सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

म कसरी आफ्नो रूममेटसँग मिलेर बस्न सक्छु?

म कसरी आफ्नो रूममेटसँग मिलेर बस्न सक्छु?

युवा जनहरू सोध्छन्‌ . . .

म कसरी आफ्नो रूममेटसँग मिलेर बस्न सक्छु?

“म सफा भान्छाकोठा चाहन्थें। तर मेरा रूममेटहरू भने भाँडाहरू बाहिर लथालिंग अवस्थामा वा स्टोभमाथि नै छन्‌ भने पनि वास्तै गर्दैनथे। तिनीहरूलाई केही मतलबै हुँदैनथ्यो।”—लिन। a

रूममेटहरू। “तिनीहरू सबैभन्दा असल साथीहरू वा सबैभन्दा खराब दुस्मनहरू हुन सक्छन्‌,” भनी लेखक केभिन स्कोलेरी दाबी गर्छन्‌। सायद तपाईंलाई त्यो हदसम्म त नलाग्ला तर अरू कोहीसँग बस्नु साँच्चै चुनौतीपूर्ण हुन्छ भन्‍ने कुरालाई भने अस्वीकार गर्न सकिंदैन। b विश्‍वविद्यालयका विद्यार्थीहरूमा रूममेटहरूबीच हुने झगडा यत्ति सामान्य छ कि यु.एस. न्युज एण्ड वर्ल्ड रिपोर्ट-अनुसार आफ्ना रूममेटहरूसँग मिलेर बस्न मदत दिनको लागि थुप्रै स्कूलहरूले “मतभेद सुल्झाउने ध्यान कार्यक्रम” तथा गोष्ठीहरूलगायत अन्य “विस्तृत प्रयत्नहरू” गरिरहेका छन्‌।

पूर्ण-समय प्रचारकको काम गर्न घर छोडेका जवान मसीहीहरूलाई समेत अरूसँग एउटै कोठामा मिलेर बस्न गाह्रो हुन सक्छ। बाइबल सिद्धान्तलाई व्यवहारमा उतार्दा तथा “व्यावहारिक बुद्धि” देखाउँदा अक्सर मतभेदहरू सुल्झाउन सकिन्छ भन्‍ने कुरा मनमा राख्नु प्रोत्साहनदायी हुन्छ।—हितोपदेश २:७, NW.

एकअर्कालाई चिन्‍नुहोस्‌

अर्को ठाउँमा सर्ने उमंग सिद्धिएपछि तपाईंलाई आफ्नो घरको सम्झनाले सताउन थाल्न सक्छ। (गन्ती ११:४, ५) तथापि, बितेका कुराहरूबारे सोचेर बस्दा तपाईंलाई नयाँ परिस्थितिमा घुलमिल हुन अझ गाह्रो पर्नेछ। उपदेशक ७:१० ले यस्तो सल्लाह दिन्छ: “उहिले उहिलेका दिन अहिलेका भन्दा किन असल थिए भनी नसोध, किनभने त्यो ता मूर्ख सवाल हो।” हो, आफ्नो परिस्थितिलाई जतिसक्दो राम्रो बनाउने कोसिस गर्नु नै उत्तम हुन्छ।

सुरुमा आफ्नो रूममेटलाई राम्रोसँग चिन्‍ने कोसिस गर्नुहोस्‌। हुन त, रूममेट आफ्नो सबैभन्दा नजिकको साथी हुनैपर्छ भन्‍ने छैन। वास्तवमा तिनी तपाईंलाई खासै मन नपरेको होला। तथापि, तपाईं त्यस व्यक्‍तिसँग बस्नु छ भने के तपाईंको ऊसँग सकेसम्म सौहार्दपूर्ण सम्बन्ध हुनुपर्दैन होला र?

फिलिप्पी २:४ ले हामीलाई “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान” दिन सल्लाह दिन्छ। केरकार गरेजस्तो भान नपर्ने गरी आफ्नो रूममेटको पारिवारिक पृष्ठभूमि, तिनको चासोका विषय, लक्ष्य र प्राथमिकताहरूबारे सोध्न सकिन्छ कि? आफ्नोबारे पनि बताउनुहोस्‌। तपाईंहरूले एकअर्काबारे जति धेरै थाह पाउनुहुन्छ, एकअर्कालाई त्यति नै बुझ्न थाल्नुहुन्छ।

समय-समयमा सँगै काम गर्ने निश्‍चित योजना बनाउनुहोस्‌। ली भन्छिन्‌: “कहिलेकाहीं म र मेरी रूममेट बाहिर सँगै खान जान्छौं वा कुनै आर्ट ग्यालरीमा जान्छौं।” मसीही रूममेटहरूका लागि मसीही सभाहरूको तयारी वा प्रचार कार्यजस्ता आध्यात्मिक क्रियाकलापहरूमा भाग लिनु मित्रताको गाँठो बलियो बनाउने अझ प्रभावकारी तरिका हो।

डेभिड भन्छन्‌: “मेरो रूममेटले जनभाषण दिंदा तिनलाई प्रोत्साहन दिनको लागि म तिनको मण्डलीमा गएँ।” खेलकुद र संगीतजस्ता कुराहरूमा तिनी र तिनको रूममेटको भिन्‍ना-भिन्‍नै अभिरुचि भए तापनि आध्यात्मिक कुराहरूप्रतिको प्रेमले तिनीहरूबीच गहिरो सम्बन्ध विकास गरेको छ। डेभिड यसो भन्छन्‌, “हामी आध्यात्मिक कुराहरूबारे थुप्रै कुराकानी गर्छौं। वास्तवमा भन्‍ने हो भने, हामी आध्यात्मिक कुराहरूबारे घण्टौं कुराकानी गर्न सक्छौं।”

होसियार रहनुपर्ने कुरा यो छ: तपाईंले अरूसँग स्वास्थ्यकर सम्बन्ध विकास गर्नै नसक्ने गरी रूममेटसँग एकदमै घनिष्ठ नहुनुहोस्‌। तपाईंको रूममेट जहाँ जाँदा पनि तपाईंलाई सँगै लैजानुपर्छ भन्‍ने भान परेमा तिनलाई आफू बन्धनमा परेजस्तो लाग्न सक्छ। बाइबलले मित्रताको सन्दर्भमा “ठूला मनका” हुने सल्लाह दिन्छ।—२ कोरिन्थी ६:१३.

सुनौलो नियमअनुसार चल्ने

एकअर्कालाई राम्रोसँग चिन्दै जानुहुँदा पक्कै पनि आनीबानी, अभिरुचि र दृष्टिकोणमा तपाईंहरूबीचको भिन्‍नता थाह हुनेछ। जवान मार्क यस्तो चेताउनी दिन्छन्‌, “तपाईंले असिद्धताहरू हुन्छन्‌ भनी आशा गर्नुपर्छ।” अरठ्ठो वा आत्मकेन्द्रित हुनाले तनाउ उत्पन्‍न हुन्छ। तपाईंको रूममेटले तपाईंले चाहनुभएजस्तै ठूलठूला परिवर्तनहरू गरोस्‌ भनी आशा गर्दा पनि तनाउ उत्पन्‍न हुन्छ।

रूममेट हुनेबारे फरनान्डोले यो कुरा सिकेका छन्‌: “तपाईं स्वार्थी होइन, निःस्वार्थी हुनुपर्छ।” तिनको भनाइ सुप्रसिद्ध सुनौलो नियमसँग मेल खान्छ, जुन नियमले यसो भन्छ: “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) उदाहरणका लागि, फरनान्डो र तिनको रूममेटबीच केही समय बितेपछि कोठाको तापक्रमबारे मतभिन्‍नता उत्पन्‍न भयो। तिनलाई न्यानो मन पर्थ्यो तर तिनको साथीलाई कम्ती तापक्रममा सुत्न मन पर्थ्यो। यसको समाधान? फरनान्डो यसो भन्छन्‌: “मैले कम्बल ओढ्‌न थालें।” हो, मार्कले भनेझैं, “लचिलो हुनुहोस्‌। तपाईंले आफ्ना सम्पूर्ण आनीबानी त्याग्नुपर्दैन तर एक-दुइटा भने त्याग्नुपर्ने हुन सक्छ।”

तपाईंले सुनौलो नियमलाई प्रयोगमा ल्याउन सक्ने अर्को क्षेत्र यस्तो छ: आफ्नो रूममेटका अभिरुचिहरूप्रति सहनशील हुन सिक्नुहोस्‌। मानिलिनुहोस्‌, तपाईंलाई तिनले सुन्‍ने गरेको संगीत मन पर्दैन। सायद, तपाईंले सुन्‍ने संगीतबारे पनि तिनलाई त्यस्तै लाग्ला। त्यसकारण तपाईंको रूममेटलाई मनपर्ने संगीत नैतिक तवरमा पतित छैन भने तपाईंले सहनशीलता खेती गर्ने कोसिस गर्न सक्नुहुन्छ। फरनान्डो यसो भन्छन्‌: “रूममेटलाई मेरोभन्दा भिन्‍नै खालको संगीत मन परेको मलाई राम्रो लाग्छ। तर मलाई बिस्तारै त्यस्तो संगीत सुन्‍ने बानी बस्न थालेको छ।” अर्कोतर्फ, आफ्नो रूममेट पढिरहेका छन्‌ भने तिनको ध्यान नखलबल्याउनको लागि हेडफोन लगाएर पनि संगीत सुन्‍न सकिन्छ।

सुनौलो नियम व्यवहारमा उतार्नाले भौतिक सरसामग्रीबारे अनावश्‍यक विवाद हुनबाट पनि बच्न सकिन्छ। उदाहरणका लागि, तपाईं रेफ्रिजेरेटरमा भएका चीजहरू नसोधिकन खानुहुन्छ तर त्यसको ठाउँमा फेरि नयाँ खानाहरू ल्याएर चाहिं राख्नुहुन्‍न भने असन्तोष पैदा हुन सक्छ। अर्कोतर्फ, तपाईंले किनेर ल्याउनुभएको कुरा तपाईंको रूममेटले नसोधी चलायो भन्दैमा ऊसँग रिसाउनुभयो वा उसलाई आँखा तर्नुभयो भने यसले न्यानो सम्बन्ध विकास गर्न मदत गर्दैन। बाइबलले हामीलाई ‘उदारचित्त र बाँडचुड गर्न तत्पर’ हुन प्रोत्साहन दिन्छ। (१ तिमोथी ६:१८) तपाईंबाट अनावश्‍यक फाइदा उठाउँदैछ जस्तो लागेमा चुप लागेर नबस्नुहोस्‌। आफूलाई चित्त नबुझेको कुरा शान्तपूर्वक राम्ररी बताउनुहोस्‌।

एकअर्काको व्यक्‍तिगत सरसामानप्रति सम्मान देखाउनुहोस्‌। नसोधिकन अर्काको सामान चलाउनु अहंकार हो। (हितोपदेश ११:२) रूममेटको एकान्तताको आवश्‍यकताप्रति पनि सजग रहनुहोस्‌। तिनको कोठामा पस्नुअघि ढोका ढक्ढक्याउनेजस्ता आधारभूत शिष्टाचार देखाउनुहोस्‌। जब तपाईंले आदर देखाउनुहुन्छ, सायद तपाईंको रूममेटले पनि यस्तै गर्नेछन्‌। डेभिड भन्छन्‌: “हामी दुवैलाई घरमै पढ्‌न कुनै समस्या छैन। किनकि हामी एकअर्काको ख्याल गर्दै चुप लाग्छौं। तर कहिलेकाहीं मेरो रूममेटले अरू कुनै काम गर्न चाहँदा म पुस्तकालयमा गएर पढ्‌छु।”

सुनौलो नियम व्यवहारमा उतार्नुमा आफ्नो भागमा परेको घर भाडा समयमै तिर्ने वा आफ्नो भागमा परेको घरायसी कामकाजहरू पूरा गर्नेजस्ता कुराहरूमा भरपर्दो हुनु पनि समावेश छ।

मतभेदहरू सुल्झाउने

बाइबलकालीन समयमा दुई जना आदरणीय मसीही पुरुषहरू पावल तथा बर्णाबासबीच एकदमै “चर्को मतभेद भयो।” (प्रेरित १५:३९) तपाईंहरू दुई जनाबीच पनि यस्तै भयो भने के गर्ने? सायद व्यक्‍तित्व बाझिएकोले वा रिस उठाउने व्यक्‍तिगत आनीबानीले गर्दा तपाईंको धैर्यको सीमा नाघ्ला। एउटा असहमति वा चर्को वादविवाद भयो भन्दैमा के तपाईंहरू सँगै बस्नु हुँदैन भनेको हो? पक्कै होइन। स्पष्टतया पावल र बर्णाबास तिनीहरूबीचको मतभेद सुल्झाउन सफल भए। सायद तपाईंले पनि अलग्गै बस्ने निर्णय गर्नुअघि यस्तै गर्न सक्नुहुन्छ। यहाँ केही उपयोगी बाइबल सिद्धान्तहरू दिइएका छन्‌।

● ‘विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान।’—फिलिप्पी २:३.

● “सबै तीतोपना, क्रोध रीस, हो-हल्ला, निन्दा, सारा वैर-भावसमेत तिमीहरूबाट त्यागिओस्‌। औ जसरी परमेश्‍वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।”—एफिसी ४:३१, ३२.

● “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भनी तिमीलाई याद भयो भने, त्यही वेदीको सामु तिम्रो भेटी छोड, र बाटो लाग। पहिले आफ्नो भाइसित मिलाप गर, त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ।”—मत्ती ५:२३, २४; एफिसी ४:२६.

लाभहरू

रूममेटसँग बसेका थुप्रै जवान (र जवानबाहेक अरू पनि) मसीहीहरूले बुद्धिमान राजा सुलेमानका यी शब्दहरूको सत्यता आफैले अनुभव गरेका छन्‌: “एकभन्दा दुइ असल हो।” (उपदेशक ४:९) पक्कै पनि थुप्रैले रूममेटसँग बस्नु लाभदायक भएको अनुभव गरेका छन्‌। “मैले कसरी मानिसहरूसँग अझ राम्रो व्यवहार गर्ने र तिनीहरूसँग मिलेर बस्ने भन्‍ने कुरा सिकेको छु” भनी मार्क भन्छन्‌। रेने अझै यस्तो थप्छिन्‌: “तपाईंले आफ्नैबारे अझ धेरै कुरा सिक्नुहुन्छ। साथै रूममेट असल काम गर्नको लागि उत्प्रेरणा दिने साथी बन्‍न सक्छ।” लिन यस्तो स्वीकार्छिन्‌: “रूममेटहरूसँग बस्न थाल्दा म असाध्यै पुलपुलिएकी थिएँ। तर मैले त्यति अरठ्ठो नहुन सिकें। कसैले मेरोभन्दा भिन्‍न तरिकाले काम गऱ्‍यो भन्दैमा उसले गलत गरिरहेको छ भनेर भन्‍न मिल्दैन भनी मैले बुझेकी छु।”

हो, रूममेटसँग मिलेर बस्नको लागि परिश्रम र त्याग चाहिन्छ। तर तपाईंले बाइबल सिद्धान्तहरू व्यवहारमा उतार्न परिश्रम गर्नुभयो भने शान्तिपूर्ण रूपमा सँगै बस्ने मात्र होइन, रूममेटसँग बस्दाको आनन्द पनि उठाउन सक्नुहुन्छ। (g02 6/22)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b मे ८, २००२ को अंकमा प्रकाशित “रूममेटसँग बस्न किन यति गाह्रो?” भन्‍ने लेख हेर्नुहोस्‌।

[पृष्ठ १६-मा भएको चित्र]

अरूको सामान नसोधिकन चलाउँदा तनाउ उत्पन्‍न हुन सक्छ

[पृष्ठ १७-मा भएको चित्र]

एकअर्काको ख्याल राख्नुहोस्‌