सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्कूलका साथीहरूलाई कसरी प्रचार गर्ने होला?

स्कूलका साथीहरूलाई कसरी प्रचार गर्ने होला?

युवा जनहरू सोध्छन्‌ . . .

स्कूलका साथीहरूलाई कसरी प्रचार गर्ने होला?

“प्रचार गरिरहेको बेला अचानक मैले एक जना चिनेको व्यक्‍तिलाई भेटें। मलाई त के गरूँ कसो गरूँ भयो! मसँग काम गरिरहेका प्रकाशकले हत्त न पत्त अघि सरेर मेरो सट्टा बोल्नुपऱ्‍यो।”— अल्बेर्टो।

“यस सडकमा मेरो कक्षाको एक जना साथी बस्छ भनेर मलाई थाह थियो, त्यसकारण मैले सबै ढोकामा मेरो दाइलाई कुरा गर्न लगाएँ। केही समयपछि उहाँ थाक्नुभयो र अर्को ढोकामा मलाई कुरा गर्न लगाउनुभयो। मैले ढोका ढक्ढकाएँ, तर लौ फसाद पऱ्‍यो, त्यहाँ त मेरो साथी पो रहेछ! म एकदमै अतालिएँ!”—जेम्स।

युवाहरू धर्मबारे कुरा गर्नुलाई अक्सर “पुरानो जमानाको कुरा हो” भन्ठान्छन्‌। तथापि, साँचो मसीहीहरूमाझ भने, युवाहरू आफ्नो विश्‍वास अरूसँग बाँड्‌ने ईश्‍वरप्रदत्त सुअवसरलाई मूल्यवान्‌ ठान्छन्‌। त्यसैकारण, यहोवाका हजारौं जवान साक्षीहरू ढोका-ढोकाको प्रचार कार्यमा भाग लिन्छन्‌। तर कतिपयले भने स्कूलमा आफूले चिनेका कोही भेटिने पो हुन्‌ कि भनेर डराइ-डराइ यसो गर्छन्‌। उच्च माध्यामिक तह उतीर्ण गरेको केही वर्ष भइसके तापनि “आफूसँगै स्कूलमा पढेकाहरूलाई भेट्‌दा अहिले पनि म आत्तिन्छु” भनी जेनिफर बताउँछिन्‌।

तपाईं जवान मसीही हुनुहुन्छ भने, कहिलेकाहीं तपाईंलाई पनि त्यस्तै लाग्न सक्छ। निस्सन्देह, हामी सबै अरूले अस्वीकार गर्लान्‌ भनेर डराउने भएकोले स्कूलका साथीहरूसँग धर्मबारे कुरा गर्न अप्ठ्यारो लाग्नु स्वाभाविकै हो। a तर डरले भुतुक्कै हुनु भने पर्दैन। के तपाईंले बाइबलमा बताइएको “अरिमथियाका यूसुफ” भन्‍ने मानिस सम्झनुभएको छ? तिनले येशूबाट सिकेका कुराहरूमा विश्‍वास गर्थे। तर बाइबलले यूसुफलाई “यहूदीहरूका डरले गुप्तमा मात्र येशूका चेला भएका” थिए भनी बताउँछ। (यूहन्‍ना १९:३८) तपाईंहरूको मित्रतालाई गोप्य राख्न चाहने साथी तपाईंलाई कस्तो लाग्छ? (लूका १२:८, ९) त्यसोभए, सबै मसीहीहरूले आफ्नो विश्‍वास जनसमक्ष “स्वीकार” गरेको परमेश्‍वरले चाहनु कुनै अचम्मलाग्दो कुरा होइन। (रोमी १०:१०) यसमा तपाईंले स्कूलका साथीहरूसँग कुरा गर्नु पनि समावेश छ।

अरिमथियाका यूसुफले येशूको लास गाड्‌नको लागि अनुमति माग्ने हदसम्म भए पनि डरलाई हटाए। तपाईं कसरी आफ्नो डरमाथि विजयी हुन सक्नुहुन्छ?

प्रचार गर्ने इच्छुकता विकास गर्ने

आफ्नो विश्‍वासबारे अरूलाई बताउन प्रेरित पावल लजाएनन्‌। रोमी १:१५ मा तिनले आफूलाई बाइबलको सन्देश घोषणा गर्न तयार व्यक्‍ति भनी वर्णन गरे। यस्तो तत्परता केले जगायो? पद १६ मा लिपिबद्ध गरिएअनुसार तिनी यसो भन्छन्‌: “सुसमाचारसँग म शर्माउँदिनँ, किनभने विश्‍वास गर्ने हरेकको . . . मुक्‍तिको निम्ति, यो परमेश्‍वरको शक्‍ति हो।” तपाईं नि? के तपाईं आफैले सच्चाइ जाँचेर पत्ता लगाउनु-भएको छ? (रोमी १२:२) बाइबलको सन्देश ‘मुक्‍तिको निम्ति परमेश्‍वरको शक्‍ति’ हो भनेर के तपाईं व्यक्‍तिगत तवरमा विश्‍वस्त हुनुहुन्छ?

आफ्ना आमाबाबुसँग मसीही सभाहरूमा उपस्थित हुनु मात्र पर्याप्त छैन। “सभाहरूमा मात्र जान त धेरै सजिलो छ” भनी डेबोरा नाउँ गरेकी किशोरी भन्छिन्‌, “किनकि आमाबाबुले नै सभामा जानको लागि भन्‍नुहुन्छ। तर जब मानिसहरूले मलाई बाइबलबारे प्रश्‍नहरू सोध्थे, तिनीहरूलाई के जवाफ दिने भनेर मलाई थाहै हुँदैनथ्यो।” त्यस्तै मि योङ्‌ नाउँ गरेकी किशोरी यस प्रकार स्वीकार्छिन्‌: “यही नै सच्चाइ हो भन्‍ने कुरामा हामी आफै विश्‍वस्त हुनुपर्छ।”

बाइबलको ज्ञान अरूलाई बताउन तपाईंलाई केले उत्प्रेरित गर्न सक्छ? व्यक्‍तिगत बाइबल अध्ययनले। शन नाउँ गरेका किशोर यसो भन्छन्‌: “आफ्नो व्यक्‍तिगत बाइबल अध्ययन सुरु गर्नुहुँदा, तपाईंले सच्चाइलाई आफ्नो बनाउन थाल्नुहुन्छ। तपाईंले आफ्नैलागि अध्ययन गरिरहनुभएको हुनेछ।” हो, सबैलाई नै पढ्‌न मन पर्छ भन्‍ने छैन। “मलाई पढ्‌न मन पर्दैन” भनी सेभोन स्वीकार्छिन्‌। “त्यसैकारण, सुरु-सुरुमा मलाई प्रहरीधरहराब्यूँझनुहोस्‌! वा दिनहुँ बाइबल पढ्‌न निकै गाह्रो लाग्थ्यो। तर जसै समय बित्दै गयो, मैले त्यसो गर्न थालें।”

यस्तो लगनशील अध्ययनबाट कस्तो लाभ हुन्छ? प्रेरित पावल यसो भन्छन्‌: “विश्‍वास सुनाइबाट . . . आउँछ।” (रोमी १०:१७) जसै तपाईंको विश्‍वास र निश्‍चयता बढ्‌छ, तपाईंको मनोवृत्ति पनि पक्कै परिवर्तन हुन्छ। एलिजान्जेला नाउँ गरेकी ब्राजिलियन किशोरी यस्तो निष्कर्षमा पुगिन्‌: “मसीही हुनु भनेको सम्मानको कुरा हो, यो कुनै सर्माउनुपर्ने कुरा होइन।” निस्सन्देह, जब तपाईंको विश्‍वास बढ्‌छ, तपाईं आफ्नो कक्षाका साथीहरूलगायत अरूलाई यसबारे बताउनै पर्छ भन्‍ने महसुस गर्न थाल्नुहुन्छ। पावलले यसो भने: “हामी . . . विश्‍वास गर्दछौं, यसैकारण हामी बोल्छौं।” (२ कोरिन्थी ४:१३) यसबाहेक, तपाईंले दिनदिनै भेट्‌नुहुने युवाहरूलाई जीवनदायी ज्ञान दिनबाट पछि हट्‌नुभयो भने, तपाई कसरी पो “प्राणको निम्ति निर्दोष” हुन सक्नुहुन्छ र?—प्रेरित २०:२६, २७.

तथापि, कतिपय जवान मसीहीहरू बाइबलबारे अरूसँग कुरा गर्न आफू अयोग्य भएको महसुस गर्छन्‌। जोशुआ नाउँ गरेका किशोर यसो भन्छन्‌, “के भन्‍ने भनेर तपाईंलाई थाह छैन भने प्रचार गर्नु त्यति आनन्ददायी हुँदैन।” त्यसकारण, बाइबलको गहिरो समझ प्राप्त गर्नाले यसलाई दक्षतासाथ प्रयोग गर्न तपाईंलाई सजिलो हुनेछ। (२ तिमोथी २:१५) यहोवाका साक्षीहरूको मसीही मण्डलीमा युवाहरूले मण्डलीका प्राचीनहरूकहाँ गएर शिक्षण कला विकास गर्नका लागि व्यक्‍तिगत तवरमा मदत माग्न सक्छन्‌। मतियास नाउँ गरेका जर्मन किशोर यसो भन्छन्‌: “बाइबल साहित्यहरू मात्र प्रस्तुत गर्नुको अलावा जब म आफैले अरूसित कुरा गर्न थालें मलाई प्रचारकार्य साह्रै रमाइलो लाग्यो।”

अन्तमा, साहसी भई बोल्नको लागि तपाईं परमेश्‍वरलाई मदतको लागि प्रार्थना गर्न सक्नुहुन्छ। (प्रेरित ४:२९) यस सन्दर्भमा प्रेरित पावलले व्यक्‍तिगत रूपमा परमेश्‍वरको मदत अनुभव गरे। १ थिस्सलोनिकी २:२ मा तिनी यसो भन्छन्‌: “तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बोल्नालाई, अति विरोधमा पनि, हाम्रा परमेश्‍वरमा हामी निर्भय रह्‍यौं।” एउटा सन्दर्भिकाअनुसार यस वाक्यले “परमेश्‍वरले हाम्रो मनबाट डर हटाइदिनुभयो” भन्‍ने बुझाउन सक्छ। त्यसोभए तपाईंको मनबाट डर हटाइदिनको लागि परमेश्‍वरलाई प्रार्थना गर्नुभए कसो होला?

आफूलाई चिनाउने

त्यस प्रार्थनाअनुरूपै तपाईं साहसी कदम चाल्न सक्नुहुन्छ। सिक नाउँ गरेकी बेलाइती किशोरी यस्तो सल्लाह दिन्छिन्‌: “तपाईं एक जना मसीही हुनुहुन्छ भनेर आफ्ना साथीहरूलाई बताउनुहोस्‌।” तपाईं ‘गुप्त चेला’ हुन चाहनुहुन्‍न होला। प्रचार कार्य गरिरहेको बेला कतै कोही चिनेको मानिस पो भेटिएला कि भनेर आफू पहिले-पहिले डराउने गरेको कुरा रिबेका नाउँकी किशोरी स्वीकार्छिन्‌। तर तिनले के कुरा पत्ता लगाइन्‌ भने “तपाईंले आफू एक जना मसीही हुँ र तपाईं ढोका-ढोकाको प्रचार कार्यमा जानुहुन्छ भनी बताउनुभयो भने, कहिलेकाहीं तिनीहरूले यस्तो प्रश्‍न सोध्न सक्छन्‌, ‘के तिमी मकहाँ पनि आउँछौ त?’ ”

तर किन मौका कुरेर बसिरहने? आफ्नो विश्‍वासबारे अरूलाई बताउन स्कूलमा मौका खोज्नुहोस्‌। प्रेरित पावलले सोधेका प्रश्‍नहरू सम्झनुहोस्‌: “जसलाई तिनीहरूले सुनेकै छैनन्‌ उहाँलाई कसरी विश्‍वास गर्ने? औ प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्‍नसक्लान्‌?” (रोमी १०:१४) आफ्नो कक्षाका साथीहरूलाई सुसमाचार सुनाउनको लागि तपाईं नै सबैभन्दा उपयुक्‍त व्यक्‍ति हुनुहुन्छ। इराइडा नाउँकी किशोरी यसो भन्छिन्‌: “स्कूल भनेको हामी मात्र पुग्न सक्ने प्रचार इलाका हो।” तसर्थ, थुप्रै युवाहरूले अनौपचारिक प्रचार गरेर आफ्नो परिस्थितिको सदुपयोग गर्छन्‌।

तथापि, कहिलेकाहीं कक्षामा गरिने क्रियाकलापहरूले पनि बाइबल सच्चाइ बताउने मौका प्रदान गर्छ। जेमी नाउँकी बेलाइती केटी यसो भन्छिन्‌: “हामी विज्ञानको कक्षामा विकासवादबारे छलफल गर्दै थियौं र मैले आफ्नो विश्‍वासबारे बताएँ। एक जना केटाले मलाई गिज्यायो र उसले यहोवाका साक्षीहरू मूर्ख हुन्छन्‌ अनि स्कूलमा रहिरहन योग्यका छैनन्‌ भने। त्यति नै बेला, कक्षाका अरूहरू भने मेरो पक्षमा बोल्न थाले।” स्पष्टतः अनुकरणीय मसीहीको रूपमा तिनको उदाहरणले गर्दा नै राम्रो परिणाम भएको थियो। जेमी अझै यसो भन्छिन्‌: “फलस्वरूप, मैले एक जना साथीलाई इज देअर अ क्रिएटर हु क्येर्स अवाउट यू? भन्‍ने पुस्तक दिने मौका पाएँ।” b

रोमानियाकी मिकू नाउँकी १४ वर्षीया केटी यस्तै प्रकारको अनुभव बताउँछिन्‌: “कक्षमा मद्य, सूर्ती तथा लागू पदार्थबारे सामूहिक छलफल हुने कुरा मेरी शिक्षिकाले बताइन्‌। त्यसैकारण मैले ‘धूम्रपान कसरी छोड्‌ने’ भन्‍ने विषय भएको मे ८, २००० को ब्यूँझनुहोस्‌!-को अंक ल्याएँ। कक्षाको एक जना साथीले यो पत्रिका देखिन्‌, लिइन्‌ र मलाई फिर्ता दिनै मानिनन्‌। यो पढेपछि आफू धूम्रपान छोड्‌न कटिबद्ध भएको कुरा तिनले बताइन्‌।”

तपाईंले सधैं यस्तो सकारात्मक प्रतिक्रिया पाउनुहुन्‍न होला। तर उपदेशक ११:६ ले हामीलाई यस्तो सल्लाह दिन्छ: “बिहान समयमानै बिउ छर्‌, र बेलुकी साँझसम्म आफ्नो काम गर्न न छोड़्‌, किनभने . . . कुन चाहिँ सफल हुन्छ . . . होला भनी तँ जान्दैनस्‌।” कुनै असल नतिजा प्राप्त नभए तापनि स्कूलमा आफ्नो विश्‍वासबारे बताउँदा स्कूलको साथीलाई घर-घरको सेवकाईमा भेटिएको खण्डमा उसँग अझ राम्ररी वार्तालाप गर्नको लागि आधार तयार हुनेछ। जेसिका नाउँकी बेलाइती किशोरी यसो भन्छिन्‌: “वास्तवमा स्कूलमा चिन्‍नुभएकाहरूलाई साक्षी दिन झनै सजिलो हुन्छ किनकि तिनीहरू पहिल्यै साथी भइसकेका हुन्छन्‌।” तपाईंको विश्‍वासबारे थाह पाउँदा तपाईंको स्कूलका केही साथीहरू एकदमै जिज्ञासु भएको देखेर तपाईं दंग सक्नुहुन्छ।

हो, सबैले यस्तो सकारात्मक व्यवहार गर्ने छैनन्‌। तर येशूले यस्तो व्यावहारिक सल्लाह दिनुभयो: “जसले तिमीहरूलाई ग्रहण नगर्ला, र तिमीहरूको बात नसुन्ला त्यस घर[बाट] . . . निस्कँदा तिमीहरूका खुट्टाको धूलो टकटकाइदेओ।” (मत्ती १०:१४) अर्को शब्दमा भन्‍ने हो भने, यो तपाईंलाई नै तिरस्कार गरेको होइन। ऊसँग वादविवाद नगरीकन अन्तै जानुहोस्‌ र सुन्‍न इच्छुक अरू कोही खोज्नुहोस्‌। ढिलो होस्‌ वा चाँडो, सत्यको लागि भोकाएका र सुन्‍न इच्छुक नम्र हृदयका मानिसहरू तपाईंले भेट्टाउनुहुनेछ। तीमध्ये एक तपाईंकै सँगी विद्यार्थी परिदियो भने के त्यो इनामदायी हुनेछैन र? त्यसो हो भने, आफ्नो कक्षाका साथीहरूलाई आफ्नो विश्‍वासबारे बताउन डरमाथि विजयी हुन सक्नु भएकोमा तपाईं अनन्दित हुनुहुनेछ। (g02 3/22)

[फुटनोट]

a मार्च ८, २००२ को अंकमा प्रकाशित “युवा जनहरू सोध्छन्‌ . . . मेरो स्कूलको कसैलाई भेटें भने के गर्ने?” भन्‍ने लेख हेर्नुहोस्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]

“आफ्नो व्यक्‍तिगत बाइबल अध्ययन सुरु गर्नुहुँदा, तपाईंले सच्चाइलाई आफ्नो बनाउन थाल्नुहुन्छ।”—शन

[पृष्ठ १०-मा भएको चित्र]

आफूलाई मसीही भनेर चिनाउन नडराउनुहोस्‌

[पृष्ठ १०-मा भएको चित्र]

कहिलेकाहीं कक्षामा गरिने क्रियाकलापहरूले बाइबल सच्चाइ बताउने मौका प्रदान गर्छ