सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उच्च रक्‍तचाप—रोकथाम तथा नियन्त्रण

उच्च रक्‍तचाप—रोकथाम तथा नियन्त्रण

उच्च रक्‍तचाप—रोकथाम तथा नियन्त्रण

ब्राजिलका ब्यूँझनुहोस्‌! लेखकद्वारा

मेरीयान डराइन्‌! विनाकारण तिनको नाकबाट भलभलती रगत बग्न थालेको थियो। “मैले त आफू मर्नै लागेछु भन्ठानेकी थिएँ” भनी तिनी सम्झन्छिन्‌। चिकित्सकले त्यो रक्‍तस्राव उच्च रक्‍तचापले (धमनीको उच्च रक्‍तचाप) गर्दा भएको हो भनेर तिनलाई बताइन्‌। “तर अब मलाई एकदम ठीक छ” भनेर मेरीयानले जवाफ दिइन्‌। “कुनै लक्षण नदेखिने हुनाले थुप्रै मानिसहरूलाई आफूलाई उच्च रक्‍तचाप भएको कुरा थाहै हुँदैन” भनी तिनले भने।

तपाईंको रक्‍तचाप नि? के तपाईंको अहिलेको जीवन शैलीले भविष्यमा उच्च रक्‍तचाप निम्त्याउन सक्छ? तपाईं आफ्नो रक्‍तचापलाई कसरी नियन्त्रणमा राख्न सक्नुहुन्छ? a

रगत प्रवाह हुँदा रक्‍तनलीहरूको भित्तामा रगतले पार्ने असरलाई नै रक्‍तचाप भनिन्छ। यसलाई रबरको बन्धक प्रयोग गरेर नाप्न सकिन्छ, जसलाई पाखुरामा बेह्रेर रक्‍त चाप नाप्ने उपकरणमा जोडिएको हुन्छ। यसबाट दुई प्रकारको नाप निस्कन्छ। जस्तै: १२०/८०। अघिल्लो संख्यालाई सिस्टोलिक रक्‍तचाप भनिन्छ किनभने यसले मुटुको धड्‌कन (सिस्टोल) हुँदाको रगतको चापलाई देखाउँछ र दोस्रो संख्यालाई चाहिं डायास्टोलिक रक्‍तचाप भनिन्छ किनभने यो मुटु आराम (डायास्टोल) अवस्थामा हुँदाको रक्‍तचाप हो। रक्‍तचाप पारोको मिलिमिटरमा नापिन्छ र रक्‍तचाप १४०/९० नाघेको खण्डमा त्यस्तो बिरामीलाई चिकित्सकहरू उच्च रक्‍तचाप भएका बिरामीहरू भन्छन्‌।

केले रक्‍तचाप बढाउँछ? मानिलिनुहोस्‌, तपाईं बगैंचामा पानी हाल्दै हुनुहुन्छ। तपाईंले बेगसित निस्किरहेको पानीको धारा खोल्नुहुँदा वा पचका वा पाइपलाई विस्तारै बन्द गर्नुहुँदा पानीको चाप बढ्‌छ। रक्‍तचापमा पनि त्यस्तै हुन्छ। रगतको प्रवाह बढ्‌दा वा रक्‍तनलीहरूको प्वाल सानो हुँदा रगतको चाप बढ्‌छ। उच्च रक्‍तचाप हुनुको कारण के हो? यसमा थुप्रै कुराहरू समावेश छन्‌।

तपाईंको नियन्त्रणबाहिरका कुराहरू

कुनै व्यक्‍तिको उच्च रक्‍तचाप भएका नातेदारहरू छन्‌ भने तिनलाई पनि यो रोग लाग्ने सम्भावना धेरै हुन्छ भनेर अनुसन्धाताहरूले पत्ता लगाएका छन्‌। तथ्यांकहरूले पृथक जुम्ल्याहा बच्चाहरूमा भन्दा दुरुस्तै देखिने जुम्ल्याहा बच्चाहरूमा उच्च रक्‍तचाप हुन सक्ने खतराको संकेत देखाएको छ। एउटा अध्ययनले देखाएअनुसार “धमनीय उच्च रक्‍तचाप जीनहरूको संरचनाले गर्दा हुन्छ” र यसले नै उच्च रक्‍तचाप गराउने वंशानुगत तत्त्व छ कि छैन भनेर निर्क्यौल गर्छ। असामान्य ढंगमा रक्‍तचाप बढ्‌दै जाने खतरा उमेर ढल्कँदै जाँदा बढ्‌दै जान्छ र यो प्रायजसो श्‍याम वर्णका पुरुषहरूमा हुन्छ भन्‍ने कुरा थाह लागेको छ।

तपाईंले नियन्त्रण गर्न सक्ने तत्त्वहरू

भोजनमा ध्यान दिनुहोस्‌! नुनले (सोडियम) विशेष गरी मधुमेहका रोगी, गम्भीर उच्च रक्‍तचाप भएका मानिसहरू, वृद्ध तथा केही श्‍याम वर्णका मानिसहरूमा रक्‍तचाप बढाउन सक्छ। रक्‍तसञ्चार प्रणालीमा बोसोको मात्रा धेरै भएको खण्डमा रक्‍तनलीहरूका भित्री सतहहरूमा कोलेस्ट्रोल अर्थात्‌ चिल्लो पदार्थहरू थुप्रिन सक्छ र यसले रक्‍तनलीका प्वालहरू (आथेरोस्क्लेरोसिस) बिस्तारै बन्द गरेर रक्‍तचाप बढाउँछ। आफ्नो शरीरको हुनुपर्ने तौलभन्दा ३० प्रतिशत बढी वजन हुने मानिसहरूलाई उच्च रक्‍तचाप हुने सम्भावना बढी हुन्छ। अध्ययनहरूले देखाएअनुसार भोजनमा पोटासियम र क्याल्सियमको मात्रा बढाउँदा रक्‍तचाप कम हुन सक्छ।

धूम्रपान गर्दा आथेरोस्क्लेरोसिस, मधुमेह, हृदयघात तथा मस्तिष्कघातजस्ता खतराहरू हुन सक्छन्‌। फलतः धूम्रपान र उच्च रक्‍तचाप दुवै मिलेर मुटु तथा रक्‍तनलीसम्बन्धी खतरनाक रोगहरू निम्त्याउन सक्छ। प्रमाण अलि विरोधाभासपूर्ण भए तापनि कफी, चिया र कोला पेय पदार्थहरूमा पाइने क्याफिन र मानसिक तथा शारीरिक तनाउले पनि उच्च रक्‍तचापलाई बढाउँछ। साथै, मादक पेय पदार्थहरू अचाक्ली वा सधैं सेवन गर्ने बानी अनि शारीरिक व्यायाम छैन भने पनि रक्‍तचाप बढ्‌न सक्छ भनेर वैज्ञानिकहरूले पत्ता लगाएका छन्‌।

स्वास्थ्यकर जीवन शैली

उच्च रक्‍तचाप भएपछि मात्र उपचार गर्नु ठूलो भूल हुनेछ। सानो उमेरदेखि नै स्वास्थ्यकर जीवन शैलीबारे चासो लिनुपर्छ। अहिले नै राम्ररी हेरविचार गरेको खण्डमा भविष्यमा स्वस्थ जीवन बिताउन सकिन्छ।

धमनीय उच्च रक्‍तचापसम्बन्धी चिकित्सकहरूको थर्ड ब्राजिलियन कन्सेन्ससले धमनीको उच्च रक्‍तचापलाई कम गर्ने जीवन शैलीहरूबारे व्याख्या गऱ्‍यो। उच्च वा सामान्य रक्‍तचाप भएका मानिसहरूको लागि त्यो उपयोगी निर्देशन हो।

मोटो मानिसहरूका लागि अनुसन्धाताहरूले चिल्लो कम भएका सन्तुलित भोजन खाने, छोटो समयमै तौल कम पार्ने कथित “चमत्कारी” भोजन सेवन नगर्ने बरु उचित शारीरिक व्यायाम गर्ने कार्यक्रम कायम राख्न सुझाउ दिए। नुनको सम्बन्धमा चाहिं तिनीहरूले दिनको छ ग्रामभन्दा कम वा एक चियाचम्चा मात्र नुन प्रयोग गर्ने सल्लाह दिए। b यसको अर्थ, खाना पकाउँदा नुनको मात्रा कम गर्ने र टिनमा प्याक गरिएका खानाहरू, पाकिसकेका चिसो खानाहरू (सलामी, हाम, ससेज र अन्य) अनि सेकेका खानाहरू खान कम गर्नु हो। खाना खाने बेला नुन थप्ने नगरेर अनि प्याकेटका खानाहरूमा नुनको मात्रा कति छ भनेर खोलमा हेरेर पनि नुन कम गर्न सकिन्छ।

उक्‍त ब्राजिलियन कन्सेन्ससले खानामा पोटासियमको मात्रालाई बढाउने सुझाउ पनि दिएको छ किनभने यसले “रक्‍तचाप कम” गर्न सक्छ। त्यसैकारण स्वास्थ्यकर भोजनमा सिमी, गाढा हरियो सागसब्जी, केरा, खर्बुजा, गाजर, चुकन्दर, गोलभेडा र सुन्तलाजस्ता “सोडियमको मात्रा कम र पोटासियमको मात्रा बढी पाइने खाना” समावेश हुनुपर्छ। मादक पेय पदार्थहरू पनि ठिक्क मात्रामा मात्रै सेवन गर्नु महत्त्वपूर्ण छ। केही अनुसन्धाताहरूले औंल्याएअनुसार उच्च रक्‍तचाप भएका पुरुषहरूले हरेक दिन ३० मिलिलिटरभन्दा बढी र आइमाईहरू वा कम तौल भएका व्यक्‍तिहरूले १५ मिलिलिटरभन्दा बढी मद्य पिउनु हुँदैन। c

नियमित तवरमा शारीरिक व्यायाम गर्नाले रक्‍तचाप कम हुन्छ र त्यसले धमनीको रक्‍तचाप हुने खतरादेखि जोगाउँछ भनेर ब्राजिलियन कन्सेन्ससले निष्कर्ष निकालेको छ। लगभग ३० देखि ४५ मिनेट हिंड्‌ने, साइकल चलाउने र पौडी खेल्नेजस्ता सामान्य एरोबिक व्यायाम हप्ताको तीनदेखि पाँचपल्ट गर्नु लाभप्रद हुन्छ। d अझ स्वास्थ्यकर जीवन शैलीसित सम्बन्धित अन्य तत्त्वहरूमा धूम्रपान त्याग्नु, रगतमा चिल्लोपना बढ्‌न नदिनु (कोलेस्ट्रोल र ट्राइग्लिसराइड्‌स) र मधुमेह नियन्त्रणमा राख्नु, क्याल्सियम र म्याग्नेसियम प्रशस्त मात्रामा लिनु र शारीरिक तथा मानसिक तनाउ नियन्त्रण गर्नु पनि समावेश छ। नाक बन्द हुँदा लगाइने झोल औषधी, सोडियम बढी मात्रामा पाइने एन्टासिड, भोक कम गर्ने औषधी अनि टाउको दुख्दा दिइने क्याफिनयुक्‍त पेनकिलर औषधीले पनि रक्‍तचापलाई बढाउन सक्छ।

तपाईं पनि धमनीको उच्च रक्‍तचापबाट पीडित हुनुहुन्छ भने, तपाईंको भोजन तथा आनीबानीबारे व्यक्‍तिगत आवश्‍यकताअनुसार तपाईंको डाक्टरसितै सल्लाह लिनुभए बेस हुनेछ। तथापि, परिस्थिति जस्तोसुकै भए तापनि सुरुदेखि नै स्वास्थ्यकर जीवन शैली अपनाउनु उच्च रक्‍तचाप भएका मानिसहरूका लागि मात्र होइन तर परिवारका सबै सदस्यहरूका लागि लाभप्रद हुनेछ। यस लेखको सुरुमै उल्लिखित मेरीयानले आफ्नो जीवन शैलीमा छाँटकाँट गर्नुपऱ्‍यो। अहिले तिनी स्वास्थ्य समस्याको बावजूद सामान्य जीवन बिताउँछिन्‌ र औषधी सेवन गर्छिन्‌। तपाईं नि? सबै मानिसहरूले स्वास्थ्यकर जीवन पाएर ‘कुनै पनि बासिन्दाले म बिरामी परें ’ भन्‍नुनपर्ने समय नआउन्जेल आफ्नो रक्‍तचापलाई नियन्त्रणमा राख्नुहोस्‌।—यशै. ३३:२४. (g02 4/8)

[फुटनोटहरू]

a उपचारको छनौट गर्नु व्यक्‍तिगत निर्णयको कुरा भएकोले ब्यूँझनुहोस्‌!-ले कुनै पनि उपचारको सिफारिस गर्दैन।

b तपाईं धमनीय रक्‍तचाप वा मुटु, कलेजो वा मृगौलाका रोगी हुनुहुन्छ र औषधोपचार गर्दै हुनुहुन्छ भने दिनहुँ कति मात्रामा सोडियम र पोटासियम लिनुपर्छ भनेर आफ्नो चिकित्सकसित सल्लाह माग्नुहोस्‌।

c तीस मिलिलिटर मद्य बराबर आसवन क्रियाद्वारा तयार पारिएका ६० मिलिलिटर पेय पदार्थ (ह्वीस्की, भोड्‌का तथा अन्य), २४० मिलिलिटर दाखमद्य वा ७२० मिलिलिटर बियर हुन्छ।

d व्यक्‍तिगत व्यायाम कार्यक्रमको आवश्‍यकताबारे डाक्टरसित छलफल गर्नुहोस्‌।

[पृष्ठ २४-मा भएको पेटी]

उच्च रक्‍तचापसित लड्‌ने

१. उच्च रक्‍तचाप नियन्त्रण गर्न मदत गर्ने केही तरिकाहरू

• वजन घटाउनुहोस्‌

• खानामा नुनको मात्रा घटाउनुहोस्‌

• पोटासियम प्रशस्त मात्रामा पाइने भोजन धेरै खानुहोस्‌

• मद्यपान कम गर्नुहोस्‌

• नियमित तवरमा व्यायाम गर्नुहोस्‌

२. उच्च रक्‍तचाप नियन्त्रण गर्न मदत गर्ने अन्य केही तरिकाहरू

• क्याल्सियम तथा म्याग्नेसियम भएको भोजन

• रेशायुक्‍त साकाहारी भोजन

• तनाउ कम गर्ने उपचारविधि

३. यसैसित सम्बन्धित कदमहरू

• धुम्रपान गर्न छोड्‌नुहोस्‌

• कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्नुहोस्‌

• मधुमेहलाई नियन्त्रणमा राख्नुहोस्‌

• रक्‍तचाप बढाउन सक्ने औषधीहरू प्रयोग गर्न छोड्‌नुहोस्‌

[स्रोत]

धमनीको उच्च रक्‍तचापसम्बन्धी थर्ड ब्राजिलियन कन्सेन्ससबाट लिइएको—रेभीस्टा ब्रासिलेरा डे क्लिनिका एण्ड टेराप्युटीका

[पृष्ठ २५-मा भएको चित्र]

नियमित तवरमा व्यायाम गर्दा अनि स्वास्थ्यकर भोजन खाँदा उच्च रक्‍तचाप रोकथाम तथा नियन्त्रण गर्न मदत मिल्छ