सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रहस्यमय हिमचितुवालाई भेट्‌नुहोस्‌

रहस्यमय हिमचितुवालाई भेट्‌नुहोस्‌

रहस्यमय हिमचितुवालाई भेट्‌नुहोस्‌

फिनल्याण्डका ब्यूँझनुहोस्‌! लेखकद्वारा

कुनै-कुनै जनावरहरू मात्रै हिमचितुवा जत्तिको रहस्यमय छन्‌। मुठीभर मानिसहरूले मात्र यसलाई जंगलमै देखेका छन्‌ र यी जनावरहरूको दिनचर्याबारे एकदमै थोरै थाह छ।

हिमचितुवा फिनल्याण्डको हेलसिन्की चिडियाखानाको प्रमुख आकर्षण हो। धेरै जनाले ठूलो खालको बिरालो जातिमा सबैभन्दा सुन्दर ठानिने यो बिरालोको अनौठो स्वभावले यसलाई आकर्षक जन्तु बनाएको छ।

विश्‍वका अग्ला स्थानहरूमा बिरालो

भुटानदेखि लिएर रूससम्म पर्ने एक दर्जनजति देशहरूमा पाइने भए तापनि हिमचितुवा प्रायजसो हिमाली भेगमा पाइन्छ। संसारकै सबैभन्दा अग्ला यी हिमालहरू मनै हर्ने गरी सुन्दर छन्‌। तर यहाँ मानिसहरू बस्न सक्दैनन्‌। पक्कै पनि मध्य एसियाका हिमालहरू संसारकै सबैभन्दा चिसो र उबडखाबड भएका ठाउँहरूमध्ये पर्छन्‌।

तथापि, हिमचितुवा ३,००० देखि ४,५०० मिटर सम्मको उचाइमा बस्न रुचाउँछ। बाक्लो भुत्लाले यसलाई चिसोबाट बचाउँछ भने, नाकको ठूलठूला पोरोले हिमालको पातलो हावाको बावजूद पर्याप्त मात्रामा अक्सिजन लिन मदत गर्छ। फराकिलो र भुत्लै-भुत्लाले ढाकिएको पञ्जाले हिमचितुवालाई बाक्लो हिउँहरूबीच पनि छिटो-छिटो र फूर्तिसाथ हिंड्‌न मदत गर्छ। तर उबडखाबड परेको हिमाली भूभागबारे नि? यसको लागि पनि कुनै समस्या छैन किनकि भुत्लाले ढाकिएको आफ्नो लामो पुच्छरलाई पतवारको रूपमा प्रयोग गर्दै हिमचितुवा खैरो कंगारूलाई पनि जित्ने गरी एउटा पहरोदेखि अर्को पहरोसम्म १५ मिटर उफ्रन सक्छ।

हिमचितुवाको तौल प्रायजसो २७ देखि ४५ किलो, उचाइ लगभग ६० सेन्टिमिटर र नाकदेखि पुच्छरसम्मको लम्बाइ २ मिटर हुन्छ। तर हिमचितुवालाई साँच्चै अनुपम बनाउने कुरा भनेको चाहिं यसको आनीबानी नै हो। हेलसिन्की चिडियाखानाका संरक्षक लिभ ब्लोम्कभिस्ट यसो भन्छन्‌, “यो एकदमै शान्त स्वभावको हुन्छ। हिमचितुवा मानिसहरूसँग सजिलै घुलमिल हुन्छ र चिडियाखानामा बिहान यो आफ्नो रेखदेख गर्ने व्यक्‍तिलाई अभिवादन गर्न आउँछ।” डमरुसमेत शान्त स्वभावको हुने कुरा ब्लोम्कभिस्ट बताउँछन्‌। तिनी भन्छन्‌, “चिडियाखानाका कामदारहरूले तिनीहरूलाई जोख्दा वा सुई लगाउँदा तिनीहरू रिसाउने वा त्यस्तो केही गर्दैनन्‌।” तर तपाईंले त्यही उमेरका अरू कुनै किसिमका चितुवालाई चलाउनु भयो भने, के हुन्छ? ब्लोम्कभिस्ट भन्छन्‌, “यो काम प्रायः असम्भव नै हुन्छ। तिनीहरूले हिंसात्मक आक्रमण गर्ने भएकोले सुरक्षात्मक पहिरन र पञ्जा लगाउनुपर्छ।”

किन विरलै मात्र देखिएको?

हिमचितुवासँग लुकामारी खेल्नु असाध्यै निराशजनक कुरा हुन्छ किनकि सेतो र खैरो रंगको यो बिरालो हिमाली भूभागमा छेपारो लुकेझैं सजिलै लुक्न सक्छ। हिमचितुवाहरू जंगलमा एकदमै विरलै मात्रामा देखिनुको एउटा कारण यसको रंगले गर्दा सजिलै लुक्न सक्नु हो। यसैकारण त यो रहस्यमय बिरालोबारे अध्ययन गर्नको लागि उबडखाबड परेका हिमालहरूमा गएका कतिपय अनुसन्धाताहरू यसको एक झल्को पनि नदेखी रित्तो हात फर्कनु परेको छ!

हिमचितुवाहरू एकलकाँटे स्वभावको हुने हुनाले पनि यसलाई देख्न मुस्किल पर्छ। साथै यिनीहरूले हिमालमा एकदमै कम मात्रामा पाइने जंगली भेडा र बाख्राहरूको सिकार गर्ने भएकोले यिनीहरूको घुमफिर गर्ने क्षेत्र ज्यादै ठूलो हुन्छ। दुःखको कुरा, हिमचितुवाको भुत्ले छालाको लागि यसको चोरी-सिकार गरिने भएकोले यो अहिले खतरामा परेको प्रजातिको सूचीमा परेको छ। a यस असाधारण जन्तुको संरक्षण गर्न चिडियाखानाहरूले ठूलो भूमिका खेलिरहेका छन्‌।

हेलसिन्कीमा हिमचितुवा

हिमचितुवाको प्रजननमा हेलसिन्की चिडियाखाना एकदमै सफल भएको छ। वास्तवमा सन्‌ १९७६ मा यस संस्थालाई हिमचितुवाको अन्तराष्ट्रिय तथ्यांक राख्ने कार्यभार दिइएको थियो। चिडियाखाना वा निकुञ्जहरूमा थुनेर राखिएका चितुवाहरूलाई व्यवस्थित गर्न यो तथ्यांकले निकै मदत गरेको छ।

चिडियाखानामा रहेका तथा विशेष गरी खतरामा परेका थुप्रै प्रजातिहरूको यस्तै तथ्यांक राखिएको छ। यस्तो तथ्यांकमा चिडियाखाना भित्र रहेको कुनै खास प्रजातिका जनावरहरूको पूर्ण विवरण समेटिएको हुन्छ। तथ्यांक राख्ने व्यक्‍तिलाई चिडियाखानाले नयाँ डमरु जन्मिएमा, जनावरलाई अन्यत्र सारिएमा वा मृत्यु भएमा जानकारी दिनुपर्छ। थुनेर राखिएका जनावरहरूको लागि उपयुक्‍त प्रजनन जोडी रोज्न यी तथ्यांकहरू प्रयोग गरिन्छ। “यसको संख्या तुलनात्मक रूपमा थोरै भएकोले सजिलै आफ्नै कुटुम्बभित्र प्रजनन प्रक्रिया हुन सक्छ जसले गर्दा तिनीहरूको शारीरिक अवस्था खस्कँदै जान सक्छ” भनी ब्लोम्कभिस्ट बताउँछन्‌।

हेलसिन्की चिडियाखानामा मात्र एक सयभन्दा बढी डमरुहरू जन्मिसकेका छन्‌ र तीमध्ये प्रायजसो विदेशका चिडियाखानाहरूमा पठाइएका छन्‌। विविधता कायम रहोस्‌ भन्‍नको लागि थुनेर राखिएका हिमचितुवाहरूलाई बारम्बार चिडियाखानाहरूबीच साटासाट गरिन्छ। थुनेर राखिएका हिमचितुवाहरू अहिले यति धेरै किसिमका छन्‌ कि अचेल जंगलका चितुवाहरू समात्नै पर्दैन।

वंशानुगत तवरमा स्वस्थ जनावरहरू हुर्काउने कोसिस गरेर हेलसिन्की चिडियाखानालगायत अरू थुप्रै चिडियाखानाहरूले वन्यजन्तुको संरक्षणमा योगदान पुऱ्‍याइरहेका छन्‌। पक्कै पनि यिनीहरूले यहाँ भ्रमण गर्न आउनेहरूलाई यस अनुपम जनावरको चित्ताकर्षक दृश्‍य हेर्ने मौका पनि प्रदान गर्छन्‌। साँच्चै हिमचितुवाले अविस्मरणीय छाप छोड्‌छ र यो ‘हरेक कुरा सुन्दर बनाउनुहुने’ सृष्टिकर्ताको प्रशंसा व्यक्‍त गर्न सकिने स्रोत हो।—उपदेशक ३:११, नयाँ संशोधित संस्करण। (g02 5/8)

[फुटनोट]

a हिमचितुवाहरू कति बाँकी छन्‌ भनेर तोकेर भन्‍न गाह्रो छ। तर अनुमान गरिएअनुसार यसको संख्या ३,५०० देखि ७,००० जति छ।

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

Page 16: Center: ©Aaron Ferster, Photo Researchers; page 17: Top right: © Korkeasaaren Eläintarha/Markku Bussman; bottom: ©T. Kitchin/V. Hurst, Photo Researchers

[पृष्ठ १८-मा भएको चित्रको स्रोत]

Chuck Dresner/Saint Louis Zoo