सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

असहिष्णु युगमा सहिष्णु राज्य

असहिष्णु युगमा सहिष्णु राज्य

असहिष्णु युगमा सहिष्णु राज्य

“हरेक व्यक्‍तिले कुनै करकापविना आफूलाई मन परेको धर्म अँगाल्न सक्छ र तिनीहरूले आफ्नै विश्‍वासका प्रचारकहरूलाई समर्थन गर्न सक्नेछन्‌।”

तपाईंको अनुमानअनुसार ती शब्दहरू कहिले लेखिएका थिए? थुप्रैले यी शब्दहरू आधुनिक समयको कुनै संविधान वा विधेयकबाट लिइएको अनुमान लगाउँछन्‌ होला।

तथापि, यो घोषणा ४०० वर्षअघि गरिएको थियो भनेर थाह पाउँदा तपाईंलाई छक्क लाग्न सक्छ। अनि त्यसमाथि, त्यो देश एक अर्थमा असहिष्णु समुद्रको बीचमा रहेको सहिष्णु टापुजस्तै थियो। त्यो कुन देश थियो? सबैभन्दा पहिला यस कथाको पृष्ठभूमिलाई विचार गर्नुहोस्‌।

जताततै असहिष्णुता

मध्ययुगभरि नै धार्मिक असहिष्णुता व्याप्त थियो र १६ औं शताब्दीमा यसले झनै उग्र रूप लियो। धर्मले गर्दा इंगल्याण्ड, जर्मनी, नेदरल्याण्ड्‌स तथा फ्रान्सजस्ता देशहरूमा रक्‍तपातपूर्ण भयानक युद्ध चर्कियो। सन्‌ १५२० र १५६५ को बीचतिर पश्‍चिमी मसीहीजगत्‌मा झन्डै ३,००० मानिसहरूलाई धर्मविरोधीहरूको अभियोगमा मृत्युदण्ड दिइयो। विशेष गरी धर्मसम्बन्धी मूल्य-मान्यताहरूमाथि प्रश्‍न गरिंदा प्रायजसो विरोधको सामना गर्नुपर्थ्यो।

पहिलेदेखि नै विवादमा मुछिएको क्याथोलिक चर्चको एउटा शिक्षा त्रिएक थियो जसअनुसार परमेश्‍वर तीन जना व्यक्‍ति मिलेर बनेको हुन्छ। वास्तवमा “मध्ययुगमा क्याथोलिक शास्त्रविद्‌हरू र अझ पोपहरू आफैबीच पनि यस विषयमा धेरै बहस हुने गर्थ्यो” भनेर इतिहासकार अर्ल मोर्स विल्बर्न वर्णन गर्छन्‌। तथापि, यस्ता धार्मिक शिक्षाहरूलाई “दैवी रहस्यको” रूपमा स्वीकारोस्‌ भनेर आशा गरिने साधारण जनताहरूसम्म त्यस्ता बहसहरूको निचोड विरलै पुग्थ्यो।

यद्यपि, १६ औं शताब्दीमा कसै-कसैले त्यस्तो परम्परालाई तोडेर त्यस्ता रहस्यहरूलाई स्पष्ट पार्न धर्मशास्त्रहरू जाँच्ने निर्णय गरे। तिनीहरूको लक्ष्य सोला स्क्रिप्च्युरा (धर्मशास्त्र मात्र) थियो। त्रिएकको शिक्षा अस्वीकार गर्नेहरूमध्ये त्रिएकवादीहरूभन्दा भिन्‍न भनेर चिनाउन पछि युनिटरीयन भन्‍ने नाउँ धारण गरेका कसै-कसैले क्याथोलिक तथा प्रोटेस्टेन्टहरूबाट कठोर सतावट भोग्नुपऱ्‍यो। तिनीहरूले आफ्ना ख्याति प्राप्त कृतिहरू उपनाउँहरू राखेर छाप्ने र सतावटबाट बच्न लुक्ने गर्न थाले। सहिष्णुताको यस युद्धमा त्रिएक विरोधीहरू पनि अघि नै थिए। स्पेनी धर्मविद्वान्‌ माइकल सर्बेटस जस्ता व्यक्‍तिहरूले आफ्नो विश्‍वासको लागि ज्यानसमेत गुमाए। a

सहिष्णुताद्वारा एकताबद्ध

एउटा देशले चाहिं धार्मिक युद्ध लड्‌नु वा भिन्‍न मत मान्‍नेहरूलाई सताउनुको सट्टा एउटा एकदमै फरक तरिका अपनायो। त्यो उहिले राजकुमारद्वारा शासित स्वायत्त राष्ट्र ट्रान्सिल्भेनिया थियो जुन हाल पूर्वी युरोपीय देश रोमानियामा गाभिएको छ। हंगेरीका इतिहासकार काटालिन पिटरले वर्णन गरेअनुसार ट्रान्सिल्भेनियाका ओजस्वी रानी इसाबेलले “धार्मिक युद्धमा नमुछिईकन विभिन्‍न सम्प्रदायहरूको संरक्षकको भूमिका निर्वाह गरिन्‌।” सन्‌ १५४४ र १५७४ बीच ट्रान्सिल्भेनियाको संसद्‌ वा सभाले धार्मिक स्वतन्त्रता दिन २२ बुँदे ऐन पास गऱ्‍यो।

उदाहरणको लागि, १५५७ मा टोर्डा शहरको सभामा रानी तथा तिनका छोराले मिलेर यस्तो उर्दी घोषणा गरे, “हरेक व्यक्‍तिले पुराना वा नयाँ रीतिथितिलगायत आफूले चाहेको धार्मिक विश्‍वास मान्‍नसक्छन्‌। तथापि, विश्‍वासको सन्दर्भमा तिनीहरूले आफूखुसी निर्णय गर्न सक्छन्‌ जबसम्म तिनीहरूले अरू कसैलाई हानि पुऱ्‍याउँदैनन्‌।” यो ऐनलाई “कुनै राष्ट्रमा धार्मिक स्वतन्त्रता दिने ग्यारेन्टी दिइएको पहिलो विधान” भनिएको छ। सन्‌ १९५९ देखि शासन गर्न थालेका इसाबेलको छोरा, जोन द्वितीय सिगिसमण्डको शासनकालमा ट्रान्सिल्भेनियामा धार्मिक सहिष्णुता चरम पराकाष्ठामा पुग्यो।

आमविवाद

ट्रान्सिल्भेनियाको त्रिएक विरोधी आन्दोलनका अर्का महत्त्वपूर्ण व्यक्‍तित्व इटालीका चिकित्सक जर्जियो बियान्ड्राटा थिए। थुप्रै त्रिएक विरोधी शरणार्थीहरूले आश्रय पाएको इटाली र स्वीट्‌जरल्याण्डमा समय बिताउँदा तिनमा पनि त्रिएक प्रति शंका उब्जेको हुन सक्छ। पोल्याण्डमा सरेपछि बियान्ड्राटाले पछि पोलिश ब्रेथरेन भनेर चिनिएको माइनर चर्चको प्रवर्द्धन गर्न यथासक्दो गरे। b सन्‌ १५६३ मा तिनी सिगिसमण्डको चिकित्सक तथा सल्लाहकार नियुक्‍त भए र तिनी ट्रान्सिल्भेनिया सरे।

ट्रान्सिल्भेनियामा त्रिएकमाथि प्रश्‍न खडा गर्ने अर्का शिक्षित व्यक्‍तित्व रिफोर्मड चर्चका सुपरिवेक्षक तथा दरबारका प्रचारक फ्रान्सिस डेविड थिए। त्रिएकसित सम्बन्धित जटिल शिक्षाबारे तिनले यस्तो लेखे: “मुक्‍ति पाउन यी कुराहरू आवश्‍यक भएका भए कुनै पनि लेखपढ गर्न नजान्‍ने मसीहीहरू बच्ने थिएनन्‌ भन्‍ने कुरामा कुनै शंका छैन किनभने तिनीहरूले यी कुराहरू आफ्नो जीवनभरै बुझ्न सक्ने थिएनन्‌।” डेविड र बियान्ड्राटा दुवै मिलेर सर्भेटसका केही कृतिहरू समावेश भएको पुस्तक प्रकाशित गरे र त्यसलाई सिगिसमण्डलाई समर्पण गरे।

त्रिएकमाथिको विवाद चर्किन थाल्यो र यस विषयमाथि सार्वजनिक बहस गर्न माग गरियो। सोला स्क्रिप्च्युरा-को सिद्धान्तअनुरूप बियान्ड्राटाले त्यस्तो बहसमा दार्शनिक होइन तर धर्मशास्त्रीय भाषा मात्र प्रयोग गर्न आग्रह गरे। कुनै टुंगो नलागेको सन्‌ १५६६ को बहसपछि सिगिसमण्डले त्रिएक विरोधीहरूलाई आफ्नो विचारधारा फैलाउनको लागि छापाखाना दिए।

बियान्ड्राटा र डेविडले आफ्नो कार्यमा जोसका साथ लागे र तिनीहरूले डे फल्सा एट भेरा युनियस डेइ पाट्रिस, एट स्पिरीट्‌स साङटी कोग्निसियने (पिता अर्थात्‌ परमेश्‍वर, पुत्र तथा पवित्र आत्माको एकताबारे साँचो र झूटो ज्ञान) नामक पुस्तक प्रकाशित गरे। त्यस पुस्तकमा त्रिएकमाथि विश्‍वास गर्न इन्कार गर्नेहरूबारे ऐतिहासिक अनुसन्धान पनि समावेश थियो। एउटा अध्यायमा विभिन्‍न चर्चहरूले त्रिएकलाई जसरी कल्पना गर्थे त्यसका चित्रहरू छापिएको थियो। तिनीहरूका विरोधीहरू चकित परे र ती चित्रहरू अपमानजनक छन्‌ भन्दै सम्पूर्ण प्रतिहरू नष्ट पार्ने कोसिस गरे। यो विवादास्पद प्रकाशनले गर्दा बहसहरू झन्‌ झनै बढ्‌न थाल्यो। त्यसको प्रत्युत्तरमा सिगिसमण्डले दोस्रो बहसको आयोजना गरे।

युनिटरियनहरूको विजय

त्यो बहस मार्च ३, १५६८ का दिन बिहान पाँच बजे सुरु भयो। ल्याटिन भाषामा सञ्चालन गरिएको उक्‍त कार्यक्रम दस दिनसम्म चल्यो। ट्रान्सिल्भेनियन रिफोर्मड चर्चका नेता पिटर मेलियसले त्रिएकका पक्षधरहरूको नेतृत्व लिए। तिनी र त्रिएकको पक्षमा बहस गर्नेहरूले धार्मिक सिद्धान्तहरू, चर्चका फादरहरू, अर्थोडक्स धर्मसिद्धान्त र बाइबलको प्रयोग गरे। अर्कोतिर डेविडले बाइबल मात्र प्रयोग गरे। डेविडले पितालाई परमेश्‍वरको रूपमा चिनाए भने, पुत्रलाई पिताको अधीनमा हुनुहुने र आत्मालाई परमेश्‍वरको शक्‍तिको रूपमा चिनाए। धार्मिक कुराहरूमा गहिरो चासो दिंदै सत्य कुरा प्रस्ट पार्ने सबैभन्दा उत्तम तरिका यही बहस हो भन्‍ने सोचाइ राख्दै सिगिसमण्डले पनि त्यसमा भाग लिए। कुनै कुनै बेला चर्काचर्की भए तापनि तिनको उपस्थितिले स्वतन्त्र अनि खुलस्त ढंगले बहस गर्न मदत गऱ्‍यो।

त्यो बहसलाई त्रिएक विरोधीहरूको विजयको रूपमा लिइयो। डेविडलाई आफ्नो गृहनगर कोलोज्भारमा (हाल रोमानियाको क्लुजनापोका) भव्य स्वागत गरियो। केही कथनअनुसार तिनी त्यहाँ पुगेपछि सडकको कुनामा रहेको ठूलो ढुंगामाथि उभिएर आफ्नो विश्‍वासहरूबारे यस्तो यकिनका साथ बोले कि सबै जना तिनको शिक्षालाई स्वीकार्न राजी भए।

धर्म परिवर्तन र मृत्यु

पहिलेको बहस शिक्षितहरूले मात्र बुझ्ने ल्याटिन भाषामा सञ्चालन गरिएको थियो। तथापि, डेविड आफ्नो सन्देश जनसाधारणसम्म पुऱ्‍याउन चाहन्थे। त्यसैले सिगिसमण्डको स्वीकृति लिएर अर्को बहस हंगेरी भाषामा नाग्यभरडमा (हाल रोमानियाको ओरेडिया) अक्टोबर २०, १५६९ का दिन सञ्चालन गरियो। फेरि त्यहाँ पनि सिगिसमण्डले दुवै पक्षहरूको बीचमा मध्यस्थको रूपमा काम गरे।

त्रिएकका पक्षधर पिटर मेलियसले अघिल्लो रात एउटा दर्शनमा प्रभुले तिनलाई आफ्नो असली रूप प्रकट गर्नुभएको घोषणा गरे। त्यसपछि राजाले यस्तो जवाफ दिए: “पास्टर पिटर, यदि गएको रात तिमीलाई परमेश्‍वरको पुत्र को हो भनेर सिकाइएको भए तिमी आजसम्म के प्रचार गर्दैथियौ त? उसोभए, तिमीले आजसम्म मानिसहरूलाई बहकाइरहेका रहेछौ!” मेलियसले डेविडलाई गाली गर्न थाल्दा सिगिसमण्डले तिनलाई हकार्दै “विश्‍वास भनेको परमेश्‍वरको वरदान हो” र “अन्तस्करणमाथि जबरजस्ती गर्नुहुँदैन” भनेर त्यस त्रिएकवादीलाई सम्झाए। त्यस बहसको समापनमा सम्बोधन गर्दै राजाले यसो भने: “हाम्रो शासनकालभरि यस राज्यमा अन्तस्करणको स्वतन्त्रता होस्‌ भन्‍ने हामी अपेक्षा गर्छौं।”

त्यस बहसपछि सिगिसमण्ड र तिनका दरबारमा थुप्रै मानिसहरू युनिटरियनहरूको पक्षमा खडा भए। सन्‌ १५७१ मा युनिटरियन चर्चलाई कानूनी मान्यता प्रदान गरिएको शाही उर्दी निकालियो। ट्रान्सिल्भेनिया एउटा मात्र त्यस्तो ठाउँ थियो जहाँ युनिटरियनहरूले पनि क्याथोलिक, लुथरान र क्याल्भेनिस्टहरूले जत्तिकै मान्यता पाएका थिए र त्रिएक विरोधी विश्‍वासलाई स्वीकार्ने एक मात्र राजाको रूपमा सिगिसमण्ड परिचित भए। दुःखको कुरा, त्यसको केही समयपछि डेविड र ब्लान्ड्राटासित सिकार खेल्न गएको बेला ती ३० वर्षीय राजा घाइते भए र त्यसको केही महिनापछि तिनको मृत्यु भयो।

क्याथोलिक धर्म मान्‍ने तिनका उत्तराधिकारी स्टेभेन ब्याथोरीले त्यस कानूनी मान्यता पाएको धर्मको सुरक्षा गर्ने वचनबद्धता व्यक्‍त गरे तापनि थप परिवर्तनहरू सह्‍य हुनेछैन भन्‍ने संकेत दिए। सुरुमा तिनले आफू अन्तस्करणको नभई मानिसहरूको मात्र शासक भएको कुरा बताए। तर चाँडै नै विश्‍वासको आदानप्रदान गर्ने माध्यम अर्थात्‌ पुस्तकहरूको प्रकाशनमै बन्देज लगाए। डेविडले आफ्नो ओहदा गुमाए र राजदरबार तथा सरकारी ओहदाहरूबाट अरू युनिटरियनहरूलाई पनि निकालियो।

डेविडले ख्रीष्टको उपासना गर्नुहुँदैन भनेर सिकाउन थालेपछि तिनलाई प्रचार नगर्न आदेश जारी गरियो। त्यस प्रतिबन्धका बावजूद तिनले त्यसको लगत्तैको आइतबार दुइपल्ट प्रचार गरे। तिनलाई गिरफ्तार गरियो धर्म “परिवर्तन” गर्न खोजेको आरोपमा आजीवन कारावासको सजाय सुनाइयो। सन्‌ १५७९ मा शाही कारागारमै तिनको मृत्यु भयो। मर्नुअघि तिनले आफ्नो कोठाको भित्तामा यस्तो लेखे: “सत्यको यस यात्रालाई न त पोपहरूको तरवारले . . . न मृत्युको डरले रोक्न सक्नेछ। मेरो मृत्युपछि झूटा अगमवक्‍ताहरू ढल्नेछन्‌ भनेर म विश्‍वस्त छु।”

राजकीय पाठ

राजा जोन सिगिसमण्डले शिक्षा, संगीत र कलाको प्रबर्धन गरे। तथापि, तिनको जीवन छोटो हुनुका साथै प्रायजसो बिरामी भइरहन्थे। तिनको शासनकाल आफ्नै देशबाट मात्र नभई बाहिरी मुलुकहरूबाट पनि खतराले भरिएको थियो। किनभने झन्डै नौ चोटि तिनलाई मार्ने प्रयास गरिनुका साथै विदेशी शक्‍तिहरूले विद्रोहीहरूलाई बारम्बार उक्साए। यस सहिष्णु राजाको धार्मिक दृष्टिकोणका कारण तिनलाई प्रायजसो निष्ठुर व्यवहार गरिन्थ्यो। एक जना विरोधीले पछि राजा “नरकमा गए भन्‍ने कुरामा कुनै शंका छैन” समेत भने।

तथापि, इतिहासकार विलबुर त्यसबेलाको वास्तविक परिस्थितिबारे यसो भन्छन्‌: “राजा जोन [सिगिसमण्डले] प्रायजसो निरंकुशतासाथ सताइएका आन्दोलनकारी सम्प्रदायहरूलाई समेत पूर्णतया धार्मिक स्वतन्त्रता दिने आफ्नो अन्तिम बडापत्र प्रस्तुत गर्दा प्रोटेस्टेन्ट धर्मविद्वान्‌हरू सर्भेटसलाई जिउँदै जलाएकोमा क्याल्भिनको प्रशंसा गर्दै थिए जसको धर्म विरोधीहरूलाई खोजेर सताउने अभियानले नेदरल्याण्ड्‌समा प्रोटेस्टेन्टहरूलाई नै मारिरहेका थिए। . . . अनि बेलाइतमा ४० वर्षपछि मात्र गलत धार्मिक विचारधारा भएका व्यक्‍तिहरूलाई शूलीमा टाँगेर जिउँदै जलाउने प्रथामाथि रोक लगाइयो।”

वास्तवमा, एक जना टिप्पणीकारले यसबारे यसो भने, “जुनसुकै स्तरबाट अझ खास गरी तिनको आफ्नो समयको स्तरबाट हेर्ने हो भने राजा जोन सिगिसमण्ड एक जना उल्लेखनीय शासक थिए। . . . तिनले देखाएको सहिष्णुता तिनको शासनकालको विशेषता थियो।” धार्मिक शान्ति हुनु भनेको राष्ट्रकै हित हो भन्‍ने बुझेर तिनी अन्तस्करण तथा धार्मिक स्वतन्त्रताको उत्कट संरक्षक भए।

हाम्रो दिनमा असहिष्णुताले झनै विकृत रूप लिइरहेको बेला हामीले प्राचीन समयको त्यो सानो राज्यबाट पाठ सिक्न सक्छौं। छोटो समयको लागि ट्रान्सिल्भेनिया असहिष्णु युगको सहिष्णु राज्य साबित भयो। (g02 6/22)

[फुटनोटहरू]

a नोभेम्बर २२, १९८८ को अवेक! पृष्ठ १९-२२ हेर्नुहोस्‌।

[पृष्ठ १४-मा भएको ठूलो अक्षरको क्याप्सन]

“अन्तस्करणमाथि जबरजस्ती गर्नुहुँदैन . . . हाम्रो शासनकालभरि यस राज्यमा अन्तस्करणको स्वतन्त्रता होस्‌ भन्‍ने हामी अपेक्षा गर्छौं।”— राजा जोन द्वितीय सिगिसमण्ड

[पृष्ठ १२, १३-मा भएको चित्र]

जर्जियो बियान्ड्राटा

त्रिएकवादीहरूलाई चकित तुल्याएका दुई चित्रहरूसहित बियान्ड्राटा र डेविडले छापेका पुस्तकका पृष्ठहरू

टोर्डाको सभाअगाडि फ्रान्सिस डेविड

[स्रोत]

Two Trinity line drawings: © Cliché Bibliothèque nationale de France, Paris; all other photos: Országos Széchényi Könyvtár

[पृष्ठ १४-मा भएको चित्रको स्रोत]

Pages 2 and 14: Országos Széchényi Könyvtár