सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दासत्व विरुद्ध लामो संघर्ष

दासत्व विरुद्ध लामो संघर्ष

दासत्व विरुद्ध लामो संघर्ष

“दास हुनु भनेको दुर्व्यवहार भोग्नु तथा यसलाई सहनु र हिंसाको सिकार हुनुपर्ने डरले बाध्य भएर अन्याय सहिरहनु हो।”—युरिपिडस, सा.यु.पू. पाँचौं शताब्दीका युनानी नाटककार।

दासत्वको लामो तथा तीतो इतिहास छ। मिश्र र मेसोपोटामियाको पुरातन सभ्यताको समयदेखि नै शक्‍तिशाली राष्ट्रहरूले आफ्ना कमजोर छिमेकी राष्ट्रहरूलाई आफ्नो अधीनमा राखेका छन्‌। यसरी मानव अन्यायको सबैभन्दा दुःखद कथा सुरु भयो।

सा.यु.पू. दोस्रो सहस्राब्दीको दौडान मिश्रले लाखौं जनताहरू भएको एउटा सिंगै राष्ट्रलाई आफ्नो दास तुल्याएको थियो। (प्रस्थान १:१३, १४; १२:३७) युनानले भूमध्यसागर छेउछाउका देशहरूमा शासन गरेको समयमा, आजभोलि कुनै-कुनै देशका परिवारहरूको आ-आफ्नै कार भएझैं, थुप्रै युनानी परिवारहरूको कम्तीमा पनि एक जना दास हुन्थ्यो। युनानी दार्शनिक अरस्तुले मानव समाज मालिक र दास दुई भागमा विभाजित छ” र मालिकहरूको स्वतः अह्राउने अधिकार हुन्छ भने दासहरू त्यो पालन गर्नकै लागि जन्मिएका हुन्छन्‌ भनेर यस प्रचलनलाई समर्थन गरे।

रोमीहरूले दासत्वलाई युनानीहरूले भन्दा पनि बढी प्रश्रय दिए। प्रेरित पावलको समयमा संभवतः रोम शहरको आधा जनसंख्या अर्थात्‌ लाखौं मानिसहरू दास थिए। अनि स्मारकहरू बनाउन, खानीमा काम गर्न, खेत जोत्न तथा धनीहरूले शहरबाहिर बनाएका ठूलठूला घरहरूको देखभाल गर्न रोमी साम्राज्यमा वर्षेनी पाँच लाख दासहरूको आवश्‍यकता पर्थ्योजस्तो देखिन्छ। a साधारणतया युद्धबन्दीहरूलाई दासको रूपमा प्रयोग गरिन्थ्यो। त्यसकारण सकेसम्म बढी दासहरू बनाउने रोमको यो अतृप्त चाहना नै रोमलाई लडाइँ गरिरहनको लागि उक्साउने कुरा भएको हुनुपर्छ।

हुन त रोमी साम्राज्यको पतनपछि केही हदसम्म दासत्व मत्थर भयो, तर यो चलन अझै रहिरह्‍यो। डोम्सडे बूक-अनुसार (सा.यु. १०८६) मध्यकालीन इंग्ल्याण्डका कामदारहरूमध्ये १० प्रतिशत जति दासहरू थिए। अनि अझै पनि लडाइँमा जितेर दासहरू ल्याइँन्थ्यो।

तथापि, ख्रीष्टको समयदेखि यता दास प्रथाले ल्याएको क्षति अफ्रिकाले जति अरू कुनै महादेशले भोग्नु परेको छैन। येशूको समयभन्दा अघि पनि पुरातन मिश्रीहरूले इथियोपियाली दासहरूको किनबेच गर्थे। यूरोप तथा मध्य-पूर्वमा दासहरूको माग पूर्ति गर्नको लागि लगभग १२५० वर्षको दौडान १.८ करोड जति अफ्रिकीहरू त्यहाँ लगिए। अमेरिकी महादेशमा १६ औं शताब्दीदेखि बस्ती बस्न थालेपछि नयाँ दास बजार खुल्यो र आन्ध्र महासागरको बाटो हुँदै दासहरूको ओसारपसार गर्ने मुनाफादायी व्यापारको जगजगी हुन धेरै बेर लागेन। इतिहासकारहरूले हिसाब गरेअनुसार सन्‌ १६५० देखि १८५० को बीचमा १.२ करोडभन्दा बढी दासहरू अफ्रिकाबाट ल्याइएको थियो। b तीमध्ये थुप्रैलाई दास बजारमा बेचियो।

दासत्व विरुद्धका संघर्षहरू

दासत्वको बन्धनबाट स्वतन्त्र पार्नको लागि व्यक्‍तिगत र राष्ट्रिय तवरमा शताब्दीयौंदेखि संघर्षहरू हुँदै आएका छन्‌। सा.यु.पू. प्रथम शताब्दीमा स्पार्टाकसले स्वतन्त्रताको लागि लड्‌न ७०,००० रोमी दासहरूको नेतृत्व गरे तर स्वतन्त्रता भने प्राप्त गर्न सकेनन्‌। यसको तुलनामा लगभग दुई शताब्दीअघि हाइटीका दासहरूले गरेको विद्रोहले केही हदसम्म सफलता प्राप्त गऱ्‍यो, परिणामस्वरूप सन्‌ १८०४ मा सार्वभौम सरकारको स्थापना भयो।

निस्सन्देह, संयुक्‍त राज्य अमेरिकामा अझ लामो समयसम्म दासत्व रहिरह्‍यो। आफू र आफ्ना प्रियजनहरूलाई स्वतन्त्र पार्न कतिपय दासहरूले अथक प्रयास गरेका थिए। अनि दासत्व उन्मूलनको पक्षमा वकालत गरेर वा भागेका दासहरूलाई मदत गरेर दासत्व विरुद्ध संघर्ष गर्ने स्वतन्त्र व्यक्‍तिहरू पनि थिए। तैपनि, १९ औं शताब्दीको अन्ततिर मात्रै यस प्रथालाई देशभरि अवैधानिक घोषणा गरियो। तथापि, आजको अवस्था कस्तो छ?

के संघर्षहरू बेकार भएका छन्‌?

“बाँधा वा दास बनाई कसैलाई पनि राखिनु हुन्‍न। दासत्व र दास दासीको व्यापार कुनै पनि रूपमा गर्न मनाही गरिएको छ,” भनी मानव अधिकारको विश्‍वव्यापी घोषणापत्रमा उल्लेख गरिएको छ। सन्‌ १९४८ मा उत्साहपूर्वक घोषणा गरिएको यो उद्देश्‍य साँच्चै महान्‌ छ। यो लक्ष्य पूरा गर्नका लागि थुप्रै निष्कपट मानिसहरूले आफ्नो समय, शक्‍ति र स्रोत-साधन खर्च गरेका छन्‌। तथापि, सफलता सजिलै प्राप्त हुँदैन।

अघिल्लो लेखले देखाएझैं, आज पनि करोडौं मानिसहरू ज्याला नलिईकन दयनीय अवस्थामा काम गरिरहेका छन्‌ र तिनीहरूमध्ये थुप्रैलाई तिनीहरूको इच्छा विपरीत किनबेच गरिएको छ। दासत्व उन्मूलन गर्ने असल मनसाय तथा यसलाई अवैध घोषित गर्नको लागि अन्तरराष्ट्रिय सम्झौताहरूमा गरिएको हस्ताक्षर अभियानहरूको बावजूद साँचो स्वतन्त्रता हासिल गर्ने लक्ष्य भने अपूरै रहेको छ। विश्‍व अर्थतन्त्रले दासहरूको अप्रत्यक्ष व्यापारलाई अझै मुनाफादायी बनाएको छ। दासत्व हटेको होइन तर यसले मानव जातिहरूमा आफ्नो मुठ्ठी कस्दै गएकोजस्तो देखिन्छ। त्यसो भए के परिस्थिति आशाविहीन छ त? आउनुहोस्‌, हामी हेरौं। (g02 6/22)

[फुटनोटहरू]

a एउटा पुरातन स्रोतले बताएअनुसार कोही-कोही एकदमै धनी रोमीहरूको २०,००० जनासम्म दासहरू हुन सक्थे।

b परमेश्‍वरले मानवहरूको यस पाशविक किनबेचलाई समर्थन गर्नुहुन्छ भनेर कतिपय फटाहा पादरीहरूले भन्‍नथाले। फलस्वरूप, थुप्रै मानिसहरू बाइबलले यस्तो क्रूरतालाई समर्थन गर्छ भन्‍ने गलत धारणा राख्छन्‌, तर वास्तवमा बाइबलले यसलाई समर्थन गर्दैन। कृपया अक्टोबर ८, २००१ ब्यूँझनुहोस!-मा छापिएको “बाइबलको दृष्टिकोण: के परमेश्‍वरले दासप्रथाको भर्त्सना गर्नुहुन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

[पृष्ठ ५-मा भएको चित्र]

दासहरू बोक्ने जहाजमा (माथि) हालेर अफ्रिकाबाट ल्याइएकाहरूलाई विगतमा सामन्यतया अमेरिकी दास बजारहरूमा बेचिन्थ्यो

[स्रोत]

Godo-Foto

Archivo General de las Indias