सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

माछाको छालाबाट बनाइएका जुत्ताहरू

लिमाको एल कमरस्यो नामक अखबारले रिपोर्ट गरेअनुसार पेरूको एन्डिज पर्वतमा अवस्थित एउटा नयाँ उद्योगमा ट्राउट माछाको छालाबाट जुत्ता बनाउन थालिएको छ। प्राकृतिक रूपमा पशुको छालालाई परिष्कृत छाला बनाउनेहरूले फुल कोरल्ने थलो वा माछा पालन केन्द्रबाट ल्याइएका माछाको छाला सफा गरेर प्रशोधन गरिन्छ। त्यसपछि छालालाई तेलमा डुबाइन्छ अनि बेसार, सिन्दुरजस्तो रातो रङ वा अचिओटी नामक एक प्रकारको मेक्सिकन मसलाजस्ता प्राकृतिक पदार्थहरूले रंग्याउने गरिन्छ। यसरी प्रशोधन गर्दा छालामा भएका आकर्षक हीरा आकारका बुट्टाहरूलाई नाश गर्दैन, जसलाई “सिक्का राख्ने थैली, पर्स, घडीको ब्यान्ड वा सेलुलर फोनका खोलहरू” बनाउन प्रयोग गर्न सकिन्छ। यस परियोजनाका सञ्चालक तथा औद्योगिक इन्जिनियर बार्बरा लियोन यसो भन्छिन्‌, “सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने, क्रोमियमजस्ता अप्राकृतिक प्रशोधन पदार्थहरू कहिल्यै प्रयोग गरिंदैन। यसले प्रदूषण हुन दिंदैन र ट्राउट माछाको छालालाई पूर्णतया पर्यावरण अनुकूल बनाउँछ।” (g02 3/8

हाँस्नु—अझै पनि उत्तम उपचार!

लण्डनको दी इन्डिपेन्डेन्ट पत्रिका यस्तो रिपोर्ट दिन्छ, “अब चार हप्तासम्म दिनहुँ हाँस्य प्रहसनका एक टुक्का सुन्दा नैराश्‍यका लक्षणहरूलाई निकै हदसम्म कम गर्न सकिने भएको तथ्य पत्ता लागेको छ। दिनको ३० मिनेट हाँस्य कलाकारहरूको उपचारात्मक टेप सुन्‍न लगाइएका केही बिमारीहरू निको भएका छन्‌ भने, अन्य कतिपय बिमारीहरूका गम्भीर लक्षणहरूमा ५० प्रतिशतले कमी आएको छ।” संयुक्‍त राज्य अमेरिकामा गरिएको १०० भन्दा धेरै अध्ययनहरूले देखाएअनुसार हाँसउठ्‌दो कुराले उत्पन्‍न हुने हाँसो फाइदाजनक हुन सक्छ। यो उपचार पद्धति निराश मानिसहरूलाई मात्र होइन एलर्जी, उच्च रक्‍तचाप, रोग प्रतिरोध क्षमता कमजोर भएका अनि क्यान्सर र बाथका रोगीहरूलाई समेत फाइदाजनक साबित भएको छ। हाँस्नाले सुस्वास्थ्यमा योगदान पुऱ्‍याउँछ भन्‍ने कुरा थाह भएको वर्षौं भइसक्यो तर कसरी भनेर स्पष्टसित चाहिं बुझिएको छैन। यद्यपि, मनोचिकित्सक डा. एड डन्क्लेब्लाउ केही चेताउनी दिन्छन्‌: “अपमानजनक र व्यंग्यात्मक ठट्टा नगर्नुहोस्‌ अनि बढ्‌तै ठट्टा गर्नदेखि होसियार हुनुहोस्‌। अन्यथा, बिरामीलाई आफ्नो समस्या हल्कासित लिइरहेको छ जस्तो लाग्न सक्छ।” (g02 3/8)

धर्म त्यति महत्त्वपूर्ण छैन’

ब्राजिलको शहरिया गरिब वयस्कहरूसित हालै लिइएको सर्वेक्षणले देखाएअनुसार ६७ प्रतिशतले आफू क्याथोलिक हुँ भनी दाबी गरे तापनि ३५ प्रतिशतले मात्र येशू, मरियम र चर्चका शिक्षाहरूमा विश्‍वास भएको स्वीकारे। निकै थोरै अर्थात्‌ ३० प्रतिशत मात्र हरेक हप्ता चर्च धाउँछन्‌। विवाहपूर्व यौन सम्बन्ध (४४ प्रतिशत), छुटानाम (५९ प्रतिशत), पुनर्विवाह (६३ प्रतिशत) र गर्भ निरोधक साधनहरूको प्रयोग गर्ने सन्दर्भमा (७३ प्रतिशत) क्याथोलिक चर्चको शिक्षाप्रति धेरैले असहमती जनाएको कुरालाई समेत नेसनल कन्फ्रेन्स अफ ब्राजिलियन विशपद्वारा सञ्चालित उक्‍त सर्वेक्षणले देखाएको छ। धर्मविद्‌ सिभिरिनो भिसान्टीका अनुसार पादरीहरूको कमी, ब्राजिलको शैक्षिक प्रणालीमा यसको फितलो प्रभाव र निराधार धर्म सिद्धान्तहरूले गर्दा चर्चहरू उँभो लाग्न सकेका छैनन्‌। उनी यसो भन्छन्‌, “क्याथोलिकहरूको नयाँ पुस्ता सापेक्षवादको सिद्धान्तले प्रभावित छन्‌ अनि धर्मलाई त्यत्ति महत्त्वपूर्ण ठान्दैनन्‌।” (g02 3/8)

झप्कीबाट प्राप्त हुने शक्‍ति

निद्रासम्बन्धी लोबरो विश्‍वविद्यालयका बेलाइती विशेषज्ञ प्राध्यापक जिम हर्नको भनाइअनुसार दिउँसो झुम्म हुँदा उत्तम उपचार “दश मिनेट निदाउनु हो” भनी लण्डनको द टाइम्स रिपोर्ट गर्छ। हर्नको यस्तो दाबी छ: “यसरी निदाउनुको प्रभावकारितालाई रोग लाग्ने बित्तिकै गरिएको उपचारसँग तुलना गर्न सकिन्छ।” संयुक्‍त राज्य अमेरिकाका केही कम्पनीहरूले आफ्ना कर्मचारीहरूको लागि केही छिन सुत्न खाट, कम्बल, सिरानी र सुमधुर ध्वनि अनि हरेक २० मिनेटमा घन्टी बज्ने घडीसहितको कोठा तयार परेका छन्‌। तर प्राध्यापक हर्न चेताउनी दिन्छन्‌ यदि तपाईं धेरैबेर मानौं, २५ मिनेट सुतेर उठ्‌नुभएमा तपाईंलाई अल्छी महसुस हुनेछ। तपाईं दश मिनेटभन्दा बढी सुत्ने बित्तिकै तपाईंको शरीरले रातपऱ्‍यो भन्ठान्छ र पूरै निदाउने सुर गर्न थाल्छ।”

(g02 3/8)

मोटोपन र क्यान्सर

“पश्‍चिमी मुलुकहरूमा धूम्रपान नगर्ने व्यक्‍तिहरूमा क्यान्सर हुन सक्ने मुख्य कारण नै वजन बढ्‌नु हो” भनी लण्डनको द टाइम्स रिपोर्ट गर्छ। पचास वर्षको अनुसन्धानले देखाएअनुसार यदि वजन निकै धेरै छ भने, वजन घटाएर जीवन शैलीलाई परिवर्तन गरेको खण्डमा धूम्रपान गर्नेहरूलाई क्यान्सर हुने खतरा ५० प्रतिशतले घट्‌छ। बेलाइतको इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका प्राध्यापक जुलियन पेटोको भनाइअनुसार “यदि तपाईं धूम्रपान गर्नुहुन्‍न भने, तपाईंका लागि दुईवटा कुराचाहिं हानिकारक हुन्छन्‌, एउटा वजन बढ्‌नु र अर्को पेट तथा घाँटीको क्यान्सर गराउने कीटाणुहरू। जनावरहरूलाई खानपिनमा परहेज गराएर परीक्षण गरिंदा तिनीहरूमा क्यान्सर हुने खतरा कम भएको पत्ता लागेको छ। व्यक्‍तिको वजन उमेर, लिंग, उचाइ र शरीरको बनौटअनुसार निर्धारित वजनभन्दा २० प्रतिशत बढी भएमा त्यस व्यक्‍तिलाई चिकित्सा दृष्टिकोणबाट बढी वजन भएको वर्गमा राख्न सकिन्छ। (g02 3/8)

विवाहपूर्व सँगै बस्नु

“विवाहपूर्व सँगै बसेका आमाबाबुहरू छुट्टिन सक्ने सम्भावना दोब्बर हुन्छ” भनी क्यानाडाको नेसनल पोस्ट बताउँछ। स्ट्याटिसटिक्स क्यानाडाद्वारा सञ्चालित अध्ययनका सह-लेखिका, हिदर जुबीको भनाइअनुसार अनुसन्धाताहरूले बच्चा जन्मिसकेपछि मात्र आमाबाबु एकअर्काप्रति वचनबद्ध छन्‌ कि छैनन्‌ भन्‍ने कुरा पत्ता लाग्ने आशा गरेका थिए। तिनले यसो भनिन्‌, “तर विवाहपूर्व सँगै बस्न चाहने जोडीलाई छुट्टिन पनि त्यत्तिकै सजिलो हुन्छ।” अनुसन्धाताहरूले पत्ता लगाएअनुसार विवाहपूर्व सँगै नबस्नेहरू छुट्टिने दर १३.६ प्रतिशत मात्र थियो भने, त्यसको तुलनामा विवाहपूर्व सँगै बस्नेहरूको छुट्टिने दर २५.४ प्रतिशत थियो। जुबी भन्छिन्‌, “विवाहपूर्व सँगै बस्नेहरूको सम्बन्ध दिगो हुँदैन किनभने विवाहपूर्व सँगै बस्न तयार हुने जोडीहरूले विवाहका वचनबद्धतालाई सायद त्यति महत्त्व दिएका हुँदैनन्‌।” (g02 3/8)

इन्टरनेट चिहान सेवा

द जापान टाइम्स-ले दिएको रिपोर्टअनुसार अब इन्टरनेटबाट साइबर दुनियाँमा चिहान धाउन सकिन्छ। मित्र तथा आफन्तहरूले आफ्ना मृतजनहरूलाई इन्टरनेटमा श्रद्धाभाव चढाउन सक्छन्‌। मृत व्यक्‍तिको छोटो वृत्तान्त र फोटोसहित चिहानको दृश्‍य कम्प्युटरको स्क्रिनमा देखापर्छ। चिहान धाउनेहरूले आफ्नो सन्देश छोड्‌न सकोस्‌ भनेर केही खाली ठाउँ पनि छोडिएको हुन्छ। बौद्ध धर्मावलम्बीहरूलाई पनि ध्यानमा राख्दै तयार पारिएको यस इन्टेरनेट चिहानमा कम्प्युटरको माउसलाई थिचेकै भरमा फलफूल, फूल, धुप र मद्य पेय पदार्थहरू पनि चढाउन सकिन्छ। यस इन्टरनेट स्मरणार्थ सेवा केन्द्रका अध्यक्ष ताडासी वातानाबेका अनुसार “कोही-कोही भन्छन्‌, अक्सर चिहान धाउन नसक्ने विदेशमा बस्ने नातेदारहरूका लागि यो एउटा अत्यन्तै व्यावहारिक तरिका हो।” (g02 3/22)

आर्कटिक क्षेत्रको संकट

“आर्कटिक क्षेत्रमा औद्योगिक विकास कम नगरिएमा यस शताब्दीको मध्यतिर पृथ्वीको ८० प्रतिशत आर्कटिक क्षेत्रमा नराम्रो हानि पुग्नेछ” भनी क्यानाडाको द ग्लोब एण्ड मेल अखबार बताउँछ। यू एन इन्भाइरोमेन्ट प्रोग्रामले तयार पारेको रिपोर्टअनुसार सम्पूर्ण आर्कटिक क्षेत्रमा दिन प्रतिदिन मानव विकासका गतिविधिहरू थपिंदैछन्‌। उक्‍त रिपोर्टअनुसार यदि यस क्षेत्रमा १९४० देखि १९९० कै गतिमा औद्योगिक विकास भइरहने हो भने परिणाम भयावह हुनेछ। अधिकांश आकर्टिक जनावरहरू बसाइँ सर्ने प्राणीहरू भएकाले यो विनाश अन्य क्षेत्रहरूमा पनि फैलन सक्ने सम्भावना छ। उक्‍त अखबार यसो भन्छ, “हाल विश्‍वको १० देखि १५ प्रतिशत आर्कटिक क्षेत्रमा औद्योगिक विकासबाट [प्रतिकूल] प्रभाव परिरहेको छ।” (g02 3/22)

जानीबुझी गरिएको निर्णयको अधिकारबारे पुनः स्पष्ट पारियो

जनवरी १९९१ मा प्रथम आदेश जारी गरेको दस वर्षपछि इटालेली स्वास्थ्य मन्त्रालयले बिरामीले जानीबुझी निर्णय नगरुन्जेल रक्‍तक्षेपण गर्न सकिंदैन भन्‍ने आदेशलाई पुनः जारी गरेको छ। जनवरी २५, २००१ मा गाजिटा उफिसियाली डेला रिपब्लिका इटालियना-मा (गणतन्त्र इटालीको सरकारी पत्र) प्रकाशित उक्‍त आदेश यसो भन्छ: “पूर्व अवगत गराएअनुसार रगत वा रगतका अंशहरूको क्षेपण र/वा रगतबाट बनाइएका पदार्थहरूको क्षेपण जोखिम मुक्‍त नहुन सक्छ, यी वस्तुहरूलाई ग्रहण गर्ने व्यक्‍तिले पहिल्यै लिखित रूपमा सहमती वा असहमती जनाएको हुनुपर्छ।” (g02 3/22)

कुटपिटको सिकार भएका गर्भवती महिलाहरू

लण्डनको दी इन्डिपेन्डेन्ड यसो भन्छ, “अब बच्चा तथा आमालाई गर्भवती अवस्थामा देखा पर्ने स्वास्थ्यसम्बन्धी समस्याहरूले भन्दा धेरै हानि पुरुष साथीको कुटपिटले हुने तथ्य पत्ता लगेको छ। बेलाइतको रोएल कलेज अफ अब्स्टेट्रिसीयन्सद्वारा सञ्चालित घरेलु हिंसासम्बन्धी अध्ययनले देखाएअनुसार . . . महिलाहरूमाथि हुने एक तिहाइ कुटपिट उनीहरू पहिलो चोटि गर्भवती हुँदा हुने गर्छ। जन्मने बच्चाप्रतिको डाहले गर्दा केही पुरुषहरू हिंसा गर्छन्‌ भन्‍ने कुरा धेरै प्रमाणहरूले देखाउँछ।” रोएल कलेज अफ अब्स्टेट्रिसीयन्सका प्राध्यापक जेम्स ड्राइफले यसो भने, “संयुक्‍त अधिराज्यको तथ्यांक हेर्दा हामी स्तब्ध भयौं।” संयुक्‍त राज्य अमेरिकामा गरिएको यस्तै अध्ययनले पत्ता लगाएअनुसार त्यस देशका गर्भवती महिलाहरूमा ५ जनामध्ये १ जनाको मृत्यु हुनको कारण हत्या भएको छ र “[त्यस देशमा] गर्भवती महिलाहरूको अधिकांश मृत्युको कारण नै” हत्या भएको छ। (g02 3/22)