सन्त पत्रुसको माछा
सन्त पत्रुसको माछा
इस्राएलमा गालीलको समुद्र किनारको एउटा भोजनालयको परिकार सूचीमा “सन्त पत्रुसको माछा” लेखिएको देख्दा यो के होला भनी जान्न तपाईं उत्सुक हुनुहोला। विशेष गरी पर्यटकहरूमाझ एकदमै प्रख्यात परिकारहरूमध्ये यो पनि एक हो भनेर बेयराले तपाईंलाई बताउलान्। माछा ताजा छ भने, तारेको परिकार असाध्यै स्वादिलो हुन्छ। तर यसको नाउँ किन प्रेरित पत्रुससँग जोडिएको?
बाइबलमा मत्ती १७:२४-२७ मा वर्णन गरिएको घटनाले यसको जवाफ दिन्छ। गालीलको समुद्र नजिकैको कफर्नहुम शहरमा जाँदा येशूले मन्दिरको कर तिर्नुहुन्छ कि तिर्नुहुन्न भन्ने प्रश्न पत्रुसलाई सोधिएको थियो। पछि, येशूले आफू परमेश्वरको पुत्र भएको कारण कर तिर्न बाध्य नभएको कुरा बताउनुभयो। तर अरूलाई ठेस नलागोस भनेर उहाँले पत्रुसलाई समुद्रमा गएर बल्छी थाप्न र बल्छीमा पर्ने पहिलो माछाको मुखमा पाइने सिक्काबाट कर तिर्न अह्राउनुभयो।
बाइबलमा वर्णन गरिएको यही घटनाबाट “सन्त पत्रुसको माछा” भन्ने नाउँ लिइएको हो। तर पत्रुसले कस्तो खालको माछा समातेका थिए?
प्रशस्त माछा भएको समुद्र
गालीलमा पाइने २० प्रजातिका माछाहरूमध्ये पत्रुसले समातेका माछा सम्भवतः १० प्रकारमध्येका कुनै एक मात्र हुनसक्छ। यी दशवटालाई व्यापारिक दृष्टिकोणबाट तीनवटा महत्त्वपूर्ण समूहमा बाँडिएको छ।
सबैभन्दा ठूलो समूहलाई मश्ट माछा भनिन्छ, जसको अर्थ अरबीमा “काइँयो” हो किनभने यसको पाँचवटा प्रजातिको पछाडिपट्टिको भागमा काइँयोजस्तै पखेटाहरू हुन्छन्। एक प्रकारको मश्ट ४५ सेन्टिमिटर लामो र वजन दुई किलो जति हुन्छ।
दोस्रो समूह किन्नेरेत (गालीलको समुद्र) सार्डिन हो र यी स-साना हुन्छन्। सार्डिन पाइने समयमा हरेक रात कयौं टन सार्डिन समातिन्छ र वर्षभरिमा त एक हजार टन जति हुन्छ। सार्डिन माछालाई कुहिनबाट जोगाउन नुन पानीमा डुबाएर राख्ने चलन पहिलेदेखि नै चलिआएको छ।
तेस्रो समूह हो बिनी, जसलाई बार्बेल पनि भनिन्छ। यसको तीनवटा प्रजातिको मुखनेर जुँगा हुने भएकोले यसको नाम बिनी रहेको हो, जसको अर्थ यहूदी भाषामा “रौं” हुन्छ। यसले शंखेकीरा, चिप्लेकीरा र स-साना माछाहरू खान्छ। लामो टाउको भएको बार्बेल ७५ सेन्टिमिटरसम्म लामो र वजन सात किलोभन्दा बढी हुन्छ। बार्बेल निकै गतिलो हुन्छ र यहूदीहरूमाझ विशेष गरी विश्राम दिन र भोजहरूमा यो लोकप्रिय परिकार हो।
व्यापारिक दृष्टिकोणबाट महत्त्वपूर्ण यी तीन समूहमा नपर्ने मुङ्ग्री माछा गालीलको समुद्रमा पाइने सबैभन्दा ठूलो माछा हो। यो १.२० मिटरसम्म लामो र ११ किलोसम्म हुन्छ। तर मुङ्ग्री माछाको कत्ला नहुने भएकोले मोशाको व्यवस्थाअनुसार यो अशुद्ध थियो। (लेवी ११:९-१२) त्यसैकारण, यहूदीहरूले यो माछा खाँदैनन् र पत्रुसले समातेको माछा पनि यो प्रकारको नहुन सक्छ।
पत्रुसले कस्तो माछा समाते?
साधारणतया “सन्त पत्रुसको माछा” भनिने र गालीलको समुद्र छेउको भोजनालयमा बेचिने माछा मश्ट हो। अरूको तुलनामा काँडा कम हुने भएकोले यो तयार गर्न र खान सजिलो हुन्छ। तर के पत्रुसले समातेको माछा यही नै थियो त?
मेन्डल नन गालीलको समुद्री किनारमा ५० वर्षभन्दा बढी समय बिताइसकेका मछुवा हुन् र उनलाई स्थानीय माछाहरूबारे राम्ररी थाह छ। उनी यसो भन्छन्: “मश्टले समुद्रमा पाइने सूक्ष्म जीवहरू मात्र खान्छ र अरू खानेकुरा मन पराउँदैन। त्यसकारण, यसलाई समात्न बल्छी वा अंकुस होइन तर जाल प्रयोग गरिन्छ।” त्यसैले, पत्रुसले समातेको माछा यो हुन सक्दैन। सार्डिन त झनै हुन सक्दैन किनकि यो अत्यन्तै सानो हुने हुँदा सन्त पत्रुसको माछा भन्न मिल्दैन।
त्यसकारण, बार्बेल नै “सन्त पत्रुसको माछा” भन्न बढी सुहाउँछ। ननले यसो भने: “[गालीलको समुद्रका] मछुवाहरूले सार्डिन राखिएको बल्छीको प्रयोग गरेर वर्षौंदेखि समुद्रको पींधमा बसेर अरू जीवहरूको सिकार गर्ने बार्बेललाई समात्दै आइरहेका छन्।” उनी यस्तो निष्कर्षमा पुग्छन्, “पत्रुसले बार्बेल नै समातेको हुनुपर्छ।”
त्यसोभए, किन मश्टलाई “सन्त पत्रुसको माछा” भनेर बेचिएको त? नन यस्तो जवाफ दिन्छन्: “यसरी नाउँ परिवर्तन हुनुको कारण एउटै छ। यसो गर्दा पर्यटनजगत्लाई फाइदा हुने थियो! . . . टाढा-टाढाबाट तीर्थयात्रीहरू आउन थालेपछि, भोजनालयहरूमा पहिलेदेखि पाइने मश्टलाई नै ‘सन्त पत्रुसको माछा’ भनेर बेच्नु उनीहरूको व्यापारको लागि फाइदाजनक देखियो। सबैभन्दा लोकप्रिय र बनाउन सजिलो माछाले यसरी बिक्ने नाउँ पायो!”
पत्रुसले कस्तो खालको माछा समातेका थिए भन्ने विषयमा हामी किटेर भन्न त सक्दैनौं तर “सन्त पत्रुसको माछा” भनेर तपाईंलाई जुनसुकै माछा दिइए तापनि तपाईंलाई निस्सन्देह त्यो परिकार असाध्यै स्वादिष्ट लाग्नेछ। (g02 2/22)
[पृष्ठ २५-मा भएको चित्र]
“मश्ट”
[पृष्ठ २५-मा भएको चित्र]
बार्बेल
[पृष्ठ २५-मा भएको चित्रको स्रोत]
Garo Nalbandian