सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जब दासत्वको अन्त हुनेछ!

जब दासत्वको अन्त हुनेछ!

जब दासत्वको अन्त हुनेछ!

स्वतन्त्रता ! मानव हृदयका लागि यो शब्दभन्दा सायदै अरू शब्दहरू प्रिय होलान्‌। स्वतन्त्रता प्राप्त गर्नको लागि मानिसहरूले संघर्ष गरेका छन्‌, कतिपयले ज्यान गुमाएका छन्‌ भने अरू अझै पनि लड्‌दैछन्‌। तथापि, दुःखको कुरा, त्यो लक्ष्य हासिल गर्ने थुप्रैको प्रयासले वास्तविक सफलता प्राप्त गर्न सकेको छैन। के दासत्वबाट स्वतन्त्र हुने त्यस्तो कुनै आशा छ जुन निराशा र दिक्दारीमा परिणत हुँदैन? अवश्‍य छ।

प्रेरित पावल परमेश्‍वरको प्रतिज्ञाबारे यस्तो लेख्न उत्प्रेरित भए: “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।” (रोमी ८:२१) तर परमेश्‍वरले यस्तो “महिमाको स्वतन्त्रता” ल्याउनु हुनेछ भनेर हामी कसरी पक्का हुन सक्छौं? एउटा तरिका विगतमा परमेश्‍वरले मानिसजातिसँग गर्नु भएको व्यवहार केलाएर हो।

“जहाँ प्रभुका आत्मा हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ,” भनी बाइबल बताउँछ। (२ कोरिन्थी ३:१७) हो, परमेश्‍वरको आत्मा वा सक्रिय शक्‍ति एकदमै शक्‍तिशाली छ। उहाँले विभिन्‍न प्रकारका दासत्वहरूबाट छुटकारा प्रदान गर्नको लागि धेरै पहिलेदेखि आफ्नो सक्रिय शक्‍ति चलाउँदै आउनुभएको छ। कसरी ? दासत्व थुप्रै प्रकारका हुन्छन्‌ भन्‍ने कुरालाई हामीले बिर्सनु हुँदैन। तीमध्ये एउटा घृणित प्रकारको दासत्व अर्थात्‌ बलियाहरूले कमजोरहरूलाई बलपूर्वक वा हिंसाद्वारा दास तुल्याउनेबारे हामीले छलफल गरिसक्यौं। तर अरू प्रकारका दासत्वबारे पनि विचार गर्नुहोस्‌।

मानिहरूले आफूलाई उम्कन निकै गाह्रो पर्ने विभिन्‍न प्रकारका कुलतहरूको दास बनाउन सक्छन्‌। अनि मानिसहरू झूटा शिक्षाहरूको वशमा परेर झूट र छलको दासत्वमा पर्न सक्छन्‌। चाहे हामीलाई थाह होस्‌ वा नहोस्‌, हामी हरेकलाई असर गर्ने एउटा सबैभन्दा छली दासत्व छ र यसले हाम्रो ज्यान लिन सक्छ। तथापि, हामीले यस छलफलमा विभिन्‍न प्रकारका दासत्वहरूलाई एउटै समूहमा राखे तापनि तिनीहरू बराबर छन्‌ भन्‍न खोजेको होइनौं भनी फेरि पनि जोड दिन चाहन्छौं। तिनीहरू भिन्‍ना-भिन्‍नै किसिमका हुन्‌। तैपनि, तिनीहरूबीच एउटा महत्त्वपूर्ण समानता भने पाइन्छ। अन्ततः परमेश्‍वरले मानिसजातिमाथि आइपरेका सबै प्रकारका दासत्वहरूको अवश्‍य अन्त गर्नुहुनेछ।

कुलतहरूले दासत्वमा पार्दा

ह्वेन लक रन्स आउट भन्‍ने पुस्तकले जूवा खेल्ने लतबारे के बताउँछ, ध्यान दिनुहोस्‌: “यो जूवा खेल्ने साह्रै बलियो र अनियन्त्रित उत्तेजनाले खिचिने एउटा असन्तुलन हो। आखिरमा यसले उसको जीवनका सबै अर्थपूर्ण कुरालाई भताभुंग पार्ने, हानि पुऱ्‍याउने र सर्वनाश नगरेसम्म . . . यो लतले छोड्‌दैन र यसको तीव्रता तथा तलतल झन्‌-झन्‌ बढ्‌दै जान्छ।” कति जना मानिसहरू जूवा खेल्ने कुलतको दास भएका छन्‌ भन्‍ने कुरा कसैलाई पनि थाह छैन। एउटा मात्र देश, संयुक्‍त राज्य अमेरिकामा मात्र यो संख्या लगभग ६० लाख भएको अनुमान गरिएको छ।

मद्यमाथिको निर्भरता पनि त्यत्तिकै वा त्योभन्दा पनि विनाशकारी हुन सक्छ र कतिपय ठाउँहरूमा त यो एकदमै व्याप्त छ। एउटा ठूलो देशमा वयस्क जनसंख्याको आधा मानिसहरू केही न केही हदसम्म मतवालापनको सिकार भएका छन्‌। यो कुलत कस्तो हुन्छ भन्‍नेबारे २० वर्षअघि मद्यको दुर्व्यसनमा फसेका रिकार्डो यसो भन्छन्‌: “आफ्नो स्नायुलाई स्थिर पार्न, समस्याहरू भुल्न वा जीवनसँग जुध्नका लागि आवश्‍यक पर्ने आत्म-विश्‍वास बटुल्न, तपाईं उठेदेखि नै तपाईंको शरीरले मद्यको माग गर्न थाल्छ। तपाईं मद्यको अम्मली भइसक्नुभएको हुन्छ, तर पनि तपाईं आफू र आफू वरपर भएकाहरूलाई आफ्नो व्यवहार ठीकै छ भनी आश्‍वस्त पार्न खोज्नुहुन्छ।”

मानिसहरूलाई दासत्वमा पार्ने नशालु पदार्थ मद्य मात्र होइन। विश्‍वव्यापी रूपमा हेर्ने हो भने, करोडौं व्यक्‍तिहरूले अवैध लागूपदार्थको दुरुपयोग गरिरहेका छन्‌। साथै, लगभग १.१ अरब मानिसहरूले सुर्ती सेवन गर्छन्‌ र यसमा एकदमै नशालु लागू औषधी राखिएको हुन्छ। धेरै जना मानिसहरू यो कुलत त्याग्न चाहन्छन्‌ तर त्यसले दास तुल्याएको हुन्छ। के यहोवाले मानिसहरूलाई यस्ता शक्‍तिशाली बन्धनबाट छुटकारा दिन प्रभावशाली शक्‍ति प्रदान गर्नुभएको छ? a

रिकार्डोको उदाहरणलाई विचार गर्नुहोस्‌। रिकार्डो यसो भन्छन्‌: “मद्यले मेरो जीवन नियन्त्रण गरिरहेको छ भन्‍ने कुरा मैले दस वर्षअघि महसुस गरें। यसले मेरो विवाह, जागिर र परिवारलाई कमजोर तुल्याइरहेको थियो र यसको पञ्जाबाट नफुत्किएसम्म मैले आफ्ना समस्याहरू समाधान गर्न सक्‍तिनँ भनेर मलाई थाह थियो। धेरै पिउने व्यक्‍तिलाई शाब्दिक तथा आध्यात्मिक दुवै प्रकारको गरिबीले सताउँछ भन्‍ने कुरा बाइबल अध्ययन गरेपछि थाह पाएँ। (हितोपदेश २३:२०, २१) म परमेश्‍वरसित राम्रो सम्बन्ध राख्न चाहन्थें र ईश्‍वरीय डोऱ्‍याइको लागि गरिएका हार्दिक प्रार्थनाहरूले मलाई आफूसँग इमानदार हुन सक्षम बनायो। एक जना व्यक्‍तिले मसँग बाइबल अध्ययन गरे र तिनी मेरो लागि अनमोल मित्र साबित भए। म चुक्दा तिनी म देखेर हरेस खाँदैनथे, तर धैर्यतापूर्वक र दृढ हुँदै मसीहीहरूका लागि परमेश्‍वरले तोकिदिनुभएको स्तरबारे बुझाउँथे।”

आज रिकार्डो आफ्नो दासत्वबाट पहिलेको भन्दा केही हदसम्म स्वतन्त्र भएको महसुस गर्छन्‌। सुरु-सुरुमा आफू बारम्बार चुक्ने गरेको कुरा स्वीकार्न तिनी हिचकिचाउँदैनन्‌। तिनी भन्छन्‌, “तर यी अवरोधहरूको बावजूद यहोवालाई विश्‍वसपूर्वक सेवा गर्ने मेरो इच्छाका साथै मेरी पत्नी र अरू सँगी मसीहीहरूको सहयोगले मलाई परिस्थिति नियन्त्रणमा राख्न मदत गरेको छ। परमेश्‍वरले प्रतिज्ञा गर्नुभए बमोजिम ‘कसैले पनि “म बिरामी परें” नभन्‍ने’ र मद्य दुर्व्यसन अतीतका कुरा हुने दिनको बाटो हेर्दै छु। त्यतिन्जेल म आफ्नो ‘शरीरलाई पवित्र र परमेश्‍वरलाई मनपर्ने, जिउँदो बलिदान’ चढाउन दिनहुँ संघर्ष गरिरहनेछु।”—यशैया ३३:२४; रोमी १२:१.

आफूलाई अनेकन्‌ प्रकारका कुलतहरूबाट स्वतन्त्र पार्ने प्रयास गर्दा विश्‍वभरका हजारौं व्यक्‍तिहरूले परमेश्‍वरको प्रत्यक्ष मदत अनुभव गरेका छन्‌। हुन त हो, विविध प्रकारका दबाउ तथा प्रलोभनहरूमा परेर आफूलाई दासत्वमा पार्नुमा तिनीहरू आफै जिम्मेवार छन्‌। तथापि, तिनीहरूले यहोवा एकदमै धीरजी उद्धारक हुनुहुँदो रहेछ भन्‍ने महसुस गरेका छन्‌। साँच्चै उहाँको सेवा गर्न चाहने सबैलाई मदत गर्न र बल दिन उहाँ इच्छुक हुनुहुन्छ।

“सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ”

झूट र छलको दासत्व नि? यसबाट स्वतन्त्र हुन सम्भव छ भनी येशू हामीलाई आश्‍वासन दिनुहुन्छ। उहाँले भन्‍नुभयो: “तिमीहरू मेरो वचनमा रह्‍यौ भने साँच्चै मेरा चेला हौ। औ तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्‍ना ८:३१, ३२) उहाँले यो कुरा भन्‍नु हुँदा उहाँका श्रोताहरूमध्ये धेरै जना फरिसी परम्पराका अरट्ठो नियमहरूको दासत्वमा परेका थिए। त्यसैकारण येशूले आफ्नो समयका धार्मिक नेताहरूबारे यसो भन्‍नुभयो: “तिनीहरू गह्रौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूका काँधमा हालिदिन्छन्‌। तर तिनीहरू आफैले भने आफ्ना औंलाले पनि ती सारिदिने मन गर्दैनन्‌।” (मत्ती २३:४) येशूको शिक्षाले मानिसहरूलाई यस्तो बन्धनबाट स्वतन्त्र तुल्यायो। उहाँले धार्मिक कपट उदांग पार्नुभयो र त्यसको स्रोतसमेत बताउनुभयो। (यूहन्‍ना ८:४४) परमेश्‍वरले मानिसजातिबाट कस्ता जायज कुराहरू माग गर्नुहुन्छ भनी स्पष्टसँग बताउनुभएर उहाँले झूट होइन सत्य कुरा सिकाउनुभयो।—मत्ती ११:२८-३०.

आफूलाई दासत्वमा पारिरहेको धार्मिक झूट र गलत परम्पराहरूबाट परमेश्‍वरको मदतद्वारा स्वतन्त्र हुन सकिंदो रहेछ भन्‍ने कुरा, येशूका चेलाहरूले झैं आज पनि हजारौं व्यक्‍तिहरूले अनुभव गरिरहेका छन्‌। बाइबलबाट स्फूर्तिदायी सच्चाइ सिकेपछि तिनीहरू मरेका मानिसहरूको डर, अग्निमय नरकमा अनन्त शासनाको त्रास र “सित्तैंमा पायौ, सित्तैंमा देओ” भनी सल्लाह दिनुहुने ख्रीष्टको अनुकरण गरेको दाबी गर्ने पादरीहरूलाई धार्मिक सेवा गरिदिए बापत आफूले दुःख गरेर कमाएको पैसा दिनुपर्ने दबाउबाट स्वतन्त्र हुन्छन्‌। (मत्ती १०:८) यसबाहेक, अझै ठूलो स्वतन्त्रता नजिकै छ।

सबैभन्दा छली दासत्व

माथि बताइएझैं पृथ्वीका हरेक पुरुष, स्त्री तथा बच्चाहरूलाई असर गर्ने एक प्रकारको छली दासत्वबारे येशूले कसरी वर्णन गर्नुभयो ध्यान दिनुहोस्‌: “साँचो साँचो म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको दास हो।” (यूहन्‍ना ८:३४) मैले त पाप गरेको छैन भनेर कसले पो भन्‍न सक्छ र? प्रेरित पावलले समेत यसरी स्वीकारे: “असल काम जो म गर्नचाहन्छु, त्यो म गर्दिनँ, तर खराब काम जो म गर्नचाहन्‍न, त्यही म गर्नेगर्छु।” (रोमी ७:१९) कसैले पनि आफूलाई पापको साङ्‌लोबाट छुटाउन नसके तापनि हाम्रो अवस्था भने आशाविहीन छैन।

येशूले आफ्ना चेलाहरूलाई यस्तो आश्‍वासन दिनुभयो: “पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्‍चय स्वतन्त्र हुनेछौ।” (यूहन्‍ना ८:३६) यो प्रतिज्ञा पूरा हुनु भनेको सबै प्रकारका दासत्वहरूमध्ये सबैभन्दा खतरनाक दासत्वबाट स्वतन्त्र हुनु हो। यसबाट कसरी मुक्‍त हुन सक्छौं भनी बुझ्नुभन्दा अघि हामी सुरुमा कसरी यसको दासत्वमा पऱ्‍यौं भनी बुझ्नु आवश्‍यक छ।

परमेश्‍वरले मानिसलाई असल र खराब रोज्ने अधिकारका साथ र पाप गर्ने झुकाउरहित सृष्टि गर्नु भएको थियो भनी बाइबलले बताउँछ। तर परमेश्‍वरको एक जना स्वार्थी अदृश्‍य आत्मिक पुत्रले मानिसजातिमाथि जस्तोसुकै दुःख कठिनाइ आइपरे तापनि तिनीहरूमाथि शासन गर्न चाहन्थ्यो। यो उद्देश्‍य प्राप्त गर्नको लागि पछि शैतान अर्थात्‌ दियाबल भनिएको यो विद्रोही स्वर्गदूतले प्रथम मानव आमाबाबु आदम तथा हव्वालाई परमेश्‍वरबाट बहकायो। आदमले जानाजानी परमेश्‍वरका खास निर्देशनहरू उल्लंघन गरेपछि, तिनी आफू मात्र पापी भएनन्‌ तर तिनले असिद्धता र मृत्यु आफ्ना सबै सन्ततिहरूमा पनि सारे। (रोमी ५:१२) अन्ततः शैतान “यस संसारको मालिक” भयो र “पापले मृत्युमा राज गऱ्‍यो।”—यूहन्‍ना १२:३१; रोमी ५:२१; प्रकाश १२:९.

हामी कसरी स्वतन्त्र हुन सक्छौं? येशूको चेला भएर हामी ख्रीष्टको बलिदानरूपी मृत्युबाट लाभ उठाउन सक्छौं, जसमा “मृत्युका सामर्थ्य भएको, अर्थात्‌ शैतानलाई रद्दी” पार्ने अनि “मृत्युको डरले जीवनभरि दासत्वमा फँसेकाहरू सबैलाई छुटाउन” सक्ने शक्‍ति छ।” (हिब्रू २:१४, १५) कल्पना गर्नुहोस्‌ त—पाप र मृत्युको दासत्वबाट स्वतन्त्रता! के यस्तो स्वतन्त्रता एकदमै घतलाग्दो छैन र?

तथापि, हामीले सुरुमा छलफल गरेको दासत्व नि? के मानिसहरूको इच्छा विपरीत जबरजस्ती दास तुल्याइने कुराको कहिल्यै अन्त हुनेछ?

आशाको भरपर्दो आधार

पक्कै पनि यस्तो निन्दनीय दासत्वको अन्त हुनेछ भनी हामी निर्धक्क हुन सक्छौं। किन? यसबारे विचार गर्नुहोस्‌: मानव इतिहासमा सबैभन्दा धेरै व्यक्‍तिहरूलाई स्वतन्त्रता दिन यहोवा प्रत्यक्षतः जिम्मेवार हुनुहुन्थ्यो। सायद तपाईंलाई त्यस ऐतिहासिक विवरण थाह छ होला।

इस्राएल राष्ट्र मिश्रको दासत्वमा थियो, तिनीहरूले कडा शारीरिक यत्न गर्नुपर्थ्यो र कठोर व्यवहार सहनुपर्थ्यो। तिनीहरूले मदतको लागि पमेश्‍वरलाई पुकारे र उहाँले दयापूर्वक तिनीहरूको बिन्ति सुन्‍नुभयो अनि त्यसैअनुसार कदम चाल्नुभयो। मोशा र हारूनलाई प्रवक्‍ताको रूपमा चलाउनु भएर यहोवाले मिश्री फिरऊनलाई इस्राएलीहरूलाई स्वतन्त्र तुल्याइदिन आज्ञा गर्नुभयो। यहोवाले त्यस देशमा थुप्रै भयावह विपत्तिहरू ल्याइसक्नु भएपछि पनि त्यस घमण्डी राजाले बारम्बार अटेर गरे। अन्ततः, परमेश्‍वरले फिरऊनलाई घुँडा टेकाइ छोड्‌नुभयो। बल्ल इस्राएलीहरू स्वतन्त्र भए!—प्रस्थान १२:२९-३२.

कस्तो रोमाञ्चक विवरण, होइन र? अहिले पनि परमेश्‍वरले किन त्यसो नगर्नुभएको त भनेर तपाईं सोच्नु होला। किन उहाँले मानव मामिलाहरूमा हस्तक्षेप गरेर दासत्वको अन्त नगर्नुभएको? सम्झनुहोस्‌, “यस संसारको मालिक” यहोवा होइन तर शैतान हो। अदनको बगैंचामा उठाइएको चुनौतीको कारण यहोवाले सीमित समयका लागि यस दुष्ट प्रतिद्वन्दीलाई शासन गर्ने मौका दिनुभएको छ। शैतानको शासनको पहिचान भन्‍नु नै दासत्व, थिचोमिचो र क्रूरता हुन्‌। यो शासन असफल भएको छ भन्‍ने कुरा मानव इतिहासले प्रमाणित गर्छ। यसबारे बाइबलले सारांशमा यसरी बताउँछ: “एउटा मानिसले अर्को मानिसलाई दु:ख दिने अधिकारको समय थियो।”—उपदेशक ८:९.

तर यस्तो अवस्था कतिन्जेल रहिरहनेछ? हामी स्वार्थ र लोभ व्याप्त हुने “आखिरी दिनमा” बाँचिरहेका छौं भनी बाइबलले बताउँछ। (२ तिमोथी ३:१, २) यसको मतलब, अब चाँडै येशूले हामीलाई प्रार्थना गर्न सिकाउनु भएको परमेश्‍वरको राज्यले धार्मिक समाज स्थापना गर्नेछ जहाँ दासत्व रहनेछैन। (मत्ती ६:९, १०) परमेश्‍वरको नियुक्‍त राजा येशू ख्रीष्टले अन्तिम शत्रु मृत्युलाई नामेट पारेर दासत्वको नामोनिसान मेटाउन उहाँ अग्रसर हुनुहुनेछ।—१ कोरिन्थी १५:२५, २६.

त्यो दिनको उदय भएपछि विश्‍वासी मानिसजातिहरूले परमेश्‍वरका जनहरूलाई मिश्रको दासत्वबाट स्वतन्त्र गर्नु त अझ ठूलो छुटकाराको पूर्वझलक मात्र थियो भन्‍ने कुरा बुझ्नेछन्‌। हो, पछि “सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।” अन्तमा, सबैले “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रता” पूर्ण रूपमा उपभोग गर्न सक्नेछन्‌।—रोमी ८:२१. (g02 6/22)

[फुटनोट]

a प्रथम शताब्दीका ठूलठूला रोमी भोजहरूमा घिचुवापन सामान्य कुरा थियो। त्यसैकारण, खाना वा यस्तै प्रकारका अरू कुराहरूको दास नहुन मसीहीहरूलाई चेताउनी दिइएको थियो।—रोमी ६:१६; १ कोरिन्थी ६:१२, १३; तीतस २:३.

[पृष्ठ ७-मा भएको चित्र]

संयुक्‍त राज्य अमेरिकामा मात्र लगभग ६० लाख मानिसहरू जूवाको दासत्वमा परेको अनुमान गरिएको छ

[पृष्ठ ७-मा भएको चित्र]

करोडौं मानिसहरू लागूपदार्थ, मद्य र सुर्तीको दासत्वमा छन्‌

[पृष्ठ ८-मा भएको चित्र]

रिकार्डोले जस्तै हजारौंले कुलतहरू त्याग्न परमेश्‍वरको मदत अनुभव गरेका छन्‌

[पृष्ठ १०-मा भएको चित्र]

पुरातन इस्राएलीहरू दासत्वबाट स्वतन्त्र भएझैं, परमेश्‍वरका साँचो उपासकहरूले चाँडै अझ ठूलो छुटकारा पाउनेछन्‌