मातृत्व—अनेकौं अवरोधहरू पार गर्नुपर्ने दौड
मातृत्व—अनेकौं अवरोधहरू पार गर्नुपर्ने दौड
मातृत्व असाधारण र रोमाञ्चक अनुभव हो। आमाहरूले यस्ता अमूल्य क्षणहरूको आनन्द उठाइरहेका हुन्छन्, जसलाई तिनीहरू संसारको कुनै कुरासित साट्न चाहँदैनन् होला। यद्यपि, कहिलेकाहीं केही आमाहरू शारीरिक तथा मानसिक रूपमा आफू विक्षिप्त हुन लागेको महसुस गर्छन्। हेलेन आमाको हैसियतमा आफूले निर्वाह गर्नुपर्ने भूमिकालाई अनेकौं अवरोधहरू पार गर्नुपर्ने दौडसित तुलना गर्छिन्। अनि समय बित्दै जाँदा अझ धेरै ठूलठूला अवरोधहरू खडा हुन्छन् जस्तो देखिन्छ।
आफ्ना छोराछोरीको राम्रो लालनपालन गर्न आमाहरूले आफ्नो फुर्सतको समय र साथीसंगीहरूसित बिताउने समय त्याग्न सक्छन्। पाँच छोराछोरीकी आमा एस्तर यसो भन्छिन्, “म कहिल्यै चयनसित बस्न पाउदिनँ। म कहिल्यै आरामले नुहाउन पाउँदिनँ, माइक्रोवेभको खानाबाहेक म रोमान्टिक मुडमा अरू खाना खानै पाउदिनँ। मैले यात्रा नगरेका ठाउँहरू र नदेखेका कुरा धेरै छन्। तर लुगा धुन भ्याएकै हुन्छ अनि ती लुगाहरू चिटिक्क पट्ट्याउँछु!”
निस्सन्देह, अधिकांश आमाहरूले आफ्ना छोराछोरीहरूलाई हुर्काउँदा प्राप्त भएको आनन्दका अद्भुत क्षणहरूबारे बताउन चाहलान्। एस्तर यसो भन्छिन्: “छोराछोरीको मीठो मुस्कान, उनीहरूले कृतज्ञ भावसहित भनेका ‘थ्यांक्यु, ममी’ र न्यानो आलिंगनजस्ता कुराहरूले आमाहरूलाई हरेस नखान बल प्रदान गर्छ।”आमाले जागिर खान्छिन्
धेरै आमाहरूले एकातिर घर गृहस्थी सम्हाल्नुपर्ने हुन्छ भने, अर्कोतिर परिवारलाई आर्थिक रूपमा सघाउन जागिर खानुपर्ने हुन्छ र यो समस्या मातृत्वमा एउटा ठूलो अवरोध बनेर खडा भएको छ। अधिकांश यी आमाहरू आफ्नो इच्छाले होइन तर आवश्यकताले गर्दा जागिर खान्छन्। तिनीहरूलाई थाह छ यदि तिनीहरूले घर गृहस्थी मात्र सम्हालिरहेमा तिनीहरूको परिवार अनि विशेष गरी तिनीहरूका बच्चाहरू धेरै कुराहरूबाट वञ्चित हुनुपर्नेछ। पुरुषहरूकै बराबरीमा काम गरे तापनि पुरुषहरूको तुलनामा तिनीहरूले अक्सर थोरै तलब पाउँछन् तर त्यो तलबले तिनीहरूको जीवनमा ठूलो भूमिका खेलेको हुन्छ।
उदाहरणका लागि, ब्राजिलको साऊ पाउलोमा ४२ प्रतिशत कामदार महिलाहरू नै हुने गर्छन्। आफ्नो सारा समय छोराछोरी हुर्काउनमै बिताउने आमाहरूलाई त्यहाँको एउटा स्थानीय अखबारले “संकटमा परेका जाति” भन्ने उपनाउँ दिएका छन्। अफ्रिकाको ग्रामीण इलाकामा आफ्नो बच्चालाई पिठ्यूँमा बोकी, टाउकोमा दाउराका भारी बोकेर हिंडिरहेका महिलाहरू देख्नु कुनै नौलो कुरो होइन।
अचाक्ली माग गर्ने जागिर
अर्को अवरोध हो, जागिर दिने कम्पनीहरूले आमाहरूलाई धेरै समय काम गर्न लगाउँछन्। अनि त्यति मात्र होइन। ग्रीस निवासी मारियालाई जागिर दिंदा उनको हाकिमले उनलाई एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्न लगाए, जसमा उनी तीन वर्षसम्म गर्भवती हुन नपाउने करार गरिएको थियो। तिनी गर्भवती भएमा तिनले क्षतिपूर्ति तिर्नुपर्ने थियो। मारियाले उक्त करारमा हस्ताक्षर गरिन्। तर डेढ वर्षपछि तिनी गर्भवती भइन्। तिनको हाकिमले मारियालाई त्यो करार पत्र देखाए, अहिले आफ्नो कम्पनीको नीतिलाई चुनौती दिन मारिया अदालतसम्म पुगेकी छिन् र अहिले उनी आदलतको फैसला पर्खेर बसेकी छिन्।
कहिलेकाहीं कम्पनीका हाकिमहरूले आमाहरूलाई बच्चा पाइसकेपछि सकेसम्म छिटो काममा हाजिर हुने दबाउ पनि दिन सक्छन्। अक्सर काममा हाजिर भइसकेपछि पनि तिनीहरूको काम गर्ने घण्टा कम गरिंदैन। यस प्रकार नवजात शिशुप्रति आमाको थप जिम्मेवारी छ भन्ने कुरालाई अलिकता पनि वास्ता गरिंदैन। आफ्नो तलब नकाटी तिनीहरूले पर्याप्त छुट्टी लिन सक्दैनन्। साथै, शिशु स्याहार केन्द्र तथा बच्चाहरूको लालनपालन गर्न सरकारले दिने भत्ता पनि पर्याप्त नहुन सक्छ।
अर्कोतिर, केही आमाहरूले आर्थिक आवश्यकता पूरा गर्नको लागि नभई आत्मसन्तुष्टिको लागि पनि काम गर्ने गर्छन्। सान्ड्रा आफ्नो पहिलो बच्चाको जन्मपछि काममा फर्किन् र दोस्रो बच्चा जन्मेपछि पनि उनले त्यसै गरिन्। बच्चासित एक्लै घरमा बस्दाको क्षणलाई तिनी यसरी सम्झना गर्छिन् “कहिलेकाहीं उभिएर बाहिरको संसारलाई झ्यालबाट नियाल्दा सारा संसार के गरिरहेको होला भन्ने प्रश्न मेरो मनमा उठ्थ्यो।” अनि केही आमाहरू पारिवारिक जीवनको तनाउबाट भाग्न जागिर खान्छन्। बेलाइतको डेली टेलिग्राफ-ले यस्तो रिपोर्ट गऱ्यो: “कोही-कोही आमाबाबु आफ्नो घरको टन्टा बिर्सिन काममा बढी समय बिताउन थाल्छन्। यसले परिस्थितिलाई सुधार्नु त कता हो कता, झन् सुरुको परिस्थितिलाई पनि भताभुंग पार्छ, छोराछोरीसित कम समय बिताउँदा तिनीहरूले भावशून्य, झगडालु अनि विकृत व्यवहार देखाउन सक्छन्।”
एकै चोटि धेरै काम भ्याउनुपर्ने
घर गृहस्थी सम्हाल्नु र जागिरलाई सन्तुलनमा राख्नु सजिलो छैन। धेरै आमाहरूको भावना झल्काउँदै एउटी आमाले यसो भनिन्: “थकित, थकित अनि थकित। म निद्राबाट ब्यूँझदा पनि थाकेकै हुन्छु। जागिरबाट घर फर्किंदा पनि म थाकेकै हुन्छु। मेरा छोराछोरीले मलाई यसो भनिरहेका छन्, ‘ममी सधैं थकित
देखिनुहुन्छ।’ यो वाक्य सुन्दा म आफूलाई झनै दोषी महसुस गर्छु। म आफ्नो जागिर गुमाउन चाहन्नँ तर म सबै कुरा पूरा गर्न सक्ने एक जना आदर्श आमा पनि बन्न चाहन्छु। तर म आफूले चाहेको आमा हुन सकिरहेकी छैन।”तिनी ती करौडौं महिलाहरूमा पर्छिन्, जसले बच्चाहरूसित थोरै ‘गुणस्तरीय समय’ बिताउँदा लामो समयसम्म सँगै नबिताएको समयको क्षतिपूर्ति हुन्छ भन्ने धारणा राख्छन् र दुःखको कुरा, त्यस्तो धारणा सन्तोषजनक साबित भएको छैन। आज अधिकांश आमाहरूले जागिर तथा घरका जिम्मेवारीहरूलाई सन्तुलनमा राख्ने प्रयास गर्दा कामको बोझ थपिएको, तनाउ उत्पन्न भएको अनि पर्याप्त तलब नपाएको गुनासो गर्छन्।
महिलाहरूले आफ्ना छोराछोरीदेखि टाढिएर धेरै समय बाहिर बिताउँदा छोराछोरीले आफ्नो आमाबाट पाउनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात् समय अनि ध्यान नै पाउँदैनन्। फरनान्डा ए. लिमा नाउँ गरेकी ब्राजिलकी एक बाल मनोचिकित्सकको भनाइअनुसार आमाको भूमिकालाई निभाउन आमा नै चाहिन्छ, अरू कसैले त्यो भूमिका निभाउन सक्दैन। तिनी यसो भन्छिन्, “बच्चा जन्मेपछि दुई वर्षसम्मको अवस्था उसको जीवनको सबैभन्दा नाजुक घडी हो। यस अवस्थामा बच्चाले आफ्नी आमा आफूसित नहुनुको कारण ठम्याउन सक्दैन।” आमाको सट्टा अरू कसैले केही हदसम्म बच्चाको आवश्यकतालाई पूरा गर्न त सक्लान् तर आमाको ठाउँ कसैले पनि लिन सक्दैन।” लिमा यसो भन्छिन्, “आफूले पाएको त्यो हेरचाह, आफ्नो आमाको मायालु हेरचाह होइन भनी बच्चाले महसुस गर्न सक्छ।”
पूर्ण-समय जागिर खाने एउटी छोरीकी आमा, क्याथीले यसो भनिन्: ‘आफ्नी छोरीलाई [शिशु स्याहार केन्द्रमा] राख्दा मानौं उसलाई त्यागेजस्तो लाग्छ र म असाध्यै दोषी महसुस गर्थें। आफूले जन्माएको बच्चा हुर्केको अनि बढेको आफैले देख्न नपाउनुजतिको पीडा अरू के होला र अनि आफ्नो बच्चा आफूसित भन्दा शिशु स्याहार केन्द्रसित घनिष्ठ हुँदा मनै नमीठो हुन्छ।’ मेक्सिकोका विमान परिचारिकाले यसो भनिन्: “केही समयपछि बच्चाले तपाईंलाई चिन्दैन र तपाईंले उसलाई नहुर्काएको कारण उसले तपाईंको महत्त्वै राख्दैन। तपाईं उसको आमा हो भनेर उसलाई थाह त होला तर ऊ आफूलाई हुर्काउने महिलासितै बस्न रुचाउँछ।”
अर्कोतिर, कमाउनुलाई महत्त्व दिने समाजबाट आफ्ना छोराछोरी हुर्काउन सारा समय घरमै बिताउने आमाहरूले हेला र अपमान सहनुपर्छ भन्ने तिनीहरूको भनाइ छ। कुनै-कुनै समाजमा त अब गृहणी हुनुलाई आदरको दृष्टिले हेर्ने जमाना गइसक्यो। त्यसैले, थप आय आर्जनको आवश्यकता नपरे तापनि महिलाहरूलाई कुनै न कुनै पेसामा लागेर उपलब्धि हासिल गर्न दबाउ दिइन्छ।
एक्लै संघर्ष गर्न छोडिन्छ
आमाको जीवनमा अवरोधको रूपमा खडा हुने तीतो वास्तविकता यो पनि हो: दिनभरि काम गरेर लखतरान भई आमा घर फर्किन्छिन् तर थकाइ मार्न होइन, नियमित घरधन्दा सम्हाल्न। चाहे आमाहरूले बाहिर जागिर खाऊन् या नखाऊन्, अझै पनि घर अनि बच्चाहरूको रेखदेख गर्ने मुख्य जिम्मा अक्सर आमाकै काँधमा आउने गर्छन्।
धेरै घण्टा काम गर्ने आमाहरूको संख्या बढ्दै गए तापनि बुबाहरूले तिनीहरूलाई अक्सर सघाउने गर्दैनन्। द सन्डे टाइम्स अफ लन्डन-ले यस्तो लेख्यो: “बेलाइत अनुपस्थित बुबाहरूको देश हो र एउटा नयाँ अनुसन्धानले देखाएअनुसार पुरुषहरूले आफ्ना छोराछोरीहरूसित दिनमा १५ मिनेट पनि राम्ररी बिताउँदैनन्। . . . अधिकांश पुरुषहरू आफ्नो परिवारसित समय बिताउन त्यति रमाइलो मान्दैनन्। . . . त्यसको तुलनामा जागिर खाने
बेलाइती महिलाहरूले आफ्ना छोराछोरीसित दिनमा ९० मिनेट बिताउने गर्छन्।”केही पतिहरू कस्तो गुनासो गर्छन् भने, तिनीहरूका पत्नीहरू काम जिम्मा दिन असाध्यै गाह्रो मान्छन् किनकि सबै काम आफूले गरेजस्तै गर्नुपर्छ भनी पत्नीहरू जिद्दी गर्छन्। “अन्यथा तपाईंले त्यो काम बिगार्नुभयो” भन्छन् भनी पतिहरू गुनासो गर्छन्। निस्सन्देह, आफ्नो पतिको सहयोगबाट लाभ उठाउने हो भने, थकित गृहणीले घरधन्दाका काम गर्ने केही तरिकाहरूमा छाँटकाँट गर्न इच्छुकता देखाउनुपर्ने हुन सक्छ। अर्कोतिर, पतिहरूले यस्तो तर्कलाई एउटा बहाना बनाएर असहयोगी मनोवृत्ति देखाउनु हुँदैन।
थप अवरोधहरू
जरा गाडिसकेको परम्परागत प्रचलनहरूले अवरोधहरू थप्न सक्छन्। जापानका आमाहरू आफ्नो बच्चाकै उमेरका अन्य बच्चाहरूलाई अरू आमाहरूले जसरी हुर्काइरहेका छन्, आफ्नो बच्चालाई पनि त्यसरी नै हुर्काउनुपर्छ भन्ने सोचाइ राख्छन्। यदि अरू बच्चाले पियानो वा पेन्टिङ सिकिरहेका छन् भने आमाले आफ्नो बच्चालाई पनि त्यसो गराउनै पर्ने महसुस गर्छन्। अरू बच्चाहरूले जस्तो अतिरिक्त क्रियाकलाप गरिरहेका छन्, तिनीहरूका बच्चाहरूलाई पनि त्यस्तै किसिमको अतिरिक्त क्रियाकलाप गराउन विद्यालयहरूले अभिभावकहरूलाई दबाउ दिइरहेका हुन्छन्। अरूभन्दा भिन्न भएमा साथीभाइ, शिक्षक अनि अन्य अभिभावक तथा नातेदारहरूले हैरान पार्न सक्छन्। अरू देशहरूमा पनि यस्तै प्रचलन व्याप्त छ।
विज्ञापन तथा उपभोग्य वस्तुको बिगबिगीले गर्दा बच्चाहरूले विभिन्न सामानहरू किन्न पिरोल्न सक्छन्। विकसित मुलुकहरूका आमाहरूले आफ्ना छोराछोरीले इच्छा गरेका सबै सामानहरू किनिदिनुपर्ने महसुस गर्न सक्छन् किनभने अरू आमाहरूले आफ्ना छोराछोरीलाई त्यस्तै सामानहरू किनिदिएको देख्छन्। यसो गर्न नसकेको खण्डमा तिनीहरू आफू असफल भएको महसुस गर्छन्।
माथि उल्लिखित मातृत्वको आधुनिक परिभाषाले ती करोडौं परिश्रमी तथा आत्मत्यागी आमाहरूले मानव सामाजको भावी पुस्तालाई हुर्काउन गरेको यथासक्दो प्रयासलाई लुकाउनुहुँदैन। यो त एउटा सुअवसर हो। बाइबल यसो भन्छ: “छोराहरू ता परमप्रभुले दिनुभएको हक मात्र हुन्, गर्भको फलचाहिं उहाँको इनाम हो।” (भजन १२७:३) दुई बच्चाहरूकी आमा, मिरियम यी आमाहरूको सही प्रतिनिधित्व गर्दै यसो भन्छिन्, “चुनौतीहरूको बावजूद, आमा हुनुको आनन्दलाई कुनै कुरासित तुलना गर्न सकिंदैन। आमाले दिएको प्रशिक्षण तथा अनुशासन स्वीकारेर आफ्ना बच्चाहरू समाजको एक जिम्मेवार सदस्य भएको देख्दा हामी आमाहरूलाई सन्तुष्टिको अनुभूति हुन्छ।”
आफूले पाएको इनाममा अझ बढी रमाउन आमालाई केले मदत गर्न सक्छ? अर्को लेखले यसबारे केही व्यावहारिक सुझाउहरू दिनेछ। (g02 4/8)
[फुटनोट]
a यो लेख विवाहित आमाहरूमा केन्द्रित छ। ब्यूँझनुहोस्!-का आगामी लेखहरूमा एक्लो र अविवाहित आमाहरूका चुनौतीहरूबारे पनि चर्चा गरिनेछन्।
[पृष्ठ ६-मा भएको पेटी]
“मातृ दिवस”
घोर गरिबी, अशिक्षा, गैरजिम्मेवार पुरुष साथी, कहिल्यै नरोकिने दुर्व्यवहार र एड्सको महामारी, यी सबै दक्षिण अफ्रिकी महिलाहरूको वास्तविकता हुन्। हालैको मातृ दिवसको अवसरमा दक्षिण अफ्रिकी अखबार द सिटिजन-ले यस्तो रिपोर्ट प्रकाशित गऱ्यो: “हजारौं महिलाहरू तिनीहरूका पुरुष साथीहरूबाट दुर्व्यवहारका सिकार हुनेछन् र कतिपयले मातृ दिवसकै दिन आफ्नो ज्यान गुमाउनेछन्।” यस्ता समस्याहरूले गर्दा हजारौं दक्षिण अफ्रिकी महिलाहरू आफूले जन्माएको बच्चा त्याग्न बाध्य छन्। हालैका दुई वर्षमा बच्चा त्याग्नेहरूको संख्यामा २५ प्रतिशतले वृद्धि भएको छ। योभन्दा पनि भयावह कुरा त आत्महत्या गर्ने महिलाहरूको बढ्दो संख्या हो। हालै, गरिबीको चपेटामा परेको इलाकामा बस्ने एक महिला आफ्नो तीन जना बच्चालाई छातीमा टाँसेर तीव्र गतिमा कुद्ने रेल मार्गमा उभिइन्। सबै मारिए। केही आमाहरू आफ्ना आधारभूत आवश्यकता पूरा गर्नका लागि वेश्यावृत्तिमा लाग्छन् र लागूऔषध बेचबिखन गर्छन् वा आफ्ना छोरीहरूलाई पनि यस्तै कुकर्म गर्न लगाउँछन्।
हङकंगबाट प्रकाशित एउटा रिपोर्टले यसो भन्यो, “केही किशोरी आमाहरू बच्चा जन्माएपछि मार्ने वा फोहोरको डंगुरमा फ्याँक्ने गर्छन् किनकि तिनीहरू यस्तो अवस्थाले निम्त्याउने पीडा सामना गर्न सक्दैनन्।” साउथ चाइना मर्निङ पोस्ट-ले उल्लेख गरेअनुसार अलि कम उमेरमा बिहे गरेका हङकंगका केही महिलाहरू “हाल यति तनाउग्रस्त छन् कि तिनीहरूको मानसिक स्वास्थ्य आफैले आफैलाई मार्ने हदसम्म खस्किसकेको छ।”
[पृष्ठ ७-मा भएको पेटी]
विभिन्न मुलुकहरूमा मातृत्व
अति थोरै समय
❖ हङकंगमा लिइएको सर्वेक्षणले देखाएअनुसार ६० प्रतिशत जागिरे महिलाहरूले आफ्ना छोराछोरीलाई दिनुपर्ने पर्याप्त समय दिंदैनन्। अनि जागिरे आमाबाबुहरूका तीन वर्षमुनिका २० प्रतिशत बच्चाहरू हप्ताभरि आफ्नो घरबाट बाहिर अर्थात् प्रायः हजुरबुबा हजुरआमासित बस्छन्।
❖ एउटा बच्चा जन्मेको ५ वर्ष पुग्दा नपुग्दै अर्को बच्चा जन्मिसक्ने भएकोले मेक्सिकोका आमाहरूले आफ्ना बच्चाहरूको स्याहारसुसार गर्न जम्मा १३ वर्ष मात्र बिताउँछन्।
आमा अनि जागिर
❖ आयरल्याण्डमा आफ्ना बच्चाहरूको रेखदेख गर्न ६० प्रतिशत महिलाहरू घरमा बस्ने गर्छन्। ग्रीस, इटाली र स्पेनमा ४० प्रतिशत महिलाले त्यसै गर्छन्।
घरधन्दामा सघाउने
❖ जापानमा ८० प्रतिशत गृहणीहरू विशेष गरी तिनीहरू बिमारी हुँदा परिवारका सदस्यहरूले घरधन्दामा सघाओस् भन्ने इच्छा राख्छन्।
❖ नेदरल्याण्डस्मा पुरुषहरूले आफ्ना बच्चाहरूसित दिनमा २ घण्टा बिताउँछन् र ४२ मिनेट घरधन्दामा सघाउँछन्। महिलाहरूले आफ्ना बच्चाहरूसित ३ घण्टा बिताउँछन् अनि १ घण्टा ४२ मिनेट घरधन्दाको काम गर्ने गर्छन्।
तनाउग्रस्त आमाहरू
❖ जर्मनीमा ७० प्रतिशतभन्दा बढी आमाहरू तनाउग्रस्त महसुस गर्छन्। लगभग ५१ प्रतिशत आमाहरू ढाड तथा मेरुदण्डका जोर्नीहरूको पीडाबारे गुनासो गर्छन्। एक तिहाइ महिलाहरू सधैंजसो निकै थकित र निराश देखिन्छन्। झन्डै ३० प्रतिशत आमाहरू टाउको एकदमै दुख्ने रोगबाट पीडित छन्।
दुर्व्यवहारको सिकार भएका आमाहरू
❖ हङकंगमा लिइएको सर्वेक्षणमा ४ प्रतिशत महिलाहरूले गर्भवती अवस्थामा हुँदा आफू कुटपिटको सिकार भएको कुरा स्वीकारे।
❖ जर्मनीमा फोकस नामक पत्रिकाले लिएको सर्वेक्षणले देखाएअनुसार ६ जनामा १ जना आमाले आफ्नो बच्चाले आफूलाई कम्तीमा एक चोटि शारीरिक आक्रमण गरेको कुरा स्वीकारे।
[पृष्ठ ७-मा भएको चित्रहरू]
अधिकांश महिलाहरूले जागिर तथा घर गृहस्थी सम्हाल्ने कामलाई सन्तुलनमा राख्नुपर्ने भएकोले आमा हुनु अति नै तनाउपूर्ण हुन सक्छ