सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हावाकै गतिमा यात्रा गर्ने

हावाकै गतिमा यात्रा गर्ने

हावाकै गतिमा यात्रा गर्ने

क्यानाडाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

“मलाई तुरुन्तै केही रेसमी कपडा अनि डोरी देऊ र म विश्‍वलाई नै चकित बनाउने कुरा तिमीलाई देखाउनेछु!”—जोसेफ-मिशेल मोन्टगल्फियर, १७८२.

हुस्स! एउटा सानो आगोको झिल्काले रंगबिरंगी खोललाई बिस्तारै माथि आकाशतिर उडाउँछ। सुन्दर इन्द्रेनी रङको कपडा हावामा तैरिदा मानिसको मनमा एक प्रकारको उमंग छाउनुका साथै व्यस्त जिन्दगीको भागदौडबाट मुक्‍त भएको महसुस हुन्छ। यसमा उड्‌दा “आनन्द र उत्साह दुवैको अनुभूति हुन्छ” भनी धेरै अघिदेखि हट एयर बेलुनप्रति आकर्षित भएका व्यक्‍तिले बताए।

जोसेफ-माइकल र ज्याक-आट्यनले सन्‌ १७८० दशकको सुरुमा सफलतासाथ यसको परीक्षण उडान गरेदेखि बेलुन उडानले धेरै मानिसहरूलाई आकर्षित गरेको छ। (तल दिइएको पेटी हेर्नुहोस्‌।) यद्यपि, १९६० को दशकमा आगोले नखाने कपडा अनि बेलुनभित्र ताप प्रवाह गर्न र हावाको तापक्रमलाई नियन्त्रणमा राख्न कम खर्चिलो ज्वलनशील प्रोपेन ग्याँस प्रयोग गर्ने प्रणालीको आविष्कार भइसकेपछि मात्र एउटा आनन्ददायी खेलको रूपमा बेलुन उडानको सुरुवात भयो।

नजिकबाट नियाल्दा

एउटा सुन्दर बेलुनलाई नजिकबाट नियाल्ने हो भने, यो रंगबिरंगी कपडाहरू गाँसिएर बनेको र प्रत्येक कपडाको तल्लो भाग साघुँरो र माथि फराकिलो हुँदै गएको हुन्छ। हावा भरिंदा कुनै-कुनै बेलुनको चौडाइ ५० फिट र उचाइ ८० फिटभन्दा बढी हुन्छ।

उड्‌ने महत्त्वाकांक्षा बोकेका कल्पनामा डुब्ने व्यक्‍तिहरूले विभिन्‍न आकार-प्रकारका बेलुनहरूको परिकल्पना गरेका छन्‌ र ती बेलुनहरू जनावरदेखि लिएर बोतल र जोकरको आकारसम्मका छन्‌। आकार-प्रकार जस्तोसुकै भए तपानि आकाशका यी मौन यानहरूको उडान सिद्धान्त भने एउटै रहन्छ।

चालक तथा यात्रुहरू हल्का, मजबुत बेतको टोकरी वा बास्केटमा बस्छन्‌, जुन डोरीहरूद्वारा बेलुनमा जोडिएको हुन्छ अनि यो बास्केट बेलुनको मुखको ठीक मुन्तिर राखिन्छ। कुनै-कुनै बास्केटहरू एलुमिनियमले बनाइएका हुन्छन्‌। फेरि एक चोटि बास्केटको मास्तिर हेर्नुहोस्‌। तपाईंले बेलुनको मुखको तलतिर धातुको पातामा जडान गरिएको आगो बाल्ने बर्नर र रेगुलेटर देख्नुहुनेछ। इन्धनको ट्यांक बास्केटभित्र हुन्छ।

उड्‌नको लागि तयारी

हवाईजहाज उड्‌नको लागि लामो धावनमार्ग चाहिन्छ। यद्यपि, हट एयर बेलुनको लागि एउटा सानो खुल्ला जमिन भए पुग्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यस्तो स्थान खोजी गर्नु हो जसको ठ्याक्क माथि कुनै अवरोध नहोस्‌। के तपाईं यस शान्त यानमा चढ्‌न उत्सुक हुनुहुन्छ? बास्केटमा चढ्‌नुअघि तपाईंले केही प्रारम्भिक कदमहरू चाल्नुपर्छ।

सबैभन्दा पहिला, हावा नभरिएको बेलुन जमिनमा फिजाएर राखिन्छ र बास्केट पनि सँगै राखिएको हुन्छ। त्यसपछि ठूलो विद्युतीय पंखाबाट बेलुनको मुखमा हावा फुकिन्छ। त्यसपछि, बेलुन उडाउन र बास्केटलाई ठीक स्थानमा राख्न बेलुनभित्र तातो हावा पठाइन्छ। त्यसपछि, इन्धन नलीदेखि लिएर हावा छिर्ने र निस्कने नियन्त्रण लाइन बास्केटमा राम्ररी झुन्डिएका छन्‌ कि छैनन्‌ भनेर अन्तिम पटक जाँच गरिन्छ। त्यसपछि भने चालकले यात्रुहरूलाई बास्केटमा राखेर उडाउन सक्छन्‌। कोही-कोही चालकहरूले रेडियो उपकरण बोक्ने गर्छन्‌ र बेलुन जमिनमा अवतरण गर्दा बेलुन तथा यात्रुहरूलाई लिन बेलुनलाई पछ्याउने गाडीका टोलीसित निरन्तर सम्पर्क कायम राख्छन्‌।

हावाकै गतिमा उड्‌ने

अधिकांश बेलुन यात्रीहरू ४०० फिटभन्दा तलको उचाइमा उड्‌न रुचाउँछन्‌ र यसो गर्दा तिनीहरूले ग्रामीण इलाकामाथि उड्‌दै त्यहाँका गतिविधिहरू नियाल्न सक्छन्‌। यतिको उचाइबाट जमिनमा मानिसहरू हाँसेको र चिच्च्याएको आवाजसमेत सुन्‍न सकिन्छ। जमिनबाट देखिने दृश्‍य एकदमै मनमोहक हुन्छ र यसले मन्द हावामा उडिरहेको टुकी फूलको सम्झना दिलाउँछ। कोही-कोही चालकहरू प्रायजसो २,००० फिट वा त्योभन्दा बढी उचाइसम्म जाने गर्छन्‌। यद्यपि, अक्सिजनको आपूर्तिविना १०,००० फिटभन्दा माथि उड्‌न उपयुक्‍त मानिंदैन।—“उच्च-उचाइमा उडान” शीर्षकको पेटी हेर्नुहोस्‌।

एक चोटि आकाशमा उडिसकेपछि कसरी पुनः जमिनमा झर्ने? गुरुत्वाकर्षण। तातो हावा बाहिर फ्याँक्ने डोरीलाई तानेर तपाईं तल झर्न सक्नुहुन्छ। तर, जमिनसित समानान्तर भई उड्‌दा भने कुरा अर्कै हो। चालकको सम्पूर्ण गतिविधि मौसमै निर्भर हुन्छ। “हावाले नै दिशा र गतिलाई नियन्त्रण गर्ने भएकोले हरेक उडान फरक-फरक हुन्छ” भनी एक जना अनुभवी बेलुन यात्री बताउँछन्‌। अनि हावाको वेगले नै गति र दिशालाई बदल्न सक्छ। पृथ्वीको सतहबाट ३०० फिटमाथि हावा एउटा दिशातिर बहनु अनि ६०० फिटमाथि भने अर्कै दिशातिर बहनु कुनै अचम्मलाग्दो कुरा होइन।

बेलुनले हावाको गतिमा यात्रा गर्ने भएकोले तपाईंलाई आफू शून्यतामा झुन्डिरहेको र तल पृथ्वी फनफनी घुमिरहेको जस्तो लाग्न सक्छ। “बेलुन यात्रुहरू हावाकै गतिमा उड्‌ने भएकाले एक चोटि माथि उडिसकेपछि तिनीहरूले आकाशमा नक्सा फैलाउँदा पनि हावाले उडाउँदैन” भनी स्मिथसोनियन पत्रिका दाबी गर्छ।

उडानको अनुभव गर्ने

उडान गर्ने उपयुक्‍त समय हावाको गति कम हुँदा हो। यो भनेको अक्सर घाम उदाउने बित्तिकै वा घाम अस्ताउनु केही छिनअघि हो। बिहानको समय उपयुक्‍त मानिन्छ किनभने प्रायः बिहानीपख वायुमण्डलीय हावा चिसो हुन्छ र बेलुन सजिलै उड्‌न सक्छ। साँझपख उडान गर्दा अँध्यारो हुन सक्ने खतरा हुन्छ।

धेरै अभ्यासपछि मात्र उडानको अनुभव हासिल गर्न सकिन्छ। मुख्य कुरा, आफूले चाहेको दिशामा बहिरहेको हावा ठम्याएर त्यसकै बहावसँग जानु हो। भनिन्छ, अनुभवी चालकहरूले खुड्‌किलो चढ्‌छन्‌। तिनीहरू निश्‍चित उचाइसम्म उक्लिसकेपछि यानलाई एकनासले लैजान्छन्‌। बर्नरबाट एक मुस्लो निस्केपछि तातो हावा बेलुनको माथिसम्म पुग्छ र यस शान्त यानलाई माथि उचाल्छ।

ठिक्क मात्रामा मुस्लो छोड्‌नु तथा निरन्तर ध्यान दिइरहनु नितान्त आवश्‍यक छ, यसो गर्दा बेलुन चालकको नियन्त्रणबाट बाहिर जान पाउँदैन। ध्यान अलिकता मात्र एताउता भएमा पनि चिताउँदै नचिताएको अवतरण हुन सक्छ। साधारणतया बेलुनको टुप्पोबाट ५० देखि ६० फिट तल आगोको स्रोत हुन्छ भनी सतर्क चालकले कहिल्यै बिर्संदैन, त्यसैले आगोको मुस्लो निस्केर तापमा परिवर्तन हुन १५ देखि ३० सेकेन्ड लाग्न सक्छ।

विशेष गरी जोडसित हावा चलिरहेको बेला र साँघुरो ठाउँमा अवतरण गर्नु रोमाञ्चक हुन सक्छ! यस्तो अवस्थामा “चिडियाखानाको सिंहको खोरमा बिस्तारै अवतरण गर्नुभन्दा सही स्थानमा बज्रेर अवतरण गर्नु नै राम्रो हुन्छ” भनी एक जना बेलुन विशेषज्ञ बताउँछन्‌। यद्यपि, हावाको बेग अनुकूल हुँदा बिस्तारै अवतरण गर्नु सबैभन्दा रमाइलो हुन्छ।

धेरैले प्रतियोगिता, प्रतिस्पर्धाको रूपमा र चाडपर्वहरूको अवसरमा अनि अरू कतिपयले चाहिं केवल आनन्दको लागि उडान गर्दा यो रंगीबिरंगी चहकिलो मनोरञ्जनात्मक बेलुनको ख्याति झन्‌-झन्‌ बढ्‌दै जानेछ। (g02 3/8)

[पृष्ठ १६-मा भएको पेटी/चित्र]

बेलुन उडानको प्रारम्भिक इतिहास

इतिहास पल्टाएर हेर्दा प्रथम हट-एयर बेलुन बनाउने तथा उडाउने श्रेय फ्रान्सको अनोनेस्थित एक जना धनी कागज उत्पादकका दुई जना छोराहरू जोसेफ माइकल र ज्याक इटाइनीलाई जान्छ। तिनीहरूले १७८० दशकको प्रारम्भतिर कागजको बेलुन प्रयोग गरेर पहिलो परीक्षण गरेका थिए, जुन पराल र ऊन बालेर निस्कने धूँवाबाट उड्‌छ भन्‍ने तिनीहरूको विश्‍वास थियो। तर तातो हावाले नै बेलुनलाई माथि उठाउँदो रहेछ भनेर पत्ता लगाउन धेरै समय लागेन।

पछि तिनीहरूले कपडाको बेलुन बनाउन सुरु गर्दा जत्ति ठूलो बेलुन बनायो, त्यत्ति नै उचाइमा उड्‌न र अन्य मालसामानहरू पनि बोक्न सक्ने कुरा पत्ता लगाए। जुन १७८३ मा अन्‍नोनेस्थित सार्वजनिक डबलीबाट तिनीहरूले आफूले बनाएको सबैभन्दा ठूलो बेलुन उडाए। यो बेलुन पृथ्वीमा अवतरण गर्नुअघि १० मिनेटसम्म आकाशमा तैरियो।

त्यस उपलब्धिपछि तिनीहरू मानिसहरूलाई बोक्ने बेलुन उडाउने प्रयास गर्ने निष्कर्षमा पुगे। तर सर्वप्रथम तिनीहरूले सेप्टेम्बर १७८३ मा कुखुरा, हाँस र भेडा राखेर बेलुन उडाए अनि यस्तो प्रदर्शनी हेर्न भर्साइलिजमा हजारौं दर्शकहरू भेला भए। ती तीनैवटा प्राणी जम्मा आठ मिनेट उडे र त्यस्तो कुनै अप्रिय घटना घटेन। यसको केही समयपछि नोभेम्बर २१, १७८३ मा पहिलो पटक मानिस राखेर उडाउने प्रयास गरियो। दुई जना भद्र पुरुषलाई यस उडानमा यात्रा गर्ने सम्मान दिनुपर्छ भनी लुइस सोह्रौंलाई मनाइयो। शाटु डे ला म्वेटबाट यी यानहरूको उडान थालियो र पेरिसको आकाशमा ८ किलोमिटरको दूरीसम्म यो हावामा तैरियो। करिब २५ मिनेटपछि बेलुनमा आगो लागेकोले अचानक अवतरण गर्नुपऱ्‍यो।

यही समयताका पेरिसको विज्ञान प्रतिष्ठानले यस आविष्कारप्रति चासो देखायो। त्यतिखेर सबैभन्दा नाउँ चलेका भौतिकशास्त्री प्राध्यापक ज्याक चाल्सले दुई दक्ष यन्त्रकार चार्ल्स र एम.एन रोबर्टसित मिलेर प्रथम हाइड्रोजनयुक्‍त बेलुन बनाए र अगस्त २७, १७८३ मा त्यसको परीक्षण गरे। यो बेलुन २४ किलोमिटरको इलाकालाई ढाक्दै ४५ मिनेटसम्म उड्यो र यो शालियरको नाउँबाट चिनियो। यस किसिमको बेलुन यसको पुरानै ढाँचाअनुरूप आज हाम्रो समयसम्म प्रयोग भइरहेको छ।

[पृष्ठ १९-मा भएको पेटी]

उच्च-उचाइमा उडान

हेनरी कोस्सवेल नाउँ गरेका अंग्रेज नै आजसम्मको सबैभन्दा उचाइमा उडान गर्ने चालकको रूपमा चिनिन्छन्‌। वैज्ञानिक निरीक्षणको लागि सेप्टेम्बर १८६२ मा बेलाइती मौसम विज्ञान समाजका जेम्स ग्लाइसिरले आफूलाई उच्च-उचाइमा लानको लागि तिनलाई निर्देशन दिए। तिनीहरू विना अक्सिजन नौ किलोमिटर माथि उचाइसम्म पुगे!

करिब २६,००० फिटको उचाइमा चिसो र कम अक्सिजन भएको हावामा सास फेर्न गाह्रो भएपछि कोक्सवेलले अवतरण गर्ने तयारी गरे। यद्यपि, बेलुन लगातार घुमिरहेको हुनाले हावा छोड्‌ने नलीको डोरी बटारिन थाल्यो, बटारिएको डोरीलाई फुकाउन कोक्सवेल डोरीमा चढ्‌नुपऱ्‍यो। ग्लाइसिर पहिले नै बेहोस भइसकेका थिए र चिसोले गर्दा कोक्सवेलको हात नचल्ने भइसकेकोले गर्दा उनले आफ्नो दाँतले डोरी तान्‍नु पर्ने भयो। बल्ल, तिनीहरू बिस्तारै तल झर्न थाले।

अन्तमा तिनीहरू दुवै बेलुनलाई तल झार्नसक्ने अवस्थामा पुगे। तिनीहरू ३०,००० फिटको उचाइसम्म पुगे र एक शताब्दीभन्दा धेरैसम्म यस कीर्तिमानलाई कसैले तोड्‌न सकेनन्‌। खुला बास्केट बेलुनमा गरिएका तिनीहरूको उडानलाई आजसम्मको उडानमा एकदमै उत्कृष्ट उपलब्धि मानिन्छ किनभने तिनीहरूले विना अक्सिजन, नगन्य सुरक्षात्मक लुगाफाटा अनि उच्च वायुमण्डलबारे कुनै ज्ञानैविना यी सबै गरेका थिए।

[पृष्ठ १७-मा भएको चित्र]

हावा भर्दा बेलुनको भित्री भाग यस्तो देखिन्छ

[पृष्ठ १७-मा भएको चित्र]

बेलुनलाई माथि उठाउन र उडाउनको लागि बेलुनभित्र तातो हावा पठाइन्छ

[पृष्ठ १८-मा भएको चित्र]

असाधारण आकारका बेलुनहरू