सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

म कसरी उपयुक्‍त रूममेट भेट्टाउन सक्छु?

म कसरी उपयुक्‍त रूममेट भेट्टाउन सक्छु?

युवा जनहरू सोध्छन्‌ . . .

म कसरी उपयुक्‍त रूममेट भेट्टाउन सक्छु?

“रूममेट नभएको भए मैले पूर्ण-समय सुसमाचारकको रूपमा सेवा गर्न र घर भाडा तथा अन्य खर्चहरू व्यहोर्न सक्ने थिइनँ।”—लिन। a

घर छोडेका जवानहरू ‘वास्तविक संसारमा’ बाँच्न कत्ति गाह्रो हुँदो रहेछ भन्‍ने कुरा थाह पाउँदा प्रायजसो तीन छक पर्छन्‌। धेरैका लागि यस महँगीको जमानामा खर्च टार्ने एक मात्र तरिका एक वा सोभन्दा बढी रूममेटहरूसँग बस्नु हो।

तर यस श्रृंखलाको अघिल्लो लेखमा बताइएझैं अरूसँग र अझ विशेष गरी पटक्कै नचिन्‍ने व्यक्‍तिसँग एउटै कोठामा बस्नु साँच्चै नै चुनौतीपूर्ण हुन सक्छ। b पूर्ण-समय प्रचारकको रूपमा सेवा गर्न अरूसँग बसेका जवान मसीहीहरूमाझ पनि यो कुरा साँचो साबित हुन्छ। तपाईंको व्यक्‍तिगत परिस्थिति जस्तोसुकै होस्‌, तपाईं कसैसँग बस्नेबारे सोच्दै हुनुहुन्छ भने साथी छान्‍नुअघि “विवेक” चलाउनु बुद्धिमानी हो। cहितोपदेश ३:२१.

खराब संगतको खतरा

सम्भाव्य रूममेट खोज्नको लागि थुप्रै जवानहरू सूचना पाटी, अखबारहरूका वर्गीकृत विज्ञापनहरू र इन्टरनेटमा हेर्छन्‌। तर जवान मसीहीहरूका लागि यस्ता स्रोतहरू गम्भीर खतरा हुन्छन्‌। यसरी रूममेट खोज्दा तपाईंले आफ्नै जस्तो विश्‍वास, नैतिकता वा उच्चस्तरहरू नभएको व्यक्‍ति भेट्‌न सक्ने सम्भावना हुन्छ। एउटै विश्‍वास भएको व्यक्‍ति मात्र रूममेटको रूपमा चाहनु भनेको के संकुचित विचारधारा राख्नु वा समाजविरोधी हुनु हो? होइन, यो त बुद्धिको मार्ग हो। बाइबल आफैले यस्तो चेताउनी दिन्छ: “खराब संगतले भला चाल-चलनलाई बिगार्दछ।”—१ कोरिन्थी १५:३३.

ली नाउँ गरेकी एक जना जवान स्त्रीबारे विचार गर्नुहोस्‌। विश्‍वविद्यालयको छात्रावासमा बस्न थाल्दा तिनी बप्तिस्मा प्राप्त मसीही भइसकेकी थिइनन्‌। तिनी यसरी सम्झन्छिन्‌, “त्यहाँको वातावरण एकदमै खतरनाक थियो। कतिपय केटीहरू आफ्नो कोठामा फर्कंदा आफ्नो रूममेटलाई यौनक्रीडा गरिरहेका भेट्टाउँथे।” त्यहाँ बसेको केही समय नबित्दै यसले लीको आध्यात्मिकतामा नकारात्मक असर पार्न थाल्यो। “मैले प्रायजसो मसीही सभाहरू छुटाएँ,” भनी तिनी स्वीकार्छिन्‌। यसरी तिनको आचरण पनि क्रमशः बिग्रँदै जानु कुनै छक्कलाग्दो कुरा थिएन। “एक दिन त मैले चालै नपाई छाडा बोली बोल्न थालें र एक जना केटीले यसो भनिन्‌: ‘के यहोवाले यो स्वीकार्नुहुन्छ?’ ” कस्तो लाजमर्दो! खुसीको कुरा, ली त्यस हानिकारक वातावरणबाट निस्किन्‌ र आध्यात्मिक प्रगति गर्न थालिन्‌। तर तिनको अनुभवले तपाईंको उच्चस्तरहरूको सम्मान नगर्नेहरूसँग बस्दा हुने खतराको पुष्टि दिन्छ।

उपयुक्‍त रूममेटहरू भेट्टाउने

त्यसोभए, तपाईं रूममेट कहाँ खोज्न सक्नुहुन्छ त? पहिला यहोवाका साक्षीहरूको आफ्नै स्थानीय मण्डलीमा हेर्नुहोस्‌। चाखलाग्दो कुरा, पूर्ण-समय प्रचारकहरूले आध्यात्मिक झुकाउ भएका अरू जवान व्यक्‍तिहरूलाई विशेष गरी पूर्ण-समय प्रचारकहरूको लागि आयोजना गरिने विभिन्‍न स्कूल तथा सभाहरूमा भेट्‌छन्‌। d आमाबाबु, स्थानीय मण्डलीका प्राचीन, परिभ्रमण निरीक्षक र अरूहरूले मदत गर्न सक्छन्‌; तिनीहरूलाई तपाईंको लागि उपयुक्‍त रूममेटबारे थाह हुन सक्छ।

आफूलाई रूममेट चाहिएको कुरा अरूलाई थाह दिइराख्नु पनि प्रभावशाली माध्यम हुन सक्छ। आफ्नो आवश्‍यकताबारे तपाईं जति धेरै व्यक्‍तिहरूलाई थाह दिनुहुन्छ, सफलता प्राप्त गर्ने सम्भावना पनि त्यति नै धेरै हुन्छ। (उपदेशक ११:६) सबैभन्दा महत्त्वपूर्ण कुरा त, रूममेट भेट्टाउनको लागि यहोवासँग मदत माग्नुहोस्‌ र आफ्नो प्रयत्न सफल बनाउनको लागि यहोवामा भर पर्नुहोस्‌।—१ यूहन्‍ना ५:१४, १५.

आवश्‍यक जानकारी हासिल गर्ने

सम्भाव्य रूममेट भेट्टाएपछि तपाईं चाँडोभन्दा चाँडो तिनीसँग बसिहाल्न उत्सुक हुनुहोला। तर पहिला केही कुराहरू बुझ्नु बुद्धिमानी हुनेछ। के आफ्नो मण्डलीका “भाइहरूमा तिनका बारेमा असल नाउँ चलेको” छ? (प्रेरित १६:१, २) सायद तपाईं र तपाईंका आमाबुबाले तिनलाई चिन्‍ने आध्यात्मिक तवरमा परिपक्व व्यक्‍तिहरूसँग भेटेर कुरा गर्न सक्नुहुन्छ। तपाईं यस्तो सोध्न सक्नुहुन्छ: ‘तिनको कस्तो नाउँ चलेको छ? के यी व्यक्‍ति भावनात्मक तथा आध्यात्मिक तवरमा स्थिर छन्‌? के तिनी अरूलाई प्रचार गर्ने र सभाहरूमा टिप्पणी दिने काममा भाग लिन्छन्‌? के यी व्यक्‍ति आफ्नो असल आचरणको लागि चिनिन्छन्‌?’

“बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ” भन्‍ने कुरा नबिर्सनुहोस्‌। (हितोपदेश १३:२०) डेभिड यसो भन्छन्‌, “मेरो रूममेट एकदमै आध्यात्मिक झुकाउ भएको छ। यसले मलाई आफ्नो पनि आध्यात्मिकता कायम राख्न मदत गर्छ।” थुप्रै रूममेटहरूसँग बसिसकेकी रेने पनि यसो भन्छिन्‌: “मेरा केही रूममेटहरूले हरेक रात बाइबलको एक अध्याय सँगै पढौं भन्थे। मेरो आमाबाबु साक्षी नहुनुभएको कारण हामी कहिल्यै पारिवारिक बाइबल अध्ययन गर्दैनथ्यौं। त्यसकारण रूममेटहरूसँग ‘पारिवारिक अध्ययन’ गर्न पाउनु मेरो लागि एकदमै विशेष अनुभव थियो!” हो, आध्यात्मिक कुराहरूप्रति प्रेम देखाउने रूममेट हुनु साँच्चै आनन्ददायी हुन सक्छ।

खुलस्त कुराकानी गर्ने

अर्को कदम, एकअर्कालाई भेटेरै खुलस्त कुराकानी गर्नुहोस्‌। यस्ता कुराकानीले तपाईंहरूको व्यक्‍तित्व मिल्छ कि मिल्दैन भन्‍ने कुरा निर्क्योल गर्न मदत गर्न सक्छ। चाखलाग्दो कुरा, कम्युनिकेशन रिसर्च रिपोर्टस्‌ पत्रिकामा रिपोर्ट गरिएको एउटा अध्ययनले देखाएअनुसार कुराकानी गर्ने उस्ता-उस्तै बानी भएका रूममेटहरूले “सबैभन्दा बढी सन्तुष्टी महसुस गरेको र एकअर्कालाई मन पराएको रिपोर्ट गरियो।” यसकारण तपाईं फरासिलो, मिलनसार र आफ्नो मनको कुरा अरूलाई बताउने खालको हुनुहुन्छ र तपाईंसँग बस्ने व्यक्‍ति नबोल्ने, शान्त वा एक्लै हुन चाहने खालको छ भने तपाईं समस्यामा पर्न सक्नुहुन्छ।

तर तपाईंले कुराकानी गर्नु हुँदा प्रहरीले जस्तो केरकार पनि गर्नु हुँदैन, सम्भाव्य रूममेटका तत्कालीन लक्ष्य तथा योजनाहरूबारे छलफल गर्नु लाभदायी हुन सक्छ। के तिनले आध्यात्मिक प्रगति हासिल गर्न नै खोजेका हुन्‌ त वा कतै तिनी घरको तनाउग्रस्त परिस्थितिबाट उम्कन मात्रै खोजेका हुन्‌ कि? खडा हुन सक्ने अर्को समस्यबारे लिन यसो भन्छिन्‌: “मेरी एक जना रूममेट डेटिङ गर्दै गरेकी थिइन्‌ र तिनको प्रेमी जहिले पनि राती अबेरसम्म हाम्रो कोठामा बसिरहन्थ्यो।” तिनीहरूको स्नेह प्रदर्शन लिनलाई अनुचित तथा अप्ठ्यारो लाग्थ्यो। तर पहिल्यै केही आधारभूत नियमहरू तोक्ने हो भने कहिलेकाहीं यस्ता समस्याहरू आउनबाट बच्न सकिन्छ। उदाहरणका लागि रेने भन्छिन्‌: “कुनै खास समयपछि केटाहरू हाम्रो कोठामा बस्न नपाउने नियम हामीले बनाएका थियौं।” विपरीत लिंगको व्यक्‍तिसँग कहिल्यै पनि कोठामा एक्लै नबस्ने कुरामा दुवै रूममेटहरू सहमत हुनु पनि उपयुक्‍त हुन्छ।

आफ्नो सोख, रुचि र मन पर्ने संगीतजस्ता कुराहरूबारे छलफल गर्नु पनि लाभकारी हुन सक्छ। “म मैले गर्नेजस्तै खालका कामहरू मन पराउने, उस्तै व्यक्‍तित्व भएको र उस्तै कामहरू गर्न मन पराउने व्यक्‍तिसँग बस्न चाहन्थे,” भनी मार्क भन्छन्‌। अभिरुचिहरू भिन्‍न भए भन्दैमा सँगै बस्नै हुँदैन भनेको पक्कै पनि होइन। मुख्य कुरा त, तपाईंहरू दुवै जना कत्तिको लचिलो हुनुहुन्छ? के तपाईं भिन्‍नताहरू सहन र अरूको अभिरुचिअनुसार छाँटकाँट गर्न तयार हुनुहुन्छ?

ली यस्तो सुझाउ दिन्छिन्‌: “सँगै बस्दा अर्को व्यक्‍तिले कस्तो आशा राख्छ भन्‍ने कुरा पनि तपाईंले सोध्नुपर्छ। कतिपय व्यक्‍तिहरू तपाईं तिनीहरूको सबैभन्दा नजिकको मित्र अर्थात्‌ जिगरी दोस्त बनेको चाहन्छन्‌। तर यस्तो कुरामा मलाई खासै चासो छैन।” त्यसै गरी डेभिड यसो भन्छन्‌: “केही कामकुरा गर्दा मसँगै काम गर्ने रूममेट मलाई मनपर्छ तर जब म अरूसँग काम गर्छु त्यतिबेला पनि मसँगै झुण्डिरहको चाहिं मन पर्दैन।” त्यसै गरी उक्‍त व्यक्‍ति प्रचारकार्यमा तपाईंको साथी बन्‍न इच्छुक छन्‌ कि वा तिनको विदेशी भाषाको मण्डलीमा सेवा गर्नेजस्ता अरू नै केही विचार छ भनी पहिल्यै पत्ता लगाउनुहोस्‌।

अन्ततः पकाउने (के तपाईंहरू दुवै जनालाई आउँछ?), घरायसी कामकाजको बाँडफाँड, व्यक्‍तिगत सरसामानको प्रयोग, दराज, फर्निचर, भण्डार कोठा र पाल्तु पशु जस्ता विषयमा पनि कुरा गर्न नबिर्सनुहोस्‌। यस्ता चीजहरूबारे खुलस्त कुराकानी गर्नाले मतभेद तथा चित्त दुख्ने कुराहरू हुनबाट बच्न सकिन्छ। हितोपदेश २०:१८ भन्छ: “असल योजनाको रहस्य होशियारी हो।”

“शिष्ट रुपले र नियमपूर्वक”

अर्को लाभकारी सिद्धान्त लूका १४:२८ मा पाइन्छ, जहाँ यसो भनिएको छ: ‘खर्च हिसाब गर्नू।’ हो, तपाईंको दैनिक जीवन धान्‍नको लागि कति खर्च लाग्छ हिसाब गर्ने कोसिस गर्नुहोस्‌। घर भाडा तिर्न कति पैसा छुट्याउनुपर्छ? खानाको लागि? अन्य खर्चहरू नि? के तपाईंहरू एउटै टेलिफोन लाइन चलाउनुहुनेछ? यदि त्यसो हो भने बिल तिर्न कसरी मिलाउने? “कुनै केटीलाई रूममेट बनाउनुभन्दा पहिला म तिनले आफ्नो भागमा परेको खर्च तिर्न सक्छिन्‌ कि सक्दिनन्‌ भनेर पक्का गर्छु” भनेर लिन भन्छिन्‌। इन्टरनेट पत्रिका द नेक्स्ट स्टेप यसो भन्छ: “घर भाडा वा खानाको खर्च नतिर्ने . . . वा अन्य कुराहरूको थुप्रो बिल उठाउने रूममेटले तपाईं कसैलाई पनि नचाहिने तनाउ दिन्छ।”

रेने भन्छिन्‌, “कहिलेकाहीं विवादको विषय कति तिर्ने होइन तर कहिले तिर्ने भन्‍ने हुन्छ!” तिनी यसो भन्छिन्‌: “हामीले हरेक महिनाको तीन गते भाडा तिर्नुपर्छ। तर कहिलेकाहीं रूममेट आफूले दिनुपर्ने पैसा नदिई सप्ताहन्तका लागि जान्छिन्‌ र घरधनीसँग मैले माफी माग्नुपर्छ।” स्पष्टतया सबै कुरा “शिष्ट रुपले र नियमपूर्वक” गर्नु र महत्त्वपूर्ण कुराहरूलाई जे होला सो टर्ला भनेर नछोड्‌नु बुद्धिमानी हो। (१ कोरिन्थी १४:४०) प्रायजसो, लिखित सम्झौता गर्नु बुद्धिमानी हुन्छ।

होसियार तथा विवेकशील हुनाले तपाईंले आफ्नो लागि विपत्‌को होइन तर आनन्दको स्रोत हुने रूममेट भेट्टाउने सम्भावना बढी हुन्छ। तैपनि समस्याहरू र व्यक्‍तित्व भिन्‍नता भयो भने के गर्ने? यस्तो परिस्थितिबारे आगामी लेखमा छलफल गरिनेछ। (g02 5/22)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b मे ८, २००२ को अंकमा दिइएको “रूममेटसँग बस्न किन यति गाह्रो भएको?” भन्‍ने लेख हेर्नुहोस्‌।

c अचेल धेरै मानिसहरू अनैतिक उद्देश्‍यका लागि सँगै बस्ने गरेको कुराबारे विचार गर्दा यस लेखमा आर्थिक वा अन्य सुविधाका लागि सँगै बसेका एउटै लिंगका रूममेटहरूबारे छलफल गर्नेछ भनी हामी जोड दिन्छौं।

d पूर्ण-समय प्रचारकहरूले अग्रगामी सेवा स्कूलमा उपस्थित हुने विशेष सुअवसर पाउँछन्‌। वार्षिक क्षेत्रीय सम्मेलनताका पनि पूर्ण-समय प्रचारकहरूसँगको सभा आयोजना गरिन्छ।

[पृष्ठ १४-मा भएको चित्र]

बाइबलको नैतिकता पालन नगर्ने व्यक्‍तिहरूसँग बस्नु खतरनाक साबित हुन सक्छ

[पृष्ठ १४-मा भएको चित्र]

कसैसँग बस्न सहमत हुनुअघि महत्त्वपूर्ण विषयहरूमा भेटेरै छलफल गर्नुहोस्‌