सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

डल्ले पाल्तु पशुहरू

क्यानाडाको ग्लोब एण्ड मेल यस्तो रिपोर्ट दिन्छ, “कुकुर र बिरालाहरूलाई असर गरिरेहको प्रमुख स्वास्थ्य समस्या नै मोटोपन हो। यसो हुनुको पछाडि पशु तथा मानिसहरूमा एउटै कारण छ: अस्वास्थ्यकर खाना खानेबानी अनि व्यायामको कमी।” क्यानेडियन भेटेरिनरी मेडिकल असोसियसन काउन्सिलले पशुधनीहरूको जीवन शैलीलाई यसको जिम्मेवार ठहऱ्‍याउँछन्‌: “हामी कहिल्यै पर्याप्त व्यायाम गर्न समय पाउँदैनौं किनकि हामी व्यस्त हुन्छौं। कुकुरले पर्याप्त व्यायम गर्न पाउँदैन किनकि त्यसको मालिक व्यस्त हुन्छन्‌। हामीले आरामले भोजन खानु आवश्‍यक छ र यसो गऱ्‍यौं भने हाम्रो पाल्तु पशुले पनि आरामले खाना खान पाउँछ।” ग्लोब यस्तो चेताउनी दिन्छ, “बढी ओजन भएका पाल्तु पशुहरूलाई मधुमेह, मुटुसम्बन्धी रोग, उच्च रक्‍तचाप र जोर्नीसोथ जस्ता रोगहरू लाग्ने खतरा धेरै हुन्छ। . . . यस्ता पशुहरू स्वस्थ पशुको तुलनामा छिटो मर्छन्‌।” मोटाएका पाल्तु पशुहरूको उपचारमा अक्सर नियन्त्रित भोजन र विशेष गरी कुकुरलाई बढी व्यायम गराइन्छ। (g02 5/8)

प्रकाश प्रदूषण अंकित गर्ने एउटा नयाँ विश्‍व मानचित्र

साइन्स पत्रिकामा प्रकाशित एउटा रिपोर्टले यसो भन्छ, “आकाश गंगा हराइसक्यो, कुनै ब्रह्‍माण्डीय गडबडीले होइन तर जताजतै बढिरहेका शहरहरूको चहकिला प्रकाशहरूले हाम्रो तारापुञ्जका ताराहरूलाई अधिकांश युरोपेली र अमेरिकीहरूको नजरबाट लुकाएको छ। यी कृत्रिम प्रकाशहरूको बिगबिगीले खगोलशास्त्रीहरूलाई दिक्क बनाएको छ किनकि यसले तिनीहरूको निरीक्षणमा दखल पुऱ्‍याउन सक्छ।” दिक्क भएका खगोलशास्त्रीहरूलाई मदत गर्न इटाली तथा संयुक्‍त राज्य अमेरिकाका वैज्ञानिकहरूले एउटा एटलास बनाएका छन्‌ जसले विश्‍वव्यापी प्रकाश प्रदूषणलाई अंकित गर्छ। पहिलेको नक्साले रातमा चहकिलो प्रकाश हुने महाद्विपहरूको सामान्य रूपरेखा मात्र देखाउँथ्यो तर इन्टरनेटमा पनि उपलब्ध यो नयाँ एटलासमा “हरेक महाद्विपको छुट्टा-छुट्टै नक्सा अनि युरोपको कुन ठाउँबाट कुन तारा राम्ररी हेर्न सकिन्छ जस्ता जानकारीहरू पनि समावेश गरिएका छन्‌” भनी साइन्स बताउँछ। (g02 5/22)

विवाह बन्धनमा नबाँधिएका आमाबाबुबाट जन्मेका बच्चाहरू

युरोपेली तथ्यांक निकाय, युरोस्ट्याटका अनुसार हालसालै युरोपेली संघमा ४ जनामा १ जना बच्चा विवाह बन्धनमा नबाँधिएका आमाबाबुबाट जन्मन्छन्‌ भनी जर्मनबाट प्रकाशित हुने भेस्टडुइट्‌सी अल्जिमिनी सिटुंग नामक अखबारले रिपोर्ट गर्छ। यो दर १९८० मा १० जनामा १ जनाभन्दा कम थियो। विवाह बन्धनमा नबाँधिइ बच्चा जन्मने सबैभन्दा कम घटना ग्रीसमा मात्र पाइयो, जहाँ यो दर ४ प्रतिशत थियो। त्यसको ठीक विपरीत स्वीडेनमा जन्मने बच्चाहरूमध्ये आधा त विवाह बन्धनमा नबाँधिएका आमाबाबुबाट जन्मेका हुन्छन्‌। सबैभन्दा ठूलो परिवर्तन त आयरल्याण्डमा भएको छ। यहाँ विवाह बन्धनमा नबाँधिएका आमाबाबुबाट जन्मने बच्चाहरूको संख्या १९८० मा ५ प्रतिशतबाट बढेर २००० मा ३१.८ प्रतिशत पुग्यो। यस्तो उल्लेखनीय वृद्धिले “युरोपेलीहरूको विवाह तथा परिवारप्रतिको दृष्टिकोणमा आमूल परिवर्तन आएको छ भन्‍ने कुरा प्रमाणित हुन्छ,” भनी रिपोर्टले बताउँछ। (g02 5/8)

सय वर्षको उमेरमा खुसी अनि स्वस्थ

योम्युरी शिमबुन अखबारमा प्रकाशित रिपोर्टअनुसार “१०० वर्ष नाघेका ८० प्रतिशत मानिसहरूले आफूलाई शारीरिक अनि मानसिक रूपमा स्वस्थ महसुस गर्छन्‌।” जापानमा शतायु पुग्नेहरूको संख्या १९८१ मा १,००० नाघ्यो र सन्‌ २००० मा त यो संख्या बढेर १३,००० पुग्यो। हालै, जापान फाउन्डेशन अफ हेल्थ एण्ड स्ट्यामिनाले १,९०० भन्दा धेरै शतायु पुग्नेहरूसित सर्वेक्षण लिए र सम्भवतः १०० वर्ष नाघेका बुज्रुकहरूको “जीवनको गुणस्तर”-बारे गरिएको यो सबैभन्दा ठूलो अध्ययन हुन सक्छ। उक्‍त अखबारले यस्तो रिपोर्ट दियो: “स्त्रीहरूको तुलनामा धेरै पुरुषहरूले अर्थात्‌ ४३.६ प्रतिशत पुरुषहरूले अनि २५.८ प्रतिशत स्त्रीहरूले ‘जीवनमा उद्देश्‍य भएको’ कुरा बताए। अधिकांश शतायु पुगेकाहरूले “परिवार,” “दीर्घ जीवन,” अनि “सुस्वास्थ्यको आनन्द उठाउने अनि आनन्दसाथ बाँच्ने” जस्ता कुरालाई आफ्नो जीवनको उद्देश्‍य भनी बताए। अतः योम्युरी शिमबुन यस्तो सल्लाह दिन्छ, “जीवनमा कुनै उद्देश्‍य राखेमा त्यसले हामीलाई दीर्घ जीवन दिन्छ।” (g02 5/8)

यौनमा सक्रिय किशोरकिशोरीहरू

ब्रिटेन फ्यामली म्याटर्स इन्स्टिच्यूटद्वारा प्रेषित रिपोर्टले देखाएअनुसार “छुट्टिएर वा विवाह नगरीकनै सँगै बसेका आमाबाबु भएका किशोरकिशोरीहरूले यौनसम्बन्ध राख्ने सम्भावना दुई गुणा बढी हुन्छ।” लण्डनको गार्डियन बताउँछ। यौनमा सक्रिय १३ वर्षका एक तिहाइ किशोरकिशोरीहरूले कम्तीमा पनि ४ जना यौन साथी फेरिसकेको र आफ्नो कौमार्य गुमाउँदा ५ जना किशोरकिशोरीहरूमध्ये १ जना रक्सीले मात्तिएको पाइयो। उक्‍त रिपोर्टले “बच्चाहरूलाई हुर्काउन एक आदर्श परिवार चाहिने भएकोले विवाह गर्नुपर्ने आवश्‍यकतामा ठूलो जोड दियो।” ‘आमाबाबु तथा किशोरकिशोरीहरुबीच सम्बन्ध राम्रो नहुँदा, कहिलेकाहीं मात्र सम्पर्क हुँदा र खास ध्यान दिन नपाउँदा” यो समस्यालाई झनै चर्काउँछ। रिपोर्ट यस्तो निष्कर्ष दिन्छ: “किशोरकिशोरीहरूका आमाबाबुहरूले आफ्ना बच्चाहरूको आचरणमा सुधार ल्याउन थप जिम्मेवारी वहन नगरेसम्म उमेर नपुगी यौनसम्पर्क राख्नमा कमी आउने छैन अनि किशोरावस्थामै गर्भधारण र यौनजन्य रोगहरूजस्ता समस्याहरू बढ्‌दै जानेछन्‌।” (g02 5/8

निद्राले झुल्ने चालकहरू

निद्रा विशेषज्ञ तथा ट्राफिक सुरक्षा सचेतकहरू चालकहरूलाई अति थकित हुँदा सवारीसाधन नहाँक्न सल्लाह दिन्छन्‌ भनी फ्लीट मेन्टिनेन्स एण्ड सेफ्टी रिपोर्ट-ले बताउँछ। निद्रा अनुसन्धाताहरूले कम्तीमा पनि प्रत्येक रात आठ घण्टा सुत्न सल्लाह दिए तापनि अध्ययनहरूले देखाएअनुसार अधिकांश मानिसहरू त्योभन्दा कम सुत्छन्‌। उन्‍नाइस वर्ष देखि २९ वर्षसम्मका चालकहरूले अरू उमेरका चालकहरूले भन्दा असाध्यै निद्रा लागेको बेला गाडी चलाउने सम्भावना बढी हुनुका साथै निद्राले झुम्म हुँदा गाडी झन्‌ कुँदाउने गर्छन्‌। रिपोर्ट बताउँछ, “रक्सी पिएर गाडी हाँक्दा निदाउने खतरा झनै बढी हुन्छ।” अमेरिकन अटोमोबाइल असोसियसन फाउन्डेसन फर ट्राफिक सेफ्टीका अध्यक्ष डेभिड विलेसका अनुसार, रेडियो बजाउँदैमा वा गाडीको झ्याल खुल्ला राख्दैमा निद्रा भाग्दैन तर निद्राले झुल्नबाट मुक्‍ति पाउन एकछिनको झप्की लाभदायी हुन सक्छ। विलेस जोड दिन्छन्‌, “झुल्नुको एक मात्र उपचार सुत्नु हो।” (g02 5/8)

मानसिक रोगलाई बुझ्ने

विश्‍व स्वास्थ्य संगठन यस्तो रिपोर्ट दिन्छ, “विश्‍वभरि चार जनामा एक जना मानिस आफ्नो जीवनकालमा कुनै न कुनै समय मानसिक वा स्नायुसम्बन्धी गडबडीबाट पीडित हुनेछन्‌।” अधिकांश मानसिक रोग निको पार्न सकिने भए तापनि यसबाट पीडित झन्डै दुई तिहाइ मानिसहरू कहिल्यै विशेषज्ञहरूको मदत खोज्दैनन्‌। विश्‍व स्वस्थ्य संगठनका महानिर्देशक डा. ग्रो हार्लेम ब्रन्टल्यान यसो भन्छिन्‌, “मानसिक रोग व्यक्‍ति आफैले निम्त्याएको असक्षमता होइन। वास्तवमा कुनै व्यक्‍तिमा असक्षमता छ वा छैन भन्‍ने कुरा तिनीहरूसित गर्ने कुराकानीबाट पत्ता लाग्छ।” तिनी अझै यसो भन्छिन्‌, “मलाई आशा छ यस रिपोर्टले लामो समयदेखि विद्यमान शंका अनि गलत धारणाहरूलाई हटाउनेछ अनि मानसिक स्वास्थ्य क्षेत्रमा एउटा नौलो जनस्वास्थ्य युगको थालनी गर्नेछ।” वर्तमान स्वास्थ्य अवस्थालाई विचार गर्ने हो भने, “सन्‌ २०२० भित्रमा इस्केमिया नामक मुटुसम्बन्धी रोगपछि मानसिक रोग अरू सबै रोगहरूभन्दा अघि आउनेछ भनी विश्‍व स्वास्थ्य संगठन बताउँछ। यद्यपि, राम्रो उपचारद्वारा पीडितहरू “फलदायी जीवन बिताउन अनि समाजको एक महत्त्वपूर्ण भाग बन्‍न सक्छन्‌।” (g02 5/22)

मार्बललाई मूल स्थितिमा ल्याउने आधुनिक प्रविधि

“वैज्ञानिकहरूले एउटा हलचल मच्चाउने प्रविधि विकास गरेका छन्‌। जसद्वारा तिनीहरूले केही दिनमै ब्याक्टेरियाद्वारा मार्बल उत्पादन गर्न सक्छन्‌” भनी लण्डनबाट प्रकाशित द टाइम्स बताउँछ। माटोमा पाइने सूक्ष्म क्यालसिनोजेनिक ब्याक्टेरियालाई प्रयोगशालामा एकै ठाउँमा राखी पेक्टिन मिसिएको झोलमा हुर्काइन्छ। ब्याक्टेरिया खनिज पदार्थयुक्‍त आहारा सकिएपछि मर्छन्‌ र त्यसपछि शुद्ध क्याल्सियम कार्बोनेट अर्थात्‌ मार्बलको घोल उत्पादन हुन्छ। निकै पुरानो भएकोले वा घाम पानीले क्षतिग्रस्त भएका मूर्ति वा अन्य मार्बलका सतहहरूमा यो घोल छर्कदा एउटा पातलो तह बन्छ जुन पत्थरको सतह भित्रसम्म पस्छ र टुक्रिएको पत्थरहरूलाई जोड्‌छ। बेलाइतको मर्सीसाइडस्थित नेशनल म्युजियम एण्ड ग्यालरीका मूर्ति संरक्षण शाखाका प्रमुख जोन लार्सन भन्छन्‌, अहिले उच्च गुणस्तरको मार्बलको अभाव भइरेहको बेला, निकै सस्तो अनि कुनै प्रतिकूल असर नपार्ने गरी निकै छोटो समयमा धेरै मात्रामा मार्बलका घोलहरू उत्पादन गर्न सकिने यो नयाँ प्रविधि निकै फाइदाजनक साबित भएको छ। (g02 5/22)

परमेश्‍वरको नाउँमा चोरी

उत्तर अमेरिकी सुरक्षा प्रशासक संघका अध्यक्ष डेबोरा बोर्टनरले यसो भने, “म सुरक्षा प्रशासक भएको २० वर्ष भइसक्यो र मैले अन्य तरिकामा भन्दा परमेश्‍वरकै नाउँमा धेरै चोरी भएको देखेको छु। कसैले तपाईंको धर्म र विश्‍वासको नाउँमा लगानी गर्न आग्रह गऱ्‍यो भने त्यसो गरिहाल्नु उचित होइन। क्रिश्‍चियन सेन्चुरी नामक पत्रिकाअनुसार “गत तीन वर्षमा २७ प्रान्तका सुरक्षा प्रशासकहरूले सयौं व्यक्‍ति तथा कम्पनीहरू विरुद्ध कारबाही गरेका छन्‌ जसले लगानीकर्ताहरूको भरोसा जित्न आध्यात्मिक अनि धार्मिक विश्‍वासलाई चलाए। . . . सबैभन्दा कुख्यात घटनाको रूपमा [पाँच वर्ष भित्रमा] एउटा प्रोटेस्टेन्ट संस्थाले विश्‍वभरिका १३,००० भन्दा धेरै लगानीकर्ताहरूबाट ५९ करोड अमेरिकी डलरभन्दा धेरै रकम उठाए। उक्‍त संस्थालाई १९९९ मा प्रान्तिय प्रशासकहरूले बन्द गराए र त्यस संस्थाका तीन जना अधिकृतहरूमाथि ठगी गरेको अभियोगमा दोषी ठहराइयो।” अन्य तीन घटनाहरूमा “१.५ अरब अमेरिकी डलर ठगी गरेका थिए,” भनी क्रिश्‍चियन सेन्चुरी रिपोर्ट गर्छ। (g02 5/22)