपटक नपुऱ्‍याइ कसरी होसियारीपूर्वक समातेर लेबल लगाइदिने भनेर तालिम लिने व्यक्‍तिहरूलाई एकदमै राम्ररी तालिम दिइएको हुन्छ। सामन्यतः तालिम दुई वर्षको हुन्छ अनि निकै अभ्यास गर्नुपर्ने हुन्छ।” युरोप, क्यानाडा, संयुक्‍त राज्य अमेरिका र अन्य देशहरूमा पनि यस्तै प्रावधानहरू लागू गरिएका छन्‌।

चराहरूलाई लगाइदिने लेबलहरूको ढाँचा, आकार, रङ तथा सामग्रीअनुसार फरक-फरक हुन्छन्‌। प्रायजसो लेबलहरू एल्मुनियम र प्लास्टिकजस्ता हल्का सामग्रीहरूबाट तयार गरिन्छ तर लामो समयसम्म बाँच्ने वा नुनिलो पानीको छेउछाउमा बस्ने चराहरूको लागि खिया नलाग्ने इस्पात वा हतपती नबिग्रने अन्य सामग्रीहरू प्रयोग गरिन्छन्‌। रंगरोगन गरिएका लेबलहरूले चराहरूलाई टाढैबाट चिन्‍न मदत गर्छ। हुन त यसो गर्दा धेरै लेबलहरू लगाउनु परे तापनि एक चोटि लेबल लगाइसकेपछि चिनारीको लागि फेरि समातिने झन्झटबाट चराहरू मुक्‍त हुन्छन्‌।

जुनसुकै प्रकारको लेबल वा चिह्न प्रयोग गरिए तापनि चराहरूलाई कुनै किसिमको दुःख नदिन वा तिनीहरूको स्वभाव, शारीरिक क्रियाकलाप, आयु, सामाजिक जीवन, पर्यावरण वा भावी अस्तित्वमा कुनै पनि असर नपार्न अनुसन्धाताहरू सतर्क छन्‌। उदाहरणका लागि, पखेटामा लगाइने चहकिलो रङको लेबलले गर्दा सिकारीहरूले चरालाई सजिलै ठम्याउन सक्छन्‌ वा यसले चराहरूको सहवासलाई पनि असर गर्न सक्छ। केही प्रजातिहरूले आफ्नै खुट्टामा विष्ठा त्याग्ने हुनाले यस्ता चराहरूलाई लेबल लगाइदिंदा तिनीहरूमा संक्रमण हुन सक्ने सम्भावना हुन्छ। अत्यन्तै चिसो ठाउँहरूमा लेबलमा बरफ जम्मा हुन सक्छ अनि विशेष गरी जलचराहरूको लागि पछि गएर यो खतरा साबित हुन सक्छ। यी त भए चराहरूलाई चिह्न लगाइदिने कार्यसित सम्बन्धित केही कुराहरू। तर माथि उल्लिखित कुराहरूले यस कार्यक्रमलाई अझ प्रभावकारी तथा पीडामुक्‍त बनाउन चराहरूको जीवविज्ञानबारे कत्ति धेरै ज्ञान हुनुपर्दो रहेछ भन्‍ने कुरा प्रस्ट पार्छ।

लेबल वा चिह्न लगाइएको जनावर भेट्‌नुभयो भने तपाईं के गर्नुहुन्छ?

कहिलेकाहीं लेबलमा टेलिफोन नम्बर वा ठेगाना कुँदिएका हुन्छन्‌, जसले गर्दा तपाईं पशुधनी वा लेबल लगाउने व्यक्‍तिसित सम्पर्क गर्न सक्नुहुन्छ। a त्यसपछि भने तपाईंले पशुधनीलाई लेबल भेट्टाएको स्थान र मितिका साथै लेबलसित सम्बन्धित अन्य जानकारीहरूबारे पनि बताउन सक्नुहुन्छ। उदाहरणका लागि, माछाको सन्दर्भमै पनि लेबल लगाएर यसलाई छोडिसकेपछि यसले कति टाढा र कति छिटो यात्रा गरेछ भन्‍ने कुरा जीवशास्त्रीहरूले पत्ता लगाउन सक्छन्‌।

विश्‍वभरिका अनुसन्धाताहरू तथा आफूले भेट्टाएका लेबलहरूबारे रिपोर्ट गर्ने विवेकशील व्यक्‍तिहरूको प्रयासले गर्दा वन्यजन्तुबारे निकै अद्‌भुत जानकारीहरू संग्रह गर्न सकिएका छन्‌। स्यान्ड पाइपर वर्गमा पर्ने १०० देखि २०० ग्राम तौल भएका रेड नट चराको उदाहरणलाई विचार गर्नुहोस्‌। केही रेड नटहरू क्यानाडाको सुदूर उत्तरदेखि दक्षिण अमेरिकाको छेउसम्म हरेक वर्ष जान्छन्‌ र फर्कन्छन्‌ अनि यस यात्राको दौडान तिनीहरूले ३०,००० किलोमिटर दूरी वारपार गर्छन्‌।

एउटा उमेर पुगिसकेको तर स्वस्थ रेड नटको लेबललाई अनुसन्धान गर्दा त्यसले यसरी यात्रा गरेको १५ वर्ष भइसकेको कुरा पत्ता लाग्यो। हो, यो फुच्चे चरा ४,००,००० किलोमिटर अर्थात्‌ पृथ्वीदेखि चन्द्रमासम्मको औसत दूरीभन्दा लामो दूरी उडेको हुन सक्छ! आफ्नो हत्केलामा बसिरहेको यस अचम्मको चराबारे प्रकृति लेखक स्कट विडेनसलले यसो भने: “यस चरालाई हेरेपछि मैले गर्न सक्ने कुरा भनेको यस यात्रुप्रति विस्मित अनि आदर भावसहित आफ्नो शिर झुकाउनु मात्र हो।” वास्तवमा, पृथ्वीका जीवहरूबारे हामी जति धेरै सिक्छौं त्यति नै बढी “स्वर्ग र पृथ्वी . . . र त्यसमा भएका यावत्‌ थोक” सृजनुहुने यहोवा परमेश्‍वरप्रति विस्मित अनि आदरले ओतप्रोत हुन्छौं।—भजन १४६:५, ६. (g02 3/22

[फुटनोट]

a लेबलहरू निकै पुराना भइसकेका छन्‌ भने विवरणहरू अस्पष्ट पनि हुन सक्छन्‌। तर यस्तो अस्पष्ट भएको धातुमा एक प्रकारको रासायनिक झोल राखेर प्रायः पढ्‌न सकिन्छ। संयुक्‍त राज्य अमेरिकास्थित बर्ड बान्डिङ लेबोरेटोरीले हरेक वर्ष हजारौं त्यस्ता लेबलहरू पढ्‌ने गर्छ।

[पृष्ठ १५-मा भएको पेटी/चित्रहरू]

चिह्न लगाउने तथा सुराकी गर्ने विभिन्‍न तरिकाहरू

अनुसन्धानको लागि चरालगायत अन्य प्राणीहरूलाई चिह्न लगाइन्छ। चिह्न लगाउने तरिकाहरू वैज्ञानिक उद्देश्‍य तथा जनावरहरूको शारीरिक संरचना तथा स्वभावमा निर्भर हुन्छ। खुट्टामा लेबल लगाउनुको अलावा अनुसन्धाताहरूले जनावरहरू सजिलै चिन्‍न सकियोस्‌ भनेर झन्डा, फिरफिरे पताका, लेबल, रङ पोत्ने, चित्र खोप्ने, पूरै शरीर रंगाउने, डाम्ने, घाँटीमा सिक्री वा अन्य वस्तुहरू झुन्ड्याउने, रेडियोजस्ता सुराकी गर्ने यन्त्र, सूक्ष्म कम्प्युटर र खिया नलाग्ने इस्पातका वाण (जसमा जानकारीहरू लेखिएको लेबल झुन्ड्याइएको हुन्छ) जडान गर्नुका साथै, खुर, कान र पुच्छर छाँट्‌ने र अन्य उपाय अपनाउने वा यन्त्रहरूको प्रयोग गर्ने गर्छन्‌। यीमध्ये कुनै-कुनै विधि एकदमै कम खर्चिला हुन्छन्‌। अन्य कतिपय भने असाध्यै महँगा हुन्छन्‌। जस्तै: सिलको डुबुल्की मार्ने स्वभाव अध्ययन गर्न जडान गरिने रेकर्डरसहितको भिडियो क्यासेट र क्यामेरा भएको सूक्ष्म विद्युतीय यन्त्रको १५,००० अमेरिकी डलर पर्छ।

जनावरहरूको निश्‍चेतन पारिएको छाला वा शरीरभित्र जडान गर्न सकिने विद्युतीय यन्त्रलाई प्यासिभ इन्टिग्रेटेड ट्रान्सपन्डर भनिन्छ र यस यन्त्रबाट प्राप्त जानकारीहरू एउटा विशेष यन्त्रद्वारा बाहिरबाटै प्राप्त गर्न सकिन्छ। वैज्ञानिकहरूले ब्लुफिन टुनाको अध्ययन गर्न माछाभित्र आरकाइभल ट्याग वा स्मार्ट ट्याग नाउँ गरेको सूक्ष्म कम्प्युटर जडान गर्छन्‌। यस्ता माइक्रोचिपस्‌ले तापक्रम, माछा पुग्ने गहिराइ, प्रकाशको प्रवलता र समयबारे जानकारीहरू नौ वर्षसम्म संग्रह एवम्‌ सञ्चय गर्छन्‌। पछि उक्‍त माइक्रोचिपस्‌को अध्ययन गर्दा, यसमा प्रशस्त महत्त्वपूर्ण जानकारीहरू हुन्छन्‌, जसमध्ये सूर्यको प्रकाश र समयको तथ्यांकलाई आधार मानेर ब्लुफिन टुनाले यात्रा गरेको दूरी निकाल्न सकिन्छ।

सर्पको छाला अलिकता काटेर; कछुवाहरूको खोल छेडेर; छेपारोहरूको खुट्टाको औंला काटेर; गोहोरा र घडियालको खुट्टाको औंला काटेर वा पुच्छरको सीङजस्तो पाता निकालेर चिह्न लगाउन सकिन्छ। कुनै-कुनै जनावरहरूको शरीरमा धेरै प्राकृतिक परिवर्तनहरू भइरहन्छन्‌, जसलाई मानिसले केवल फोटोको भरमा छुट्याउन सक्छन्‌।

[चित्रहरू]

कालो भालुको कानमा लेबल लगाउँदै; ड्यामसेलफिसलाई चाउचाउजस्तै लेबल लगाउँदै; गोहीको पुच्छरमा लेबल लगाउँदै

भूउपग्रह ट्रान्समिटर जडान गरिएको पेरेग्रिन बाज

आन्तरिक टेलिमेट्री उपकरण जडान गरिएको रेन्बो माछा

[स्रोत]

Bear: © Glenn Oliver/Visuals Unlimited; damselfish: Dr. James P. McVey, NOAA Sea Grant Program; alligator: Copyright © 2001 by Kent A. Vliet; falcon on pages 2 and 15: Photo by National Park Service; men with fish: © Bill Banaszewski/Visuals Unlimited

[पृष्ठ १३-मा भएको चित्र]

बाजको खुट्टामा लेबल लगाइदिंदै

[स्रोत]

© Jane McAlonan/Visuals Unlimited