सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के मसीहीहरूले ईश्‍वरीय सुरक्षाको आशा गर्नु उचित हो?

के मसीहीहरूले ईश्‍वरीय सुरक्षाको आशा गर्नु उचित हो?

बाइबलको दृष्टिकोण

के मसीहीहरूले ईश्‍वरीय सुरक्षाको आशा गर्नु उचित हो?

बाइबलमा अक्सर आफ्ना सेवकहरूलाई हानिबाट जोगाउन सक्ने परमेश्‍वरको क्षमताबारे बताइएको छ। राजा दाऊदले भने: “हे परमप्रभु, खराब मानिसबाट मलाई बचाउनुहोस्‌।” (भजन १४०:१) आज हिंसा, अपराध वा प्राकृतिक प्रकोपको चपेटामा परेका परमेश्‍वरका थुप्रै उपासकहरू मृत्यु वा चोटपटकबाट अलिकतालेमात्र बाँचेका छन्‌। तिनीहरूलाई परमेश्‍वरले चमत्कारपूर्वक बचाउनुभएको हो कि होइन भनेर कोही-कोही अचम्ममा परेका छन्‌ किनभने त्यस्ता अरू केही अवसरहरू पनि छन्‌ जसबाट परमेश्‍वरसँग डराउने मानिसहरू जोगिएका छैनन्‌ र ठूलठूला वियोगहरू तथा हिंसात्मक मृत्युसमेत भोग्नुपरेको छ।

के यहोवाले कोही-कोहीलाई चाहिं हानिबाट जोगाउने र कोहीलाई चाहिं नजोगाउने गर्नुहुन्छ? के आज हामीले हिंसा वा प्रकोपहरूबाट चमत्कारपूर्वक छुटकारा पाउने आशा गर्नु उचित हो?

बाइबल विवरणमा चमत्कारपूर्वक सुरक्षा

परमेश्‍वरले चमत्कारपूर्वक आफ्ना उपासकहरूको पक्ष लिनु भएका थुप्रै विवरणहरू बाइबलमा छन्‌। (यशैया ३८:१-८; प्रेरित १२:१-११; प्रेरित १६:२५, २६) यहोवाका सेवकहरू आपत्‌बाट नजोगाइएका अरू घटनाहरूबारे पनि धर्मशास्त्रले बताउँछ। (१ राजा २१:१-१६; प्रेरित १२:१, २; हिब्रू ११:३५-३८) निस्सन्देह, आफूले चाहेको खास कारण वा उद्देश्‍यको लागि सुरक्षा प्रदान गर्ने वा नगर्ने भनी यहोवाले निर्णय गर्न सक्नुहुन्छ। त्यसैकारण, कुनै पनि मसीहीहरूलाई परीक्षाहरूबाट उद्धार नगरिंदा, तिनीहरूले आफूलाई परमेश्‍वरले त्याग्नुभयो भन्‍ने ठान्‍नुहुँदैन। यहोवाका विश्‍वासी सेवकहरूमाथि समेत विपत्तिजनक घटनाहरू आइपर्न सक्छन्‌ भन्‍ने यथार्थतालाई हामीले स्वीकार्नुपर्छ। किन यस्तो भएको?

परमेश्‍वरका विश्‍वासी सेवकहरूमाथि किन विपत्तिजनक घटनाहरू आइपर्छन्‌

एउटा कारण हो, हामी सबैले आदम र हव्वाबाट वंशानुगत पाप तथा असिद्धता पाएका छौं। त्यसैकारण हामीले पीडा, वेदना र मृत्यु भोग्छौं। (रोमी ५:१२; ६:२३) अर्को कारण हो हामी आखिरी दिनमा बाँचिरहेका छौं। बाइबलले हाम्रो समयका मानिसहरू “स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने” हुनेछन्‌ भनेर वर्णन गर्छ। (२ तिमोथी ३:१-५) बलात्कार, अपहरण, हत्या र अरू बर्बर हिंसाको व्यापकता यसको प्रमाण हो।

परमेश्‍वरका थुप्रै विश्‍वासी सेवकहरू हिंसात्मक मानिसहरू भएको ठाउँमा बस्ने तथा काम गर्ने गर्छन्‌ र कहिलेकाहीं तिनीहरूको निशाना बन्‍न सक्छन्‌। गलत ठाउँमा गलत समयमा पुगेकोले पनि हामी जीवनलाई नै खतरामा पार्ने परिस्थितिमा पर्न सक्छौं। अर्को कुरा, हामी सुलेमानले भनेका “समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ” भन्‍ने कुराको सत्यता अनुभव गर्छौं।—उपदेशक ९:११.

साथै परमेश्‍वरलाई उपासना गरेको कारण मसीहीहरू सतावटको तारो हुन्छन्‌ भनी प्रेरित पावलले बताए। तिनले यसो भने: “ख्रीष्ट येशूमा भक्‍तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्‌।” (२ तिमोथी ३:१२) हालैका वर्षहरूमा थुप्रै देशहरूमा यो कुरा सत्य साबित भएको छ।

त्यसकारण परमेश्‍वरको भय राख्ने मानिसहरू हुँदैमा तिनीहरू हिंसा, अपराध, प्राकृतिक प्रकोप वा दुर्घटनाको कारण हुने मृत्युबाट मुक्‍त हुँदैनन्‌। यहोवाले आफ्ना जनहरूलाई चारैतिरबाट बार हालेर रक्षा गर्नुहुन्छ; त्यसैकारण तिनीहरूको जीवनमा कुनै हानि आइपर्दैन भनेर शैतानले विवाद उठाउन खोजेको छ। (अय्यूब १:९, १०) तर यो कुरा साँचो होइन। तथापि, यहोवाले कुनै परिस्थितिबाट चमत्कारपूर्वक उद्धार नगर्नु भए तापनि उहाँले आफ्ना जनहरूलाई सुरक्षा दिनुहुन्छ भन्‍ने कुरामा हामी पक्का हुन सक्छौं।

आज यहोवाले आफ्ना जनहरूलाई कसरी सुरक्षा दिनुहुन्छ?

यहोवाले आफ्ना जनहरूलाई सुरक्षा दिन आफ्नो वचनद्वारा ईश्‍वरीय डोऱ्‍याइ प्रदान गर्नुहुन्छ। आध्यात्मिकता र बाइबल ज्ञानले हामीलाई असल निर्णय गर्ने क्षमता र आत्मसंयम दिन्छ, जसले हामीलाई नचाहिंदो गल्ती गर्नबाट बच्न र बुद्धिमानी निर्णयहरू गर्नको लागि मदत गर्न सक्छ। (भजन ३८:४; हितोपदेश ३:२१; २२:३) उदाहरणका लागि, यौन नैतिकता, लोभ, रिस र हिंसासम्बन्धी बाइबलको सल्लाह सुन्दा मसीहीहरू थुप्रै विपत्तिहरूबाट जोगिएका छन्‌। साथै खराब व्यक्‍तिहरूसँग घनिष्ठ सम्बन्ध नराखेको कारण हामी विपत्ति आइपर्ने ठाउँमा अर्थात्‌ गलत ठाउँमा गलत समयमा हुने सम्भावना कम हुन्छ। (भजन २६:४, ५; हितोपदेश ४:१४) बाइबल सिद्धान्तअनुसार जीवन बिताउनेहरूले राम्रो मानसिक तथा शारीरिक स्वास्थ्यका साथै उत्तम जीवन बिताउँछन्‌।

परमेश्‍वरले विपत्तिजनक घटनाहरू हुन दिनुभए तापनि यसलाई सहनको लागि उहाँले आफ्ना सेवकहरूलाई आवश्‍यक बल दिनुहुन्छ भनी थाह पाउनु सबैभन्दा सान्त्वनादायी कुरा हो। प्रेरित पावल हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌: “परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।” (१ कोरिन्थी १०:१३) बाइबलले विपत्तिहरू सहनको लागि हामीलाई मदत गर्ने “असामान्य शक्‍ति[को]” पनि प्रतिज्ञा गर्छ।—२ कोरिन्थी ४:७, NW.

परमेश्‍वर आफ्नै इच्छाअनुसार गर्नुहुन्छ

आउँदै गरेका हरेक विपत्तिहरूबाट परमेश्‍वरले जोगाऊन्‌ भनेर के मसीहीहरूले आशा गर्नुहुन्छ? यस्तो आशालाई बाइबल विवरणले समर्थन गर्दैन।

पक्कै पनि, यहोवाले आफ्नो जनहरूको खातिर सीधै हस्तक्षेप गर्ने निर्णय गर्न सक्नुहुन्छ। यदि कसैले ईश्‍वरीय हस्तक्षेपद्वारा नै आफू बचेको विश्‍वास गर्छ भने, उसको आलोचना गर्नु हुँदैन। तर यहोवाले हस्तक्षेप गर्नु भएन भने पनि यसलाई उहाँ रिसाउनु भएको लक्षणको रूपमा लिनु हुँदैन।

जस्तोसुकै परीक्षा वा परिस्थिति सामना गर्नुपरे तापनि यस्तो परिस्थितिलाई हटाएर वा यसलाई सहन सक्ने शक्‍ति दिएर तथा यदि हामी मर्नै परेछ भने तापनि नयाँ संसारमा अनन्त जीवनको लागि हामीलाई पुनरुत्थान गरेर यहोवाले आफ्ना विश्‍वासी सेवकहरूलाई ईश्‍वरीय सुरक्षा प्रदान गर्नुहुन्छ भनी हामी निर्धक्क होऔं।—भजन ३७:१०, ११, २९; यूहन्‍ना ५:२८, २९. (g02 4/8)