सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आउनुहोस्‌ हाङ्‌गोल लिपिमा लेखौं!

आउनुहोस्‌ हाङ्‌गोल लिपिमा लेखौं!

आउनुहोस्‌ हाङ्‌गोल लिपिमा लेखौं!

गणतन्त्र कोरियाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

संसारका हरेक लिपिको आ-आफ्नै इतिहास पाइन्छ र त्यो पनि प्रायजसो एकदमै पुरानो हुन्छ। तथापि, एउटा वर्णमाला भने पाँच शताब्दीअघि मात्र रचिएको र बिहानभरिमै सिक्न सकिने गरी तयार पारिएको थियो! यो हाङ्‌गोल वा हाङ्‌गुल भनिने कोरियाली अक्षर हो। यसको विकास तथा प्रयोगको कथा निकै रोमाञ्चकारी छ।

हाङ्‌गोल बनाउनुअघि कोरियाली भाषाको कुनै लिपि थिएन। हजार वर्षभन्दा धेरै समयसम्म शिक्षित कोरियालीहरूले चिनियाँ वर्णमालाको प्रयोग गरेर आफ्नै भाषामा लेख्ने गर्थे। तथापि, वर्षौंको दौडान अझ सुदृढ लेखन प्रणाली विकास गर्न थुप्रै प्रयासहरू गरिए। तर ती सबै चिनियाँ वर्णमालामा आधारित भएको हुनाले शिक्षितहरूले मात्र प्रयोग गर्न सक्थे।

राजाले लागू गरेको वर्णमाला

सा.यु. १५ औं शताब्दीमा कोरियाली यस कुलका राजा सेजोङले आफ्ना लेखपढ गर्न नजान्‍ने जनताहरूको निराशामाथि गौर गर्न थाले। प्रायजसोले उच्च अधिकारीहरूलाई आफ्ना गुनासोहरू मौखिक तवरमा मात्र अपिल गर्न सक्थे। सधैंभरि साधारण मानिसहरूको कुरालाई ध्यान दिएर सुन्‍ने भनेर नाउँ कमाएका राजा सेजोङलाई यो समस्याले अन्योलमा पाऱ्‍यो।

त्यसैले राजा सेजोङले बोलीचालीमा प्रयोग हुने र सिक्न अनि प्रयोग गर्न सजिलो हुने कोरियाली अक्षरहरू बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यो योजना १४४६ मा पूरा भएको घोषणा गरियो। आफ्नो घोषणाको प्राक्कथनमा राजा सेजोङले यसो भने: “चिनियाँ व्यञ्जनहरूको उत्पत्ति विदेशमा भएको हुनाले यसले कोरियाली अर्थलाई सही ढंगमा व्यक्‍त गर्न सक्दैन। तसर्थ, थुप्रै सर्वसाधारण जनताहरूसित आफ्नो विचार तथा भावनाहरू व्यक्‍त गर्ने कुनै माध्यम छैन। तिनीहरूका समस्याहरूप्रति सहानुभूति देखाउँदै मैले २८ वटा अक्षरहरू बनाएको छु। ती अक्षरहरू सिक्न सजिलो छ र यसले सबै जनताको जीवनस्तरलाई उकास्नेछ भन्‍ने मैले उत्कट आशा राखेको छु।”

दुःखको कुरा, केही विद्वान्‌हरूले हाङ्‌गोल सिक्न एकदमै सजिलो भएको निहुँ बनाएर यसको विरोध गरे! तिनीहरूले यसको उपहास गर्दै आङ्‌गोल भने र त्यसको अर्थ “आइमाईहरूको अक्षर” हो। त्यसबेला स्कूलमा पढ्‌न नपठाइने आइमाईहरूले पनि यो सिक्न पाउने भए भनेर तिनीहरूले यस प्रणालीको उपहास गरे। यो भेदभावपूर्ण सोचाइ कोरियाका उच्च वर्गका मानिसहरूबीच केही समयसम्म कायमै रह्‍यो। वास्तवमा, हाङ्‌गोल लिपिलाई सरकारी कागजपत्रहरूमा पनि प्रयोग गर्न सकिनेछ भनेर कोरियाली सरकारले ४०० वर्षपछि मात्र घोषणा गऱ्‍यो।

हाङ्‌गोल र बाइबल

बाइबलले हाङ्‌गोलको इतिहासमा महत्त्वपूर्ण भूमिका खेल्यो। मिसनरीहरूले चिनियाँ वर्णमाला प्रयोग गरेर लेखिएका थुप्रै धार्मिक प्रकाशनहरू कोरियामा भित्र्याए तापनि चिनियाँ भाषामा उपलब्ध बाइबल भने ल्याएनन्‌। तथापि, १८८७ मा कोरियाली भाषामा मसीही युनानी धर्मशास्त्र (नयाँ नियम) अनुवाद गरियो र चीनको मुक्डेनमा हाङ्‌गोल लिपिमा छापियो। a

अन्ततः कहिल्यै चिनियाँ अक्षरहरू पढ्‌ने मौकासमेत नपाएका आइमाई तथा केटाकेटीहरूलगायत सबै जनाले पढ्‌न सक्ने बाइबल कोरियाली भाषामा पनि छापियो। आज आधुनिक हाङ्‌गोल लिपिमा न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स-लगायत कम्तीमा पनि आठवटा बाइबल संस्करणहरू उपलब्ध छन्‌।

सिक्न सजिलो

यो कोरियाली लिपि रच्न मदत गर्ने एक जना विद्वान्‌ले हाङ्‌गोलबारे यसो भने: “समझदारहरूले यसलाई बिहानभरिमै सिक्न सक्छन्‌ भने बेसमझहरूले पनि दस दिनभित्रै सिक्न सक्छन्‌।” साँच्चै, हाङ्‌गोललाई हेला गर्ने केही विरोधीहरूले यस लिपिलाई सुरु सुरुमा अचिमगोउल भनेका थिए जसको अर्थ हो, “बिहानीका अक्षरहरू।” तिनीहरू हाङ्‌गोल सिक्न पटक्कै मेहनत गर्नुपर्दैन भन्ठान्थे किनभने यो एक बिहानीमै सिक्न सकिन्थ्यो!

जे होस्‌, हाङ्‌गोल सिक्न एकदमै सजिलो भएको हुनाले यसले कोरियाबाट असाक्षरता निर्मूल पाऱ्‍यो। भनौं भने, तिनीहरू स्कूलमा भर्ना हुनेबेलासम्म त प्रायः सबैले सिकिसकेका हुन्छन्‌। त्यसबाहेक कोरियाली स्कूलहरूमा नहुने अर्को कुरा भनेको हिज्जे प्रतियोगीता हो! किन? किनभने हाङ्‌गोलले कोरियाली भाषालाई यत्ति सही ढंगमा व्यक्‍त गर्छ कि त्यसले गर्दा आवाज सुनेर लेख्दा गल्ती लेख्ने कुरै हुँदैन।

हाङ्‌गोललाई कोरियाली शब्दहरू मात्र नभई अरू भाषाका शब्दहरू लेख्नसमेत प्रयोग गर्न सकिन्छ। तपाईं पनि लेख्न चाहनुहुन्छ कि? सँगैको तालिकामा सम्पूर्ण विवरण नदिइएको भए तापनि यसले कमसेकम तपाईंको नाउँ लेख्न भने सिकाउनेछ। यसरी तपाईंले एकै बिहानीमा सिक्न सकिने वर्णमालाको विविधता कस्तो रहेछ भनेर आफै हेर्न सक्नुहुन्छ! (g02 5/8)

[फुटनोट]

a सबैभन्दा पहिलो सिंगो कोरियाली बाइबल १९११ मा छापिएको थियो।

[पृष्ठ ११-मा भएको पेटी]

हाङ्‌गोलका व्यञ्जनवर्ण तथा स्वरवर्ण

व्यञ्जनवर्ण:

ㄱ (ग्‌,क्‌)

ㄴ (न्‌)

ㄷ (ड्‌,ट्‌)

ㄹ (र्‌,ल्‌)

ㅁ (म्‌)

ㅂ (ब्‌,प्‌)

ㅅ (स्‌)

ㅇ *

ㅈ (च्‌,ज्‌)

ㅊ (छ्‌)

ㅋ (ख्‌)

ㅌ (ठ्‌)

ㅍ (फ्‌)

ㅎ (ह्‌)

स्वरवर्ण:

ㅏ (आ)

ㅑ (या)

ㅓ (ओ)

ㅕ (यो)

ㅗ (अँ)

ㅛ (यँ)

ㅡ (उ)

ㅠ (युँ)

ㅜ (ऊँ)

ㅣ (इ, “मेसिन” शब्दमा झैं)

धेरैवटा स्वरव्यञ्जन मिलेर बन्‍ने रूपको उदाहरण

ㅓ (ǒ) + ㅣ (इ) = ㅔ (ए)

*व्यञ्जनवर्ण शब्दको अन्तमा आउँदा “ङ्‌” को रूपमा उच्चारण गरिंदाबाहेक यो आवाज मौन रहन्छ।

अँ, यँ, ऊँ र युँ उच्चारण गर्दा मुख बन्द हुन्छ भने ओ, यो र उ को उच्चारण गर्दा ओंठको आकार गोलो हुन्छ। छ्‌, ख्‌ ठ्‌ र फ्‌-मा चाहिं स्वर मिसिएको हुन्छ।

[पृष्ठ ११-मा भएको पेटी]

कोरियाली शब्दहरू लेख्ने

कोरियाली भाषाका सबै अक्षरहरू दुई वा तीन भागमा विभाजित छन्‌: सुरुको, बीचको (स्वरवर्ण वा स्वरवर्णहरू) र प्रायजसो अन्तको स्वर। शब्दहरू एक वा एकभन्दा बढी अक्षरहरू मिलेर बनेको हुन्छ। तल देखाइएझैं हरेक अक्षरलाई एउटा अदृश्‍य कोष्ठकभित्र राखिएको हुन्छ। सुरुको स्वर (व्यञ्जनवर्ण वा मौन ㅇ) माथि वा माथि देब्रेतिर लेखिन्छ। बीचमा आउने स्वरवर्ण ठाडो आकृतिको छ भने, यसलाई अग्र स्वरसँगै दायाँतिर लेखिन्छ र तेर्सो स्वरवर्णचाहिं त्यसकै मुनि लेखिन्छ। अक्षरहरूमा थप जोड दिन दोहऱ्‍याउन सकिन्छ र दुई वा दुईभन्दा बढी स्वरवर्णहरू सँगै लेख्नुपर्दा तिनीहरूको आकार सानो पारेर सँगसँगै लेख्न सकिन्छ। त्यस अक्षरको अन्तमा व्यञ्जनवर्ण आउँछ भने यो सधैंजसो मुन्तिर लेखिन्छ। यसरी हजारौं प्रकारका भिन्‍नाभिन्‍नै अक्षरहरूलाई हाङ्‌गोल लिपिमा व्यक्‍त गर्न सकिन्छ।

उदाहरणहरू:

ㅅ (स्‌)  + ㅗ (अँ)  = 소 (सँ) गाई

ㅅ (स्‌)  + ㅏ (आ)  + ㅇ (ङ्‌)  = 상 (साङ्‌) पुरस्कार

ㄱ (क्‌)  + ㅗ (अँ)  + ㅁ (म्‌)  = 곰 (कँम्‌) भालु

ㅁ (म्‌)  + ㅗ (अँ)  + ㄱ (क्‌)  = 목 (मँक्‌) घाँटी

ㅅ (स्‌)  + ㅏ (आ),

ㄹ (र्‌)  + ㅏ (आ)  + ㅇ (ङ्‌)  = 사랑 (साराङ्‌) प्रेम

[पृष्ठ १२-मा भएको पेटी/रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

कोरियाली वर्णमाला

राजा सेजोङको पालामा हाङ्‌गोल वर्णमालामा २८ वटा अक्षर थिए र तीमध्ये २४ वटा अझैपनि प्रयोग गरिन्छन्‌। त्यसमध्ये १४ वटा व्यञ्जनवर्ण र १० वटा स्वरवर्ण हुन्‌। पाँच प्रकारका व्यञ्जनवर्णहरूको आवाज निकाल्दा ओठ तथा घाँटीले कस्तो आकार लिन्छ, त्यसैले देखाउँछ: ㄱ (ग, क), जिब्रो अलिकति माथि उठेर तालुको पछिल्लो भाग छोएर; ㄴ (न), जिब्रोको टुप्पो घुम्रिएर तालुको अघिल्लो भाग छोएर; ㅁ (म), अगाडिबाट हेर्दा मुखको आकार; ㅅ (स) दाँत; ㅇ (ङ), खुल्ला घाँटी। यसैसित सम्बन्धित अर्थात्‌ मुखको आकार यथावत रहेर उच्चारण हुने अन्य व्यञ्जनवर्ण चिनाउन थप चिह्नहरूको प्रयोग गरिन्छ।

गोलाकार आकाशमा थोप्लो (•),* समतल जमिनमाथिको तेर्सो धर्को (ㅡ) र उभिरहेको मानिसमाथिको ठाडो धर्कोले (ㅣ) स्वरवर्णहरूलाई चिनाउँछ। यसबाट जिब्रोले अगाडि, बीच, पछाडिबाट निस्कने स्वरवर्णलाई बुझाउँछ।

*आधुनिक हाङ्‌गोलमा यो अक्षरको प्रयोग गरिंदैन।

[रेखाचित्र]

[पृष्ठ ११-मा भएको चित्र]

राजा सेजोङ