के मसीहीहरूले अरूलाई प्रचार गर्नु उचित छ?
बाइबलको दृष्टिकोण
के मसीहीहरूले अरूलाई प्रचार गर्नु उचित छ?
सायद तपाईं हुर्कनु भएको ठाउँमा वा तपाईंको संस्कृतिले परिवार वा चर्चभन्दा बाहिर धर्मबारे कुराकानी गर्न वर्जित गरेको होला। फलस्वरूप कुनै पूर्वसूचनाविना हातमा बाइबल लिएर कोही तपाईंको घरमा आएमा तपाईं रिसाउनु हुन्छ होला। मानिसहरूलाई मुक्ति दिने बहानामा विगतमा धर्मले गरेका हिंसात्मक कार्यहरूले गर्दा पनि कतिपय व्यक्तिहरू यस्तो दृष्टिकोण राख्छन्।
ख्रीष्टप्रतिको प्रेमले उत्प्रेरित नभई धर्म परिवर्तन नगरे मारिने डरले मानिसहरूको विशाल समूहले धर्म परिवर्तन गरेको कुरा थुप्रै राष्ट्रहरूको इतिहासमा पाइन्छ। कतिपयले भने आफूलाई सताउनेहरूको धर्म अँगाल्नुभन्दा लुके, घरबार तथा देश छाडे वा आफ्नो ज्यान गुमाए अनि कति त शूलीमा जिउँदै जलाइए।
बाइबलका प्रेरित लेखोटहरूले यसरी जबरजस्ती धर्म परिवर्तन गराउने कार्यलाई समर्थन गर्दैन। त्यसो भए, के यसले आफ्नो धार्मिक विश्वासबारे अरूलाई बताउनबाट रोक्छ त? बाइबल आफैले यसको जवाफ दिन्छ।
अख्तियार भएकोले जस्तो गरी सिकाउने
सर्वप्रथम, येशू ख्रीष्टले बसाल्नुभएको उदाहरणलाई विचार गर्नुहोस्। उहाँ आफ्ना स्रोताहरूको जीवनमा प्रभाव पार्ने सिपालु शिक्षक हुनुहुन्थ्यो। (यूहन्ना १३:१३, १५) डाँडाको उपदेशमा उहाँको शिक्षा सरल तर प्रभावशाली थियो। “भीड उहाँका शिक्षाले छक्क परे। किनकि उहाँले . . . अख्तियार भएकाले जस्तो गरी सिकाउनुहुन्थ्यो।” (मत्ती ७:२८, २९) लगभग २,००० वर्षपछि पनि उहाँका शिक्षाहरू जस-जसले जाँच्छन्, तिनीहरूको जीवनमा यसले अझै प्रभाव पार्छ। यस कुराको पुष्टि गर्दै प्राध्यापक हान्स डिटर बेट्सले यसो भने, “सामान्यतया डाँडाको उपदेशले पारेको प्रभाव यहूदीधर्म र मसीहीधर्म वा पश्चिमेली संस्कृतिको परिधिभित्र मात्र सीमित छैन।”
आफूले सुरु गरेको सिकाउने काम आफ्नो मृत्यु पछि पनि कायमै रहोस् र अझ फैलँदै जाओस् भनेर येशूले आफू स्वर्ग जानुअघि एउटा आज्ञा दिनुभयो। (यूहन्ना १४:१२) उहाँले आफ्ना चेलाहरूलाई सबै देशका मानिसहरूकहाँ जान र आफूले आज्ञा गरेका ‘सबै गर्नालाई तिनीहरूलाई सिकाउने’ निर्देशन दिनुभयो। यस कार्यभारको प्रमुख उद्देश्यलाई स्पष्ट पार्दै येशूले यसो भन्नुभयो: ‘यसकारण गएर चेला बनाओ।’—मत्ती २८:१९, २०; प्रेरित १:८.
प्रेरित पावलको उदाहरणलाई पनि विचार गर्नुहोस्। आफूले मसीहीधर्म अंगालिसकेपछि पावल आफ्नो नयाँ विश्वासबारे बताउन सर्माएनन्। (प्रेरित ९:१७-१९, २२) सभाघरहरूमा बोल्नु र “ख्रीष्टलाई अवश्य दुःख भोग्नुपर्थ्यो, र मरेकोबाट बिउँतनैपर्थ्यो” भनी प्रमाणित गर्नु पावलको आदत नै थियो। “यहूदीहरू र ग्रीकहरूलाई मनाउन” तिनले सिपालु ढंगमा “धर्मशास्त्रबाट तिनीहरूसित बहस गर्दैरहे।” एउटा सन्दर्भसामग्रीअनुसार “मनाउन” भन्ने युनानी शब्दले “तर्क वा सही गलत छुट्याउन मदत गरेर मनमा परिवर्तन ल्याउनु” भन्ने अर्थ बुझाउँछ। पावलले मानिसहरूसँग यस्तो तरिकाले तर्क गरे कि तिनले ‘धेरै मानिसहरूलाई मनाउन’ सके।—प्रेरित १५:३; १७:१-४, १७; १८:४; १९:२६.
जबरजस्ती गर्नु वा मनाउनु—कुनचाहिं?
आज “धर्म परिवर्तन” भन्ने शब्द कुनै एउटा धर्मबाट बलजफती अर्को धर्ममा लगाउनु भन्ने अर्थ बुझाउन प्रयोग गरिन्छ। बाइबलले यस्तो कार्यलाई समर्थन गर्दैन। बरु, मानिसहरू आफ्नो जीवन कसरी बिताउने भनेर आफैले रोज्न सक्ने सुअवसर तथा जिम्मेवारी महसुस गरेर असल र खराब छुट्याउन सक्ने स्वतन्त्र प्राणीहरू थिए भनी बाइबलले बताउँछ। यसमा परमेश्वरको उपासना कसरी गर्ने भन्ने निर्णय पनि समावेश छ।—व्यवस्था ३०:१९, २०; यहोशू २४:१५.
येशूले आफ्नो असाधारण शक्ति तथा अख्तियार आफ्ना शिक्षाहरू स्वीकार्नको लागि अरूलाई दबाउ दिने वा जबरजस्ती गर्नेजस्ता कार्यहरूमा प्रयोग नगरेर उहाँले यस ईश्वर-प्रदत्त अधिकारको सम्मान गर्नुभयो। (यूहन्ना ६:६६-६९) उहाँले श्रोताहरूको हृदयसम्म पुग्ने उद्देश्यपूर्ण उचित तर्क, उदाहरण तथा दृष्टिकोण बुझ्ने प्रश्नहरू चलाएर तिनीहरूलाई उत्प्रेरित गर्नुभयो। (मत्ती १३:३४; २२:४१-४६; लूका १०:३६) येशूले आफ्ना चेलाहरूलाई पनि अरूप्रति यस्तै आदर देखाउन सिकाउनुभयो।—मत्ती १०:१४.
पावलले आफ्नो सेवकाईमा येशूलाई नमुनाको रूपमा पछ्याए भन्ने कुरा प्रस्ट छ। उचित धर्मशास्त्रीय तर्क चलाएर आफ्ना श्रोताहरूलाई मनाउँदा, पावलले अरूको भावना तथा दृष्टिकोणप्रति आदर देखाए। (प्रेरित १७:२२, २३, ३२) हाम्रो सृष्टिकर्ताको सेवामा सक्रिय हुन उत्प्रेरित गर्ने कुरा परमेश्वर तथा ख्रीष्टप्रतिको प्रेम हुनुपर्छ भनी तिनले बुझे। (यूहन्ना ३:१६; २१:१५-१७) त्यसकारण यस सम्बन्धमा हाम्रो आफ्नै व्यक्तिगत निर्णय हुनुपर्छ।
व्यक्तिगत निर्णय
कुन घर किन्ने, कहाँ जागिर खाने र बच्चाहरू कसरी हुर्काउने भन्नेजस्ता जीवनका महत्त्वपूर्ण निर्णयहरू गर्दा विवेकशील व्यक्तिहरूले आवेगमा आएर गर्दैनन्। तिनीहरूले विकल्पहरू खोज्छन्, थाह पाएका कुराहरूमा मनन गर्छन् र सम्भवतः अरूको सल्लाह लिन्छन्। यी कुराहरूलाई विचार गरेपछि मात्र तिनीहरूले निर्णय गर्छन्।
परमेश्वरको उपासना कसरी गर्ने भनी निर्णय गर्दा जीवनका अरू कुनै पनि निर्णयहरू गर्नभन्दा बढी समय खर्च तथा प्रयास गर्नुपर्ने हुन्छ। यसले हामी वर्तमान जीवन कसरी बिताउँछौं, त्यसलाई असर गर्छ भने अझ महत्त्वपूर्ण कुरा भविष्यमा अनन्त जीवनको प्रत्याशालाई असर गर्छ। प्रथम शताब्दीका बिरियाका मसीहीहरूले यो कुरा राम्रोसँग बुझेका थिए। तिनीहरूलाई प्रेरित पावल आफैले सुसमाचार सुनाएको भए तापनि आफूले सिक्दै गरेको कुरा साँचो हो कि होइन भनी पक्का गर्न तिनीहरूले ध्यानपूर्वक दिनहुँ धर्मशास्त्र जाँचे। फलस्वरूप, “तिनीहरूमध्ये धेरैले विश्वास गरे।”—प्रेरित १७:११, १२.
आज, यहोवाका साक्षीहरूले येशूले अह्राउनुभएअनुसार सिकाउने र चेला बनाउने काम गरिरहेका छन्। (मत्ती २४:१४) तिनीहरू आफ्नो धर्म आफैले रोज्न पाउने अरूको अधिकारको सम्मान गर्छन्। तर आफ्नो धार्मिक विश्वास अरूलाई बताउने सन्दर्भमा तिनीहरू बाइबलमा दिइएको उदाहरण पछ्याउँछन्। हो, आफूलाई जीवनदायी लागेको कुराबारे तिनीहरू धर्मशास्त्रबाट निष्कपट तर्क गर्छन्।—यूहन्ना १७:३; १ तिमोथी ४:१६. (g02 6/8)