सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मातृत्वको चुनौती सामना गर्ने

मातृत्वको चुनौती सामना गर्ने

मातृत्वको चुनौती सामना गर्ने

यदि बच्चाहरू भविष्यका कर्णधार हुन्‌ भने तिनीहरूलाई हुर्काउने तिनीहरूका आमाहरू आदर, सम्मान अनि मदतका हकदार छन्‌। आधुनिक संसारले मातृत्वबारे मिश्रित सन्देश दिए तापनि बाइबलले बच्चाहरू परमेश्‍वरका आशिष्‌ हुन्‌ र तिनीहरू आमाबाबुका लागि आनन्दको स्रोत हुन सक्छन्‌ भनी स्पष्टसित बताउँछ। (भजन १२७:३-५) यद्यपि, मातृत्वको यथार्थलाई धर्मशास्त्रले बेवास्ता गरेको छैन। आमा हुनुका धेरै चुनौतीहरूलाई बाइबलले लिपिबद्ध गरेका छन्‌।

छोराछोरीको लालनपालन अनि मातृत्वबारे आमाबाबुले गर्ने निर्णयले छोराछोरीको चरित्र र जीवनमा गहिरो तथा दीर्घकालीन असर पार्छ। यस्ता निर्णयहरूले आमाबाबुको जीवन शैलीमै ठूलो परिवर्तन ल्याउन सक्ने भएकोले ती निर्णयहरू होसियारीसाथ गर्नु नितान्त आवश्‍यक छ। यसमा यी प्रश्‍नहरू विथोलित छन्‌, के आमाले बाहिर जागिर खानुपर्छ? यदि पर्छ भने, कति बेर? आमा जागिरमा जाँदा बच्चाहरूको रेखदेख कसले गर्ने? अन्तमा, आमाबाबुलाई आफ्ना छोराछोरीको लागि जुन कुरा सर्वोत्तम लाग्छ अनि परमेश्‍वरको दृष्टिमा जुन कुरा सही छ, आमाहरूले त्यही मार्ग अपनाउनुपर्छ।

यद्यपि, बुद्धिमान्‌ निर्णय गर्ने संघर्षमा आमाले आफूलाई एक्लो महसुस गर्नु पर्दैन। तिनीहरूले यशैया ४०:११ का शब्दहरूबाट ठूलो सान्त्वना प्राप्त गर्न सक्छन्‌ र त्यहाँ बताइएअनुसार स-साना बच्चाहरू हुने आमाहरूको परमेश्‍वरले विशेष चासो लिनुहुन्छ र तिनीहरूलाई “बिस्तार बिस्तार डोऱ्‍याएर उहाँले लैजानुहुनेछ।” बाइबलमा असंख्य निर्देशनहरू उपलब्ध गराउनुभएर परमेश्‍वरले विशेष चासो प्रकट गर्नुहुन्छ र ती निर्देशनहरूले मातृत्वलाई आनन्ददायक र सफल बनाउन सक्छ।

व्यावहारिक हुनुहोस्‌: मसीहीहरू व्यावहारिक मानिसहरू हुन्‌ भनेर अरूले महसुस गर्नुपर्छ। (फिलिप्पी ४:५) ज्यानेट पेनली नाउँ गरेकी एक लेखिका तथा आमाले यस सिद्धान्तको महत्त्वलाई राम्ररी बुझिन्‌। तिनी यसो भन्छिन्‌, “आमा बन्‍नुअघि मैले ठूलो आशा राखेकी थिएँ। अहिलेसम्म कसैले ननिभाएको एउटा उत्कृष्ट आमाको भूमिका निभाउने आशा राखेकी थिएँ। मैले मातृत्वसम्बन्धी सबै पुस्तकहरू पढें अनि सबै विशेषज्ञहरूको राय लिएँ। तर आफू सफल र दक्ष भएको अनुभूति हुनुको सट्टा अन्तमा मैले आफूलाई अक्षम अनि तनाउग्रस्त महसुस गरें।” तिनी यसरी आफ्नो अनुभव सुनाउँछिन्‌, “अरूका आकांक्षाहरू पूरा गर्ने र आफूलाई कुनै आदर्श व्यक्‍तिसित तुलना गर्दै काम गर्ने कोसिस गर्दा यसले उत्साह र जाँगरलाई कमजोर बनाउँछ अनि चिन्ताग्रस्त र दोषी महसुस गराउँछ।”

सरल बनाउनुहोस्‌: न्युज विक पत्रिकाले यस्तो लेख्यो, “आजको अत्यधिक भागदौडको जीवनमा परिवारका सदस्यहरूले गुमाइरहेको मुख्य कुरा भनेकै बाल्यकाल अनि पारिवारिक जीवनको आनन्द हो।” त्यसैले गर्दा अधिकांश आमाहरू सरल जीवन बिताउन चाहन्छन्‌। आफ्नो यो चाहना तपाईं कसरी पूरा गर्न सक्नुहुन्छ? सर्वप्रथम, प्राथमिकता निर्धारण गर्नुहोस्‌ र आफ्नो प्राथमिकताको सूचीमा बच्चाहरूको लागि आवश्‍यक समय र व्यक्‍तिगत रेखदेखजस्ता “जे उत्तम छ” त्यसमा ध्यान दिनुपर्ने कुरालाई पनि समावेश गर्नहोस्‌। (फिलिप्पी १:१०, ११) दोस्रो, आफ्नो जीवन शैली विश्‍लेषण गर्नुहोस्‌। तपाईंले अनावश्‍यक गतिविधि तथा वस्तुहरूलाई पन्छाउनुपर्ने हुन सक्छ।

तपाईंको जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? सबै लक्ष्य एकै चोटि प्राप्त गर्नु हो वा अरू लक्ष्य प्राप्त गर्न कुनै-कुनै लक्ष्यहरूलाई पछि सार्न सकिन्छ कि? सीमित भौतिक स्रोत भएकी आमा, क्यारोलिनले आफ्नो परिस्थितिको सामना कसरी गर्छिन्‌, त्यसबारे तिनी यसो भन्छिन्‌: “म हरेक कुरालाई सरल बनाउँछु अनि मितव्ययी हुन्छु।” तीन छोराछोरीकी आमा ग्लोरिया आफ्नो विगत यसरी सम्झिन्छिन्‌: “हामीसित फेशनदार लुगाहरू किन्‍ने पैसा हुँदैन्थ्यो तर बच्चाहरूको लागि लुगा म आफै सिलाइ दिन्थें र म तिनीहरूलाई यसो भन्थें, यी लुगाहरू विशेष छन्‌ किनभने अरू कसैको पनि यस्ता लुगाहरू छैनन्‌।”

परमेश्‍वरको वचन यसो भन्छ, “समझ-शक्‍ति प्राप्त गर्नु सफलता पाउनु हो।” (हितोपदेश १९:८) आमा र बच्चा दुवैलाई चुर्लुम्म डुबाउने मनोरञ्जन, माल-सामान, प्रचलनहरूलाई उचित महत्त्व दिन समझशक्‍ति चाहिन्छ। जुडिथ नाउँ गरेकी दक्षिण अफ्रिकी एउटी आमाले यसो भनिन्‌: “हामीकहाँ नयाँ-नयाँ उत्पादन, उत्तम प्रविधि अनि धेरै सेवाहरूको बाढी नै आएको छ!” चार छोराछोरीकी आमा एन्जेला कसरी यस्ता चुनौतीहरूको सामना गर्छिन्‌, ध्यान दिनुहोस्‌: “कुन कुरा आफूलाई आवश्‍यक र उपयोगी छ, सो तपाईंले ठम्याउनुपर्छ र आफ्ना छोराछोरीलाई पनि त्यसै गर्न मदत दिनुपर्छ।”

गर्न सकिने कुराहरूमा छाँटकाँट गर्नुहोस्‌: बाइबल यसो भन्छ, “आफ्नो योग्यता र विवेकको रक्षा गरिराख्‌” (हितोपदेश ३:२१) यदि हाल तपाईंले बाहिर जागिर खाइरहनुभएको छ भने, के तपाईंको श्रीमान्‌को तलबले घर धान्‍न पुग्छ? यस प्रश्‍नको जवाफ दिन मदतको लागि कर, बच्चाहरूको रेखदेख, ढुवानी, लुगाफाटा, रेष्टुराँमा खाने अनि अन्य फुटकर खर्च कटाएपछि तपाईंको हातमा कति पैसा बाँकी रहन्छ, पत्ता लगाउनुहोस्‌। साथै, एक मुष्ठ आय कर तिर्नुपर्ने दायरामा परेको खण्डमा तपाईंले कुल आर्जनको निकै धेरै कर तिर्नुपर्ने हुन सक्छ। कर तिरेर आफ्नो हातमा थोरै रकम मात्र बाँकी रहने रहेछ भनेर पत्ता लगाउँदा तपाईं छक्कै पर्नुहोला।

कोही-कोहीले थोरै समय मात्र काम गर्छन्‌ वा घरमा धेरै समय बिताउँछन्‌। हुन त यसो गर्दा थोरै पैसा हात लागे तापनि बच्चाहरूसित धेरै समय बिताउन सकिन्छ। यदि तपाईं जागिर नखाने निर्णयमा पुग्नुहुन्छ अनि आफ्नो आत्मसम्मान तथा आत्मसन्तुष्टिको लागि तपाईंलाई आफ्नो जागिर महत्त्वपूर्ण लाग्छ भने, घरमै बसेर पनि आफ्ना यी महत्त्वपूर्ण आवश्‍यकताहरूलाई कसरी पूरा गर्न सकिन्छ राम्ररी सोच्नुहोस्‌।

मदत माग्नुहोस्‌: “सुस्केरा हालेर पुकारा” गर्दा फल पाइन्छ भनेर परमेश्‍वरको वचनले पटक-पटक बताएको छ। (प्रस्थान २:२३, २४; भजन ३४:१५) आमाले मदतको लागि पुकारा गर्दा श्रीमान्‌ मदत गर्न उत्प्रेरित हुनुपर्ने हो। तिनको सहयोगद्वारा तपाईं घरको कामकाज बाँड्‌न सक्नुहुन्छ अनि यसो गर्दा बच्चाहरूसित समय बिताउने जस्ता तपाईंहरू दुवैले राख्नुभएको लक्ष्य पूरा गर्ने समय पाउनुहुनेछ। सम्भव छ भने, आफ्नो जस्तै चासो तथा लक्ष्य राख्ने आफ्ना परिवार तथा भरपर्दा मित्रहरूबाट आमाले मदत तथा प्रोत्साहन लिने गर्नुपर्छ।

धेरै आमाहरूले स्थानीय मसीही मण्डलीका सँगी विश्‍वासीहरूबाट पनि अमूल्य मदत पाउन सक्छिन्‌। तीन बच्चाहरूकी आमा मारियाले महसुस गरेअनुसार “मण्डलीसित नजिक हुनु” भनेको “परमेश्‍वरले हामीप्रति देखाउनुभएको प्रेम, दया अनि मायालु चासो हामी स्वीकार्छौं” भनी देखाउने एउटा तरिका हो।

आराम गर्न समय निकाल्नुहोस्‌: येशू, सिद्ध अनि प्रशस्त शक्‍ति भएको व्यक्‍ति हुनु भए तापनि उहाँले आफ्ना चेलाहरूलाई “सुटुक्क एकान्त ठाउँमा आओ, र केही थकाइ मार” भनी आग्रह गर्नुभयो। (मर्कूस ६:३०-३२) आमाको भूमिका निर्वाह गर्न सफल हुनको लागि व्यस्त समयमा पनि सन्तुलित हुन सक्नु हो। हो, छोराछोरीलाई तपाईंको आवश्‍यकता छ तर तपाईं आनन्दित र खुसी भएको तपाईंका छोराछोरी चाहन्छन्‌। तपाईंलाई उचित आरामको आवश्‍यकता छ।

माथि उल्लिखित एन्जेलाको आराम गर्ने आफ्नै तरिका छ: “म आराम गर्न बिहानीपख कुनै शान्त समय छुट्याउँछु। म कम्तीमा पनि आधा घण्टा समय आफ्नो लागि राख्छु। अनि हप्ताको एक वा दुई साँझपख हामी हाम्रा छोराछोरीलाई घरभित्र कतै खेल्न वा शान्तपूर्वक केही गर्न लगाउँछौं र त्यतिबेला म अनि मेरो श्रीमान्‌लाई फुर्सत हुन्छ। यसरी हामी आफ्नोलागि समय निकाल्न सक्छौं।”

आध्यात्मिक कुरालाई प्राथमिकता दिनुहोस्‌: मूल उद्देश्‍यलाई वास्ता नगर्दा र प्राथमिकता निर्धारण गर्न नसक्दा आमा हुनुको चुनौती झनै कठिन हुन्छ। परमेश्‍वरको इच्छालाई प्रथम स्थान दिन सबै मिलेर प्रयास गर्दा मसीही परिवारले आनन्द अनुभव गर्छ। प्रेरित पावलले यस्तो लेखे: “भक्‍तिचाहिं अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा भएका सबै कुराको निम्ति उपयोगी हुन्छ।” (१ तिमोथी ४:८) ईश्‍वरीय भक्‍तिसहितको जीवन बिताउने अनि परमेश्‍वरको निर्देशन पछ्याउने परिवारले बाइबलमा भनिएझैं आनन्द प्राप्त गर्नेछ। परिवारको एक जना सदस्यले मात्र बाइबल सिद्धान्त लागू गर्दा पनि परिस्थितिमा सुधार आउन सक्छ।

पूर्ण-समय काम गर्ने अडिल नाउँ गरेकी आमाले आध्यात्मिक कुरालाई प्राथमिकता दिंदा प्राप्त हुने लाभ महसुस गरेकी छिन्‌। तिनी यसो भन्छिन्‌, “बाइबल आधारित प्रकाशनहरूमा हामीसित प्रशस्त निर्देशन तथा सल्लाहहरू उपलब्ध छन्‌, जसले हामीलाई हाम्रा बच्चाहरूले सामना गर्नु परेका समस्याहरू बुझ्न र तिनीहरूलाई मदत गर्न सक्षम बनाउँछ। छोराछोरीलाई आध्यात्मिक भोजन प्रबन्ध गर्दा प्राप्त भएका परिणामहरू देख्दा तपाईंलाई आफ्नो प्रयास व्यर्थ गएनछ भन्‍ने महसुस हुन्छ। तिनीहरूको व्यवहार र बोलीचालीमा उन्‍नति देखिसकेपछि आफूले सिकाएका कुराहरू तिनीहरूले बुझिरहेका छन्‌ भन्‍ने लाग्नेछ अनि तपाईंको प्रयास बेकार गएको हुनेछैन।” a

मातृत्व अनेकौं अवरोधहरू पार गर्नुपर्ने दौड भए तापनि तपाईं यो दौड सफलतासाथ पूरा गर्न सक्नुहुन्छ। यहोवामाथि भरोसा राख्ने आमाहरूको परिश्रम र आत्मत्याग व्यर्थ जानेछैन भनी उहाँ स्वयम्‌ सान्त्वनादायी आश्‍वासन दिनुहुन्छ। उहाँसित व्यक्‍तिगत सम्बन्ध राख्ने आमाहरूले “उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ” भन्‍ने प्रतिज्ञाबाट सान्त्वना पाउन सक्छन्‌।—यशैया ४०:२९. (g02 4/8)

[फुटनोट]

a बच्चाहरूलाई प्रशिक्षण दिन यहोवाका साक्षीहरूले असंख्य प्रकाशनहरू प्रकाशित गरेका छन्‌। यसमा यी पुस्तकहरू समावेश छन्‌, बाइबलका कथाहरू भएको मेरो पुस्तक, युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफपारिवारिक आनन्दको रहस्य।

[पृष्ठ १०-मा भएको पेटी]

आमाको प्रभाव

आमाको नाताले आफ्ना छोराछोरीको जीवनमा आफूले कत्तिको प्रभाव पारिरहेकी छु भन्‍ने प्रश्‍न तपाईंको मनमा उठ्‌न सक्छ। कहिलेकाहीं तपाईंका छोराछोरीमा तपाईंको भन्दा साथीभाइ, शिक्षक, मनोरञ्जन, भिडियो गेम तथा संगीतको प्रभाव बढी देखिन सक्छ।

मोशाकी आमा योकेबेदको उदाहरणलाई विचार गर्नुहोस्‌। तिनी कठिन समयमा बाँचिरहेकी थिइन्‌ र आफ्नो छोरालाई के हुनेछ भन्‍न सक्ने अवस्थामा थिइनन्‌। तर तिनले आफूसित भएको मौकाको सदुपयोग गर्दै आफ्नो छोराको जीवनमा चासो लिइन्‌। सर्वप्रथम, मोशालाई मार्न इन्कार गरेर तिनले साहसी विश्‍वास प्रदर्शित गरिन्‌। बच्चाको जीवनलाई रक्षा गरेर मात्र होइन तर योकेबेदलाई त्यस बच्चाको सुसारे अर्थात्‌ आमा हुने परिस्थिति मिलाइदिनुभएर परमेश्‍वरले तिनको विश्‍वासको इनाम दिनुभयो।—प्रस्थान १:१५, १६; २:१-१०.

योकेबेद आफ्नो छोराको व्यक्‍तित्वमा प्रभाव पार्न सफल भइन्‌ भन्‍ने कुरा प्रस्टै देखिन्छ। वास्तवमा, वयस्क मोशा मिश्री शाही घरानासित सम्बन्धित व्यक्‍ति भए तापनि हिब्रूहरू र तिनीहरूका परमेश्‍वरप्रति मोशाको घनिष्ठताले तिनी सानो छँदै तिनको जीवनमा आमाबाबुले प्रभाव पारेका थिए भन्‍ने कुरा प्रस्ट हुन्छ।—हिब्रू ११:२४-२६.

आमा हुनुभएको कारण आफ्नो बच्चालाई प्रभावित पार्न तपाईंले योकेबेदले भन्दा बढी मौका पाउनुभएको हुन सक्छ। चालै नपाईकन बितिहाल्ने आफ्नो बच्चाको बाल्यकालको फाइदा उठाउँदै के तपाईंले तिनीहरूलाई अनन्तकालीन ईश्‍वरीय निर्देशन दिंदै हुनुहुन्छ? वा संसारमा व्याप्त प्रचलनहरूद्वारा आफ्ना बच्चाहरूलाई प्रभावित हुन दिइरहनुभएको छ?

[पृष्ठ १०-मा भएको चित्रहरू]

घरको कामकाजमा अरूलाई समावेश गराउनुहोस्‌, आफ्नोलागि समय बचाउनुहोस्‌ र आध्यात्मिकतालाई प्राथमिकता दिनुहोस्‌